Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीले २ नम्बरमा सिफारिस गरेकालाई प्रधानमन्त्रीद्वारा नियुक्ति

आइतबार, १७ कार्तिक २०७६

काठमाडौं - शिक्षा मन्त्रीको अध्यक्षतामा गठित सर्च कमिटिले २ नम्बरमा सिफारिस गरेका धर्मकान्त बाँस्कोटालाई प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा नियुक्त गरेका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले  आईतबार बाँस्कोटालाई नियुक्त गरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । 

'सर्च कमिटिले गरेको सिफारिसकै अधाारमा प्रधानमन्त्रीले नियुक्त गर्नु भएको हो' उक्त श्रोतले भन्यो, 'तीन जनाको नाम सिफारिस भएकोमा मन्त्रीपरिषद्ले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेपछि बास्कोटालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।' 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोइरालालाई उपकुलपति बनाउन चाहे पनि प्रधानमन्त्रीको रोजाईमा बास्कोटा परेका कारण भदौ ६ गते देखि खाली रहेको उपकुलपति नियुक्ति पेचिलो बन्दै आएको थियो । मन्त्री पोखरेल अध्यक्षताको सर्च कमिटले  कोइरालालाई पहिलो नम्बरमा राखेर बास्कोटालाई दोश्रो तथा परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई तेश्रो नम्बरमा सिफारिस गरेको थियो । 

तर प्रधानमन्त्रीले बास्कोटालाई नियुक्त गर्न रुची राखे पछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको केही समयमा बास्कोटाको नियुक्ति सार्वजनिक गरिएको हो । 

चार वर्ष नेपाल मेडिकल काउन्सिलको अध्यक्ष समेत भइसकेका बाँस्कोटा नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । बास्कोटाको कार्यकाल चार वर्षको हुने छ ।  

तत्कालीन उपकुलपति तीर्थ खनियाको कार्यकाल गत भदौ ५ गते सकिएको थियो ।

शिक्षा मन्त्रालयले अन्य विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन मागेको छ ।  ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष सहित सदस्य हुन ईच्छुकलाई आवेदन हाल्न गरिएको आह्वानमा ख्याती प्राप्त प्राज्ञले रुची देखाएका छैनन् । 

पढ्नुहोस् : ख्याती प्राप्तले देखाएनन् रुची

फोटो : बास्कोटाको फेसबुक 

यो पनि पढ्नुहोस् : शंकाको सहुलियत मेटाऊ

प्रतिक्रिया