Edukhabar
सोमबार, २४ बैशाख २०८१
खबर/फिचर

एसईई परीक्षाको साटो आन्तरिक मूल्याँकन, वाधा अड्चन फुकाउन सुझाव

मंगलबार, २३ बैशाख २०७७

काठमाडौं - यस बर्ष कक्षा १० को अन्तिममा लिईने एसईई परीक्षा नलिईकनै विद्यालयले गरेको आन्तरिक मूल्याँकनकै आधारमा विद्यार्थी उत्तीर्ण गर्न ठिक हुने निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनले ठहर गरेको छ । रोकिएको परीक्षा सञ्चालनका विधिका बारेमा सिफारिस गर्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल संयोजकत्वको समितिले अवस्था यही रुपमा सामान्य हुँदै गएमा असारको पहिलो साता परीक्षा गर्न सकिने सुझाव सहित प्रतिवेदन बुझाएको ४ दिन पछि प्याव्सनका अध्यक्ष टीकाराम पुरीले एक विज्ञप्ति सार्वजनिक गर्दै यस बर्षका लागि मात्रै हुने गरी आन्तरिक मूल्याँकनका आधारमा विद्यार्थी उत्तीर्ण गर्न सकिने उपाय सुझाएका हुन् । अध्यक्ष पौडेल संयोजकत्वको समितिले प्रतिवेदन बुझाउनु अघि प्याब्सन लगायतका संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेरै प्रतिवेदन तयार पारेको बताउँदै आएको छ ।
तर पुरीद्वारा सार्वजनिक विज्ञप्तिमा विद्यालयले गरेको आन्तरिक मूल्याँकनलाई बोर्डले प्रमाणिकरण गर्न सकिने उपाय सुझाईएको छ ।

'परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्र लागु हुने गरी विद्यालयहरुले गरेका आन्तरिक मूल्याँकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याव्सन केन्द्रिय कार्य समिति उपयुक्त ठहर गर्दछ' विज्ञप्तिमा भनिएको छ, 'यस कार्यका लागि कानूनी वाधा अड्चन भए हटाई आन्तरिक मूल्याँकनका आधारमा प्रमाणिकरण गर्न आवश्यक निर्णय गर्नु हुन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।'

कोरोनाका कारण विद्यार्थी तथा अभिभावकमा मानसिक दवाव पर्न गएको स्मरण गर्दै पुरीले विज्ञप्तिमा विश्वका विभिन्न ख्याती प्राप्त परीक्षा बोर्डहरुले पनि आन्तरिक मूल्याँकनलाई नै आधार मानेको उल्लेख गरेका छन् ।

उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले चैत ६ गतेबाट शुरु हुने परीक्षा १२ घण्टा पनि बाँकी नहँदा स्थगित गर्ने निर्णय गरेको थियो ।

२०७६ सालको कक्षा १० को अन्तिम परीक्षामा सहभागि हुन ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले फारम भरेका छन् ।

प्रतिक्रिया