Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

परीक्षाको मुखैमा प्रश्न पत्र नै जलाईयो

बुधबार, १८ मंसिर २०७६

चितवन - आफूहरुसँग लिएको बढी शुल्क तुरुन्तै फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सा शिक्षाका विद्यार्थीले परीक्षाको प्रवेश पत्र नै जलाएका छन् । विद्यार्थीले बिहीबारबाट शुरु हुने परीक्षाको प्रवेश पत्र जलाएका हुन् । विद्यार्थीले आफ्ना माग पुरा नभए पहिलो वर्षको परीक्षा बहिष्कार गर्ने घोषणा गरेका थिए । 

नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएको चिकित्सा विद्यार्थी संघर्ष समितिले जनाएको छ । 

आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै समितिले परीक्षा बहिष्कार गर्ने निर्णय गरेको थियो । 

गत मंगलबार आधारात सम्म चलेको वार्ता पछि मेडिकल कलेजका सञ्चालकहरुले सरकारसँग शुल्क फिर्ताको सहमती जनाएका थिए । तर उक्त सहमतीमा फिर्ता गर्ने अवधि नतोकिएको भन्दै विद्यार्थी आन्दोलित छन् । 

सरकारले दिएको समय सिमा भित्र शुल्क फिर्ता गर्न कलेजहरुले अटेरी गरेपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउने निष्कर्ष निकाले पछि आधा रातमा सहमती गरिएको थियो । 

सरकारसँग भएको सहमति अनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा बुधबारबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया शुरु गर्न सञ्चालकहरु सहमत भए पनि कहिले सम्म सक्ने भन्ने यकिन गरिएको थिएन । 

 

प्रतिक्रिया