आउनुहोस् शिक्षकलाई गाली गरौँ !


कोभिड १९ का कारण हाल विश्वभर लाखौँ बालबालिका शैक्षिक वृत्ती र विकासबाट वञ्चित भएका छन् । विश्वभरी विद्यालय खुल्ने र बन्द हुने क्रम जारी छ । कतै खोलिएका विद्यालय बालबालिकामा संक्रमण पछि फेरी बन्द भएका र कतै सामाजिक दूरी तथा स्वास्थ्य सावधानी अपनाएर फेरि विद्यालय  खुलेका समाचार आइरहेका छन्  । 

नेपालमा पनि  लाखौं  विद्यार्थी पठन पाठनबाट वञ्चित भइ घरमै बसेको अवस्था छ । घरमा रहेका बालबालिकाको शिक्षामा सरोकारवालाको चासो हुनु स्वभाविक छ तर विद्यार्थी घरमै रहनुको कारक शिक्षक हुन् भने जस्ता गरी व्याख्या भईरहेको देख्दा मलाई आश्चर्य लागिरहेको छ । 

सामाजिक सञ्जाल तथा विभिन्न  पत्रपत्रिकामा व्यक्त विचार हेर्दा शिक्षकनै वर्तमान परिस्थितिको  कारक भए झैँ प्रस्तुत गरिएको छ । तिनै विचारका आधारमा धारणा बनाई शिक्षकको मानमर्दन गर्ने कार्य निरन्तर चलिरहेको छ ।  शिक्षकहरूले काम नगरी पारिश्रमिकको आशा गरेको, विद्यालय नगई घरमै बसेको, परिश्रम नगरी पारिश्रमिक लिन खोजेको, विद्यार्थीको भविष्य प्रति बेवास्ता, सरकारी निर्णय प्रती उदासिन जस्ता संगीन आरोप लगाइएको छ । 

के चैत देखि शिक्षक निदाएकै हुन् त ?

पक्कै पनि यस बेला शिक्षकहरू पुर्ववत रुपमा सबै विद्यालयमा उपस्थित भएका छैनन् । धेरै शिक्षकहरु घरैबाट पनि निरन्तर विद्यालयको सम्पर्कमा छन् र विद्यालय प्रशासनले लगाएको कार्य गरिरहेका छन् । आवश्यकतामा विद्यालय प्रशासन खोलिएका छन् । शिक्षकले लकडाउनकै अवधिमा चैतमा हुन नसकेको नतिजा प्रकाशन र वितरण गरेका छन् । साथै राष्ट्रिय महत्व पाएको कक्षा १० को अन्तिम परीक्षाको अङ्कन समेतको जिम्मेवारी पुरा गर्ने काम शिक्षकले यसै बिच सम्पन्न गरेका हुन् । विद्यार्थीलाई  पढाइसँग जोड्न सबै विद्यालयले विद्यार्थीको हातहातमा किताब पुर्याउने काम शिक्षकले नै गरेका हुन् । धेरै निजी तथा केही सामुदायिक विद्यालयका शिक्षकले आफ्नै लगानीमा अनलाइन कक्षा सञ्चालन गरिरहेकै छन् । सामाजिक सञ्जालमा भाइबर तथा मेसेन्जर ग्रुप निर्माण गरी विद्यार्थी शिक्षक जोडेकै छन् । बिभिन्न शिक्षकहरूका पेशागत संघ सङ्गठनले पेशागत उन्नयनका तालिम गोष्ठी निरन्तर गरिरहेकौ छन् । 

वैकल्पिक शिक्षणको अवधारणा आए संगै शिक्षक सुत्न सकिरहेका छैनन् । बरु कोभिड संग जुध्न जुम, टिम जस्ता अनलाइन शिक्षणका एप्लिकेशन टुल चलाउन सिकेर बसेका छन् । सरकारले असोज १ गते देखि लागु हुने गरी जारी गरेको पाठ्यपुस्तक समायोजन ढाँचा पछि परम्परागत शिक्षण प्रविधिमा वर्षौं निदाएका शिक्षक अब टोल शिक्षक, गाउँ शिक्षक र अनलाइन शिक्षकको रुपमा  बिउँझेका छन् । शिक्षकका यी यस्तै सकारात्मक कामको लेखा कस्ले राख्ने ?   

शिक्षक विद्यालय किन जादैनन् ?

विद्यालय विगतमा क्वरेण्टाईनको रुपमा प्रयोग भए । प्रयोग भएका विद्यालयलाई सेनिटाइज अझै गरिएको छैन ।  अझै दुर्गमका केहि विद्यालयमा क्वारेण्टाईन यथावतै छन् । यस्तो जोखिममा विद्यालय जाँदा कसलाइ फाइदा होला ? विद्यार्थी, अभिभावक, आम समुदाय वा सरकार ? 

हो देशका सबै बिद्यालयमा क्वारेण्टाईन छैनन् र थिएनन् पनि । यो तथ्य मनन् गर्दै केही शिक्षकहरू जब कोभिड ग्राफमा माथि उक्लिदैथ्यो, बिभिन्न जोखीम मोलेर आआफ्ना विद्यालय पुगे ।  तब कतै शिक्षकलाई न त हाजिर लगाउन दिइयो न त विद्यार्थीलाई अभिभावकले विद्यालय नै पठाए । बरु उल्टै तपाइ १५ दिन घरमा नबस्नुस् भनेर अपमानित गरे । अनि घर फर्कन शिक्षक विवश भए । यता संस्थागत विद्यालयका शिक्षकले यस बिच धेरैले जागिर नै गुमाए,  कुन विद्यालय जाउन् ? शिक्षक सधै बालबालिकासंग रमाउन चाहन्छन् । शिक्षक विद्यालयमै सुरक्षित र स्वतन्त्रता महशुस गर्छन् ।  परिस्थिति बनोस्, सबै शिक्षक विद्यालय जान आतुर छन् ।  

सरकारी निर्देशन काफि छ र ? 

विगत ५ महिना देखी हाम्रा तिनै तहका सरकार निकै गम्भिर देखिए । साँच्चै देशका विद्यालय १ मिनेट बन्द हुनु भनेको सक्षम कुशल जनशक्ति निर्माणमा धेरै ढिलाई हुनु हो । नानो सेकेण्डको हिसाब राख्ने जमानामा हामी ५ महिनाको हिसाब निकाल्दै छौँ । घाटा त निकै भैसक्यो । यो बिच न सरकार साँचिकै तात्यो न कुनै सरोकारवाला । शिक्षाकै तालुकदार अड्डा शिक्षा मन्त्रालयले केवल निर्देशन मात्र जारी गर्ने काम गर्यो । कहिले साउनबाट भर्ना गर्ने, कहिले भदौ १५ पछि, अनि भदौ मसान्त सम्म बन्दको सुचना गर्ने काम मात्र गर्यो । स्थानिय सरकारले विद्यालय सञ्चालन गर्न खोजे पनि केन्द्र सरकारले बन्द गर्न पत्र काटेका धेरै उदाहरण छन् । हाल सरकारले असोन १ गते देखी वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन विद्यार्थि सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । यस बिच शिक्षण सिकाइ क्रियाकलाप सहजीकरणका लागी भौतिक अवस्थाको सुधारका लागी कुनै पहल भएको देखिदैंन । बरु उल्टै एकोहोरो दोषारोपण मन्त्रालयले शिक्षक माथि गरिरहेको छ ।  

सरोकारवालाको भूमिका

कोभिड १९ को प्रकोप अझ कहिले सम्म हुने हो यकिन छैन । सरकारले भर्खरै  वैकल्पिक प्रणालीवाट सिकाइ सुचारु गर्ने ढोका खोलेको छ । असोज १ गते देखी वैकल्पिक माध्यमवाट नियमित कक्षा संचालन हुने घोषणा गरिए पनि अझै कार्यढाँचा विद्यालय र शिक्षकको पहुँचमा पुगिसकेको छैन । कोभिड पूर्व बनाइएका पाठ्यक्रमले सुझाएका शिक्षण विधिले काम गर्छन् की गर्दैनन् भन्ने विषयमा वहस भएको भने पाइदैन । शिक्षाविद्हरु बिच शिक्षक किन विद्यालय गएनन् भन्ने विषयमा मात्र छलफल केन्द्रित भएको पाईन्छ । कोभिड संगै र कोभिड पछि विद्यालय शिक्षा कसरी जाने, वर्तमान समयमा विक्षिप्त वनेको बालमनोविज्ञानलाई भविष्य प्रति अशा जगाउन के कस्ता विषयबस्तुहरु समेट्ने भन्ने कुरामा बहस सुनिदैन ।

काम नगरी किन तलव खाने ?

पारिश्रमिक भनेको पक्कै पनि परिश्रम पछिको लाभ हो । भनिन्छ मौद्रिक तथा अन्य प्रोत्साहनले कामदारको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्दछ । साथै पारिश्रमिक जिवन निर्वाहको आधार पनि हो । वर्तमान कहरमा सामुदायिक विद्यालयका शिक्षकहरूले  काम नै नगरी पारिश्रिमक बुझेको आरोप छ । अर्को तिर सरकारको वार्षिक कार्यक्रम प्रस्तुत गर्दानै “अबदेखी कोही भोको हुनुपर्देन” भन्ने घोषणा गरेको देशमा किन यति छिटै शिक्षकलाइ भोकै बसाउनुपर्छ भन्ने मान्यता आयो होला ? 

कोभिड १९ को महामारीका सर्जक शिक्षक होइनन् । शिक्षकको यस  परीस्थितिमा गास काट्नु पर्छ भन्ने बिचार साँचिकै पिडादायी छ ।  उता निजी विद्यालयका शिक्षक तथा सामुदायिक विद्यालयका निजि श्रोत शिक्षकले फागुन देखीनै पारिश्रमिक नपाएको गुनासो छ । ती शिक्षकले यो कहरमा कसरी अफ्नो जीवन निर्वाह गरीरहेका होलान् ? सबै भन्दा पिडित निजी विद्यालयका शिक्षक नै छन् । जबकी नीति निर्माता, उच्च पदाधिकारीहरु, सम्भ्रान्त वर्गका छोराछोरीहरु तिनै निजी विद्यालयमा अध्ययन गर्दछन् । साथै फाइदाका लागी खोलिएका निजी विद्यालयका सञ्चालकले विसौं वर्षको फाइदावाट अलिकती घाटा व्यहोर्दै आफ्ना कर्मचारीलाई जीवन निर्वाहमा सहयोग पुर्याउँदा कद अझै बढ्ने थियो । यस विषयमा न त सरकार मुख खोल्छ न त सरोकार पक्ष नै बोल्छ ।

शिक्षण पेशामा लागेका मध्ये कुनै व्यक्तिका खरावी र कमजोरी होलान् त्यसमा शिक्षक जिम्मेवार हुनै पर्छ । तर कोभीडले सृजना गरेको वर्तमान  परिस्थितीको गाम्भिर्यता ख्याल नगरी हल्ला गरौं, शिक्षाविद् कहलाउँ, आउनुहोस शिक्षकलाई गाली गरौँ ।

कोइराला पञ्चदेव मावि कालिकोटमा शिक्षक हुन् ।