Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

स्थानीय सरकारका जनप्रतिनिधिलाई कुरा बुझाईदिन शिक्षकसँग आग्रह !

विहीबार, १९ भदौ २०७६

काठमाडौं - शिक्षाका अधिकारका बारेमा स्थानीय जनप्रतिनिधिलाई कुरा बुझाईदिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुसँग आग्रह गरेका छन् । विद्यालय शिक्षा स्थानीय सरकारमा जानुको अर्थ सार्वजनिक शिक्षाको अपनत्व वृद्धि गर्नका लागि भएको तर्क प्रस्तुत गर्दै मन्त्री पोखरेलले यस विषयमा शिक्षकहरुले कुरा बुझाईदिनु जरुरी रहेको बताएका हुन् । 

'विद्यालय शिक्षा स्थानीय सरकारमा जानुको अर्थ त्यसको अपनत्व लिईदिनुहोस्, विषयगत शिक्षक छैन शिक्षक दिनुहोस्, पठन पाठन केन्द्रित गरिदिनुहोस्, आईटीको व्यवस्था गरिदिनुहोस्, विद्यालयको वातावरण अलिकति राम्रो बनाईदिनुहोस् भनेर हो' उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्दै आएको पी पी फाउण्डेशनले बिहीबार गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, 'अलिअलि विरोध आलोचना हुन्छन् शिक्षक साथीहरुले यसको नेतृत्व लिनु भयो भने हाम्रो सामुदायिक विद्यालयको भविष्य राम्रो छ देशको भविष्य पनि राम्रो छ ।' 

संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेसँगै नजिकैको सरकारबाट हुने कडिकडाउ छल्न नसक्ने भए पछि विरोधमा उत्रिएका शिक्षक नेताहरुसँग शिक्षा मन्त्रालयले यस अघि नै सहमती गरिसकेको छ । उक्त सहमती स्थानीय सरकारलाई कमजोर गर्न संविधान विपरित भएको भन्दै आलोचना जारी छ । 

पढ्नुहोस् : शिक्षकसँग मन्त्रालयको सहमती : संघीयताको मर्म विपरित

नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयले गरेको सहमती

यही छेकमा मन्त्री पोखरेलले निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई पनि शिक्षकले बुझाईदिनु पर्ने बताएका हुन् । सक्रमणकालीन केही असरहरु विभिन्न सरकारबाट भएका होलान् भन्दै उनले यसलाई मूल कुरा नठान्न पनि आग्रह गरे । 

केही दशक भित्रै सार्वजनिक शिक्षालाई अभिभावक र विद्यार्थीको छनौटमा अघि ल्याउने गरी कार्य गर्न पनि उनले शिक्षकहरुसँग आग्रह गरे । 

'प्रतिस्पर्धा हुन्छ सबैका आआफ्ना बाध्यता हुन्छन् तर कम्तिमा जनताको करबाट सञ्चालित सार्वजनिक शिक्षा सुधारलाई ईमान्दारितापूर्वक कार्य गरेर देखाउनु पर्ने छ' उनले भने,  'चुनौती शिक्षकहरुका अघिल्तिर पनि छ । आफूलाई नयाँ ढंगले स्तरोन्नती गर्न जरुरी छ । अद्यावधिक गर्नु पर्छ ।' 

फरक प्रसंगमा मन्त्री पोखरेलले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि आफू प्रतिवद्ध भएको बताउँदै चिकित्सा शिक्षा आयोगले पदाधिकारी पाउने प्रकृयामा रहेको बताए । साझा प्रवेश परीक्षा लगायतका सुधारका काममा आफू प्रतिवद्ध रहेको बताउँदै उनले सुधारका लागि आवश्यक बजेट भएर पनि त्यसको बारेमा सही संप्रेसित नभएको दावी गरे । सकारात्मक कोणबाट शुरु गरेर समस्या पहिचान गरेर समाधान गर्ने तर्फ लाग्न उनले आग्रह गरेका छन् । 

यो पनि पढ्नुहोस् : शिक्षा मन्त्री प्रतिवद्ध, ६ महिना अघिको निर्णय कार्यान्वयन गर्न निर्देशन

अपडेट :

फाउण्डेशनले विभिन्न जिल्लाका आठ जना शिक्षकलाई उत्कृष्ट शिक्षक सम्मानबाट  पुरस्कृत गरेको छ । एकलाख रुपैयाँको राष्ट्रिय उत्कृष्ट शिक्षक सम्मान पुरस्कार भीमोदय माध्यमिक बिद्यालय चितवनका शिक्षक डा. हरिप्रसाद कँडेलले प्राप्त गरे भने सात प्रदेशका एक एक जना शिक्षकहरुले जनही पचास हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । 

प्रदेश १ मेचीनगर, झापाका बिश्व थापा, प्रदेश २ बाट बर्दिवास महोत्तरीका केदारबहादुर कोइराला, प्रदेश ३ बाट वाफल, काठमाडौंकी अञ्जु लामा, प्रदेश ४ कास्कीका केशवप्रसाद पराजुली, प्रदेश ५ गुल्मीका डोर बिक्रम श्रीश, प्रदेश ६ त्रिपुराकोट, डोल्पाका तुलबहादुर बिष्ट र प्रदेश ७ महेन्द्रनगरका ललितसिंह साउद पुरस्कृत भएका छन् । 

फाउण्डेशनले पुरस्कारका लागि आह्वान गरेर आवेदन संकलन गर्छ । सोही आवेदनका आधारमा विभिन्न चरणको मूल्याँकन गरिने फाउण्डेशनले जनाएको छ । 

उक्त अवसरमा पर्यटन ब्यबसायी रबीन्द्रराज पाण्डेलाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको थियो । 

प्रतिक्रिया