Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

अपुरो शिक्षा, अधुरो शिक्षा !

शुक्रबार, २९ कार्तिक २०७६

चाल्र्स डार्विन विश्व प्रख्यात प्रकृतिवादी दार्शनिक एवं प्राणी शास्त्री हुन् । उनले लामो समयसम्म प्राणीहरुको अध्ययनगरी प्रकृतिमा आउने परिवर्तनसंगै आपूmलाई सामञ्जस्य गर्न नसक्ने प्राणीहरु अयोग्य हुन्छन् र विलय हुँदै जान्छन् भन्ने सिद्घान्तलाई पुष्टि गरे । प्रकृतिमा आउने परिवर्तनहरु हावा, पानी, खानपान, प्रजनन शक्ति लगायतले पार्ने प्रभावमा आफूलाई सक्षम बनाउन सक्ने प्राणीहरु बाँच्छन् र नसक्ने अयोग्यहरु हराउँदै जाने तथ्यलाई अनुसन्धानको माध्यम द्वारा उनले प्रमातिण गरे । उनले प्राणीहरुमा गरेको अनुसन्धानबाट निस्किएको फिट फर सर्भाइभलको सिद्धान्तले मानव जीवनमा पनि अत्यन्तै महत्वपूर्ण अर्थ राख्दछ । मानवले त अझै प्रकृतिमा आउने फेरवदल मात्र नभएर समाजमा आउने सामाजिक, आर्थिक, साँस्कृतिक, राजनितिक लगायतका परिवर्तित वातावरणसंग पनि आफूलाई योग्य बनाई समयको गति संग संगै हिंड्न सक्ने क्षमता राख्नु पर्दछ ।

यस दृष्किोणबाट हेर्दा उल्लेखित क्षेत्रमा व्यक्तिलाई सक्षम बनाएर देश काल परिस्थिति अनुरुप सामञ्जस्य हुनसक्ने ज्ञान र सीपमा आधारित डार्विन मोडेलको शिक्षा आजको आवश्यकता हो । व्यक्ति, समाज, राष्ट्र एवं विश्वजगतलाई नै गतिशील वा योग्य बनाउने माध्यम शिक्षा हो । शिक्षाले मानिसलाई समय सापेक्ष रुपान्तरण हुनसक्ने क्षमताको विकास गर्न मद्धत गर्दछ । प्रकृतिवादी दार्शनिक रुशोका अनुसार शिक्षा मानिसको आचरण निर्माणको माध्यम हो, भन्ने छ ।

समाज शास्त्री दुर्खिमले शिक्षा एक सामाजिक विक्रयाकलाप हो र यसमा राज्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्ने धारणा विकास गरे । यसरी हेर्दा हाम्रो देशको सन्दर्भमा शिक्षाले व्यक्ति वा समाजलाई समय सापेक्ष क्षमतावान तथा योग्य बनाउन नसकेको अवस्था देखिन्छ । राज्यले निर्धारण गरेको शिक्षा पद्घतिले समाजलाई आर्थिक, साँस्कृतिक, सामाजिक, राजनितिक, तथा वैज्ञानिक दृष्किोणबाट अब्बल बनाउन सकेको स्थिति छैन । यस सन्दर्भमा शिक्षामा समय सापेक्ष परिवर्तन आवश्यक छ । व्यवहारिक, वैज्ञानिक तथा जीवन उपयोगी शिक्षाको कमी हुँदा पढेर पनि रोजगार बन्न अथवा आम्दानी गर्ने ढंग नपुगेको जनशक्ति मात्रै तयार हुन्छ, जुन यतिखेर हाम्रो देशले भोगिरहेको छ । राज्यले सञ्चालन गरेको शिक्षाको माध्यमद्वारा व्यक्ति, समाज र सिङ्गो देश सैद्धान्तिक तथा व्यबहारिक रुपमा परिवर्तनशील हुन आवश्यक हुन्छ ।

अहिले देशको शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति सामाजिक, आर्थिक सांस्कृतिक तथा वैज्ञानिक रुपमा समय सापेक्ष गतिशील हुन नसकेको अवस्था छ । समाजमा रहेका विकृति र विसङ्गतिहरुको अन्त्य भई उन्नत समाजको निर्माण हुन सकेको छैन । सामाजिक विभेद शून्य समाजको सिर्जना हुन सकेको छैन । भूगर्वमा भएका सुन, चाँदी, हिरा, मोति, कोइला, पेट्रोलियम पदार्थ लगायतका खानी र खजनाहरुको पहिचान, उत्खनन र उपयोग हुन सकेको छैन । जल, जमिन, जंगल र जडीबुटीको उपयोग हुन सकेको छैन । कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, यान्त्रीकीकरण तथा व्यबसायीकरण हुन सकेको छैन । यस अर्थमा देशको विद्यमान शिक्षा पद्धतिले व्यक्ति र समाज र देशलाई कसरी सफल बनाउन सक्यो त ?

विश्व प्रसिद्घ शिक्षाविद् पाउलो फेरेरेले विद्यालय उच्चवर्गको राजनितिक तथा सामाजिक स्वार्थ सिद्घगर्ने निकाय हो भनेका छन् । हाम्रो देशमा हजारौंको संख्यामा शिक्षालयहरु खोलिए तापनि अझै पनि देशको एक तिहाई जनसंख्या शिक्षाबाट बञ्चीत भएको अवस्था छ । लाखांैको संख्यामा विद्यालय उमेर समूहका बालबालिकाहरु शिक्षाबाट बञ्चित छन् । यसरी हेर्दा समाजमा पछाडि परेका समुदायहरुले अझै पनि शिक्षाको सुविधा प्राप्त गर्न नसक्नुको पछाडि पाउलो उनले भनेझैं शिक्षा सिमित वर्गको पहुँचमा मात्र भएको देखिन्छ ।

राज्यले नागरिकको शिक्षा पाउने अधिकारलाई संविधानमा मौलिक हकको रुपमा दस्तावेजीकरण गरेको छ । तथापि शिक्षाको पहुँच सर्वसुलभ हुन नसक्नु दुःखको कुरा हो । शिक्षाले धनी वर्गको पक्षपोषण गरी रहेको अवस्था छ । दक्षिण अमेरिकाका प्रसिद्घ शिक्षाविद् इभान इलिचले समाजका सबै नागरिकलाई शिक्षा दिनको लागि डि–स्कूलिङ् शिक्षाको अवधारणा अगाडि सार्दै औपचारिक रुपमा सञ्चालित विद्यालयहरुले समाजका सबै वर्गका नागरिकलाई शैक्षिक समानता प्रदानगर्न नसक्ने भएकोले विद्यालय बाहिरका बालबालिका तथा विभिन्न उमेर समूहका नागरिकहरुलाई वैकल्पीक शिक्षाको व्यबस्था गर्नुपर्ने विचार व्यक्त गरेका छन् । इभान इलिचले भनेझैं हाम्रो देशको शैक्षिक अवस्थालाई हेर्दा राज्यले विद्यालय शिक्षा बाहिर रहेको जनसंख्यालाई अनौपचारिक, अनियमित, दुरशिक्षा एवं प्रौढ शिक्षा लगायतका बैकल्पीक शैक्षिक प्रणाली द्वारा जीवन उपयोगी शिक्षा दिन आवस्यक छ ।

राज्यले शिक्षामा ठूलो धनरासी खर्च गरेको छ । विद्यालय शिक्षालाई निुःशल्क बनाउने घोषणा पनि गरेको छ । शिक्षालाई हरेक नागरिकको मौलिक अधिकारको रुपमा स्वीकार गरेको छ । तथापि राज्यको पहल व्यबहारमा लागु हुन सकेको छैन । विश्व प्रसिद्घ समाजशास्त्री तथा शिक्षाविद ओटावेका विचारमा कुनै पनि देशले शिक्षालाई निःशुल्क बनाउनु मात्र सबैलाई शिक्षाको अवसर प्रदान गर्नु होइन, शिक्षाको विस्तारगरी उच्च शिक्षाको पहुँच बढाउनु मात्र पनि होइन, यस प्रकारको शैक्षिक व्यबस्थाले समाजका उच्चवर्ग वा टाठाबाठाहरुले मात्र मौकाको सदुपयोग गर्न सक्दछन् र समाजका विपन्न वर्गले शिक्षाको अवसर प्राप्तगर्न सक्दैन भन्ने धारणा राखेको पाइन्छ ।

यस सन्दर्भमा हाम्रो देशको साक्षरताको तथ्याङ्कले ओटावेको भनाईलाई पुष्टि गर्दछ । शिक्षा विपन्न तथा पिछडिएको समुदायको पहुँचमा पुग्न सकेको छैन । तसर्थ राज्यले शिक्षाबाट बञ्चित समुदायलाई पढ्ने लेख्ने सुविधाको प्रबन्ध मिलाउनु पर्दछ । हाम्रो देशमा व्यवसायिक तथा रोजगार मैत्री शिक्षाको कमी छ । व्यवहारिक शिक्षाको अभावले गर्दा विश्वविद्यालय सम्मको अध्ययन पुरा गरेका शिक्षित नागरिकहरु आप्mनो प्रमाणपत्र दराजमा थन्काएर आयआर्जनका लागि विदेश पलायन भएको अवस्था छ ।

आफ्नै देशमा आय आर्जन गरी देश विकासमा सहभागी हुन अक्षम भएको अवस्थालाई स्वीकार्ने हो भने शिक्षा अपुरो छ । अधुरो छ । शिक्षाले सक्षम, उध्यमशील, सिर्जनसील एवं कर्मसील नागरिक उत्पादनगर्न नसकेको अवस्था छ । यस सन्दर्भमा डार्विनले भनेझैं शिक्षितहरुले विश्वविद्यालयसम्मको अध्ययनले पनि आपूmले चाहेको व्यवसाय खोज्ने, रोज्ने र टिकाउने ज्ञान तथा सीपको अभावले विदेसिनु पर्ने अवस्था आउनको पछाडि शिक्षाले व्यक्तिलाई योग्य बनाउन नसक्नु ठहर्छ ।

देशमा अथाह प्राकृतिक स्रोत र साधन छ तथापि यसको उपयोगगरी देश विकास गर्नसक्ने उच्च दक्ष जनशक्तिको अभाव छ । शिक्षालयहरु वेरोजगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा परिणत भएका छन् । गाउँ घरमा पढेलेखेका युवाहरुले आप्mनै ग्रामिण इलाकामा आय आर्जनका संभावनाहरुको खोजी गर्न सकेको स्थिति छैन । समाजमा रहेका परम्परागत कुरिती, अन्धविश्वास, कुप्रथा, चलन एवं प्रचलनहरु हट्न सकेका छैनन् । समाजका समस्याहरु समाधान गर्नको लागि आधुनिक चिन्तनको खाँचो हुन्छ ।

वैज्ञानिक तर्कका आधारमा आधुनिक समाजको निर्मण गर्ने योग्यता तथा वैज्ञानिक चिन्तनको स्रोत पनि शिक्षा भएकोले तत्अनुरुपको शिक्षाले मात्र सामाजिक रुपान्तरण संभव हुन्छ । यसर्थ समय सापेक्ष जीवन उपयोगी डार्विनको सिद्धान्तमा आधारित योग्य नागरिक उत्पादनगर्न सक्ने शिक्षा नै आजको खाँचो हो । व्यक्ति तथा समाजमा योग्य हुनु भनेको सामाजिक, आर्थिक, साँस्कृतिक तथा आधुनिक चिन्तनको आधारमा सक्षम हुनु हो । यसको लागि पारिवारिक मेलमिलाप, सामाजिक सचेतना, आय आर्जनगर्न सक्ने व्यवसायिक सीप, परम्परागत चिन्तनमा क्रमभङ्गता लगायत आफू तथा समाजलाई समयानुकुल सहजीकरण गर्नु हो ।

उल्लेखित आशयमा डार्विन मोडेल उपयुक्त ठानिन्छ । यसर्थ राज्यले सामाजिक, साँस्कृतिक, आर्थिक तथा बैज्ञानिक क्षेत्रमा आएका परिवर्तनहरुलाई आत्मसात गर्दै गतिशील चिन्तन र आर्थिक विकासका क्षेत्रहरु छनौट गर्न सक्ने योग्य तथा सक्षम नागरिक उत्पादन गर्न शिक्षाको विद्यमान तौर तरिकामा संशोधन, परिमार्जन तथा परिवर्तन गर्नुको विकल्प छैन ।

प्रतिक्रिया