Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

शिक्षकहरु गणितबाट कमाउने तर विद्यार्थी किन नरमाउने !

शुक्रबार, १६ फागुन २०७६

मानव जीवन गणितबाट शुरु भई गणितमै अन्त्य हुन्छ !

गणित भनेको अङ्क हो अर्थात् अङ्कको खेल हो । सामान्यतया गर्भधारण गरेको ९ महिनामा शिशुको जन्म हुन्छ । जन्मेको निश्चित दिन भित्र आ–आफ्नो धर्म संस्कार अनुसार न्वारान गरिन्छ । नेपालको कानुनले पनि २१ वर्ष उमेर पूरा भए पछि मात्र विवाह गर्न सकिने व्यवस्था गरेको छ । हिन्दु धर्ममा मृत्यु भएको १३ दिन दिन सम्म किरिया बस्नु पर्ने संस्कार छ । त्यसै गरी बौद्ध धर्ममा मृत्यु भएको प्रत्येक साता विशेष पुजाआजा गर्नु पर्ने र ४९ दिन भित्र घेवा (किरिया) गर्नु पर्ने संस्कार छ भने अन्य धर्ममा पनि आ–आफ्नो संस्कार अनुसार दिन गन्ती गरी धार्मिक तथा सामाजिक कार्य गर्ने गरिन्छ । 

त्यसै गरी जागिरमा पनि १८ वर्ष पूरा भई तोकिएको वर्ष ननाघेको र निजामतीमा ५८ वर्ष, शिक्षकमा ६० वर्ष, विश्वविद्यालयमा ६३ वर्षमा अनिवार्य अवकाश हुने व्यवस्था छ । त्यति मात्र कहाँ हो र ! सामान किन्न पसलमा जाँदा गणित, यति पाथीको बिऊ राख्दा यति रोपनीको खेतलाई पुग्छ भनेर खेतीपातीमा पनि गणित, यति सङ्ख्यामा भोट ल्याएर यति सांसद विजय भएमा वहुमत प्राप्त हुन्छ भनेर राजनीतिमा पनि गणित, यति सालमा यस्तो घटना घटेको थियो र अहिले यति वर्ष भयो भनेर इतिहासमा गणित, यस पाली यति कारोबारबाट भएको आम्दानी र खर्चको आधारमा यति नाफा वा नोक्सान भयो भनेर व्यापार व्यवसायमा गणित, उचाई, बनावट, हावापानीको अवस्था बताउन भूगोलमा गणित, पद्यका अक्षरहरु मिलाउन साहित्यमा गणित, भान्छामा गणित, मनोरञ्जनमा गणित, दुःखमा गणित, सुखमा गणित आवश्यक पर्दछ । 

यसरी मानव जीवनको हरेक मोडहरुमा काम लाग्ने गणितलाई हाम्रो शिक्षण संस्थामा किन गाह्रो विषयको रुपमा स्थापित हुन पुग्यो त ? यसको लागि अलिकति पछाडी फर्केर हेरौ । 

गुरुकुल शिक्षा पद्दतीबाट शुरु भएको नेपालको शिक्षामा हालसम्म आईपुग्दा गणितलाई विभिन्न किसिमले समावेश गर्दे आएको देखिन्छ । पुरानो शिक्षा प्रणालीमा स्रेस्ता, घरेलु अङ्क गणित, गणित आदि विभिन्न नामले समावेश गरेको पाइन्छ जुन व्यवहारसँग प्रत्यक्ष सम्वन्ध रहेको हुन्थ्यो । त्यहाँ सिकेका कुराहरु व्यवहारमा सोझै काम लाग्थ्यो । वर्तमान अवस्थासम्म आइपुग्दा गणित अनिवार्य तर एउटा गाह्रो विषयको रुपमा स्थापित भएको देखिन्छ । 

विद्यार्थी, शिक्षक, अभिभावक, पाठ्यक्रम विज्ञ, नीति निर्माता सबैले गणितलाई सहज र व्यवहारिक विषयको रुपमा लिन सकेका छैनन् । यसो हुनुमा सम्वन्धित सरोकारवालाहरुको गणित प्रतिको नकारात्मक दृष्टिकोणले काम गरेको देखिन्छ । गणितसँग सम्वन्धित सरोकारवालाहरुको गणित सिकाइ नै धारणागत सिकाइ भन्दा पनि अभ्यासमा दिईएका समस्याहरु कसरी समाधान गर्ने र विभिन्न सुत्रहरु कसरी कण्ठ पार्ने भन्ने पृष्ठभूमिबाट भएको देखिन्छ । त्यस कारण गणितलाई समस्या समाधान र सुत्र घोक्न लगाउने गरी सिकाउन थालियो । जसको फलस्वरुप न गणितको वास्तविक धारणाको ज्ञान भयो न त व्यावहारिक रुपमा उपयोग गर्न नै सकियो ।

गणित केवल ट्युसन र कोचिङ मार्फत कमाउने साधनको रुपमा परिचित हुन पुग्यो । विद्यार्थी रमाउने विषयको रुपमा गणित हुनु पर्नेमा कमाउने विषय हुनुमा जिम्मेवार को त ? 

प्रश्न स्वभाविक रुपमा शिक्षक प्रति सोझिन्छ । 

किनकी वर्षेनी हुने कक्षा १ण् को अन्तिम परीक्षा एसईईको नतिजामा सबैभन्दा कम ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या गणितको नै बढी हुन्छ । तर त्यसमा शिक्षक एउटालाई मात्र दोष लगाएर अरु उम्कन सक्नेवाला छैन । यसमा पाठ्यक्रम निर्माता, पुस्तकका लेखक, विषय विज्ञहरु, सरकारी नीति आदि पनि उत्तिकै दोषका भागीदार छन् । 

पाठ्यक्रम निर्माणका बेला राखिने विषयको क्षेत्र, क्रम, पाठ्यवस्तु, पाठ्यभार, क्रियाकलाप, मूल्याङ्कन आदिलाई वैज्ञानिक तथा व्यावहारिक ढङ्गले व्यवस्थापन गर्न सकेका देखिदैनन् । पाठ्यक्रमको गुणस्तर र समकक्षतालाई मात्र मुख्य आधार मानी धेरै विषयवस्तुहरु एउटै कक्षामा समावेश गर्ने र तिनको व्यावहारिक तथा प्रयोगात्मक क्रियाकलापहरु समावेश नगर्नुका कारण मुख्य समस्या परेको देखिन्छ । 
गणित अध्यापन गर्ने शिक्षकहरुलाई कोर्ष सकाउनै सकस हुने र व्यावहारिक क्रियाकलाप गराउने सीप र वातावरणको विकास गराउने ठोस प्रयासहरुको अभावमा गणित एक काल्पनिक र सैद्धान्तिक विषयको रुपमा देखापरेको छ । जसका कारण विद्यार्थी गणितमा नरमाउने तर केही शिक्षकहरु  गणितबाट कमाउने भईरहेका छन् । 

गणित भित्र अध्ययन हुने विषयवस्तुहरुको सिधा सम्वन्ध व्यवहारमा प्रयोग भएका कुराहरुसँग छन् भनी देखाउन र प्रयोग गर्न असफल प्राय भएको देखिन्छ । क्षेत्रफलको हिसाव गर्ने विद्यार्थीले आफ्नो घरमा कार्पेट ओछ्याउन इष्टिमेट गर्न नसक्नु, प्रतिशतका हिसाव गर्ने विद्यार्थीले आफुले हासिल गरेको प्राप्ताङ्कको प्रतिशत निकाल्न नसक्नु, जोड, घटाउ, गुणन र भागको हिसाव गर्ने विद्यार्थीले गाउँ घरमा हुने सर सापट अ‍ैंचो पैंचोको हिसाव गर्न नसक्नु, ऐकिक नियमको हिसाव गर्ने विद्यार्थीले दैनिक व्यवहारका हिसाव गर्न नसक्नु जस्ता तितो यथार्थ हामी माझ छन् । यसलाई चिरेर गणित एउटा रमाउने विषय बनाउन जरुरी छ ।

त्यसका लागि गणितलाई सुत्र कण्ठ गर्ने र काल्पनिक समस्याहरुको समाधान गर्ने भन्दा पनि सम्भव भए सम्म गणितका हरेक पाठहरु प्रयोगात्मक ढङ्गले सिकाउनु पर्दछ । जसमा उनीहरु काम गर्दा गर्दै सिक्दछन् र उक्त सिकाइ दिगो र प्रभावकारी पनि हुन्छ । गणित अध्यापन गर्न बोर्ड र मार्कर होइन ठोस सामग्रीहरु आवश्यक हुन्छन् । यसो गर्न सकेमा न विद्यार्थी गणित विषयको नाम सुन्ने बितिक्कै तर्सनु पर्छ, न गणित विषयका शिक्षकहरु अपजसी शिक्षकको रुपमा रहन र गणित विषयका शिक्षकहरुले यो विषय कुनै तह र सङ्कायमा हटाउन पाईदैन भनेर आन्दोलन नै गर्ने स्थिति आउँछ । 

गणितको ज्ञान विना न त दैनिक व्यवहार नै राम्ररी सञ्चालन गर्न सकिन्छ न त कुनै विषय माथि तर्क सङ्गत रुपमा विश्लेषण गर्न सकिन्छ । त्यसैले गणित कमाउने विषय होइन रमाउने विषय हो भन्ने कुरा स्थापित गराउनु जरुरी छ । 

लामा ललितपुर स्थित पाटन माध्यमिक विद्यालयका शिक्षक हुन् । 

प्रतिक्रिया