Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विद्यार्थी भर्ना अनुमति, अनलाईन कक्षा रोकेको पालिका नै सर्यो अघि

आइतबार, १८ साउन २०७७

पोखरा - मन्त्रीपरिषद्ले भदौ १ गतेबाट भर्ना गर्ने निर्णय गरे पनि पोखरा महानगरपालिकाले आउँदो मंगलबारबाट विद्यार्थीको भर्ना प्रकृया शुरु गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णय उदृत गर्दै महानगरले भर्ना प्रकृया शुरु गर्ने तथा भर्ना भएका बालबालिकाको आईईएमआईएस भर्ने काम गर्न पालिका भित्रका सबै विद्यालयलाई सूचित गरेको छ । निजी विद्यालयहरुले भित्र भित्रै भर्ना सकि सकेको, सामुदायिक विद्यालयहरुले पनि आआफ्ना विद्यार्थीलाई पाठ्यपुस्तक बाँडि सक्दा समेत भर्ना भने रोकिएको छ भनेर बस्नुको औचित्य नभए पछि औपचारिक रुपमै निर्णय गरिएको महानगरको शिक्षा शाखा प्रमुख हेम आचार्यले बताए । 

'निजीले भित्र भित्रै भर्ना सकिसकेका छन्, सामुदायिकले पनि किताब बाँडि सके तर भर्ना भने नगर्नु भन्नुको औचित्य देखिएन' आचार्यले भने, 'बरु औपचारिक रुपमै भर्ना गर्ने बाटो नखोल्दा सम्म ईमिस भर्ने काम समेत रोकिने र विद्यालय प्रवेश गर्ने बालबालिकाको संख्या समेत यकिन नहुने देखिए पछि  हामीले यो निर्णय गरेका हौं ।'

कक्षा १ मा प्रवेश गर्ने, विभिन्न कारणले विद्यालय परिवर्तन गर्न वाध्य लाखौं बालबालिकाको विद्यालय पहिचानको बाटो समेत अवरुद्ध गर्दै आएको भन्दै संघीय शिक्षा मन्त्रालयको आलोचना भईरहेका बेला महानगरपालिकाले एक कदम अघि सरेर अन्योल हटाएको हो ।

विद्यालय तहसम्मको शिक्षा सञ्चालनको अधिकार प्राप्त भएका आधारमा स्थानीय सरकारले यस्तो निर्णय गर्न सक्छन् । तर कतिपय जिल्लामा अधिकार क्षेत्र भन्दा बाहिर गएर जिल्ला स्थित कार्यालयले अभिलेखिकरणको काम समेत रोक्न निर्देशन जारी गरेका छन् । यसको एउटा उदाहरण ललितपुर जिल्ला हो । बालबालिकालाई विद्यालय पहिचानको बाटो समेत नखुल्दा सरकारले करोडौं रुपैंया खर्च गरेर असार १ गते देखि शुरु गरेको वैकल्पिक शिक्षा विधि माथि पनि प्रश्न उठ्दै आएको छ । 

विद्यालय खोल्नु अघि महामारीको यकिन गर्न जरुरी रहेको भन्दै विद्यालयमा बालबालिका अभिलेखिकरण, शिक्षकलाई विद्यालय सम्म पुर्याएर शैक्षिक गतिविधि शुरु गर्नु पर्ने सुझाव आए पनि संघीय शिक्षा मन्त्रालय भने भदौ १ गते देखि विद्यालय खोल्ने भन्दै विद्यालय पुन सञ्चालनको कार्यढाँचा बनाउन व्यस्त छ । 

पढ्नुहोस् : विद्यालय हैन, शैक्षिक गतिविधि सञ्चालन गर

तर पोखरा महानगरपालिकाले विद्यालय खोल्ने विषयलाई महामारीको अवस्था विश्लेषण विना यकिन नहुने बताएको छ । 

'महामारी नियन्त्रणमा भएको अनुभूती नभई विद्यालय खोल्ने कुरै हुँदैन' आचार्यले भने, 'तर विद्यालयका गतिविधि भने सञ्चालन गर्नु पर्छ भनेर हामीले भर्नाको बाटो फुकाएका हौं, अब विस्तारै वैकल्पिक सिकाइ विधिमा शिक्षक र बालबालिका जोडिन्छन् ।'

विद्यार्थी भर्नाका क्रममा अपनाउने प्रोटोकल समेत निर्माण गरिएको छ । विद्यालयहरुमा नियमित सरसफाई, पूर्वतयारी, प्रवेशद्वार व्यवस्थापन, विद्यालय हाताभित्र व्यक्तिगत सजगता तथा सामाजिक दुरी व्यवस्थापन, विद्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरुको कोरोना विमा जस्ता विषय प्रोटोकलमा समावेश गरिएको छ  । यसैरगी विद्यालयमा कार्यशाला, गोष्ठि, तालिम सञ्चालन नगर्न भनिएको छ भने महामारीका सन्दर्भमा  प्राप्त निर्देशनहरुको पालना गर्न पनि भनिएको छ ।

तीन महिना अघि गत बैशाखमा महानगरले अनलाईन कक्षा सञ्चालनमा रोक लगाएको थियो ।

विद्यालयले शुरु गरेका अनलाईन कक्षा बन्द गर्न निर्देशन

अनलाईन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीमा आवश्यक पुर्वाधार तथा ईण्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पुर्वाधार विना नै अनलाईन कक्षा सञ्चालन गर्दा थप विकृति निम्तने शँका व्यक्त गर्दै महानगरले रोक लगाएको थियो । अनलाईन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकलाई मानसिक दवाव पर्ने भन्दै बन्द गरिएको थियो । 

प्रतिक्रिया