Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

कोभिडमै केन्द्रित साता

आइतबार, २१ भदौ २०७७

काठमाडौं - गत साता सञ्चार माध्यममा प्रकाशित शिक्षाका खबर र पाठक पत्र, नेपालको चिकित्सा शिक्षा क्षेत्रका वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा. डा. गोविन्द केसीको गतिविधि केनिद्रत रहे । चिकित्सा शिक्षा क्षेत्रको सुधार गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्ने मुख्य माग सहित  पटक पटक सत्याग्रह गर्दै आएका केसीको अभियानसँग सम्बन्धित विषय गत साता भरी नै सञ्चार माध्यममा समेटिएका छन् ।

जुम्लामा रहेका चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा वरिष्ठ अर्थोपेडिक सर्जन केसीले गत विहिवारबाट फेरी सत्याग्रह शुरु गर्ने योजना बनाएका थिए । तर प्रशासनले उनलाई धरपकड गरेको खबर सार्वजनिक भएको छ । यसपटक सत्याग्रह स्थगन गरिए पनि उनले चिकित्सा शिक्षाको सुधारका लागि भएका सम्झौताको कार्यान्वयनका लागि चिकित्सा शिक्षा ऐन संशोधनको माग गरेको विषय खबरमा उल्लेख छ ।  

यस्तै समाचारहरुमा राजनीतिक विषयले सबै भन्दा धेरै स्थान पाएका छन् । महामारीको समयमा सरकारले गरेका विभिन्न निर्णयहरु केन्द्रित विभिन्न समाचार तथा आलेखहरु प्रकाशन भएका छन् । माओवादी विप्लव समूहले छात्रवृति वितरण गरिरहेको समयमा सिन्धुलीको तीन पाटन गाउँपालिका स्थित भिमसेन आधारभूत विद्यालयका प्रधानाध्यापकलाई अपहरण गरेको र स्थानीय र प्रहरीले घटनाको ३ घण्टा पछि उनको उद्धार गरेको विषय पनि गत साता प्रकाशति भएको छ । 

मन्त्रीपरिषद्ले वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि दिइने अनुमति पत्र (नो अब्जेक्सन लेटर) सूचारु गर्ने निर्णय गरेको समाचार प्रकाशन भएको छ । जनकपुरका एक विद्यार्थीले यो काम ढिलो हुँदा अमेरिकाको छात्रवृति गुमाउनु परेको समाचारमा उल्लेख छ । 

समाचारमा उल्लेख गरिए अनुसार मन्त्रीपरिषद्ले विदेशबाट नेपालका शिक्षण संस्थामा अध्ययन गर्न आउने विद्यार्थीका लागि पनि अनुमति दिने निर्णय गरेको छ । यसरी आउने विद्यार्थीले शैक्षिक संस्थामा भर्ना भएको प्रमाण सहित आउन पाउने छन् । तथापि उनीहरुले आफ्नै देशमा गराएको पिसिआर रिपोर्ट पनि पेस गर्नु पर्नेछ । 

निजी प्राविधिक शिक्षालय महासंघ र नेपाल विद्यार्थी संघले सिटीइभिटी अन्तर्गतका १८ महिने स्वास्थ्य कार्यक्रम स्थगित गरेकोमा विरोध गरेको समाचारमा जनाइएको छ । अब सिएमए, अनमि र ल्याब असिसटेन्ट लगायतका कार्यक्रममा विद्यार्थी भर्ना हुने छैनन् । समाचार अनुसार चिकित्सा शिक्षा आयोगले १४ अगष्टमा यो निर्णय गरेको हो । यसैगरी आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडिजिपी, एनेस्थेसियोलोजी र पेडियाट्रिक विषयमा पठनपाठन गर्न अनुमति दिएको समाचारमा उल्लेख छ । 

तस्वीर : कारफोक विद्या मन्दिर माध्यमिक विद्यालय इलामको क्वारेण्टाईनमा एक जनाको मृत्यु भएको छ । देशभरी २००० भन्दा बढी विद्यालयहरु क्वारेण्टाईनको रुपमा प्रयोग भइरहेका छन् । महामारी तथा अन्य विपद्का समयमा प्रयोग गर्नका लागि दिगो र सुरक्षित विद्यालय भवन निर्माणमा जोड दिनु आवश्यक छ । 

समावेशिता र पहुँचको विषयमा विभिन्न सञ्चार माध्यममा थुप्रै विषयको उठान गरिएको छ । युनिसेफका अनुसार दुई तिहाई बालबालिका अर्थात पचास लाख भन्दा बढी बालबालिका विद्यालय बन्द भएको समयमा वैकल्पिक शिक्षाबाट वञ्चित भएको विषय मुख्य समाचारको रुपमा प्रकाशन भएको छ । यसैगरी आलेखमा महामारीको समयमा थुप्रै बालबालिका वैकल्पिक सिकाइबाट वञ्चित हुनु सरकारकै शैक्षिक व्यवस्थापन कमजोर हुनु हो भनि उल्लेख गरिएको छ । आलेखमा अभिभावकहरु आफ्ना बालबालिकाको सिकाइ क्षति भएकोमा चिन्तित भएको पनि उल्लेख गरिएको छ । 

अर्को एक मुख्य समाचारमा विश्वविद्यालय अनुदान आयोगले अनलाइन शिक्षणका लागि ६७ लाख विनियोजन गरेको छ । यसैगरी सुविधा विहिन र कमजोर विद्यार्थीका लागि अनलाईन शिक्षणमा सहयोग गर्न र उनीहरुको पहिचान गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ । समाचार अनुसार त्रिविले विद्यार्थीहरुलाई आफ्नो क्याम्पस तथा विभागमा सम्पर्क राख्न र अनलाइन कक्षामा सहभागी हुन आग्रह गरेको छ र यसका लागि सहयोग गर्न राजनीतिक नेता तथा अन्यलाई समेत आग्रह गरेको छ । 

यसैगरी काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स र इञ्जिनियरिङ्गका विद्यार्थीले ३० सेप्टेम्बरसम्म शुल्क बुझाउनु पर्ने गरी गरेको निर्णयबाट पछि हटेको समाचार पनि प्रकाशन भएको छ । 

शिक्षाको आपतकालिन परिस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले रौतहटमा पुजारीको हत्याको विरोधमा प्रदर्शन गरेका छन भने नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आफ्नै आन्तरिक द्वन्द्व र विवादमा फसेका विषय सामाजिक सञ्जालमै आएको छ । मातृ पार्टीमा भएको विवाद विद्यार्थी सङ्गठनमा पनि देखिएको हो । यस्तै कुनै मापदण्ड प्रयोग नगरी त्रिविमा गरिएको राजनीतिक नियुक्तिले यसलाई राजनीतिक खेल मैदान बनाउने तयारी गरेको जस्तो देखिएको छ ।  

यसैगरी सञ्चार माध्यममा परीक्षासँग सम्बन्धित समाचार पनि आएका छन् । मध्यपश्चिम विश्वविद्यालयले रोकिएका स्नातक र स्नातकोत्तर तहका परीक्षा विश्वविद्यालयले विकास गरेको वैकल्पिक माध्यमबाट लिने भएको छ । त्रिविले दशैपछाडी परीक्षा सञ्चालनको तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले असोजको पहिलो हप्तादेखि “निर्धारित सयममा घरबाटै परीक्षा“ गर्ने भएको छ । केयुले वैकल्पिक माध्यमबाट परीक्षा गर्ने भएको छ । यसैगरी समाचारमा उल्लेख भए अनुसार राष्ट्रिय परीक्षा बोर्डले दशै अगाडि कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालय मार्फत कोभिड सङ्कट व्यवस्थापन केन्द्रिय समितिमा अनुमति मागेको छ । 

साताका अन्य समाचारहरुमा म्याग्दीको वेनी स्थित सामुदायिक विद्यालयले अपारदर्शी तरिकाले मिलेमतो गरी शिक्षक नियुक्ति गरेको छ । चितवनका चिकित्सा शिक्षाका विद्यार्थीले संसारभर नै प्रयोग हुने एप्लिकेशन विकास गरेका छन् । निजी विद्यालयका शिक्षकले तलब नपाउँदाको अप्ठ्यारोका विषयमा ब्लग प्रकाशित भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिकाका मेयरले कोरोना सङ्क्रमणबाट मुक्त भएका किशोर किशोरीहरुलाई स्नातक तहसम्मको शिक्षा उपलब्ध गराउने भएका छन् । विद्यालय बन्द भइरहँदा बालविवाह बढेको छ । चितवनबाट प्रहरीले प्रधानाध्यापकसहित ११ जनालाई प्रक्राउ गरेको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित पालिकाको अनुमतिमा निजी विद्यालयले शुल्क लिन पाउने जनाएको छ । यो विषय निकै लामो समयदेखि वहसमा थियो र विद्यालय सञ्चालकहरुले शुल्क उठाउन चाहेका थिए ।  तथापि यो खवरले धेरै प्राथमिकता भने पाउन सकेन । 

गत साताका शिक्षाका समाचार अनुसार सरकारले लाखौँ विद्यार्थीका लागि वैकल्पिक शिक्षामा समावेश गर्न नसक्दा शैक्षिक सत्र गुम्न सक्ने जोखिम मात्र नभएर विद्यार्थी पुन विद्यालय नफर्कने अवस्था भएको उल्लेख छ । महामारीले विद्यालय बन्द भईरहँदा बाल विवाहका घट्ना बढेको र यसले बालबालिकामा तनाव तथा चिन्ता पनि बढाएको छ । गत दुई हप्तादेखि नै सञ्चार माध्यममा परीक्षा मुख्य विषयको रुपमा आएको छ । यसैगरी एसईई परीक्षामा असफल भएका २६ हजार विदयार्थीको वारेमा कुनै समाचार नआउनु दुखद अवस्था हो ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर, द हिमालयन टाइम्स दैनिक र सेतो पाटी, नयाँ पत्रिका र दि रिपब्लिका अनलाइन पोर्टलहरूमा २०७७ भदौ १० देखि १६ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Around Repercussions of Covid

प्रतिक्रिया