Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीलाई थाहै नदिई मिडिया मार्फत् एसईई स्थगितको घोषणा, अनुमोदन गर्न बोर्ड बैठक बस्दै

बुधबार, ०५ चैत्र २०७६

काठमाडौं - दिउँसो बसेको बैठकले कक्षा १० को अन्तिम परीक्षा (एसईई) यथावत राखेर अन्य शैक्षिक गतिविधिलाई रोक लगाउने निर्णय गरे पनि उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ३ घण्टा पछि मिडिया मार्फत् परीक्षा स्थगित भएको सार्वजनिक गरेका छन् । उनी कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको संयोजक हुन् । संयोजक पोखरेलले मिडिया मार्फत् उक्त कुरा सार्वजनिक गरे पछि बल्ल शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले थाहा पाएका श्रोतले जनाएको छ । दिउँसो बसेको बैठकको निर्णयको बुँदा नम्बर १२ मा परीक्षा यथावत राख्ने निर्णय गरिएको थियो ।

'परीक्षाको सबै तयारी र सुरक्षाको प्रवन्ध सकेर बसेको बेला संयोजकको भनाई उदृत गर्दै उक्त कुरा मिडियामा आए पछि हामीले थाहा पाएका हौं' मन्त्री निकट श्रोतले भन्यो, 'विपद्का बेला परिस्थिती हेरेर तत्काल निर्णय गर्नु पर्ने त सामान्य कुरा हो, तर अहिले सम्मको अवस्था विश्लेषण गरेर समितिको बैठकले परीक्षा यथावत राख्ने निर्णय गरेको ३ घण्टा मै संयोजकको उक्त भनाई मिडिया मार्फत् सार्वजनिक भए पछि हामी पनि एक छिन त अन्यौलमा पर्यौं ।'

बैठक सकिएको तीन घण्टामा के थप आपत् आईपर्ने देखियो वा देखिईसक्यो भन्ने बारेमा कसैले स्पष्ट पारेको छैन ।

उक्त कुरा अनुमोदन गर्न शिक्षा मन्त्री पोखरेलले परीक्षा बोर्डको बैठक बोलाएका उक्त श्रोतले बतायो ।

केही दिन देखि स्थगित गर्न आवाज उठीरहँदा पनि शिक्षा मन्त्रालयले पर्याप्त सुरक्षा अपनाएर परीक्षा गर्ने बताउँदै आएको थियो । परीक्षा हुने नहुने अन्यौल जारी रहेका बेला मंगलबार मात्रै शिक्षा मन्त्री पोखरेलले परीक्षा सञ्चालनका लागि पर्याप्त सावधानीको प्रवन्ध गरिएकोले त्रसित र भयभित नभै सहभागि हुन सार्वजनिक अपिल गरेका थिए । सोही अनुसार परीक्षाको आवश्यक कार्य जारी रहेका बेला बुधबार अबेर संयोजक पोखरेलले परीक्षा स्थगित भएको बताएको भन्दै मिडियामा खबर सार्वजनिक भएको थियो । यसले केही बेर बोर्ड र मन्त्रालयका उच्च कर्मचारी अलमलमा परेका थिए ।

दिउँसो बसेको बैठकले गरेको निर्णय पढ्नुहोस् : शिक्षण संस्था बन्दको निर्णय, सबै खाले शैक्षिक गतिविधिमा रोक

प्रतिक्रिया