भूकम्प पछि बनेका विद्यालय भवन : सुनको थालमा कहिले सम्म बासी खाना !


 विद्यालय भनेको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक, प्रशासनिक व्यवस्थापनको सङ्गम हो । कुनै बेला विद्यालयमा शैक्षिक गतिविधिलाई मात्र ध्यान दिने र त्यहाँ अन्य कुराहरु गौण हुन्थे । शिक्षण सिकाइ क्रियाकलापहरु काल्पनिक कथा, उदाहरण र अनुभवहरुको प्रस्तुतिबाट सम्पन्न हुन्थे । तर हाल समय र प्रविधि यति धेरै बदलिएको छ कि ती कुराहरु एकादेशको कथा भईसकेका छन् । व्यावहारिक र प्रयोगात्मक रुपमा शिक्षण सहजीकरण क्रियाकलाप सञ्चालन गर्नको लागि विद्यालय भौतिक, आर्थिक, प्रशासनिक र सामाजिक रुपमा पनि सवल हुनु अति आवश्यक भएको छ । बालमैत्री फर्निचर, शिक्षण सामग्रीहरुको सजावट, ठोस वस्तुहरु उपलव्धता, उपयुक्त र स्वच्छ वातावरण, प्रविधिमा पहुँच आदि सम्पूर्ण विद्यालयहरुमा अति आवश्यक भएका छन् । सुरक्षित र सुन्दर भवन त्यसभित्र विज्ञान प्रयोगशाला, पुस्तकालय, ई–पुस्तकालय, कम्प्युटर ल्याव, हाइजेनिक चमेना गृह, बालमैत्री कक्षा कोठाहरु, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षहरु, बालमैत्री एवम् छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, इण्डोर र आउटडोर खेल मैदानहरु हरेक विद्यालयको न्युनतम आधारभूत आवश्यकताहरु हुन् । 

भनिन्छ विकास र विनाश एक सिक्काका दुई वटा पाटाहरु हुन् । जहाँ विनाश हुन्छ त्यहाँ विकास हुन्छ । प्राकृतिक विपत्तिले सबैको लागि दुःख, कष्ट र विनाश ल्याइदिन्छ । नेपालमा पनि २०७२ को महाभुकम्पले धेरै व्यक्तिगत तथा सार्वजनिक घर तथा भवनहरु भत्किए । हजारौं मानिसहरु अकालमा ज्यान गुमाउन वाध्य भए । तर केही सामुदायिक विद्यालयहरुको लागि भने यो महाभुकम्प बरदान सावित भयो । 
 
भुकम्प पश्चात भुकम्प प्रभावित जिल्लाहरुमा विभिन्न अन्र्तराष्ट्रिय संस्थाहरुको सहयोगमा  सरकारले अत्याधुनिक तथा सुविधा सम्पन्न भवनहरु ठड्याएको छ । भुकम्पले क्षति नपु¥याउँदो हो त दूरदराजको सामुदायिक विद्यालयहरुमा यस्ता सुरक्षित तथा अत्याधुनिक किसिमका भौतिक सम्पन्नता असम्भव प्राय थियो । भूकम्पको ४ बर्ष सम्म अझै थुर्पै विद्यार्थीले सुरक्षित भवनमा बसेर पढ्न पाएका छैनन्, यसको ढिलाईका कथा अर्कै सन्दर्भमा चर्चा गरौंला । 

तर यस आलेखमा सुविधा सम्पन्न भवनसँगै दिनु पर्ने ध्यानका बारेमा चर्चा केन्द्रित गर्न खोजिएको हो । सामुदायिक विद्यालयहरुमा यति व्यवस्थित र पर्याप्त भवनहरु ठडिए पनि जग भने अझै कमजोर नै छन् । यसो भन्दा यहाँ प्रश्न उठ्न सक्छ यति धेरै अनुभवी तथा दक्ष प्राविधिक जनशक्तिले सम्वन्धित स्थानको माटो परीक्षण, स्ट्रक्चरल एनालाइसिस,  वातावरणीय पक्षको अध्ययनको आधारमा  आर्किटे«क्चरल ड्रइङ, डिजाइन तथा इष्टिमेटहरु तयार गरी सुरक्षित ढङ्गले निर्माण गरिएको भवनको जग कसरी कमजोर हुन सक्छ ? तर वास्तविकता नै यहि हो ।

सामुदायिक विद्यालयहरुको जग साच्चै नै कमजोर छ । विद्यालयको जग भनेको विद्यार्थी हो जुन सामुदायिक विद्यालयहरुमा घट्दो क्रममा छ । संयौं विद्यार्थी पढ्न मिल्ने गरी बनाईएका भवनमा कति विद्यार्थी छन् ? त्यही आडैमा रहेको सानो भवनका निजी विद्यालयमा विद्यार्थी हुने तर अहिले बनेका सुविधा सम्पन्न विद्यालयमा किन संख्या घट्दै गएको ? त्यसैले यहाँ स्मरण गर्नु पर्ने मुख्य कुरा के हो भने –विद्यालयको जग भनेको विद्यालयको व्यवस्थापकीय, प्रशासनिक, शैक्षिक, सामाजिक, आर्थिक पक्ष हो । 

सामुदायिक विद्यालयहरुमा यी सबै कुराहरु कमजोर नै देखिएका छन् । यस अर्थमा भौतिक समृद्धिसँगै सामुदायिक विद्यालयहरुको जग बलियो बनाउन अति आवश्यक छ । जसको लागि शिक्षा मन्त्रालय तथा सम्वन्धित सरकारी निकायहरुको तयारी के छ त ? 

सामुदायिक विद्यालयहरुमा ठूला ठूला भवनहरु मात्रै ठडाएर झिलिमिली बनाउँदैमा त शैक्षिक स्तर सुधार पक्कै नहोला ? सुनको नयाँ थालमा के अझै बासी खाना पस्किरहने हो त ? ताजा, स्वादिलो, पोषिलो खाना पस्कने योजना के छ ? भौतिक निर्माणसँगै सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि कस्तो किसिमको शिक्षा प्रणाली लागू गर्ने ? योग्य, दक्ष प्रशासनिक नेतृत्वको व्यवस्थापन कसरी गर्ने ? विद्यालय व्यवस्थापनमा समुदायको अपनत्व सहितको रचनात्मक सहभागिता कसरी गराउने ? शिक्षक तथा कर्मचारीहरुको विकास तथा व्यवस्थापन कसरी गर्ने ? प्रविधिमैत्री विद्यालय र मानव संसाधनको व्यवस्थापन कसरी गर्ने ? विद्यालय र समुदाय बीचको समन्वय र सहकार्यमा जोड कसरी दिने ? यी सवालहरुको उपयुक्त समाधान सहितको शैक्षिक जागरणलाई अभियान कै रुपमा सञ्चालन गर्न शिक्षा मन्त्रालय तथा मातहातका निकायहरु जाग्ने बेला भएको होइन र ? यसका लागि आवश्यक नीतिगत, कानुनी तथा व्यावहारिक वाधा,  व्यवधानहरुलाई समय मै व्यवस्थापन गर्न आवश्यक छ । सामुदायिक विद्यालयको सुधार र विकासको लागि  ठोस योजना, रणनीति तथा कार्यनीतिका साथ अगाडी बढ्ने बेला भईसकेको छ ।

लामा पाटन माध्यमिक विद्यालयका शिक्षक हुन् ।