Edukhabar
शनिबार, १५ बैशाख २०८१
शिक्षामा यो साता

सिकाइको वैकल्पिक विधि

आइतबार, ०७ असार २०७७

काठमाडौं - कक्षा १० को अन्तिममा लिईने एसईईको परीक्षा रद्ध भएको, सरकारले वैकल्पिक सिकाइको रुपमा रेडियो, टीभि र अनलाइनबाट शिक्षण सिकाइ शुरु गरेको विषय गत साता सञ्चारमाध्यममा प्रकाशन भए । मन्त्रालय र थुप्रै पालिकाहरुले सञ्चार माध्यमहरूसँग सहकार्य गरी विद्यालय तहका विद्यार्थी लक्षित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।

गत साता एसईई परीक्षाको विषयले सञ्चार माध्यममा प्राथमिकता पायो । लामो समयको छलफल र विवाद पछि राज्यका तर्फबाट सञ्चालन हुने कक्षा १० को परीक्षा स्थगित गरियो । सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराउने भएको छ । शिक्षा मन्त्रीले विद्यार्थीलाई लामो समय अन्योलमा नराख्न परीक्षाको बारेमा यस्तो निर्णय लिइएको जनाएका छन् । उनले विद्यार्थी र अभिभावकलाई लामो समय अन्योलमा राख्न राम्रो नहुने बताएका छन् ।

काठमाडौ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले बन्दाबन्दीको अवस्थामा घरमै बसिरहेका विद्यालय तहका बालबालिकाको सिकाईलाई सहजीकरण गर्ने उद्देश्यले वैकल्पिक माध्ययमबाट शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको हो । महानगरपालिकाले आधारभूत तहदेखि कक्षा १० सम्मका लागि आफैले सञ्चालन गरिरहेको मेट्रो एफएमबाट रेडियो शिक्षा कार्यक्रम प्रसारण गरिरहेको छ । महानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा संयोजकका अनुसार रेडियो शिक्षा कार्यक्रम एकतर्फी हुने र यसले अधिकांश विद्यार्थी तथा अभिभावकको घरसम्म पुगेर सिकाइमा सहयोग पु¥याउने छ । समाचार अनुसार योग्यता प्राप्त शिक्षकहरूलाई शैक्षिक कार्यक्रम सञ्चालनका लागि छनौट गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी टेलिभिजनबाट शैक्षिक कार्यक्रम प्रसारण गरेको छ ।

धेरै विद्यार्थीमा प्रविधिको न्यूनतम पहुँच नहुँदा असमानताको अवस्था सिर्जना भएको वास्तविकतामा केन्द्रित समाचार तथा विचारमूलक लेखहरू प्रकाशन भएका छन् । आलेखहरूमा प्रविधिमा आधारित शैक्षिक पद्धति अवलम्बन गर्दा यसले सिर्जना गरेको कठिनाई प्रति चिन्ता प्रकट गर्दै प्रविधिमा पहुँच पुग्न नसकेका विद्यार्थी सिकाइको अवसरबाट बञ्चित हुन नदिन उनीहरूलाई आवश्यक थप सहयोग उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । रेडियो कान्तिपुरले पनि विद्यालय तह लक्षित शैक्षिक कार्यक्रम सुरू गरेको छ ।

झापाको भद्रपुरमा रहेको सरकारी क्याम्पस मेची बहुमुखी क्याम्पसले सरकारको नीति विपरित निर्णय गर्दा ४० जना भन्दा बढी शिक्षक तथा कर्मचारीको रोजगारविहिन भएको समाचार छ । क्याम्पस सञ्चालक समितिले करार सम्झौतामा नियुक्ति शिक्षक तथा कर्मचारीलाई बन्दाबन्दीको अवधिको तीन महिनाको तलब निकासा नदिने निर्णय गरेसँगै ४० जना भन्दा बढीले जागिर गुमाउनु परेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा निजी विद्यालयले सामुदायिक विद्यालयको रेखदेख गर्ने कार्यक्रमका बारेमा विचारमूलक आलेख प्रकाशन भएका छन् । सो कार्यक्रम सत्तारूढ दलको सार्वजनिक विद्यालय प्रतिको प्रतिवद्धताका विपरित आएको भनि आलोचना गरिएको छ । एक अर्को विचार मूलक आलेखमा निजि विद्यालयमा राजनीतिक दलका नेताहरूको लगानी भएका कारण उक्त कार्यक्रम आएको हुनसक्ने उल्लेख छ ।

समाचार मूलक आलेखमा उल्लेख भए अनुसार देशभरकै सामुदायिक विद्यालयहरुले वैकल्पिक सिकाइ विधि शुरु गरेका छन् । एक भर्चुअल कार्यक्रममा सिकाइ समूह र नमूना सामुदायिक विद्यालय प्रधानाध्यापक सञ्जालले यसका लागि प्रतिवद्ध जनाएका छन् ।

विभिन्न तहका सरकार, नागरिक समाज तथा अन्यले स्वतस्स्फूर्त रुपमा शुरु गरेका नवप्रवर्तनात्मक कार्यहरुले शिक्षालाई सान्दर्भिक बनाउन सहयोग पुग्नेछ । वर्तमान समयको माग र अवस्था अनुसार शिक्षामा नवप्रवर्तनलाई प्रोत्साहन दिदैँ शिक्षक, सरकार, अभिभावक तथा विद्यार्थीको भूमिकामा पुर्नविचार गर्नुपर्छ । नवप्रवर्तनबाट शिक्षालाई अगाडी बढाउँदै गर्दा समतामूलक पहुँच पु¥याउने र त्यसको सुनिश्चतता गर्ने विषय चुनौतीपूर्ण छ । शुरुवाती चरणमा सरकारले केही सामग्री उत्पादन र विद्यालय तथा विद्यार्थीलाई सिकाइमा सहभागी गराउने केही प्रक्रियाको वारेमा काम गरिरहेको भएता पनि प्रविधि साक्षरता, त्यसका लागि आवश्यक प्राविधिक ज्ञान र सञ्चार प्रक्रियालाई पनि सँगसँगै अगाडी बढाउनु पर्ने हुन्छ ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर र द हिमालयन टाइम्स दैनिकमा २०७७  जेठ २८ देखि असार २ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : Alternative mode of learning

अघिल्लो साताको विश्लेषण पढ्नुहोस् : कोभिड : कसरी सञ्चालन गर्ने विद्यालय ?

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस् : शिक्षामा यो साता

प्रतिक्रिया