Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

ख्याती प्राप्तले देखाएनन् रुची

विहीबार, १४ कार्तिक २०७६

काठमाडौं - ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष सहित सदस्य हुन ईच्छुकलाई आवेदन हाल्न गरिएको आह्वानमा ख्याती प्राप्त प्राज्ञले रुची देखाएका छैनन् । नियुक्त हुन ईच्छुकहरुले आफ्नो ‘व्यक्तिगत संक्षिप्त विवरण’ सात दिन भित्र बुझाउन शिक्षा मन्त्रालयले सार्वजनिक आह्वान गरेको थियो । आवेदन हाल्ने अन्तिम दिन बिहीबार दिउँसो सम्म प्राप्त आवेदनहरु हेर्दा ख्याती प्राप्त प्राज्ञले रुची नदेखाएको मन्त्रालय श्रोतले जनाएको छ । 

'केही आवेदन त परेका छन् तर यसमा अहिले आफ्ना क्षेत्रमा विशिष्ठ पहिचान बनाएका र ख्याती कमाएका भन्दा पनि अरुहरुकै धेरै देखिन्छ' उक्त श्रोतले भन्यो, 'अन्तिम समय सम्म आउँछ की भन्ने आशा त गरिएको छ, यसै भन्न सकिएन ।'

पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति तथा र पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यहरूका लागि आवेदन हाल्न मन्त्रालयले गत ७ गते आह्वान गरेको थियो । 

आवेदन हाल्ने समयावधि बिहीबार राती १२ बजे सम्म रहेकाले अहिले नै ककसले आवेदन हाले भन्ने बारेमा विवरण सार्वजनिक गर्नु उचित नहुने भन्दै मन्त्रालयको उच्च शिक्षा महाशाखाका प्रमुख रामशरण सापकोटाले प्राप्त आवेदनका बारेमा सार्वजनिक गर्न चाहेनन् । 

'केही आवेदन महाशाखामा प्राप्त भएका छन्, ईमेलबाट पनि पठाउन सक्ने व्यवस्था गरिएकाले अहिले नै कति जनाले हाले भन्ने विवरण दिन सक्ने अवस्था भएन' उनले भने, 'राती १२ बजे सम्म त समय नै छ त्यस पछि बल्ल अन्तिम विवरण संकलन गरिन्छ ।'

सात दिने म्याद बुधबार सकिए पनि बुधबार सार्वजनिक विदा परेको हुँदा बिहिबार राती १२ बजे सम्म आवेदन हाल्न सकिने उनले जनाए । 

ईमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर पनि बुझाउन सक्ने व्यवस्था गरिएको छ । कतिपय आवेदन मन्त्रीको सचिवालय र शिक्षा सचिवको हातमा समेत बुझाईएको उक्त श्रोतले जनाएको छ ।   

यस्तै मन्त्रालयले पोखरा, मध्य पश्चिम र सूदुर पश्चिम विश्वविद्यालयमा उपकुलपति हुन चाहनेले सात दिन भित्र आवेदन हाल्न सक्ने गरी गत ९ गते सार्वजनिक आह्वान गरेको थियो । केही आवेदन परे पनि यसमा समेत ख्याती प्राप्त प्राज्ञले रुची नदेखाएको श्रोतले बताएको छ  । 

'हुन त यसका लागि अझै समय छ तर पहिलाको अवस्था विश्लेषण गर्ने हो भने यसको हालत पनि यस्तै नहोला भन्न सकिन्न' उक्त श्रोतले भन्यो । 

विश्वविद्यालय जस्तो प्राज्ञिक र शैक्षिक क्षेत्रमा उपकुलपति हुन स्वतन्त्र, स्वाभिमानी र प्राज्ञ व्यक्तिले आवेदन हाली हाली नजाने बरु यसले सत्ताधारी दलका वफादार कार्यकर्तालाई भित्र्याउन सजिलो बनाउने भन्दै आवेदन माग गरिएको प्रति आलोचना हुँदै आएको छ । 

राज्यले आफ्ना देशमा भएका योग्य प्राज्ञिक व्यक्तिलाई पहिचान गरेर विश्वविद्यालयको नेतृत्व लिईदिन आह्वान गर्नु पर्ने शिक्षाविद्हरुले बताउँदै आएका छन्  । यसरी आवेदन माग गर्नुका पछाडी विश्वविद्यालयमा आफ्ना कार्यकर्तालाई भर्ती गरी थप राजनीतिक गञ्जागोल भित्र्याउने बैधानिक बाटो स्थापित गर्ने ध्येय भएको शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको आरोप छ । 

'कोही पनि स्वाभिमानी प्राज्ञ लौ मलाई नियुक्ति देउ भन्दै दर्खास्त हाल्न जाँदैन' उनले भने 'यो घटनाले शाही कालमा राजाले प्रधानमन्त्री छान्न दर्खास्त मागेको घटना स्मरण गराएको छ ।'

हरेक नियुक्तिमा राजनीतिक स्वार्थ हावी भईरहेको अवस्थामा उपकुलपति जस्तो प्राज्ञिक व्यक्ति छनौट गर्न शिक्षा मन्त्रालयले आवेदन माग्नु अघि आफ्नो स्वार्थ नभएको र प्राप्त आवेदनहरुको परीक्षण निष्पक्ष रुपमा हुने विश्वासिलो आधार तयार नगर्दा यो प्रकृया प्रति रुची कम भएको हो ।  

यो पनि पढ्नुहोस् : शंकाको सहुलियत मेटाऊ

प्रतिक्रिया