Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

सरोकारै नभएका विद्यार्थी माथि निरन्तर अन्याय, तर्साउने क्रम जारी

मंगलबार, १० असार २०७६

काठमाडौं - सरकारद्वारा प्रतिवन्धित नेकपा विप्लव समुहले सरोकारै नभएका विद्यार्थी माथिको अन्यायलाई निरन्तरता दिएको छ । आफ्ना सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा उक्त समुहले आह्वान गरेको बन्दका कारण सरोकारै नभएका लाखौं विद्यार्थी मंगलबार पढ्नबाट बञ्चित भएका छन् । 

बन्द कर्ताले विद्यालय तथा क्याम्पसहरुमा गएर बन्द गर्न नभने पनि त्रासका कारण छुट्टी दिएका छन् । यसले गर्दा बन्द कर्ताले आम जनजीवनमा पारेको मनोवैज्ञानिक त्रासको संकेत गर्छ । सरकारले सुरक्षाको गतिलो प्रवन्ध गर्न नसक्दा आम जनजीवनमा उत्पन्न त्रास निरुत्साहित हुन सकिरहेको छैन । कमसेकम शैक्षिक वातावरणमा यस्ता बन्दको प्रभाव नपरोस् भन्ने तर्फ शिक्षाको तालुकदार निकाय शिक्षा मन्त्रालयले आज पर्यन्त गम्भिरता देखाएको छैन । यो अर्को लाजमर्दो कुरा हो । 

किन भने यस्ता बन्दका बेला आम नागरिक समाज, शिक्षाविद् मानव अधिकारवादी लगायत मार्फत् बन्दमा पनि शिक्षण संस्था निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन मन्त्रालयले सार्वजनिक आह्वान गर्न सक्छ । तर यस तर्फ जसरी बन्दकर्ता गैह्र जिम्मेवार छन् त्यो भन्दा कम शिक्षा मन्त्रालय पनि नहुनु विडम्वना नै हो । 

२१ औं शताब्दिको युगमा आफ्ना राजनीतिक मुद्धामा भविष्यका कर्णधार माथि अन्याय गर्दै छु भन्ने चेत बन्दकर्तामा नआउनुले उनीहरुको विचार र शिक्षा प्रतिको धारणामा नकारात्मक आम बुझाई निर्माण हुने पक्का छ । त्यसैले उनीरुले विरोधका यस्ता शैलीलाई तत्काल बदल्नु आवश्यक छ । नत्र अघिल्लो दिन सहिसलामत घर आएका साना नानाीहरुले भोलीपल्ट विद्यालय जान नपाउनुको कारण खोतल्दा निर्माण हुने धारणाले घाटा हुने उनीहरुलाई नै हो । 

बन्दले देशभरको जनजीवन प्रभावित भएको छ, बन्दकर्ता सडकमा नदेखिए पनि आम जनजीवनमा प्रभाव त परेको छ नै, राजनीतिक दाउपेचमा कुनै सरोकार नै नभएको वर्ग विद्यार्थी माथि पनि स्वार्थ हावी बनाउनु भनेको आउँदो पुस्ता माथि कै अन्याय हो । 

यस अघि गएको जेठ १३ गते पनि आफ्ना कार्यकर्तालाई सरकारले मारेको विरोधमा ठाउँ ठाउँमा बम पड्काएर नेकपा विप्लवले ’उत्पाद’ मच्चाएको थियो । जसले गर्दा बालबालिकाको पढ्न पाउने हक खोसिएको थियो । 

तर्साएरै उत्पात ! सरोकार नै नभएका बालबालिका र शैक्षिक क्षेत्र तरंगित

पछिल्लो पटक गत शुक्रबार पनि सोही समूहले विभिन्न ११ जिल्लामा शैक्षिक हड्ताल गरेको थियो । 

शैक्षिक हड्ताल, चौतर्फि आलोचना

बन्द कतिपय स्थानमा शंकास्पद वस्तु भेटिए पछि जनजीवन त्रस्त बनेको छ । त्यस्ता बस्तु बम भएको शंकामा स्थानीय त्रसित बनेका खबर आईरहेका छन् । 

विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको गत असार ५ गते प्रहरीको गोलीबाट मृत्यु भएको थियो । उक्त घटनालाई प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ । 

उक्त प्रकरणको सत्य तथ्य छानबिन गर्न सत्तारुढ तथा विपक्षी दलका नेताले समेत माग गरेका छन् ।

प्रतिक्रिया