Edukhabar
शनिबार, १५ बैशाख २०८१
शिक्षामा यो साता

अनलाइन सिकाइको समालोचनात्मक विश्लेषण

आइतबार, २१ बैशाख २०७७

काठमाडौं - गत साता छापा सञ्चार माध्ययममा शिक्षाका विषय धेरै नै कम आए । साता भरिका अधिकांश विचार स्तम्भ र पाठक पत्रहरू अनलाइन माध्यमबाट हुने पठनपाठन र यसले विशेषत विद्यार्थीका पक्षमा सृजना गर्ने जटिलता र अव्यवहारिकताका विषयमा आलोचनात्मक समिक्षा  गरिएको छ । शिक्षा र कोभिड १९ तथा यसको बचावट सम्बन्धमा प्रशस्तै अन्तर्राष्ट्रिय समाचारहरू पनि आएका छन् ।  

चीनका प्राय जसो प्रमुख शहरहरू विस्तारै नियमित जीवनमा फर्कन थालेसँगै सांघाई र बेइजिङ्गमा पनि कोरोनो भाइरसको संक्रमण नफैलियोस् भनेर लामो समयसम्म बन्द गरिएका  विद्यालयहरु खुलेका छन् । तर विद्यार्थीले भने सहजता महसुस गरेका छैनन् । साना कक्षाहरुमा ज्वरो नाप्ने, सामाजिक दुरी कायम गराउने गर्नुका साथै शारीरिक अभ्यासका कक्षाहरू चलाउने गरिएको छ ।

विचारमूलक आलेखमा विद्यार्थी र समाजमा अनलाइन शिक्षा प्रति बढेको रुचिपूर्ण चासो र यसका सिमितता तथा बाध्यताका विषयबस्तु उठान गरिएको छ । नियमित अनलाइन कक्षा सञ्चालन गर्दा प्रविधिमा पहुँच र यसबाट आउने परिणाम प्रति संवेदनशील हुनुपर्ने विचार लेखकले प्रस्तुत गरेका छन् । विद्यार्थीले अनलाइन कक्षा लिन सक्ने नसक्ने सम्बन्धमा संभाव्यता अध्ययन गर्दा  भौगोलिक अवस्थिति र विद्यार्थीको वास्तविक अवस्था के कस्तो छ भन्ने पक्षमा विद्यालयहरूले ध्यान दिनुपर्नेमा सचेत गरिएको छ । अनलाइन कक्षाको योजना निर्माणको चरणमा यसका विभिन्न पक्षहरूलाई सम्बोधन गर्न सकिएन भने अनलाइन शिक्षाले भविष्यमा डरलाग्दो गरी सामाजिक विभाजन बढाउने  खतरा हुन्छ ।  

अर्को एक विचारमूलक आलेखमा अनलाइन शिक्षाको व्यबहारिक पक्ष माथि छलफल गर्दै विद्यालय उमेरका बालबालिकाले ईण्टरनेटको पहुँचलाई गलत ढंगले प्रयोग गर्न सक्ने पक्षमा सचेत हुनुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।  रेडियो, टेलिभिजन, मोवाइल, ईण्टरनेट लगायतका डिजिटल माध्यम प्रयोग गरेर  अनलाइन शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।  निजी विद्यालयले न्यूनतम र अति आवश्यक तयारी बिना नै अनलाइन पढाउने दाबी गर्दै विद्यार्थी भर्ना गर्न र शुल्क तिर्न अभिभावकलाई आह्वान गरेको विषय पनि लेखमा उठान गरिएको छ ।

निजी संस्था भनेको निजी नै हुन् भन्ने चरित्र निजी विद्यालयले देखाएका छन् ।  निजी विद्यालयहरु नाफामूलक उद्धेश्यले खोलिएको र उनिहरूको प्रमुख लक्ष्य लगानीको परिणाम खोज्नु भएकोले विद्यार्थी भर्ना र मासिक शुल्कलाई प्राथमिकतामा राखेर अनलाइनका लागि दवाव सिर्जना गरेको विषय पनि उठान गरिएको छ । यदि सामुदायिक विद्यालयहरूले सरकारको पर्याप्त सहयोगमा आफ्नो अवस्थामा सुधार ल्याउने र त्यसलाई सार्वजनिक गर्दै अगाडी बढ्ने हो भने अहिलेको अवस्थामा सामुदायिक विद्यालयहरुले आफ्नो सान्दर्भिकता प्रमाणित गराउन सक्ने अवसर पनि प्राप्त भएको छ ।

अष्ट्रेलिया सरकारले लकडाउनका कारण आर्थिक समस्याका परेका विदेशी विद्यार्थीलाई राहत पुग्नेगरी ऋण वा सहयोगको रुपमा २५० देखि २००० डलर सम्मको सहयोग गर्ने घोषणा गरेको छ । दिल्ली सरकारले मजदुर र विद्यार्थीलाई घर भाडा छुट दिन आफ्ना नागरिकलाई अनुरोध गरेको छ । फ्यूज मेसिन सम्बन्धी  एक अन्तराष्ट्रिय समाचार अनुसार कृत्रिम बौद्धिकता सम्बन्धी (कृत्रिम वौद्धिकता (एआइ) एक कम्पनीले एआई प्रबिधि सम्बन्धी सबै विषयको अनलाइन कोर्ष उपलब्ध गराएको विषय समाचारमा आएको छ । ।

अनलाइन शिक्षा तथा दुर शिक्षा माध्यमबाट हुने शिक्षा सम्बन्धमा चलिरहेका छलफलले यी माध्यमबाट पठाइलाई निरन्तरता दिन चाहने र लकडाउन सकिसके पछि पनि नियमित रुपमा विद्यालय जान नसक्ने विद्यार्थीले यस्ता माध्यमबाट घरबाटै सिकाइमा सहभागि हुने संभावना रहेको पक्षलाई भने समेट्न सकेको छैन । विश्वका धेरै देशमा यस किसिमको अभ्यासै भैरहेको अवस्था छ । नेपालमै पनि विद्यालय तहमा दुर शिक्षाका माध्यमबाट पढ्न पाउने व्यवस्था रहेको त छ तर संकटका बेलामा यसलाई प्रभावकारी  बनाउने तर्फ संवेदनशील भएर काम गरिएको अवस्था छैन ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सञ्चार माध्यमहरू, नागरिक समाज तथा स्थानीय सरकार बीच समन्वय गरेर योजना बनाउने र कार्यक्रम लागु गरि घरबाटै सिकाइमा पहुँचको सुनिश्चितता गर्नका लागि आवश्यक सककार्य गर्न सकिन्छ । यस्तो सहकार्यले शैक्षिक विषयबस्तुलाई विद्यार्थी समक्ष र्पुयाउन र विद्यार्थी तथा विद्यालयलाई यसमा सहभागि गराउन समेत सकिनेछ ।  

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर (नेपाली) र द हिमालयन टाइम्स (अंग्रेजी) दैनिक मा २०७७ बैशाख १० देखि १६ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

अघिल्लो साताको विश्लेषण पढ्नुहोस् : वैकल्पिक शिक्षा योजना निर्माण गर्दा कमजोर र विपन्नलाई ध्यान दिन जरुरी

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : Week of critical analysis on online learning

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस् : शिक्षामा यो साता

प्रतिक्रिया