शिक्षक तालिमका व्यवहारिक पक्ष


तालिम भनेको आफुले गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने निश्चित सीप वा प्रविधि सिक्ने प्रकृया हो ।

कुनै पनि कार्य उपलब्धि मुलक र प्रभावकारी किसिमले सञ्चालन गर्नका लागि तालिम आवश्यक हुन्छ । तसर्थ तालिम भनेको एउटा कुशलता वा विशेष सीप तथा दक्षता हासिल गर्नका लागि लिइने प्रशिक्षण हो जसबाट पेशागत कार्य सम्पादनमा सहजता तथा सरलताको अनुभुतिका साथै लक्षित उपलब्धि हासिल हुने सुनिश्चितता होस् ।

प्रसंग जोडौं शिक्षक तालिमको । शिक्षण एउटा आदर्श र वौद्धिक पेशा हो । शिक्षण गनुर्् पूर्व शिक्षणका विषयवस्तु सम्बन्धी ज्ञान, शिक्षणका सीप तथा शैली, योजना निर्माण, मूल्यांकनका  तरिका जान्नु अपरिहार्य हुन्छ । शिक्षक तालिम भन्नाले प्रभावकारी र दक्षतापुर्ण किसिमले शिक्षण सिकाइ गर्न आवश्यक पर्ने ज्ञान, सीप, अभिवृत्ति लगायत शैक्षिक नीति निर्माण, शैक्षिक सामग्री पहिचान, निर्माण र प्रयोग जस्ता विषय सम्बन्धी प्रशिक्षण हो । सामान्य अर्थमा भन्दा तालिम एउटा सीप सिकाइ हो । जुनसुकै पेशाकर्र्मीले आफ्नो कार्य वा पेशाबाट बढी भन्दा बढी उपलब्धि तथा उत्पादन र सन्तुष्टिका लागि कुनै न कुनै तालिम छोटो वा लामो अवधिका लिएका हुन्छन् । लक्ष्य अनुसारका प्रतिफल प्राप्त भएन भने कामदार वा कर्मचारीका लागि तालिमको व्यवस्था गरिनु पर्छ भनि सम्बन्धित निकायमा सिफारिस गरिन्छ । त्यसैले प्रायः सबै विषयगत निकायका आ आप्mनै तालिम केन्द्रहरु छन् । कतिपय निकायका केन्द्र, प्रदेश र स्थानीय निकायमा पनि सरकारी वा नीजि स्तरबाट सञ्चालित तालिम केन्द्रहरु छन् ।

विज्ञान र प्रविधि तथा सुचना प्रविधिको तीव्रतर विकासका कारणले सम्पूर्ण विश्व नै एउटा ग्राम अर्थात विश्वग्रामको अवस्थाको विद्यमानतामा विश्वस्तरमा प्रयोग र प्रचलनमा रहेका नयाँ नयाँ ज्ञान सीप र प्रविधि सिक्न सिकाउनका लागि आवश्यकतानुसार अन्तर्राष्ट्रिय स्तरको तालिममा पठाउने गरिन्छ ।

शिक्षक तालिमको संस्थागत विकास  

शैक्षिक योग्यता र शिक्षक विकास तालिम फरक कुरा हुन्   । शैक्षिक योग्यता हासिल गर्दैमा शिक्षक भइहाल्ने होइन । शिक्षक हुनका लागि शिक्षण सीप वा तालिम आवश्यक हुन्छ । शिक्षक विकासका कोर्षहरु समसामयिक, परिमार्जित तथा वर्तमान पाठयक्रम तथा पाठयपुस्तक सुहाउँदो हुनु अति आवश्यक छ । राष्ट्रिय शिक्षा आयोग २०४९ को प्रतिवेदनले शिक्षक विकास तथा तालिम सम्बन्धि सिफारिश महत्वपूर्ण  ढंगले गरेको छ जस अनुसार शिक्षक विकास र शिक्षक प्रशिक्षण गरी दुई खालका तालिमका मोडालिटी व्याख्या गरेको छ ।

शिक्षक शिक्षा अन्तर्गत क्याम्पस तथा विश्वविद्यालयमा निश्चित अवधि विताएर शिक्षा शास्त्र संकायमा अध्ययन गर्ने वा सोही विषयमा प्रवीणता प्रमाण पत्र, स्नातक, स्नातकोत्तर जस्ता शैक्षिक उपाधिहरु पर्दछन् । त्यसै गरी शैक्षिक प्रशासन, सुपरिवेक्षण, पाठयक्रम निर्माण एवम् मूल्यांकनमा संलग्न व्यक्तिलाइ दिइने पेशागत डिप्लोमा पनि यस अन्तर्गत पर्दछ । शिक्षक प्रशिक्षण भन्दा शिक्षा शास्त्र संकाय र तत्कालिन शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत प्राथमिक शिक्षक तालिम, प्याकेज तालिम, सेवाकालिन तालिम, छोटो अवधिको तालिम र यस्तै अन्य तालिमलाई शिक्षक प्रशिक्षणको रुपमा बुझिन्छ ।

शिक्षक विकासका लागि तालिम दिने संस्थाका रुपमा सर्वप्रथम वि.सं.२००४ सालमा ताहाचल काठमाडौंमा आधार शिक्षक तालिम केन्द्रको स्थापना भयो । त्यस पछि बनेका शिक्षा आयोग तथा समितिहरुका प्रतिवेदनका आधारमा तालिम केन्द्र खुल्न थाल्यो साथै तालिमका प्रकार र समयावधिमा पनि विविधता देखियो ।

वि.सं.२०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना भयो । त्यस पश्चात २०१३ सालमा उपत्यका बाहिर धरान, वीरगंज र नेपालगंजमा शिक्षक तालिम केन्द्र अर्थात नर्मल स्कूलको स्थापना भयो । यसरी तालिम तथा प्रशिक्षण केन्द्र स्थापनामा तीव्रता आयो र वि.सं.२०१३ मा शिक्षा महाविद्यालय (कलेज अफ एजुकेशन)को स्थापनाबाट शिक्षक शिक्षा तथा विकासले ठोस आकार लिन पुग्यो ।

वि.सं.२०१६ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत एउटा शिक्षा क्याम्पसको स्थापना भए पछि नियमित रुपमा शिक्षा विषयको पठनपाठनको शुरुवात भयो । शिक्षा शास्त्र संकायको चौतर्फी माग र पठनपाठनको परिणाम स्वरुप हाल आएर शिक्षा शिक्षण, सुपरिवेक्षण, मूल्यांकन, पाठयक्रम निर्माण, शिक्षा प्रशासन क्षेत्रका लागि पर्याप्त र गुणस्तरीय जनशाक्ति देखिन थाल्यो । शिक्षा क्याम्पस, शैक्षिक तालिम केन्द्र र शैक्षिक जनशाक्तिले यति व्यापकता पायो कि शिक्षा संकायको विद्यालय ÷क्याम्पसको अनुमति दिने कार्य  बन्द प्रायः छ  ।

राष्ट्रिय शिक्षा नीति २०७६ ले पनि शिक्षक विकास र तालिमलाई प्रधानता दिएको छ । उक्त नीतिको रणनीति नं.९.१९ मा विद्यालय शिक्षा , प्राविधिक तथा व्यवसायिक शिक्षा र उच्च शिक्षामा अध्यापन वा प्रशिक्षण गर्ने जनशक्तिको सक्षमता परीक्षण र तालिमलाइ अनिवार्य गर्ने कुरामा जोड दिएको छ । राष्ट्रिय शिक्षा पद्धतिको योजना (वि.सं.२०२८—२०३२) लागु भए पछि त्रि.वि.वि.अन्तर्गत शिक्षा शास्त्र अध्ययन संस्थानमा शिक्षा क्याम्पसलाई समाहित गरियो ।

वि.सं.२०५० सालमा शिक्षा मन्त्रालय अन्तर्गत शिक्षक तालिम तथा विकास सम्बन्धी पाठयक्रम निर्माण, मूल्यांकन प्रकृया निर्धारण, प्रमाणिकरण, तालिम सञ्चालन व्यवस्थापन र तालिम सम्बन्धी नीति निर्माणमा शिक्षा मन्त्रालयलाई आवश्यक सहयोग र परामर्श दिने कार्यका लागि शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भयो । यस अन्तर्गत देशै भरि २९ वटा तालिम केन्द्रहरु रहेकोमा हाल प्रादेशिक तालिम केन्द्रको रुपमा जम्मा सातवटा मात्र रहेका छन् । शैक्षिक जनशक्ति विकास केन्द्र पनि संघीयता कार्यान्वयनका सन्दर्भमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा समायोजन भएको छ  ।

शिक्षक तालिमका कार्यक्रम  

शिक्षक तालिम विभिन्न आरोह अवरोह छिचोल्दै विकासको गति सँगै अगाडि बढेको अवस्था छ । नयाँ राष्ट्रिय शिक्षा पद्धतिको योजना (वि.सं.२०२८—२०३२) लागु हुनु पूर्व शिक्षक स्थायी हुनका लागि तालिम अनिवार्य हुन्थ्यो । तालिम प्रति बढी आकर्षण र लगाव थियो तर योजना पछिका दिनमा तालिम प्रतिको उदार नीतिको कारणले गर्दा तालिमका क्षेत्र विस्तार भयो, बढी शिक्षकहरुलाई तथा प्रधानाध्यापकलाइ समेट्न खोज्यो तर व्यावहारिक पक्ष गौण भएको अनुभूति रहयो । तालिमका  लागि तालिम जस्तो मानसिकता देखिन थाल्यो ।

स्थायी अध्यापन अनुमतिको परीक्षामा समावेश हुन पनि प्राविधिक विषय जस्तै : विज्ञान, कम्प्युटर, इञ्जिनियरिंङ् आदिका लागि पछि निश्चित अवधि भित्र तालिमका प्रमाण पत्र बुझाउने गरी परीक्षामा समावेश गराइएको छ । प्रारम्भिक अवस्थामा शिक्षक तालिमका लागि सेती शिक्षा परियोजना मोडेल बढी उपयुक्त र सान्दर्भिक थियो । किनभने सात दिनसम्मका तालिम प्रायः आवासीय हुने र समुदाय सेवा जस्तै सरसफाई, अस्थायी शौचालय निर्माण र प्रयोग सम्बन्धी सचेतना, करेसाबारीमा साग सब्जी लगाउने तरिका र असल तथा उन्नत बीउ विजन वितरण, सरसफाई सामग्री किट वितरण जस्ता कार्यहरु पनि सँगसँगै हुन्थ्यो । शिक्षण सिकाइमा तालिममा सिकेका सीप र प्रविधिहरुको प्रयोगका अवस्था तथा सहयोगका लागि साथीबाट सहशिक्षण तथा अनुगमन मूल्यांकन (Peer Observation) र पृष्ठपोषण आदान प्रदान हुन्थ्यो जो बढी प्रभावकारी देखिएको थियो । कालक्रम अनुसार देहायका शिक्षक तालिमहरु सञ्चालन र परिमार्जन हुँदै आएको अवस्था देखिन्छ :

क. नर्मल तालिम

ख. बी लेभेल तालिम (एस एल सी अनुतीर्णका लागि) — शिक्षा क्याम्पस द्वारा सञ्चालित

ग. माविमा ४०० पूर्णाकको शिक्षा विषयको अध्यापनको व्यवस्था — व्यावसायिक मावि द्वारा सञ्चालित

घ. १५० घण्टे तालिम — तत्कालिन क्षे.शि.नि.द्वारा सञ्चालित

ङ. १८० घण्टे तालिम — तत्कालिन क्षे.शि.नि.द्वारा सञ्चालित

च. दूर शिक्षा केन्द्र डिस्टान्स मोडद्वारा शिक्षक तालिम सञ्चालित

छ. २.५ महिने चार चरणको चरणबद्ध तालिम — शैक्षिक तालिम केन्द्र द्वारा सञ्चालित

ज. एस एल सी गरेर दश महिने तालिम गरेका लागि थप दश महिने विशेष तालिम प्याकेज तालिम लिए पछि आइ.एड.सरहको प्रमाणिकरण तालिम (एक पटकको लागि मात्र, अहिले नरहेको)

झ. शिक्षा शास्त्रमा प्रवीणता प्रमाण पत्र तह, स्नातक, स्नातकोत्तर र एक बर्षे स्नातक तहका तालिम — शिक्षा क्याम्पस र उच्चमावि द्वारा सञ्चालित

ञ. तत्कालिन माध्यमिक शिक्षा विकास इकाइ (SEDU) वा शैक्षिक तालिम केन्द्र ख द्वारा सञ्चालित मावि स्तरीय विषयगत तालिम

ट. शैक्षिक जनशक्ति विकास केन्द्रको अनुमतिमा नीजि स्तरबाट सञ्चालित प्राथमिक शिक्षक तालिम केन्द्र (१४) द्वारा पूर्व सेवाकालिन दश महिने तालिम सञ्चालन

ठ. बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, आधारभुत तह तथा माध्यमिक तहका शिक्षक र प्रधानाध्यापकका लागि शिक्षकको पेशागत विकास (TeacherProfessional Develoment—TPD) प्रमाणिकरण (Certification) तालिम र प्र.अ.नेतृत्व विकास तालिम

ड. अगुवा स्रोत केन्द्र (मावि) र स्रोत केन्द्र (आधारभुत तह) द्वारा सञ्चालित टीपिडी तालिम

ढ. पूर्वाञ्चल विश्वविद्यालय, खुला विश्वविद्यालय द्वारा खुला र अनलाइन ÷अफलाइन  शिक्षक तालिम सञ्चालन

शिक्षक तालिमका व्यवहारिक पक्ष

तालिमको आवश्यकता बारे विवादै भएन तर तालिममा सिकेका सीप र प्रविधिहरुले अपेक्षित नतीजा दिएन वा कार्यक्षेत्रमा प्रयोग भएन भने निश्चय नै तालिमको आवश्यकता र औचित्य माथि औंला ठडयाउनु पर्दछ । शायद त्यसैले यदाकदा सुन्ने गरिन्छ “शिक्षक तालिममा लगानी , बालुवामा पानी” यद्यपि तालिमका पाठयक्रम, कोर्ष, समयावधि, प्रशिक्षकको योग्यता तथा दक्षता, तालिम सञ्चालनको वातावरण, प्रयोग हुने क्षेत्र तथा कार्यसँगको तालमेल र सामञ्जस्य आदिमा पनि भर पर्दछ । अतः उपरोक्त सबै कुराको आपसी सह सम्बन्ध र अनुकुलता भएमा निश्चय नै तालिमले सापेक्षिक रुपमा असल परिणाम दिन्छ ।

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि तात्विक रुपले धेरै कुराहरु प्रभाव पार्दछ जसमध्ये पहिलो र महत्वपूर्ण भनेको योग्य, दक्ष र तालिम प्राप्त शिक्षक  हो । यसका लागि सरकारले विभिन्न कालखण्डमा आफ्ना योजना, कार्यक्रम र रणनीतिक हिसाबले प्रयास गर्दै आएको छ । अहिले सञ्चालनमा रहेका विद्यालय क्षेत्र विकास योजना (सन २०१५/१६—२०२२/२३) मा बालविकास केन्द्र सहयोगी कार्यकर्ता, आधारभुत तह र माध्यमिक तहका शिक्षक तथा प्रधानाध्यापकका लागि देहायका तालिम कार्यक्रम राखिएका छन् :

क.सन् २०२२/२३ सम्म शत प्रतिशत अर्थात ३२००० बालविकास सहयोगी कार्यकर्तालाई एक महिने तालिम दिने

ख. सोही अवधि सम्म आधारभुत तहका ५१००० शिक्षकलाई तालिम प्रदान गरी प्रमाणिकरण गर्ने

ग. सोही अनुसार माध्यमिक तहका २५००० शिक्षकलाई तालिम  र प्रमाणिकरण गरिने

घ. योजना अवधिमा १८००० प्रधानाध्यापकलाई व्यवस्थापन तालिम दिइने

यसरी तालिमका कार्यक्रम निरन्तर हुन्छ । साथै स्थायी अध्यापन अनुमति पत्रसँग र शिक्षकको कार्यसम्पादन मूल्यांकनसँग पनि आवद्ध गरी सोझै कार्यसम्पादनका आधारमा हुने बढुवा प्रकृयासँग सम्बन्धित बनाइएको छ जसबाट शिक्षकहरु तालिम प्रति र शिक्षण सिकाइमा सिकाइ सीप प्रयोग गर्ने तर्फ ध्यान दिउन र पनि अपेक्षित परिणाम तथा सिकाइ उपलब्धि दरमा बृद्धि देखिएको छैन । यसका लागि केही व्यवहारिक कारणहरु यस्ता छन् :

शिक्षाविद् Arends (२००१) का अनुसार जुनसुकै तहका दक्ष शिक्षकका लागि तीनवटा महत्वपूर्ण कार्यहरु छन् ती यसप्रकार छन्ः  

विद्यार्थीको नेतृत्व गर्नु,

प्रत्यक्ष रुपमा सिकाइमा सहजीकरण गर्नु र

विद्यालयको विकासका लागि आफ्ना सहकर्मी साथी, समुदाय र जोसुकैसँग संवाद तथा छलफल गर्नु । योजना निर्माण, उत्प्रेरणा जगाउने र सिकाइमा सहजीकरणका माध्यमबाट विद्यार्थीको नेतृत्व गर्नु ।

नेपालका शिक्षकहरुले विद्यालयमा पर्याप्त पूर्वाधार नभएको, धेरै विद्यार्थी भएको, शिक्षकलाइ धेरै कार्यभार भएको, विद्यालयमा कुनै सहयोग नपाएको, निरीक्षण अनुगमन कमजोर भएको जस्ता गुनासा मात्र गर्छन् । अघिल्लो मत अनुसारका क्रियाकलापहरु केही विद्यालय बाहेक नभएको नगरेको अवस्था छ भने पछिल्लो भनाइ ठयाक्कै हाम्रो परिवेशसँग मिल्छ ।

केही विद्यालय जहाँ विद्यालय व्यवस्थापन समिति, प्र.अ.तथा शिक्षक कर्मचारी, समुदाय, अभिभावक, शिक्षाप्रेमी बुद्धिजीवीको समन्वय, सहकार्य, संलग्नता, पारदर्शिता छ तथा आवश्यकतानुसारका जनशक्ति छ भने त्यहाँ राम्रो व्यवस्थापन र पठनपाठन भएको छ र सिकाइ सीपको उपयुक्त र सुनियोजित किसिमले प्रयोग भएको देखिन्छ । जहाँ आपसी सामञ्जस्य सहकार्य छैन त्यहाँ आपसी विरोधाभास, असहयोग तथा नानाभाँतिका विवादले ग्रसित हुन्छ र निश्चय नै सहज वातावरण नभए पछि योजनावद्ध ढंगले पठनपाठन तथा मूल्यांकन र सिकाइ सीपको प्रयोगमा जटिलता हुन्छ । अतः सबै सरोकारवालाका संलग्ता, सहभागिता र समन्वयमा स्थानीय तहको निर्देशनमा उपयुक्त वातावरण सृजना गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नु पर्छ ।

निस्कर्ष :

शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षा नीति तथा उद्देश्य अनुसारका पाठ्यक्रमको उपयुक्त कार्यान्वयन, निरन्तर मूल्यांकन गरी अपेक्षित सिकाइ उपलब्धि हासिल गराउन शिक्षण सिकाइमा स्थलगत सहयोग गर्ने मानसिकताले वि.सं.२०५० सालमा विद्यालय संख्याका आधारमा प्रत्येक निर्वाचन क्षेत्रमा खटिने गरी विद्यालय निरीक्षकको नियुक्ति भयो तर सो अनुसारका क्रियाकलाप भन्दा पनि तथ्य तथ्यांक संकलन, तालिम सञ्चालन, प्रशासनिक तथा परीक्षाका काममा बढी व्यस्त गराइयो । यसका साथै विभिन्न  परियोजना तथा कार्यक्रमगत हिसाबले स्रोतव्यक्ति नियुक्त भइ उनीहरुलाइ पनि सोही अनुसारका कामकारवाहीमा लगाए पछि निरीक्षण अनुगमन र शिक्षण सिकाइमा अनुभवी र तालिम प्राप्त योग्य दक्ष व्यक्तिबाट शिक्षकलाई स्थालगत सहयोग भएन र निरीक्षण अनुगमन तथा सहयोगका दायित्व भएका प्र.अ., वि.व्य.स.र अन्यबाट पनि रचनात्मक सहयोग भएको कहीं कतै बाहेक छैन ।

त्यसैले वर्तमान अवस्थामा स्थानीय तहले आधारभुत तथा माध्यमिक तहको व्यवस्थापन तथा गुणस्तर कायम गर्नका लागि शिक्षक तालिम लगायतका आवश्वयक अवयवहरुको उचित तथा सञ्तुलित र योजनावद्ध कार्यान्वयन गराई व्यवहारिक र जीवनोपयोगी शिक्षा सुनिश्चित गर्नुपर्दछ ।

यादव, शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख हुन् ।