Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

३ सय ७३ जनालाई विद्यापदक, देशभरबाट ८३ शिक्षक पुरस्कृत

आइतबार, २२ भदौ २०७६

काठमाडौं - ३ सय ७३ जना विद्यार्थी विभिन्न विद्यापदकबाट विभुषित भएका छन् ।  ४० औं शिक्षा दिवस तथा ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गरेकी हुन् ।

उक्त अवसरमा स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका विद्यार्थी मध्ये २ सय ३१ जनाले क श्रेणीको विद्यापदक, १ सय १ जनाले ख श्रेणीको र ११ जनाले ग श्रेणीको विद्याभुषण प्राप्त गरेका छन् । नेपाल भित्रका विश्वविद्यालय, प्रतिष्ठान तथा परिषद्बाट स्नातक तह तर्फ छात्रा तर्फ उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक २३ जनालाई, तथा नेपाल भित्रका विश्वविद्यालय प्रतिष्ठान तथा परिषद्बाट उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक ७ जनालाई गरी ३ सय ७३ जना विद्यार्थी विभुषित भएका छन् ।

उक्त अवसरमा भण्डारीले उपलब्ध साधन श्रोतलाई अधिकतम दिगो र सुन्दरतम प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको उल्लेख गरिन् । उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिदों परिवेश र आवश्यकता अनुसार पाठ्यक्रम निर्धारण गरी व्यवस्थित गर्न उनको सुझाव छ ।

यसैबीच दिवसका अवसरमा शिक्षा मन्त्रालयले ८३ जना शिक्षकलाई पुरस्कृत गरेको जनाएको छ । देशका विभिन्न जिल्लाबाट सिफारिस भई आएको आधारमा उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको शिक्षा सचिव महेशप्रसाद दहालले जानकारी दिएका हुन् ।

योग्य व्यक्ति भन्दा दलगत आवद्धताका आधारमा शिक्षक छनौट हुने क्रम बढेको भन्दै आलोचना भए पछि तीन बर्ष अघि हटाईएको शिक्षकलाई पुरस्कृत गर्ने क्रम शिक्षकका नेताहरुको तिव्र दवाव पछि यसबर्षबाट फेरी शुरु भएको हो ।

दिवसका अवसरमा आयोजित मूल समारोहमा सचिव दहालले विश्वविद्यालयका ११, प्राविधिक शिक्षा तर्फका ७ प्रशिक्षक गरी १ सय १ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको सार्वजनिक गरेका हुन् । पुरस्कृत हुनेहरुको नाम भने शिक्षा मन्त्रालयले यो खबर तयार पार्दा सम्म सार्वजनिक गरेको छैन ।

पहुँच र दलगत आवद्धताका आधारमा शिक्षकको नाममा तल माथि गर्न गोप्य राखेको हुनसक्ने मन्त्रालय श्रोतले अड्कल काटेको छ ।

दिवसका अवसरमा उत्कृष्ट १२ विद्यालयलाई उक्त समारोहमा उपप्रधान तथारक्षा मन्त्री ईश्वर पोखरेल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ध्वजा, शिल्ड र प्रमाणपत्र प्रदान गरेका छन् ।

कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय मध्ये माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्र्तगत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठले क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार प्राप्त गरे । सोही समूह अन्र्तगत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभिष्सै कलेज माईतीघर काठमाडौंले तृतीय पुरस्कार पाए ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुण मावि बालाजु काठमाडौंले क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार पाए । यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौंले क्रमशः प्रथम, द्धितीय र तृतीय पुरस्कार प्राप्त गरे ।

यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट छनौट भएका आँगिक शिक्षालयहरु तर्फ बालाजु स्कुल अफ ईञ्जिनियरिङ काठमाडौं, तानसेन स्कुल अफ हेल्थ साईन्स पाल्पा, जनज्योती मावि सिन्धुली पुरस्कृत भए ।

विश्वविद्यालय अनुदान आयोगबाट छनौट भएका आधारमा आँगिक तर्फ पुल्चोक क्याम्पस ललितपुर, जेएस मुरारका बहुमुखि क्याम्पस लहान सिराह र निजी तर्फ बर्नहार्ट कलेज काठमाडौं पुरस्कृत भएका छन् ।

पुरस्कार वितरण पश्चात शुभकामना मन्तब्य दिदैं उपप्रधानमन्त्री पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको अठोट पुरा गर्न पूर्वाधारको पनि पूर्वाधार शिक्षाका सवालमा सरकार गम्भिर रहेको दावी गरे । त्यसका लागि आवश्यक नीतिगत निर्माणमा सरकार लागिपरेको उनको भनाई थिायो । शिक्षा मन्त्री पोखरेलले सिकाइ केन्द्रित शिक्षण प्रणाली विकास गर्ने गरी शिक्षामा विशिष्ट प्रयास गर्न मन्त्रालय कृयाशील रहेको दावी गरे ।

उक्त अवसरमा विभिन्न विद्यालयका छात्र छात्राहरुले सांगीतिक प्रस्तुती गरेका थिए ।

हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मुल नाराका साथ  विभिन्न कार्यक्रम गरी देशभर दिवस मनाईएको छ ।

दिवसका सन्दर्भमा लेखिएको यो सम्पादकीय पनि पढ्नुहोस् : शिक्षा दिवस : नीति अलपत्र पारेर टिसर्टको नमूना !

प्रतिक्रिया