Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विचार / विमर्श

किन विद्यालय रमाईलो लाग्दैन !

शनिबार, २३ कार्तिक २०७६

‘तेरो आँखा के भा को ओइ ?’

‘फुला परेको । पहिला अलि अलि देख्न सकिन्थ्यो । अलिले त ठ्याम्मै ।’

मलाई डर लाग्यो !

सोधें – ‘कसरी पर्यो फुलो ?’

‘सरले निगालको लठ्ठीले स्याप्प हाने । आखाँबाट तरर पानी आयो । कान भ्वाँ भयो । टाउको रनन घुम्यो । कस्तो दुखेको थियो । तँ भएको भए त मर्थिस् ।’ उस्ले हाँस्दै भन्यो ।

‘सरले किन हानेको नि ?’

‘सोधेको नजाने पछि कुटि हाल्छ नि !’ टंकले भन्यो ।

टंकले तीन कक्षा सम्म उसकै घर नजिकको विद्यालयमा पढेको थियो । म पढ्ने विद्यालय सातसम्म थियो । उज्वल भविष्य खोजिको लागि, सरले दिएको भौतिक सजाए उपहार लिएर हाम्रो स्कुल आयो । हाम्रो भेट कक्षा चारमा भयो । झण्डै तीन घण्टा हिँडेर ऊ विद्यालय आउँथ्यो ।

दायाँ आँखाले काम गर्न छोडिसकेको थियो । आँखाको कालो भाग लगभग सेतो भइसकेको थियो । उसको हालत देखेपछि हाम्रो विद्यालयका शिक्षकले ‘काने’ नाम राखिदिए । नाम भाइरल भयो । उसले अरु भन्दा केहि फरक गर्यो या बोल्यो अथवा बिगार्यो भने उस्लाई ‘काने’ भनेर होच्याइन्थ्यो । उसको पिडा मजाक र ऊ हाँसोको पात्र लगातार भइरहयो । ऊ पढाइमा पनि अब्बल हुन सकेन ।

मसँग खुब मिल्थ्यो । तथापि रिस उठेको बेला म पनि ‘काने’ भन्दिन्थें । ऊ निन्याउरो हुन्थ्यो । धर्तिको सबै भन्दा कमजोर र एक्लो महशुस गथ्र्यो । मैले किन भने हुँ त्यस्तो ? अहिले सम्झिदाँ खिन्न लाग्छ ।

देखिने चोट त समय बित्दै जाँदा बिर्सिएर जान्छ । घाउ पनि पुरिएर जान्छ, मान्छे अभ्यस्त हुदैँ जान्छ । तर, त्यही घाउलाई वहाना बनाएरु पटक पटक दिईने चोटको गहिराइ कसरी नाप्नु ? बढ्दै जान्छ भुसको आगो झैं । भित्रभित्रै ।

फिरफिरे घुमे झैं समयको सुई घुमि रहयो । होच्चिनुको हद शायद नाघ्यो । हरेक दिन विद्यालयमा ावनात्मक रुपमा मरिरहनु भन्दा विद्यालय नै छोड्नु उपयुक्त ठान्यो – टंकले !
उसका लागि विद्यालय रमाइलो लागेन ! कक्षा पाँचबाट स्कुल आउनै छोड्यो ।

शिक्षकको डरका कारण १४ प्रतिशत बालबालिकाले विद्यालय छोड्ने र शिक्षकले भौतिक सजाँय दिने गरेको झण्डै ४० प्रतिशत बालबालिकाले स्वीकार गरेका थिए ।

शिक्षा मन्त्रालयले विद्यालयमा हुने हिंसा दुव्र्यवहार विरुद्ध थालनि गरेको समयकै आसपास प्लान इण्टरनेशनल नामक संस्थाले सन् २००८ मा गरेको अध्ययनको उक्त तथ्यमा खासै भिन्नता आएको देखिन्न ।
....

‘लौरो किन समात्नु भएको नि ?’

–    बच्चाहरु छाडा छन् सर । लौरोले अलि तह लगाउन सजिलो हुन्छ ।

–    लौरो समातेको मात्रै हो । पिट्न त पिट्दैनौं सर । क्लासमा यसो र्बोडमा देखाउनको लागि चाहिन्छ भनेर समात्छु । विद्यार्थीले पनि र्बोडमा लेखिएको कुरा अरुलाई सिकाउने बेला लौरीको प्रयोग गर्छन् ।

–    सबैलाई त होइन सर । बिग्रेका विद्यार्थीलाई यसो देखायो भने टेर्छन् ।

–    पहिला पहिला त लौरोले पिटिन्थ्यो । आज भोली लौरो बोक्छौं तर पिट्दै नौं ।

हाम्रा अधिकांश शिक्षकको हातमा लौरो देखिन्छ । किन समात्नु हुन्छ ? सोध्दा दण्ड सजाय जरुरी हुने आशय शिक्षकले व्यक्त गर्छन् ।

लौरोसँग डर जोडिएको छ । लौरो न त प्रेमको द्योतक हो न त मानवताको । न त प्रभावकारी सिकाइको नै । शिक्षकले कक्षामा लौरोले विद्यार्थीलाई नपिटे पनि विद्यार्थीमा मनोवैज्ञानिक त्रास पैदा गरिरहन्छ ।

बालबालिका स्वभावैले चञ्चल हुन्छन् । बालबालिकाको हातमा शिक्षकले प्रयोग गर्ने लौरो पर्यो भने झनै डर लाग्दो घटना हुन सक्छ । कलिला बालबालिकाको आँखामा अथवा शरिरको अन्य भागमा घोचिन सक्छ । शिक्षकले शिक्षण गर्ने प्रयोजनले भने पनि यसका नकारात्मक धेरै पक्षहरु देखिन्छन् ।

शिक्षकको प्रेमिल मुस्कान र लगनले विद्यार्थीको भविष्य बन्ने हो । लौरो प्रर्दशनले असल र सक्षम विद्यार्थी निर्माण गर्ने होइन । केही क्षणमा त शिक्षकको काबुमा विद्यार्थी रहलान् । तर शिक्षक प्रति विद्यार्थीको धारणा निकै अराजक बनिसकेको हुन्छ ।

विद्यालयमा अनुशासनका नाममा हुने दण्ड सजायले विद्यार्थीलाई एण्टीसोसल ब्यवहार गर्न थप प्रोत्साहित गराउने छ । झर्किने तथा झगडा गर्ने स्वभावको विकास । युवा अवस्था पछि अपराधिक क्रियाकलपमा संलग्न हुन प्रेरित गर्ने । सिक्ने क्षमता दिन प्रतिदिन खस्किदै जाने । बच्चाको पारिवारीक तथा सामाजिक सम्बन्ध कमजोर बन्ने लगायतका विभिन्न सामाजिक, शारिरिक तथा मानसिक समस्याहरु बालबालिकामा देखिने विभिन्न खोज तथा अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

नेपालको संविधान २०७२ धारा ३९ मा रहेको बालबालिकाको हकको उपधारा ७ मा ‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।’ उल्लेख छ ।

त्यस्तै सन् १९८९ नोभेम्बर २० मा बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीलाई नेपालले हस्ताक्षर गरेको थियो । प्रत्येक बालबालिकाले भेदभाव, शोषण, दुब्र्यवहार, अपमान, यातना जस्ता स्थितिबाट सुरक्षित हुने तथा वयस्कहरुबाट हुने विभिन्न खालका शोषणकार्यको उपचारको लागि बालबालिकाका लागि कानुनी संरुक्षण प्राप्त हुने कुरा उल्लेख छ ।

शिक्षा मन्त्रालयले सन् २००८ देखि विद्यालयमा हुने हिंसा दुव्र्यवहार विरुद्ध थालनि गरेको थियो । भने सन् २०१४ देखि नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा विद्यालयमा हुने सम्पुर्ण शारीरिक दण्ड सजायलाई अन्त्यको लागि अभियान थालनी गरिएको थियो । विद्यालय शिक्षा सुधार कार्यक्रम होस् या विद्यालय शान्ति क्षेत्र घोषणा भनौं या  नेपालको संविधान । सबै जस्ता कार्यक्रमहरुले कागजमा दण्ड सजाय निषेध भनेर जोड दिए पनि ब्यवहारिक रुपमा खासै सुधार भएको छैन ।  

नेपाल बहुसुचक सर्वेक्षण २०१४ का अनुसार, ७० प्रतिशत भन्दा धेरै बालबालिकालाई मनोवैज्ञानिक आक्रोश पोखिने, आधा भन्दा धेरै बालबालिकालाई भौतिक रुपमा सजाय दिने गरिएको पाइएको थियो । ती मध्ये १४ प्रतिशत बालबालिकाले कडा खालका भौतिक सजाय पाउने गरेको पाइएको थियो । नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशत भन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेको तथ्य छ ।

युनिसेफका अनुसार नेपालका १० बालकालिका मध्ये ८ मा अनुशासनको नाममा हिंसा हुने गर्छ । अनुशासनका नाममा हुने हिंसा, भौतिक सजाय र दुव्र्यवहारले संसारभर १३ देखि १५ वर्षका १५ करोड बालबालिकाको शिक्षा अवरुद्ध हुने गर्छ । सबै भन्दा बढि भौतिक सजाय तथा दुव्र्यवहार प्राथमिक तहमा हुने गरेको देखाएको छ । यो तहमा भौतिक खालको सजाय बालबालिकाहरुले भोग्ने गर्छन् । भने माध्यमिक तहमा मानसिक अर्थात् मनोवैज्ञानिक सजाय पाउँछन् । र निम्न माध्यमिक तहका बालबालिकाहरु दुबै खाले सजाय पाउने गरेको युनिसेफको एक अध्ययनले देखाएको थियो ।

३४ हजार विद्यालयमा झण्डै ३ लाख भन्दा बढि शिक्षकहरु छन् । आफूले पनि कुनै बेला अनुशासनको नाममा दण्ड सजाय भोगेरै आएकोले अलि अलि चलिहाल्छ भन्ने मनोविज्ञानले हाम्रा थुर्पै शिक्षक ग्रसित छन् ।  

यदि एक दिनमा एउटा विद्यालयमा एक जना बालबालिकाले कुनै पनि दण्ड सजाय भोग्छ भने नेपाल भर एक दिनमा कम्तिमा ३४ हजार बालबालिकाहरुले दण्ड सजाय भोग्ने अनुमान गर्न सकिन्छ । एक महिनामा उक्त संख्या १० लाखभन्दा बढि हुन्छ ।

सबैभन्दा धेरै आत्महत्या गर्ने मुलुकको सुचिमा नेपाल पनि पर्छ । संयुक्त राष्ट्रको पछिल्लो रिर्पोटका अनुसार नेपाल ७ औं स्थानमा पर्छ । नेपालमा दैनिक १६ जनाले आत्महत्याको कारणले ज्यान गुमाउँछन् । १५ देखि २९ वर्ष उमेर समुहकाले सबैभन्दा धेरै आत्महत्या गर्ने पाइएको छ । बालबालिकामाथि विद्यालय तथा घरमा हुने विभिन्न खाले दण्ड सजायले आत्महत्यासम्म धकेल्न सक्छ । यस्तो जोखिमबाट बचाउनको लागि  घरमा अभिभावक र विद्यालयमा शिक्षकको सकारात्मक भुमिका जरुरी छ ।

...

‘शिक्षिकाले निर्घात पिटिन् बालिका’, ‘पिडक शिक्षकलाई मुक्ति’, ‘छात्र पिट्ने प्रिन्सिपललाई माफि’, ‘शिक्षकको कुटाइबाट अस्पताल भर्ना’, ‘प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते’ , ‘छात्राको टाउको भित्तामा ठोक्काउँदै यातना’, ‘विद्यार्थीलाई सामुहिक कुटपिट’, ‘शिक्षकले छात्रलाई घाममा दिनभरी उभ्याए’, ‘शिक्षकको ज्यादतिले छात्राले दृष्टी गुमाइन’

अहो ! कति सरम लाग्दा समाचार ?

उल्लेखित समाचार शिर्षक विभिन्न सञ्चारमाध्याममा आएका उदाहरण मात्रै हुन् । पहुँचको अभाव, सार्वजनिक गर्दा झन् समस्या हुने डर त्रासका कारण यस्ता धेरै घटना सञ्चार माध्यामसम्म नै आईपुग्दैनन् । प्रकाशन प्रशारण भए पनि न्याय पाउन मुस्किल ।

निजी हुन् या सामुदायिक सबै शैक्षिक संस्थाले विद्यार्थीमाथि कुनै न कुनै रुपमा दण्ड सजाय दिने गरिरहेको यर्थाथता छ । तुलना गर्ने हो भने निजीमा धेरै हिंसा हुन्छ । निजीमा त अनुशासन कायम गराउन डिआई (डिसिप्लेन ईञ्चार्ज) नै नियुक्त गरिन्छ । टाई नलाएको, ढिलो आएको, कक्षामा हल्ला गरेको अनेक वहानामा विद्यार्थीलाई सजाए दिए पछि विद्यार्थीको पढाइ प्रतिको रुचि कसरी बढ्ला र ? विद्यार्थीको ध्यान पढाइ प्रति नै नहुनु दण्ड सजाए पनि एक मुख्य कारण हो ।

सकिन्छ मायाले सिकाऔं । सकिदैन माया मात्रै गरौं । बच्चाले आफ्नो बाटो आफै रोज्छ ।

टंकको जस्ता घटना यहीँ रोकौं । अरुले भनेर यस्ता कुरा रोकिन्न, सबै भन्दा मुख्य भूमिका शिक्षककै हो, शिक्षकहरु गम्भिर बनौं । एक जना शिक्षकलाई विद्यार्थीेले आफ्नो जीवनकाल भरी उर्जा महशुस गरेर स्मरण गरिरहने वातावरण बनाउने स्वयं शिक्षकले नै हो ।

हुन त आफ्नो आँखामा निगालाको लौरीले स्याप्प हान्ने शिक्षकलाई पनि टंकले त कहाँ भुलेको होला र !

प्रतिक्रिया