Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

समूहमा अधिकारीको नेतृत्व, बदलिदों समय अनुसार शिक्षाका प्राथमिकता तय गर्ने प्रतिवद्धता

मंगलबार, ०६ फागुन २०७६

काठमाडौं - शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको नेतृत्वमा आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समूहको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा निर्वाचित भएका छन् । 

विगत २२ बर्ष देखि पत्रकारिता गर्दै आएका अधिकारी पछिल्लो समय नेपालगञ्ज स्थित कृष्णसार एफएममा कार्यकारी प्रमुख तथा समाचार निर्देशक छन् । उपाध्यक्ष मल्ल बुटवल टुडे दैनिकका सम्पादक हुन् भने नेपाल, नेपाल साप्ताहिकमा कार्यरत छन् । यसैगरी सचिव तण्डुकार शिक्षालय मासिकका प्रधान सम्पादक र कोषाध्यक्ष थापा आर्थिक अभियानमा कार्यरत छन् । इमेज टेलिभिजनमा कार्यरत प्रज्ञा तिमल्सिना,  रेडियो नेपालकी यशोदा अधिकारी, वाचडग मिडियाका ओमप्रकाश घिमिरे, प्राइम टेलिभिजनका जनक पण्डित, नुवागी मासिककी सविना बानिया, एजुकेशन पाटीका रोशन क्षेत्री गाउँले, कारोवार दैनिकका गोपाल संग्रौला र उज्यालो रेडियो नेटवर्कका विष्णु विवेक सदस्य निर्वाचित भएका छन् । 

नेपाल पत्रकार महासंघ र तत्कालिन शिक्षा विभागले संयुक्त रुपमा प्रदान गर्ने राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०६१ बाट पुरस्कृत अधिकारी पत्रकारितामा स्नातकोत्तर हुन् । त्यो बर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुरका देवेन्द्र भट्टराई र अधिकारीले संयुक्त रुपमा प्राप्त गरेका थिए । २०५८ साल देखि समुहले निर्माण गरेको शिक्षाको नालीवेली नामक रेडियो कार्यक्रममा साढे ३ बर्ष वरिष्ठ कार्यक्रम उत्पादकका रुपमा कार्य गरेका अधिकारी समूहको नवनिर्वाचित कार्यसमितिका सबै भन्दा पुराना सदस्य समेत हुन् । 

निर्वाचित भएसँगै अध्यक्ष अधिकारीले बदलिदोँ समय अनुसार शिक्षा पत्रकारिताको प्राथमिकता बदल्न जरुरी रहेको तर्फ आफ्नो कार्यसमिति केन्द्रित हुने बताए । निकट भविष्यमा शिक्षाका सरोकारवालाहरु सहित बसेर बृहत छलफल गरी प्राथमिकता निर्धारण गर्ने योजना बनाएको उनले बताए । 

'समूह स्थापनाको २० बर्षमा समय मात्रै बदलिएको छैन, शिक्षाका प्राथमिकता पनि बदलिएका छन्, त्यही अनुसार समूहले प्राथमिकता निर्धारण गर्नु पर्ने बेला भईसकेको छ' निर्वाचित भईसके पछि एडुखबरसँग संक्षिप्त प्रतिकृया दिदैं अधिकारीले भने, 'नयाँ संविधानमा शिक्षालाई मौलिक हक अन्र्तगत गरिएको व्यवस्था कार्यान्वयन र विद्यालय तह सम्मका शिक्षाको अधिकार स्थानीय सरकार मातहत भएको सन्दर्भमा पत्रकारिताका माध्यमबाट गर्नुपर्ने पैरवीलाई त्यस तर्फ केन्द्रित गर्न कार्यसमिति कृयाशिल हुने छ ।'

अन्य पदमा सर्व सम्मत भए पनि अध्यक्षमा मदतान भएको थियो । निवर्तमान कार्यसमितिका उपाध्यक्ष शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्ष भएका हुन् । समूहमा ४१ सदस्य भए पनि मतदानमा २९ भोट मात्रै खसेको थियो । जस मध्ये अधिकारीले २३ र पण्डितले ६ मत प्राप्त गरेका हुन् । 

नयाँ कार्यसमितिका अघिल्तिर निर्वाचनले धमिलो बनाएको समूह भित्रको  आन्तरिक मेलमिलाप सुधार गर्नु पहिलो चुनौती छ । तर, अधिकारी उक्त प्रकृयालाई प्रजातान्त्रिक अभ्यासको रुपमा बुझ्न आवश्यक रहेको बताउँछन् ।

'प्रजातान्त्रिक मूल्यमा विश्वास गर्नेहरुका लागि चुनाव त एउटा प्रकृया हो, अधिकाँश साथीहरुले नेतृत्वमा आउन गर्नु भएको आग्रह टार्न सकिन, तर, हामीले के बुझ्नु पर्छ भने, हामी सबै एकै क्षेत्रमा कृयाशिल सञ्चारकर्मी हौं, चुनावको कुरा बन्द हलमै सकियो अब मिलेर अघि बढ्ने वातावरण निर्माणको विकल्प छैन' उनले भने, 'फरक फरक व्यक्तिसँग हुने फरक फरक क्षमता र दृष्टिकोणले नै समुहलाई अझ जुझारु बनाउन सघाउने छ, यस तर्फ नवनिर्वाचित कार्य समिति सचेत छ ।'

आन्तरिक मेलमिलाप सँगै विभिन्न समूहमा छरिएका शिक्षा पत्रकारहरुलाई एकैठाउँमा आवद्ध गराउने विषयमा पनि आफ्नो कार्यसमिति छलफलका लागि खुल्ला रहेको अधिकारीले बताए । 

समूहको अधिवेशन सोमबार विहान साढे १० बजे शुरु भए पनि निर्वाचन प्रकृया सकिदाँ आधारात भएको थियो । अधिवेशन उद्घाटन कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए । 

पढ्नुहोस् उक्त खबर : राम्रो गर्ने प्रअ र व्यवस्थापन समिति अध्यक्षलाई सम्मान

 

प्रतिक्रिया