Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको सिफारिस विपरित नियुक्ति

आइतबार, १७ कार्तिक २०७६

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गरेको सिफारिस विपरित सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । मन्त्री पोखरेलको संयोजकत्वमा गठित सर्च कमिटिले कोइरालाको नाम पहिलो नम्बरमा राखेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गरेको थियो । तर उक्त सिफारिसलाई वास्ता नगरी आईतबार बसेको मन्त्रीपरिषद् बैठकले कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई पहिलो नम्बरमा राखेर दोस्रो नम्बरमा नाक, कान घाँटी रोग विशेषज्ञ धर्मकान्त बास्कोटा र परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

पढ्नुहोस् : शिक्षा मन्त्रीद्वारा पहिलो नम्बरमा कोइरालाको नाम सहित सिफारिस

तर प्रधानमन्त्रीले विश्वविद्यालयमा आफू निकटका बास्कोटालाई नियुक्ति दिन रुची गरे पछि उपकुलपति नियुक्ति प्रकृया लम्बिएको श्रोतको दावी छ । मेडिकल काउन्सिलमा कोइरालाको नियुक्ति संगै उपकुलपति कसलाई बनाउने भन्ने सत्ताधारी दल भित्रकै रस्साकस्सीले अन्ततः नयाँ मोड लिएको छ । गत भदौ ५ गते देखि रिक्त भएको विश्वविद्यालयको १९ औं उपकुलपति को हुन्छ भन्ने  बारेमा थप अड्कलबाजी जारी रहने भएको छ । 

शिक्षा मन्त्रालयले अन्य विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन मागेको छ ।  ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष सहित सदस्य हुन ईच्छुकलाई आवेदन हाल्न गरिएको आह्वानमा ख्याती प्राप्त प्राज्ञले रुची देखाएका छैनन् । 

पढ्नुहोस् : ख्याती प्राप्तले देखाएनन् रुची

आईतबारको मन्त्रिपरिषद्का अन्य निर्णय गोप्य राखिएको छ । सरकारले हरेक साताको बिहीबार पत्रकार सम्मेलन मार्फत् मन्त्रिपरिषद् निर्णय औपचारिक रुपमा सार्वजनिक गर्दै आएको छ ।  

प्रतिक्रिया