शिक्षा मन्त्रालयलाई सत्ताधारी दलका सांसदको प्रश्न : यो सिष्टमलाई भत्काउने कि नभत्काउने ?


काठमाडौं - शिक्षाका विद्यमान प्रणालीलाई भत्काएर नयाँ बनाउन नसक्ने हो भने  समृद्ध नेपाल सुखी नेपालीको कुरा नारामा मात्रै सिमित रहने भन्दै सत्ताधारी दलका सांसदले शिक्षा मन्त्रालयको स्पष्ट दृष्टिकोणको माग गरेका छन् । सोमबार बसेको संसद बैठकको विशेष समयमा बोल्दै सत्ताधारी दलका सांसद अग्नी सापकोटाले विसंगती र विकृतीको थलोका रुपमा शिक्षा क्षेत्र देखिएकोले यसलाई नियन्त्रण गर्न शिक्षा मन्त्रालयले बनाएको दृष्टिकोण माग गरेका हुन् । 

विश्वविद्यालयले लिएको परीक्षा आफ्नै परिवारका मान्छेलाई जागिर खुवाउने प्रपञ्च भएको आरोप लगाउँदै उनले यस्ता कृयाकलाप नियन्त्रण गर्न आवश्यक रहेको बताए । 

'आजै छापामा आएको छ जम्मा ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्डमेडल ल्याउने भनेको के हो ?' प्रश्न गर्दै उनले भने 'यो बारम्बार भ्रष्टाचार र मुल्य मान्यता स्थापित गर्ने बारेमा बोलिरहेको छु । यो सिष्टमलाई हामी भत्काउन तयार हुन्छौं की हुँदैनौ ? अरु सबै कुरा तपशिलका हुन्, यहाँ शिक्षा सुधारका धेरै कुरा आएका छन् भर्नाका कुरा, ठिक छ । तर यो सिस्टम बदल्न के हामी संकल्प गर्न तयार छौं ?'

सबै कुरा पैसाले घुमाईरहेको,  सर्टिफिकेट किन्न पाहिने अवस्था रहेको भू माफिया देखि विचौलियाहरुले कब्जामा लिन सक्ने भन्दै उनले यसको अन्त्यका लागि सिष्टम बसाल्न मेहनत गर्नु पर्ने सुझाव दिएका छन् । 

'शिक्षाका अनुसन्धानमा जोड दिनु पर्छ भनिएको छ पारमाणविक विधेयक ल्याईएको छ हरेक सकारात्मक कुरा भित्र भयानक ठूलो रणनीति हुन्छ यो बारेमा शिक्षा मन्त्रालयले कत्तिको गम्भिरता पूर्वक अध्ययन गरेको छ ?' उनले प्रश्न गरे । 

समाज एवं अरुको सेवा, सुन्दर भविष्यका लागि सँदै काम गर्न सक्ने शिक्षा खाँचो रहेको बताउँदे उनले असल आचरण भ्रष्टाचारका विरुद्ध अथक रुपमा लड्न शिक्षाको खाँचो रहेको उल्लेख गरे । मूल्य मान्यता स्थापित गर्ने काम शिक्षाकै भएको भूमिका बाँधदै उनले राजनीतिक आर्थिक सामाजिक हिसावले सुशोभित हुनु पर्ने शिक्षा विकृती र विसंगतीको थलो बन्न पुगको भन्दै चिन्ता व्यक्त गरे ।