Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

एनओसी बारे शिक्षा मन्त्रालयको निर्णय, डब्लुएचओको प्रतिवेदनका आधारमा फेरवदल भईरहने

सोमबार, १९ फागुन २०७६

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) बढ्दो जोखिमलाई मध्यनजर गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिने बारेमा शिक्षा मन्त्रालयले नयाँ निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अद्यावधिक गरेको पछिल्लो प्रतिवेदनका आधारमा यो निर्णयमा फेरबदल भईरहने मन्त्रालयले निर्णय गरेको छ ।

'चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, ईटली, इरान लगायतका कोरोना भाईरस बाट अति प्रभावित र अति जोखिममा रहेका देशहरुमा बैदेशिक अध्ययन अनुमति पत्र एनओसी जारी नगर्ने' शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गरेको निर्णयमा भनिएको छ, 'विश्व स्वास्थ्य संगठनले अद्यावधिक गरेको पछिल्लो प्रतिवेदनका आधारमा अहिले सम्म कोरोना भाईरस बाट प्रभावित नभएका देशहरुमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई साविक बमोजिम नै अध्ययन अनुमतिपत्र दिने कार्य जारी राख्ने ।'

विद्यार्थीको ख्याल गरेर मंगलबार देखि लागू हुने गरी गरिएको यो निर्णय अर्को सूचना जारी नभए सम्मका लागि कायम हुने जनाईएको छ ।  

आईतबार बसेको मन्त्री परिषद् बैठकले बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि एनओसी नदिने निर्णय गरेको मन्त्री पोखरेलले बताएका थिए । कुन देशमा रोक्ने र कुन देशमा खुल्ला गर्ने भन्ने बारेमा अवस्था विश्लेषण गरेर थप निर्णय गर्ने उनको भनाई थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारले बनाएको समितिले गर्ने अध्ययन र अवस्था विश्लेषणका आधारमा आवश्यकता अनुसार अन्य निर्णय हुँदै जाने मन्त्री पोखरेलले जानकारी  दिए ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार बर्षको सरदर एक लाख बढी नेपाली विद्यार्थीले विभिन्न मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिदैं आएका छन् । अहिले वैदेशिक शिक्षामा जाने विद्यार्थीमध्ये सबै भन्दा धेरैको रोजाई अष्ट्रेलिया छ भने दोस्रो रोजाईमा जापान छ । यी दुबै मुलुकमा उक्त भाईरसको सक्रमण देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को बढ्दो जोखिमका कारण सरकारले भ्रमण बर्ष २०२० लाई पनि स्थगित गरेको छ । नेपाल आउने विदेशीलाई आगमन भिसा (अन(अराइभल) भिसा समेत तत्कालका लागि स्थगित गर्ने सरकारले निर्णय गरेको छ । धेरै मानिस संलग्न हुने कार्यक्रम गर्दा संक्रमणको सम्भावना अधिक हुने भन्दै सरकारले ठूला सभा सम्मेलनहरू सकेसम्म नगर्न समेत अपिल गरेको छ । जोखिमलाई ध्यान दिदैं सरकारले आइतबारदेखि नै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य जाँच पनि सुरु गरेको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया