Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक किताबखानाका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ, कार्यालयमा थप सर्तकता

बुधबार, २१ साउन २०७७

काठमाडौं - पेन्सनपट्टा बनाउन शिक्षक किताबखाना पुगेका एक जना शिक्षकलाई कोरोना भाईरस (कोभिड - १९) पुष्टि भए पछि स्वाब संकलन गरिएका किताबखानाका १० कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ । गत बिहीबार संकलन गरिएको स्वाबको रिपोर्ट मंगलबार बेलुका प्राप्त भएको  किताबखानाका महानिर्देशक दिनेश कुमार श्रेष्ठले जानकारी दिए । 

'सेवाग्राहीसँग सिधै सम्पर्क हुने कर्मचारीलाई प्राथमिकतामा राखेर स्वाब संकलन गरिएको थियो, तर सबैको रिपोर्ट नेगेटिभ आएको छ' श्रेष्ठले भने, 'पहिले पनि सर्तकता अपनाईएकै थियो, तर यो घटनाले थप सर्तकता अपनाउन जरुरी रहेको देखाएकोले हामीले सोही अनुसार गरेका छौं ।' 

अघिल्लो शनिबार काठमाडौं प्रवेश गरेका ती शिक्षकको नागढुङ्गामा निकालिएको स्वाबको रिपोर्ट पोजेटिभ आए पछि किताबखानाका कर्मचारीको पनि स्वाब संकलन गरिएको हो । गत बुधबार ति शिक्षकको रिपोर्ट आए पछि बिहीबार किताबखानाका १० कर्मचारीको स्वाब संकलन गरिएको थियो । पेन्सनपट्टा बनाउने प्रयोजनका लागि खटिएका अग्रपँक्तिका कर्मचारीको स्वाब संकलन गरिएको थियो । 

उक्त घटना पछि किताबखानामा एक प्रकारको त्रास व्याप्त भएको थियो । अहिले किताबखानामा आउने सेवाग्राहीलाई दुरी कायम गराउने, कार्यालयमा मास्क र स्यानेटाईजर अनिवार्य गर्ने लगायतका सचेतना अपनाउन थप कडाई गरिएको छ । काम लिएर आएका सेवाग्राहीलाई कार्यालयको परिषरमै राखिने र उनीहरुको फाईल संकलन गरेर भित्र भित्रै काम सम्पन्न भईसके पछि  फिर्ता दिने गरिएको छ । यसो गर्दा सेवाग्राहीलाई पनि झण्झट नहुने र कर्मचारी पनि सुरक्षित भएर काम गर्ने वातावरण तयार भएको श्रेष्ठ बताउँछन् । 

'हुन त हामी शिक्षकहरुलाई सेवा दिनै बसेका हौं, पहिले पनि सेवा प्रवाहमा गुनासो नआउने गरी काम गरेकै थियों' उनले भने 'कोभिडका कारण अहिले थप संवेदनशील भएर काम गर्दै छौं ।'

सामान्य अवस्थामा किताबखानामा दैनिक २०–२५ जना सम्म सेवाग्राही आउने गरे पनि पछिल्लो समय १५–२० जना सेवाग्राही आउने गरेका छन् । निवृत्त भएका शिक्षकहरु पेन्सनपट्टा बनाउन, शिक्षकको व्यक्तिगत विवरणमा भएको त्रुटि सच्याउन, वहालवाला शिक्षकको सम्पत्ति विवरण बुझाउन किताबखानामा आउनु पर्छ । 

अहिले अन्य विवरण भन्दा पनि सम्पत्ति विवरण बुझाउने समय भएकाले त्यसको संख्या धेरै हुने गरेको छ । सातै प्रदेशको छुट्टा छुट्टै बाकस बनाएर परिषरमा राखिएको छ । हुलाकबाट, कुरियरबाट वा शिक्षक स्वयंले बुझाउने ती विवरणहरु एकै पटक भित्र लैजाने गरिएको श्रेष्ठ बताउँछन् ।   

किताबखानामा अहिले ३० जना कर्मचारी कार्यरत छन् । 

प्रतिक्रिया