Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षक अभाव कम गर्न स्वयंसेवक परिचानल गरिने, इकाइको सूचीका आधारमा विद्यालयले नियुक्त गर्ने

विहीबार, ०८ फागुन २०७६

काठमाडौं - सामुदायिक विद्यालयहरुले झेल्दै आएको विषय शिक्षक अभाव कम गर्न सरकारले शिक्षण स्वयंसेवक परिचालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समाविष्ट भएको उक्त विषय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले कार्यविधि निर्माण गरेको छ । 

शिक्षक विद्यार्थी अनुपात धेरै भएका, अँग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय र प्राविधिक धारका विद्यालयमा त्यस्ता स्वयंसेवक परिचालन गरिने छ । गत बैशाख २० गते संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा 'चिनौं आफ्नो माटो बनाउँ आफ्नै देश' अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिप सहित मुलुक भर परिचालन गर्ने उल्लेख थियो । सोही कार्यक्रम सञ्चालन गर्न तयार कार्यविधिलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गत माघ २९ गते स्विकृत गरेका शिक्षा मन्त्रालयले जनाएको छ । 

स्थानीय सरकारले गर्ने सिफारिस र जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले तयार पार्ने सूचीका आधारमा विद्यालयले स्वयंसेवकको नियुक्ति गर्ने गरी कार्यविधि निर्माण गरिएको छ ।

'स्थानीय तहले शिक्षण स्वयंसेवकको स्थानीय तहगत स्वीकृत सूचीबाट आफ्नो क्षेत्रभित्रको विद्यालयको लागि स्वयंसेवक नियुक्तिको सिफारिस गर्ने छ' कार्यविधिमा भनिएको छ, 'यसरी सिफारिस गरिएको व्यक्तिलाई सम्बन्धित विद्यालयले सम्झौता गरी नियुक्ति गर्नु पर्ने छ ।'

शिक्षण स्वयंसेवक परिचालन तथा समन्यवकारी भूमिका निर्वाह गर्न शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय स्तरमा एक समन्वय तथा परिचालन समिति रहने कार्यविधिमा व्यवस्था छ । स्वयंसेवकको व्यवस्थापन सम्बन्धि सम्पूर्ण योजना तथा कार्यक्रम स्वीकृत गर्ने काम उक्त समितिले गर्ने छ । संख्या र शिक्षण विषयको पहिचानको जिम्मा पनि सोही समितिको हुने छ । 

समितिले विद्यालयमा हाल कायम विषयगत शिक्षक दरबन्दी, राहत अनुदान कोटा र केन्द्रद्वारा वितरण गरिने शिक्षण सहयोग अनुदान समेतलाई गणना गरेर अँग्रेजी, गणित र विज्ञान विषयको शिक्षकको दरबन्दी अपुग हुने विद्यालयमा स्वयंसेवक परिचालन गर्ने गरी संख्या निर्धारण गर्ने छ । 

केन्द्रले प्रत्येक स्थानीइ तह मार्फत् आधारभूत र मावि तहमा उक्त तीन विषयको शिक्षक संख्या अपुग भएको विद्यालयको पहिचान गरी माग संकलन सहित संख्या यकिन गर्ने छ । यसरी यकिन हुनु अघि स्वयंसेवकको रुपमा काम गर्न चाहने व्यक्तिलाइृ ७ दिनको म्याद दिई सूचना प्रकाशन गर्ने पनि कार्यविधिमा उल्लेख छ । कम्तिमा स्नातक तहको शैक्षिक योग्यता भएका ४० बर्ष नकटेका व्यक्तिले  स्वयंसेवकका लागि आवेदन गर्न सक्ने छन् । तर, स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिईने व्यवस्था गरिएको छ ।   

यसरी नियुक्ति हुने स्वयंसेवकका लागि विभिन्न ४ वर्ग निर्धारण गरी न्यूनतम २४ हजार देखि अधिकतम ३२ हजार रुपैंया सम्म मासिक भत्ता दिईने व्यवस्था गरिएको छ । स्नातकोत्तर तह र स्नातक उत्तीर्णका हकमा छुट्टा छुटै तलब स्केल तय गरिएको छ ।  

कार्यविधि पढ्नुहोस् :

प्रतिक्रिया