Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

आफ्नो अयोग्यता छोप्दै, शिक्षकलाई पढाउँदै !

शनिबार, ०३ जेठ २०७७

जब जब शिक्षाका सन्दर्भमा चर्चा, बहस र छलफल शुरु हुन्छ सबैको निशानामा पर्ने एउटै पक्ष छ – शिक्षक !

शिक्षकले गरेन, शिक्षकले गर्दा भएन, शिक्षकले यसो गर्न पथ्र्यो, शिक्षकले उसो गर्नु पथ्र्यो भनेर शिक्षकलाई पढाउनेहरु कति कति !

अलि पढेको नेताले त पढाउने नै भो !

औपचारिक अध्ययन नभएका नेताहरु पनि पढाउने !

८, १० कक्षा पास गरेका कथित नेता विज्ञ बनेर यसरी उसरी पढाउनु पर्छ भन्छन् !

ऐन, कानुन र विधी विधान पालना नगर्ने र 'म नै सबै हुँ' भन्ने ठालू नेताले त राम्रै पढाउन खोज्ने भो !

धनमत, बलमतले नेता भैहाल्छ ! उसको शिक्षक पढाउने तरिका झनै काइदाको !

हाजिर गरेर तलव खाने र काम गर्न घुस र कमिसन पड्काउने कर्मचारीहरु पनि शिक्षकलाई नै पढाउँछन् –इमान्दारीता र कर्तव्य !

समयमा तलब निकासा दिन नसक्ने कर्मचारी बरु वडा अध्यक्षलाई मालिक मान्छ, शिक्षकलाई हरुवा ठान्छ, र भन्छ शिक्षकले यसो गर त्यसो गर !

उपलव्ध शिक्षण जनशक्ति आफ्नै उत्पादन भएको सत्य तथ्य बिर्सेर विश्व विद्यालयका कथित प्रा.डा.हरु पनि शिक्षकलाई नै फेरी पढाई टोपल्छन् र आफ्नो अयोग्यता लुकाउन दुस्साहस गर्छन ।

शिक्षण कला र विज्ञान हो तर तिनीहरुले विश्व विद्यालयमा  न कलात्मकता देखाए, न त  वैज्ञानिक तवरले सिकाए ! बरु खुरुखुरु अंक दिएर प्रमाण पत्र भिराए !

अझ कतिले त विक्री समेत गरे ! गरिरहेका छन !

तिनैले फेरी जारी पद्धती बाट भएको शिक्षकलाई बद्ख्वाई गर्छन !

प्रविधिले त जवर्जस्ती सिकाउने नै भयो । नसिक्ने नबिक्ने नै भयो !

सरकारहरु पनि ढुकुटी दोहन गरिरहने, आवश्यक ठाउँमा लगानी नगर्ने तर शिक्षकलाई नै पढाउन खोज्छन् !

भोका विद्यार्थीलाई ल्यापटप दिन्छन, दिउँला झैं गर्छन् ! खानु की खेलाउनु ? आन्द्रा बटार्दै  रनभुल्लमा विद्यार्थी छ त्यो भन्दा बढि रनभुल्लमा शिक्षक, किताब र  चकबोर्डबाट  मात्रै पढे सिकेको शिक्षक परेको छ !

फेरी पढाउँछन् कथित शिक्षाविद्हरु –  शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्नु पर्छ !

हुदाँ हुदाँ अब त व्यापारीहरु पनि युगानुकुल शिक्षा बेच्न शिक्षक लाई नै पढाउने भैसके !

उ विश्वविद्यालय पुग्न सकेन, पुगे पनि तर्न सकेन ! उहि शिक्षाको ब्यापार गर्दै शिक्षकलाई नै पढाउँछ ! त्यही छट्टु व्यापारीका सासु, ससुरा, जेठान, श्रीमती, छोरा, छोरी, साला, साली, भाई, भतिजा, सहयोगी समेत गुणस्तरीय शिक्षक हुने ! अर्को योग्यतम स्वतन्त्र व्यक्ति अयोग्य हुने !

अनि त्यही घरेलु धन्दाकारी ब्यापारी शैक्षिक अभियन्ता र विद्वान बनेर शिक्षकलाई पढाउने !

शिक्षकहरु पनि अचम्म कै छन् !

जो जो ले जे भने पनि सुनिरहने !

सायद ! पढ्दीरहेका होलान् !

स्वाभिमान नजागेको हो की, हुँदै नभएको ?

विद्यालयको ठेकेदार प्रधानाध्यापकले त पढाउने नै भयो ! अझ योग्यता नपुगी दलीय मांखे साङ्लोले बनेको रहेछ भने त उ सर्वज्ञानी नै भैगो ! उसले जति कसले जान्नु ! आफू भन्दा योग्य र ज्येष्ठ शिक्षकहरुलाई निर्लज्ज पढाइरहन्छ !

उसकै अघि पछि जनप्रतिनिधि होस् वा सेटिङ भोटिङले बनेको  व्यबस्थापन समिति र त्यसको अध्यक्ष पनि शिक्षकहरु पढाउँछ र गुणस्तरीय शिक्षाका लागि योगदान गरिरहेको बताउँछ !

अझ उदेक लाग्दो गरी शिक्षकका नेताहरु पनि अनेक नाममा तिनकै पैसा लिएर तिनैलाई पढाइरहेका छन !

बर्षौँ देखी विद्यालय व्यबस्थाबाट नाता टुटेकाहरु शिक्षक नेता भए पछि विद्यालयमा के छ ? शिक्षकहरुलाई खास समस्या के छ ? कसरी शिक्षण सिकाइ भैरहेको छ ? थाहा हुने कुरा भएन !

र पनि उ पदीय ध्वाँस लाउँछ र फेरी शिक्षकलाई नै पढाउँछ !

हेल्प डेस्क दिन्छ – विद्यार्थीलाई टेलिफोनबाटै पढाइदिने भन्छ !

अनलाइनमा पढाउने भन्छ ! मल्टिमिडिया, रेडियो, टेलिभिजन, गुगल, युट्युब आदी इत्यादी !

अनेक साईट, किताव र फिल्म हेर्न भन्छ !

आफ्नै विद्यालय र शिक्षण पेशाको अवस्था र आधार बिर्सेर अनेक भन्छ !

फेरी पनि शिक्षकहरु सुनिरहने र पढिरहने !

स्मरणीय के छ भने उपरोक्त सबैले आफ्नो अयोग्यता र अकर्मण्यतालाई छोप्न विषयान्तर गरिरहेछन् र शिक्षकलाई पढाइरहेका छन !

संभवत अझै यस्तो पढाइ जारी रहन्छ होला !

अरु धेरैले... मौका पाउनासाथ शिक्षकलाई पढाई हाल्छन !

विद्यार्थीले त सिकाउँछन् नै !

अझ अहिले त कोरोने मोरो पनि पढाउँदै छ, सिकाउँदै छ !

लौ न,

कति पढिरहने हो ?

अझै पढ्न बांँकी छ र ?

सिकौं, सिकाऔं ।

बिकौं, बिकाऔं ।।

अहिलेलाई कोरोनाबाट बचौँ ।

पढ्नै परे पछि पढौंला ।

भुसाल, भक्तपुर स्थित श्री कटुञ्जे आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । उनी नेपाल शिक्षक संघका बरिष्ठ उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया