Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अभिभावक / विद्यार्थी

विषय : शिक्षकलाई 'लकडाउन होमवर्क'

बुधबार, १० बैशाख २०७७

आदरणीय सर
नमस्कार ।
                   विषयः होमवर्क सम्बन्धमा ।

आराम छु  । तपाईं पनि पक्कै आरामै हुनुहुन्छ होला । किनकी अहिले सम्म शिक्षकलाई कोरोना भाईरसको संक्रमण भएको समाचार आएको छैन । यसैबाट मैले तपाई सञ्चै भएको अनुमान गरेको छु । अन्य रोग त औषधी खाए ठिक हुन्छन् । त्यसमाथि मेरा आमा, बा भन्दा पनि धेरै जानेको मान्छे पर्नु भयो । मैले सबै भन्दा धेरै जान्ने ठानेका मेरा आमा, बा त यस बारेमा सचेत हुनुहुन्छ भने तपाई नहुने कुरै भएन !

पत्र लेख्नु पर्ने नै  ठुलो कारण त थिएन । तर कोरोना भईरस जोखिम क मगर्न भन्दै सरकारले लकडाउन गरेका कारण घरमै बसिरहँदा अकस्मात तपाईलाई सम्झें ।

लकडाउन भएको शुरुका केहि दिन त विद्यालय पनि बन्द भएकोमा म खुशी थिँए । हरेक दिन विद्यालय जानु पर्दा विद्यालय मन पर्दैन थियो । अहिले भित्रै कोचिएर बस्नु भन्दा त बरु विद्यालय जानु नै ठिक जस्तो लाग्दै छ । त्यस माथि आमा, बा जतिखेर पनि “पढ” मात्र भन्नुहुन्छ ।

तपाई आफै भन्नु न– के पढ्नु मैले ? पुरानो पढौं परिक्षा भइसक्यो । नयाँ पढौं रिजल्ट भएको छैन ।

हरेक पल्ट तपाई नै भन्नुहुन्थ्यो – “यो परीक्षामा आउँछ राम्रोसँग पढ्नु !”

अहिले पढेर के गर्नु पुरानोको परीक्षा भइसक्यो नयाँको  कहिले हुन्छ थाहै छैन । परीक्षामा नआउने कुरा के पढ्नु !

पत्र लेख्नु पर्ने कारण भन्दा भन्दै अरु तिर पो गए छु ।

सरकारले  कोराना संक्रमण फैलिन नदिन गरेको लकडाउन यति लामो हुन्छ भन्ने थाहा भएको भए तपाईलाई म पहिले नै पत्र लेख्थेँ होला । अस्ती एक दिन बाले मोबाइल चार्जमा राखेर कता जाँदा यसो लुकेर हेरेको थिएँ ।  त्यसमा  लकडाउनमा विद्यार्थीले के गर्ने ? अभिभावकले के गर्ने ? शिक्षकले के गर्ने ? जस्ता कुराहरु लेखेका समाचार देखेँ । तर पुरा हेर्न नपाउँदै बा  आइहाल्नु भयो । एक दनक दिइहाल्नु भयो !
त्यस पछि यसो सोचेँ तपाईंलाई पत्र लेख्नु पर्यो । हुन त लेखुँ की नलेखुँ भनेर धेरै बेर सोचेको हुँ, फेरि तपाईंले नै भनेको सम्झँे – “विद्यालय औपचारिक संस्था हो, यहाँ हुने सबै कार्य औपचारिक हुन्छन् । त्यसैले विद्यालय नआउने दिन निवेदन लेख्नु पर्छ ।”  

यसबाट तपाईं पनि औपचारिक जस्तो लाग्यो । त्यसैले औपचारिक पत्र लेख्ने जमर्को गरेको हुँ ।

पत्रको विषय पढ्दा नै तपाईंलाई हल्का रिस उठ्यो होला !

नरिसाउनुस् सर मैले वर्षभरि होमवर्क गरेकै छु त रिसाएको छैन । त्यसैले तपार्इं पनि नरिसाउनु होला । हुन त तपाईले नै एक दिन भन्नु भएको थियो – “रिसाउँदा स्वास्थ्यलाई असर गर्छ ।”

मेरा बा, आमा भन्दा पनि धेरै जाने बुझेको  मान्छे किन रिसाउनु होला र ?

छोडौं यी सबै कुरा । मैले घरमा कुनै काम विगार्दा बाले ठुलो स्वरमा भन्नु हुन्छ – “स्कुलमा माष्टरले यस्तै सिकाउँछन् ?”  

त्यति बेलै हो मैले मेरा बा, आमा भन्दा तपाई धेरै जान्ने हुनुहुँदो रहेछ भन्ने थाह पाएको ।

छाड्नुस् यो कुरा पनि । कुनै न कुनै दिन त हाम्रो स्कुल खुल्ला नी ! हो त्तिखेर बुझाउने गरी म तपाईंलाई होमवर्क दिँदै छु, ध्यान दिएर यो पत्र पढ्नुहोला ।

तपाईंले दिएको होमवर्क त म सधैं गर्थे र गर्नेछु पनि । तपाईंले दिने होमवर्क तपाई चेक त गर्नु हुन्छ । तर अलि गहिरोसँग हेर्नु भएन जस्तो लाग्छ मलाई । तपाईं सहि कति छन्, भन्ने भन्दा पनि गलत कति छन्, त्यो धेरै खोजे जस्तो लाग्छ । त्यहाँ पेन्सिलले लेखको धर्को भित्र मेरी आमाको  चट्कन देखिने छाप पनि  हुन्छ तर त्यो पनि देखिनु पर्ने । तर कहिल्यै देखिए जस्तो लागेन । त्यो पेन्सिलले लेखिएको होमवर्कमा  मेरा  बाको धम्कीले झरेको आँसुले लतपतिएको हुन्थ्यो । खेल्न नपाएको निराशा त्यो कपिको पन्नामा भरिएको तपाईं देख्नुहुन्थ्यो ?

पेन्सिलको धर्को त केवल तपाईंलाई भ्रम मात्र परेको हो । त्यो भ्रम मेरा आमा, बा दुबैलाई छ । तपाईंहरु सबैको भ्रम देख्दा लाग्छ, मेरा आमा, बा र तपाई उस्तै उस्तै हो – अक्षर देख्ने आँसु नदेख्ने । गलत देख्ने सहि नदेख्ने !

तपाईंले दिने होमवर्कमा  सिहंदरवार भित्र को बस्छन् भन्ने प्रश्नलाई   तिम्रो छिमेकीमा को को बस्छन् ? नाम लेख भन्ने बनाउन मिल्दैन सर ?  समुन्द्रमा बस्ने जनावरको नाम लेख भन्ने प्रश्नलाई  तिम्रो घर नजिकको पोखरीमा के बस्छ भन्ने बनाउन मिल्दैन ?  

बालअधिकार भनेको के हो ?  सोध्नु भन्दा तिमी  बस्ने बेन्च ठिक छ ?,  शिक्षकको व्यवहार कस्तो लाग्छ ? भनेर सोध्न मिल्दैन ?

ठूलालाई आदार र सानालाई माया गर्नु पर्छ भनेर सिकाउँदा तपाईले मलाई सोधे हुँदैन – मैले तिमिलाई कस्तो व्यवहार गर्दा तिमी खुसी हुन्छौ ?

यो देशमा कति जना प्रधानमन्त्री भए सोध्नु भन्दा पहिले तिम्रा  मिल्ने साथी कति जना छन् भन्दा कस्तो होला ?

माया के हो ? त्यो नसोध्नुस ! बरु माया कसरी गर्ने ? सोध्ने कि ?

ओ माई टिचर ! मेरा आमा, बा र तपाईमा एउटा समानता देख्छु । त्यो हो “गर  कम भन्ने  नगर” धेरै भन्ने ।

म जे गर्दा पनि नगर भन्नू हुन्छ गर कहिल्यै भन्नूहुन्न ।

यता नगर, उता नगर ।

म आफै गिलासमा पानी राख्न सक्छु ।

तर तपाईंहरु भन्नु हुन्छ नगर पोखिन्छ ।

म विस्तारै  हिँड्न मात्र  हैन दौडिन पनि सक्छु तर तपाईंहरु नहिँड लडिन्छ भन्नुहुन्छ ।

मलाई टिभिको रिमोट चलाउन मज्जाले आउँछ । बा त्यो पनि “नगर” बिग्रन्छ भन्नुहुन्छ ।

तपाईंहरुले पावरवाला चस्मा लगाएर चलाउने मोबाइल म त्यतिकै चलाउन सक्छु । फेरि भन्नुहुन्छ नगर बिग्रन्छ ।

म तपाईंले दुई पटकमा चढ्ने भर्याङ्को सिँढी एकै पटक पार गर्न सक्छु । तर तपाई भन्नुहुन्छ नगर लडिन्छ । म उस्तै परे बाटो मै नाचिदिन्छु तर तपाईंहरु  भन्नूहुन्छ  “नगर” लाज हुन्छ ।

मैले गर्ने के हो ? सबै नगर भन्नूहुन्छ एता नजा, उता नजा, यो नखाउ, नचलाउ, नबोल, नदौड, पेन्सिल नकाट, हल्ला नगर, ननाच, नहेर, नसुत , आदि कति छन् कति ?

साच्चै ! कसम !!! पक्का टिचर मलाई अहिले तपाईंहरु “नगर” भन्ने कुरा  तपाईहरुले म जस्तै हुँदा गर्नु भएन ? भगवान कसम भन्नू न ? कि तपाईहरुको बा र आमाले अहिलेकै तपाईंहरु जस्तै जन्माउनु भएको थियो कि ? तपाईं लड्नु भएन ?  खेल्नु भएन ? दौडिनु भएन ? चकचक गर्नु भएन ? केहि गर्नु भएन ?

म तपाई  जस्तै बन्न बोल्न पर्छ । तपाई नबोल भन्नु हुन्छ । इञ्जिनियर बन्न कापीमा केरकार धेरै गर्नु पर्छ । तपाईं कापी नकोर भन्नुहुन्छ । खेलाडी बन्न दैडिनु पर्छ तपाईं नदौड भन्नुहुन्छ । कलाकार बन्न नाच्न , बोल्न , गाउन पर्छ तपाईं ननाच, नगाउ नबोल भन्नुहुन्छ । लेख्ने र पढ्ने मात्र गर अरु सबै नगर भन्नुहुन्छ  ।

किन ? डण्ट माइण्ड माइ रेस्पेक्टेड टिचर ! तपाईले यी कुरा जान्नु भएको छैन भनेर सोधेको हैन । नजानेको भए त कसरी मेरो टिचर हुनुभयो होला र ! तर कतै व्यवहारमा प्रयोग गर्दा कमजोरी गर्नु भयो की भन्ने  थोरै शंका भने छ मलाई ।

अनि अर्को कुरा किन मलाई मात्र होमवर्क दिनुहुन्छ ? अलि अलि मेरा आमा, बालाई पनि दिने कि ? मैले घरमा तपाईले दिएको होमवर्क गर्दा मेरा आमा, बा के गर्नु पर्छ । त्यो पनि दिने की ?

मैले माथि सोधेका सबै प्रश्नको उत्तर तपार्इँको लागि मैले दिएको लकडाउन होमवर्क है !

आशा छ स्कुल खुलेको पहिलो दिन यी सबै होमवर्क बुझाउनु हुने छ, त्यस पछि म पनि साच्चिकै पेन्सिलले होमवर्क गर्नेछु ! आँसुले हैन !!! ओके !! गुड बाई !! सि यु सुन ! अफ्टर लकडाउन !!! स्टे सेफ, स्टे होम !!

उहि तपाईको आज्ञाकारी

विद्यार्थी

- न्यौपाने, राप्ती सोनारी गाउँपालिका कार्यालय, बाँकेका शाखा अधिकृत हुन् ।

प्रतिक्रिया