शैक्षिक सत्र खेर नफाल्ने कि ?


सम्पादकीय नोट - संसारले प्रविधिमा मारेको फड्कोसँगै हाम्रा शिक्षालयहरुमा पनि त्यसको प्रवन्ध हुनुपर्ने समय निकै पहिल्यै थियो । कोरोना संकटले हामीलाई फेरी एक पटक प्रविधि मैत्री शिक्षण सिकाइ प्रणाली, त्यसका लागि उत्सुक शिक्षक, त्यस अनुरुप भौतिक पुर्वाधार सहितका शिक्षालयहरु, पर्याप्त लगानी र यस प्रति जिम्मेवार नीतिगत नेतृत्वको अपेक्षा बढाएको छ । विगतका कमजोरी केलाउँदै आगामी बाटो तय गर्ने एउटा कुरा हो, तर तीनै कुराहरुलाई समातेर गनगन गर्दै बस्ने की नयाँ बाटो हिँड्ने हिम्मत गर्ने ? भन्ने मुख्य प्रश्न हो ।

कोरोना संकट सँगै विद्यालयको शिक्षण सिकाइलाई सम्बोधन गर्ने गरी सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । उक्त निर्देशिका अनुसार कृयाकलाप शुरु गर्ने दिन आजैलाई (असार १) तोकिएको छ । चुनौती त धेरै छन्, तर यही चुनौतीका बिचबाट अघि बढ्नुको विकल्प छैन । यस्तो अवस्थामा संसारका अन्य देशले अपनाएको शैली, हामीले गर्न सक्ने र गर्नु पर्ने कार्यका बारेमा बहस गर्ने क्रममा यो साता शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला :

धसानको नियति

प्रविधिले विकल्प दियो । संस्कारले भेडिया धसान बनायो । हिजोको बाटो नछोड्ने । जसले छोडे ती अपवाद थिए । हुन । हुनेछन् । भेडिया धसान त्यही हो । त्यसैले रेडियो शिक्षा परियोजनाको सोच संस्थागत भएन । टेलिभिजन शिक्षाको सोच पनि संस्थागत भएन । अफलाइन शिक्षाको चिन्तन परीक्षामा मात्र सीमित भयो । अनलाइन शिक्षाको चिन्तन अहिले बाढी बनेको छ । त्यो पनि संस्थागत हुन्छ नै भन्ने टुंगो छैन । त्यसको कारण हो —पढाइ र सिकाइ छुट्याउन नजान्ने हामी शिक्षक/प्राध्यापक । प्रविधिले जागिर धरापमा पर्छ भनी डराउने हामी शिक्षक/प्राध्यापक । अवधारणा दिने कि विषयवस्तु दिने भनी छुट्याउन नजान्ने हामी शिक्षक/प्राध्यापक । हाम्रै अलमले वुद्धि बोके बोकाइएको शैक्षिक नेतृत्व । राजनीतिक नेतृत्व ।

भेडिया धसानकै वुद्धिले गर्दा हामी शिक्षक÷प्राध्यापक गैह्र जिम्मेवार बन्यौं । शैक्षिक नेतृत्व पाउने तथा हत्याउनेहरु पनि गैह्र जिम्मेवार बन्यौं । शिक्षक महासंघ त्यही कोटीका हौं । प्राध्यापक महासंघको त्यही दशाका हौं । व्यवस्थापन समिति महासंघ तथा अभिभावक महासंघ पनि उही हालतका हौं । गाउँपालिका महासंघ तथा नगरपालिका संघ पनि त्यही अवस्थाका हौं । प्याब्सन तथा एनप्याब्सनका नेतृत्व केही सल्बलायौं । अन्ततोगत्वा त्यही दशामा पुग्यौं । त्यसको एकल कारण हो — हामीले जिम्मेवारी नलिने बानी । आत्मआलोचना गर्ने बानी छ भने स्वीकारौं — हामी गैह्र जिम्मेवार हांै । छैन भने खुलेर भनौं —हामीले मालिकको इशारा कुर्यौं । माउ दलका नेताहरुको इशारा । सरकारको इशारा । पदाधिकारीको इशारा । इशारा कुर्नु विकेन्द्रकिरणको वर्खिलाप हो । संघीयताको वर्खिलाप हो । केन्द्रीकरणको समर्थन हो । जनवादी केन्द्रकरणको समर्थन हो । यहीं प्रश्न रह्यो —हामीले मालिकको इशारा कुर्ने हो कि विद्यार्थीको जिन्दगी हेर्ने हो ? यही प्रश्नको उत्तर खोजौं ।  

अलमलको परिणति  

कोरोना कहरले शिक्षामा प्रविधि प्रयोगलाई संस्थागत गर्ने बाटो दियो । हिजो रहरको प्रयोग थियो । आज वाध्यताको । भोलि आवश्यकताको । यो शिक्षक/प्राध्यापककोे काम थियो । हुनुपथ्र्यो । पेशाकर्मी शिक्षक भएका देशमा तिनैले जिम्मा लिए । लिन्छन् पनि । हामीकहाँ शिक्षक/प्राध्यापकले जिम्मा लिएनौं । यो कुरा बुझेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि वैकल्पिक शिक्षा नियमावली बनाउन ढिलाइ गर्यो । परिणामतः बिना काम शिक्षक/प्राध्यापकले दुई अढाइ महिनाको तलब खायौं । केही अपवाद छौं । चन्तन गरिरहेछौं । सतहमा काम गर्दैछौ । केही विद्यार्थीसंग पनि जोडिएका छौं । ती आराध्य हौं । नमूना हौं । कर्मवादी हौं । बाँकी हामीले बिना काम रकम खाने भयौं । यसरी रकम खाने कुरा हाम्रा लागि पनि लज्जाको विषय बन्यो । ख्वाउनेलाई पनि पीडाकै कुरा बन्यो । यो कुरामा जिम्मेवार को हौं ? विद्यार्थीमा अन्योल रह्यो । अभिभावकमा अन्योल रह्यो । हामीले पढाइ पनि संस्थागत गरेनौं । सिकाइ पनि संस्थागत गरेनौं । हामीले आत्मआलोचना गर्नुपर्ने हैन र ? अपराध महसूस गर्नुपर्ने हैन र ? यो प्रश्नको पनि उत्तर खोर्जाैं । घर बसेर कामगर्दा १३ प्रतिशत बढी काम भएको विश्व तथ्यांक आयो । यो तथ्यांकले हामीलाई गिज्याउँदैन र ?

वैकल्पिक कि पूरक ?

सरकारले वैकल्पिक शिक्षा नीति ल्यायो । हामी जस्ता भूइंमान्छेको कुरा सुनेको भए लकडाउनको पहिलो सातामै यस्तो नीति आउँथ्यो । त्यसो गर्न नसक्ने हो भने  शिक्षक/प्राध्यापकलाई ललकारिन्थ्यो । चुनौती गरिन्थ्यो । विचार बनाउन अनुरोध गरिन्थ्यो । त्यस्तै स्थानीय सरकारहरुलाई नेपालको संविधानको अनुसूची ९ अनुसार शिक्षाको काम गर भनिन्थ्यो । भनिएन । गरिएन । शिक्षक/प्राध्यापक महासंघले पनि त्यसै गर्न सक्थ्यौं । गरेनौं । चाहेनौं । अभिभावक महासंघको पनि त्यही हालत रह्यो । व्यवस्थापन समिति महासंघको पनि त्यही दशा रह्यो । विश्वविद्यालयका पदाधिकारीहरुको पनि त्यही अवस्था रह्यो ।

जे होस ढिलै भए पनि वैकल्पिक शिक्षाको नीति आयो । यो नीति पनि विश्वविद्यालय शिक्षाबारे मौन रह्यो । कोरोना कहर पछि यो नीति के हुने ? यो बारेमा पनि केही बोलेन । प्रविधिमा पहुंच नहुनेहरुका लागि चाहिने सोच पनि पर्याप्त मात्रामा दिएन । यसको अर्थ हो —यो नीति राहत नीति हो । तत्काललाई मात्र । जवकि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पदेन नेपाल खुला विश्वविद्यालयको कुलपति हो । त्यो विश्वविद्यालयमा अनलाइन भर्ना हुन्छ । अनलाइन पढाइ हुन्छ । अनलाइन परीक्षा हुन्छ । त्यो तरीका स्कूल तथा कलेजमा पनि गर्न सकिन्थ्यो । त्यो प्रावधान नीतिमा रहेन । यस अर्थमा प्रस्तुत नीति वैकल्पिक मात्रै रह्यो । पूरक बनेन । बन्न दिइएन । बनाउन चाहिएन ।

नीति कार्यान्वयन गर्ने तरीका

क) प्रविधि विहीनका लागि

यो नीतिको पहिलो समूह प्रविधि विहीन छ । यो समूहसंग किताब छैन । त्यसो भए रसुवा, धादिङ्ग, तथा ललितपुरका केही स्कूलहरुले गरेको तरीका अपनाए हुन्छ ।

तरीका हो —ठूलो कक्षाका विद्यार्थीले साना कक्षाका भाइबहिनीलाई आफनो किताब दिए हुन्छ । सबैलाई पुग्दैन भने हल बाँध्ने वा पाटे बाँध्ने गाउँघरको चलन गरे हुन्छ । केही किताब एउटालाई दिने । केही अर्कालाई दिने । दुई जनाको हल भयो । तिनको जोडीले किताब साटफेर गरेर पढ्ने ।  तीन जनाको हल भए पनि त्यही विधि गर्ने । 

किताबले मात्रै पुग्दैन यो समूहलाई । त्यसैले शिक्षकले पाठ्य सामग्री बनाउनु पर्छ । त्यस्ता सामग्रीहरुमा विषयवस्तु दिनु हुन्न । अवधारणा दिनुपर्छ । अन्नमा तेज छ । पानीमा तेज छ । हावामा तेज छ । सूर्यमा तेज छ । तरकारीमा तेज छ । फलफूलमा तेज छ । यो वैदिक विज्ञान हो । यही विज्ञानमा आधारित भई विजुली निकाल्न सकिन्छ । यति लेखाइले विद्यार्थीलाई जिन्दगी भरि खोज्ने बनाउँछ । सोच्ने बनाउँछ । जल विद्युत पानीको तेज रहेछ । सूर्यको तेजबाट सोलार विजुली बनेको रहेछ । आलुबाट बिजुली निकालेको कुराले पनि त्यही भन्छ । मानव आवाजबाट विजुली निकाल्ने कुराले पनि त्यही भन्छ । अर्थात तेज सर्बत्र छ । यसको अर्थ हो —यी र यस्ता सामग्री बनाउन शिक्षक तथा प्राध्यापकलाई प्रोत्साहित गर्नुपर्छ । उनीहरुले पनि त्यो काम गर्नै पर्छ । सबै शिक्षक÷प्राध्यापकले त्यस्ता सामग्री बनाउन सक्तैनन् भने सक्ने शिक्षक/प्राध्यापकहरु खोज्नुपर्छ । पालिका तहमा । प्रदेश तहमा ।

खोजाउने सामग्री बनाउन पनि सकिन्छ । त्यस्तो सामग्री बनाउने काम शिक्षकको हो । कुन गाईलाई नत्थीमा बाँध्ने भन्ने कुरा गोठालो जान्दछ । कुनलाई खुट्टामा बाँध्ने भन्ने पनि उही जान्दछ । कुनलाई एउटा दाम्लोमा बांँध्ने उसैलाई थाहा छ । कुनलाई दुइटा दाम्लाले बाँध्ने भन्ने पनि उसैलाई थाहा छ । शिक्षक÷प्राध्यापकले पनि त्यस्ता विकल्पहरु त जान्नु पर्छ । काम गर्न थाल्ने हो भने जानिन्छ । समस्या नगरेर मात्रै हो । त्यस्ता सामग्रीमा थोरै सन्दर्भ हुन्छ । अनि प्रश्नहरु हुन्छन् ।

जस्तो —हाम्रा खेतबारीमा थरिथरिका बोट बिरुवा छन् । हुन्छन् । तिनका पातहरु फरक फरक छन् । जराहरु फरक फरक छन् । कथा यत्ति नैं हो । यही कथामा विद्यार्थीलाई दिने परियोजना कार्य / गृहकार्य हुनसक्छ — आफना वरपरका बोटबिरुवाका नाम लेख्नुहोस् । तिनका पातहरुको चित्र बनाउनुहोस् । जराका चित्र बनाउनुस् । त्यसकै आधारमा कथा लेख्नुस् । कविता बनाउनुस् । किन पात फरक फरक भए ? किन जराहरु फरक फरक भए ? किन सबैका खेतबारीमा उही बोटबिरुवा देखिएनन् ? भोलिको खेती कस्तो होला ? व्यापार कस्तो होला ? माटो कस्तो होला ? मल कस्तो होला ? 

पढाइलाई पाठसंग जोड्नै पर्छ । मनोरञ्जनबाट पाठमा लगे पनि हुन्छ । कामबाट पाठमा लगे पनि हुन्छ ।  सिर्जनाबाट पाठमा लगे हुन्छ । त्यो काम शिक्षक/प्राध्यापकले गर्नुपर्छ । सक्नु पनि पर्छ । यसका लागि रहरवालाको समूह बनाए हुन्छ । पालिका तहमा ।  प्रदेश तहमा । संघीय तहमा । 

घरमा विद्यार्थी छन् । घरमै उनीहरु पढछन् । घरमै सिक्छन् । घरमै बसेर जाँच दिन्छन् । नेपाल खुला विश्वविद्यालयको तरीकाको अभ्यास गर्छन् । खुला जाँच दिन्छन् । किताव राख्छन् । नोटकपी राख्छन् । कसैसंग सोध्छन् । ती सबै कुराको स्रोत लेख्छन् । त्यसकै आधारमा आफ्नो विचार बनाउछन् । लेख्छन् । लेखेको कापी निश्चित ठाउँमा राख्छन् । कापी शिक्षक/प्राध्यापकले बटुले हुन्छ ।  त्यसकै आधारमा मूल्यांकन गरे हुन्छ । यो काम शिक्षक/प्राध्यापकले गर्नसक्छन् । गर्नु पनि पर्छ ।

ख) रेडियोवालाको लागि

प्रविधि विहीनका लागि भए गरेका व्यवस्था साझा हुन् । रेडियो शिक्षा रेडियो हुनेका लागि थप सुविधा हो । थप सुविधामा दिने सामग्री पनि शिक्षक/प्राध्यापकले बनाउन सक्छन् । बनाउनु पनि पर्छ । अहिले अनलाइन रेडियो पनि छ । त्यस्तो रेडियोले वक्ताको बोली आफैंले रेकर्ड गरेर पठाउन सक्छ । ५—७ वटा स्कूल मिलेर रेडियो शुरु गरे पनि हुन्छ । यसका लागि पालिकाले नै स्वीकृति दिन सक्छ । रकम पनि दिन सक्छ । सामग्री बनाउने खर्च पनि दिनसक्छ । यस्तो रेडियोले दिनभर शिक्षाकै कुरा गर्छ । शिक्षक÷प्राध्यापक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरु सामग्री बनाउँछन् । नमूना सामग्री सरकारको वेभसाइटमा छन् । अन्यत्र छन् । मूलतः शिक्षक/प्राध्यापक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरुकै अनुभवमा छन् । टाउकामा छन् । यी सामग्रीहरु ३—५ मिनेटका हुनुपर्छ । अवधारणा दिने खालका । सन्देश दिने खालका । सोच्न लगाउने खालका ।

संवाद हुनसक्छ —जनसंख्या बढदैछ । पढेका बाबुआमाले थोरै सन्तान पाए । अनपढ र गरीवले धेरै सन्तान जन्माए । यसले हुन र नहुनेको फसला झन् बढ्ने भयो । कुरा यति हो । गृहकार्य हुनसक्छ — घरको तीन पुस्ते सन्तानको सूची बनाउनुस् । दिनमा कति खाए तिनले हिसाव गर्नुस् । कतिवर्ष बाँचे लेखा राख्नुस् । किन मरे कारण खोज्नुुस् । अब के गर्ने भन्ने सोच बनाउनुस् ।

त्यसबाट सामाजिक के पढ्नुभयो ? भाषा के सिक्नु भयो ? विज्ञान के पहिल्याउनु भयो ? गणित के जान्नु भयो ? यी र यस्ता प्रश्नको उत्तर लेखाऔं । यस्ता अनेकन नमूना शिक्षक÷प्राध्यापकले बनाउन सक्छौं । बनाऔं ।

ग) टिभीवालाको लागि

ससाना बालबालिका कार्टुन मन पराउँछन् । मान्छे उडेको । जनावर तथा चराचुरुङ्गी बोलेको । तिनका लागि त्यस्ता कार्टुन चाहिन्छन् । उपलब्ध विदेशी कार्टुन डविङ्ग गर्नु एउटा उपाय हो । बने बनाइएका स्वदेशी कार्टुन प्रयोग गर्नु अर्काे उपाय हो । थप कार्टुन तयार पार्न अपिल गर्नु तेस्रो उपाय हो । युवाहरु खेल मन पराउँछन् । सामाजिक कुरा मन पराउँछन् । विज्ञानका चमत्कार मन पराउँछन् । अनेकन कुरामा जिज्ञाशा राख्छन् । यही कुरालाई आधार मानी सामग्रीहरु बटुल्नु पर्छ । बनाउनु पर्छ । यो कामका लागि चुनौती गर्नु र अपील गर्नु उत्तम उपाय हो । यसो गर्नासाथ सामग्रीहरु जम्मा हुन्छन् । तिनलाई एङ्करिङ्ग तथा प्याकेजिङ्ग गर्ने काम टिभीवालाले गर्छन् । यसरी टिभीवालागसंग सहकार्य गर्नु पर्छ । पालिकाले शिक्षक÷प्राध्यापकलाई यो कुरामा सघाउनुपर्छ । यस्ता सामग्रीहरु पनि १०—१५ मिनेट भन्दा लामा हुनु हुँदैन । त्यही सामग्रीको आधारमा विद्यार्थीलाई प्रश्न दिनुपर्छ । खोज्ने प्रश्न । सोध्ने प्रश्न । घोरिनुपर्ने प्रश्न । अनि भनि दिनु पर्छ यो प्रश्नको उत्तरले तपाईहरुले यति पाठ पढ्नु भयो । यति पेजको कुरा जान्नु भयो । यो अवधारणा सिक्नु भयो । यो काम हामी शिक्षक÷प्राध्यापकको हो । हामीले यो काममा लाग्नै पर्छ ।

घ) मोवाइलवालाका लागि

मोवाइल पढ्न पढाउने माध्यम पनि हो । नभए बनाउनु पर्छ । बनाउन सकिन्छ । कतिपय शिक्षक÷प्राध्यापकले बनाएकै छौं । बनाउन सक्छौं । कसैका मोवाइल सस्ता छन् । कसैका महंगा । एण्ड्रोईड फोनको वहुकार्य छन् । सस्ताका कम कार्य । यी दुबैथरिका मोवाइललाई उपयोग गर्ने तर्किव हामी शिक्षक/प्राध्यापकसँगै छ । हुनुुपर्छ । सस्ता मोवाइल बोक्नेले सन्देश पठाउन सक्छौं । फोन गर्न सक्छौं । महंगा मोवाइल बोक्नेले भाइवर, म्यासेञ्जर, ह्वाट्सएप समूह बनाउन सक्छौं । शिक्षक/प्राध्यापकका मात्रै । विद्यार्थी र शिक्षक/प्राध्यापकका मात्रै । तिनै तरीकाबाट पढ्न सक्छौं । पढाउन सक्छौं । फोटोबाट पढाउने । भिडियोबाट पढाउने । टिकटोकबाट पढाउने ।  भाइवर, म्यासेञ्जर, ह्वाट्सएपबाट जीवन्त पढाउने । तिनमा चाहिने सामग्री हामी शिक्षक/प्राध्यापकसंगै छ । हुनु पर्छ । नभए पालिका तहमै त्यस्ता शिक्षक/प्राध्यापकको सञ्जाल बनाउनु पर्छ । त्यही सञ्जालले उपाय निकाल्न सक्छ । निकाल्नु पनि पर्छ ।

ङ) अनलाइनवालाका लागि

अनलाइनवालाहरु वहुसामग्रीको उपयोग गर्न सक्छौं । रेडियो हामीसंगै हुन्छ । टिभी हामीसंगै हुन्छ । ल्यापटप वा डेष्कटप हामीसंगै हुन्छ । एण्ड्रोईड फोन हामीसंगै हुन्छ । यस्ता समूहले जूम, गुगल, मीट, स्काइप, ब्लूजीन आदिबाट कक्षा लिन सक्छौं । संवाद गर्न सक्छौं । यसका लागि कुनै पनि सामग्री उपयोगी हुन्छ । हामी शिक्षक/प्राध्यापकले यी सामग्रीहरु बनाउनु पर्छ । डाउनलोड गरेर । डभटेलिङ्ग गरेर । छुट्टै सामग्री बनाएर ।

च) अफलाइनवालाका लागि

रेकर्डेड सामग्रीका प्रयोगकर्ता अफलाइनवाला हुन् । तिनले रेकर्डेड नोट खोज्छन् । अडियो खोज्छन् । भिडियो खोज्छन् । डिभिडी खोज्छन् । यूट्यूब खोज्छन् । अनेकन सामाग्री भएको पेन ड्राइभ खोज्छन् । टिभी खोज्छन । रेडियो खोज्छन् । पावरप्वाइन्ट प्रदर्शन गर्न मिल्ने ल्यापटप खोज्छन् । प्रोजेक्टर खोज्छन् । ती सामग्रीहरु प्रयोग गर्न पाउने ठाउँ खोज्छन् । घरमा । छिमेकमा । पालिकामा । यो खोजाइका लागि विद्यालय तथा क्याम्पसमा त्यस्तो कोठा चाहिन्छ । बन्नुपर्छ । बनाइनु पर्छ । समुदायमा अध्ययन केन्द्र खोज्छन् । केन्द्र बनाउन छुट्टै घर चाहिन्न । कोठा भए पुग्छ । त्यहीं विद्यार्थीले पालो लगाएर पढछन् । सुन्छन् । सिक्छन् । एक अर्कालाई सिकाउँछन् । हामी शिक्षक÷प्राध्यापकले पालिकाको सहकार्यमा यो काम गर्नुपर्छ । गर्न सकिन्छ ।

छ) गृह शिक्षालयवालाका लागि

घरमै पढाउन सक्ने अभिभावक पनि छौं । तिनले स्कूल कलेजकै कोर्स पढाउन सक्छौं । पढ्न प्रेरित गर्न सक्छौं । आफूले नजानेका कुरामा सघाउने मान्छेसंग सम्पर्क राख्न सक्छौं । रेडियो समूहमा । टिभी समूहमा । अनलाइन पोर्टलमा । च्याट बक्समा । अन्य तरीकामा । यसरी सन्ततीलाई घरमै पढाउने प्रवन्ध मिलाउन सक्छौं । यस अर्थमा हामी शिक्षक बन्न सक्छौं । सहजकर्ता बन्न सक्छौं । योजक बन्न सक्छौं । यसैगरी अनपढ अभिभावकले पनि आप्mना पालाका अनुभव सुनाउँन सक्छौं । सीप सिकाउन सक्छौं । प्रश्न गर्न सक्छौं । विद्यार्थीलाई ती कुराबाट सिक्ने बानी बसाउन सक्छौं ।

कथा हुन सक्छ —हाम्रा पालाको खेती, ब्यापार, खानपान, बोटविरुवा, भाँडाकुंडा आदि । बाजे बज्यैको पालाको खेती, ब्यापार, खानपान, बोटविरुवा, भाँडाकुंडा आदि । तिम्रा पालाको खेती, ब्यापार, खानपान, बोटविरुवा, भाँडाकुंडा आदि । यी र यस्ता कुराबाट ठूला विषयवस्तु पढन प्रेरित गर्न सक्छौं । जीवन दर्शन । बजार व्यवस्था । उद्योगधन्दा । प्रविधि प्रयोग । लैंगिक सोच आदि ।

चुनौती र समाधान

चुनौतीमा भिड्नेले संसार जित्छ । भाग्नेले हार्छ । पहिलो टुंगो त्यसैको गर्नुपर्छ । चुनौतीसंग भिड्ने हो भने हामीसंग अनेकन उपाय छन् । ती हुन—प्रविधि मैत्री स्कूल, क्याम्पस, पालिका, तथा अध्ययन केन्द्र बनाउनु । यो कामले हार्डवयर खोज्छ । सफ्टवयर खोज्छ । वाइफाई तथा ईण्टरनेट सुविधा खोज्छ । डाटा प्याक खोज्छ । विद्युत आपूर्ति खोज्छ । यसको निम्ति लगानी खोज्छ । पालिकाले त्यसको जिम्मा लिनुपर्छ । प्रदेश सरकारसंग सहयोग माग्नु पर्छ । पालिका तथा प्रदेशका विज्ञहरुको परिचालन गर्नुपर्छ । यो काममा हामी शिक्षक/प्राध्यापक नै योजक बन्नुपर्छ । स्रोतहरुको योजक । विचारहरुको योजक । नक्सांकनको योजक । सामग्री संकलनको योजक । सामग्री निर्माणको योजक । समाधान त्यहीं भेटिन्छ । प्रश्न हो —हामी शिक्षक/प्राध्यापक  यो कामको जिम्मा लिन्छौं कि लिंदैनौ ?

सबै शिक्षक / प्राध्यापकसंग ल्यापटप तथा स्मार्टफोन छैन । त्यस्ता शिक्षक/ प्राध्यापकले आफै किनौं । आफूलाई काम लाग्छ । सन्ततीलाई काम लाग्छ ।  भाइवहिनीलाई काम लाग्छ । एकै पटक किन्ने पैसा छैन भने किस्तावन्दीमा ल्यापटप तथा स्मार्टफोन दिने पसल खोजौं । त्यो पनि सकिन्न भने पालिकाले ग्यारेण्टी बस्ने प्रवन्ध मिलाऔं । त्यो पनि सकिन्न भने पालिकाले किस्तावन्दीमा तलबबाट कट्टी हुने गरी शिक्षक÷प्राध्यापकलाई ऋण दिऔं । प्राध्यापकले लिएको ऋणको ग्यारेण्टी क्याम्पस बसे हुन्छ । रकम प्रदेश सरकारसंग लिए हुन्छ । यो काममा हामी शिक्षक महासंघ, प्राध्यापक महासंघ, विद्यालय ब्यवस्थापन समिति महासंघले पहल गर्नुपर्छ ।

प्रविधि मार्फत शिक्षा भनेको अनलाइन मात्रै हैन । सबै खाले उपलब्ध साधनका प्रयोग हो । छापा सामग्री । रेडियो सामग्री । टिभी सामग्री । अफलाइन सामग्री । अनलाइन सामग्री । गृह शिक्षालयको सामग्री । मोवाइल शिक्षा सामग्री । सबैमा यो सन्देश पुर्याउन पालिकाले जिम्मा लिनुपर्छ । शिक्षक महासंघलाई तताउनु पर्छ । विद्यालय ब्यवस्थापन समिति महासंघ, अभिभावक महासंघ, प्राध्यापक महासंघ, प्याब्सन, एनप्याब्सन आदिसंग पालिका तहमै संवाद गर्नुपर्छ । यसो नगरे यो वर्षको शैक्षिक सत्र खेर जान्छ भन्नुपर्छ ।
यो शैक्षिक सत्र खेर गयो भने हामी सबैले जिम्मेवारी लिनुपर्छ । शैक्षिक सत्र खेर गर्ने जिम्मेवार व्यक्तिमा शिक्षा मन्त्रालय, मन्त्री लगायत हामी सबै हौं भन्ने अनुभूति हुनुपर्छ । यो कुरा सबैले बुझ्नुपर्छ । बुझाउनुपर्छ ।

विभेद पाटने तरीका

प्रविधिमा पढ्नेहरु अद्यावधिक हुन्छन् । छापामा पढ्नेहरु पछि पर्न सक्छन् । यसले विभेद निम्त्याउँछ । त्यो विभेद पाटने काम पनि हामी शिक्षक÷प्राध्यापककै हो । हामी नै हातका औंला चिन्दछौं । ती समान छैनन् । त्यो पनि बुझ्छौं । सबै औंला मिलाएर मुखमा गांस पुर्याउंछौं । त्यो पनि थाहा छ । मान्छेको पनि दौड फरक छ । त्यो जान्दछौं । जिन्दगी जिउने सिद्धान्त फरक छ । त्यो पनि थाहा छ । भूगोल फरक छ । त्यो पनि बुझेकै छौं । प्रविधि पहुँच फरक छ । त्यो पनि थाहा छ । आर्थिक हैसियत फरक छ । त्यो पनि जानेका छौं ।

यस्ता जानकार हामीले विभेद मेट्ने उपाय खोज्न सक्तैनौं र ? त्यो काम हाम्रै हैन र ? हो भने उपाय हुन्छ —छापा र प्रविधि प्रयोगवालाकाबीचको संवाद । प्रत्यक्ष संवाद एउटा तरीका हो । अप्रत्यक्ष्य संवाद अर्काे तरीका हो । यहीं नेर हामी शिक्षक÷प्रध्यापकले सबैको जानकारीलाई समान महत्व दिन जान्नु पर्छ । तुलना गर्ने बानी हटाउनु पर्छ । यो काम गर्ने गराउने हो भने डिजिटल खाडलको थाङ्ने कुरा हराउँछ । खाडल पाटने हामी नैं रहेछौं भन्ने कुराको वोध हुन्छ । वोध गरे समाधान हामीसंगै छ । हुन्छ । नगरे डिजिटल खाडलको थाङ्ने कुरामै रमाउने बानी बस्छ । प्रश्न हो —विभेद पाटने तर्किव खोज्ने कि ? विभेद चर्काएर हिरो बन्ने ? बाटो हामीसंगै छ ।

अपराधबाट बच्ने उपाय

कोरोनाकै कुरा सुनाएर विद्यार्थीको शैक्षिक सत्र खेर फाल्यौं भने हामी सबै अपराधी हुन्छौं । फ्रण्टलाइनका जिम्मेवार हुनाले शिक्षक/प्राध्यापक पहिलो कोटीका अपराधी हुन्छौं । शिक्षक महासंघ/प्राध्यापक महासंघ दोस्रो कोटीका अपराधी हुन्छौं । व्यवस्थापन समिति महासंघ तथा अभिभावक महासंघ तेस्रो कोटीको अपराधी हुन्छौं । पालिकाहरु चौथो कोटीका अपराधी हुन्छौं । माउले चल्ला छोपेझैं छोप्ने तथा संघीयता घोक्न पनि नछोडने अनि पालिकालाई अधिकार दिंदै खोस्तै गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाँचौँ कोटीकोे अपराधी हुन्छौं । क्याम्पसमा अधिकार नदिने आफैंले चल्ला छोपिरहने, संघीयता तथा विकेन्द्रीकरणणको कुरामा चाहिं स्वर उराल्ने विश्वविद्यालय पदाधिकारीहरु छैटौं कोटीका अपराधी हुन्छौं ।

प्रश्न हो —अपराध स्वीकारेर मात्रै बस्ने कि ? समयमै विद्यार्थीलाई अनेकन उपाय गरी तिनको शैक्षिक सत्र गुम्न नदिने ? कोरोना कहरमा पनि हामीले यसरी गुणस्तरीय  शिक्षा सुनिश्चित गर्यौं नभन्ने ?

जिम्मेवारी वोध गर्नेहरुसंगै उत्तर छ । हुन्छ । अरु त “बक पासिङ्ग” गर्नेहरु न हौं ।  आफू चोखो बन्ने । अरुलाई दोस्याउँदै समय गुजार्ने । निर्णय गर्ने हामी शिक्षक/प्रध्यापकले नै हो ।  पदाधिकारीहरु नियुक्ति गर्ने मालिकहरुको इशारा कुर्छन । तिनको तागत नै त्यति हो । त्यस्ता मालिकहरुलाई पनि दोस्याउँ । आफू पनि जवाफदेही बनौं । आफैं मालिक बनौं । विद्यार्थीका पहिलो सरकार हामी हौं । शिक्षकहरु । प्राध्यापकहरु । केही अपवाद छौं । काम गरिरहेछौं । विद्यार्थीका घरदैलोमा पुगिरहेछौं । ती स्तुत्य हौं । सबै नताते स्तुत्यहरु पनि विलाउँछने । त्यतिबेला नैतिक जिम्मेवारी लिने थुप्रै हुनेछन् । प्रमुख अपराधी चाहिं हामी शिक्षक तथा प्राध्यापकहरु नैं हुनेछौं । विकल्प नखोजेकोमा । विकल्प लागु नगरेकोमा । विद्यार्थीको शैक्षिक सत्र गुजार्न लागेकोमा । काम नगरी दामको आशा गरेकोमा ।

सोचौं गुडिरहेको बस बिग्रदा चालक प्रवन्ध निर्देशक बन्छ । उसका तरीका हुन्छन् — एक छिन यात्री कुराउँने । गाडी मर्मत गर्ने । गीत बजाउदै वा सीनेमा देखाउदै यात्रीको गुनासो हटाउने । अलि तेज गतिमा गाडी हाँकेर समयमै गन्तव्यमा पुर्याउने । गाडी बनेन भने अर्काे गाडीमा राखेर यात्रीलाई ठाउँमा पुर्याउने । बस मालिकको मुख हेरेर नबस्ने । शिक्षाका चालक हामी हौं । शिक्षक / प्राध्यापक । कतै हामी पनि गाडी चालकको वुद्धिबाट दीक्षित हुने कि ? विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने कि ?

निर्णय हाम्रै हातमा छ ।