Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शिक्षामा ५ सहसचिव र ३० उपसचिवको पदपूर्ति हुने

बुधबार, २८ असोज २०७७

काठमाडौं - सहसचिव विहीन हुँदै गएको शिक्षा मन्त्रालयमा ५ जना सहसचिवको पदपूर्ति हुने भएको छ । शिक्षा सेवामा ५ जना सहसचिव पदपूर्ति गर्ने गरी बुधबार लोकसेवा आयोगले विज्ञापन गरेको हो । १ जना जेष्ठता, २ जना कार्यक्षमता, १ जना आन्तरिक प्रतिस्पर्धा र १ जना मधेसी कोटामा विज्ञापन भएको छ ।

जेष्ठताका लागि उपसिचवमा बढुवा हुँदाको मितिलाई आधार मानिन्छ । यो पदमा अहिले शिक्षक सेवा आयोगमा कार्यवहाक प्रशासकीय प्रमुखका रुपमा कार्यरत दिनेश श्रेष्ठको बढुवा हुने पक्का जस्तै छ । किन भने उनी शिक्षा सेवाका उपसचिवहरु मध्ये सबै भन्दा वरिष्ठ हुन् । कारवाही नभएको, बढुवा मिति, तालिम, शैक्षिक योग्यता, कार्य सम्पादन मूल्यााकन आदीका आधारमा लोकसेवा आयोगले बढुवा गर्ने प्रावधान छ । यसका लागि उम्मेद्वारले बढुवा फारम भरेर बुझाउने र सम्बन्धित मन्त्रालयले उम्मेद्वारको व्यक्तिगत फाईल बुझाए पछि आयोगले आवश्यक प्रकृया पुरा गरेर बढुवा गर्छ । 

यस्तै कार्यक्षमताका आधारमा हुने बढुवा पनि जेष्ठताकै आधारमा हुने जस्तो हो । तर यसमा सम्बन्धित उम्मेद्वारले बढुवा फारम भरेर बुझाउँछ र उसको जेष्ठता, कार्यसम्पादन मूल्याँकन, शैक्षिक योग्यता, भौगोलिक क्षेत्रमा काम गरे वापत र तालिमका लागि निर्धारण गरिएको अँकका आधारमा आयोगले बढुवा गर्छ । शिक्षा सेवाका वरिष्ठ उपसचिवहरु मध्ये २ नम्बरमा डा. भोजराज काफ्ले र तेश्रो नम्बरमा डिल्लि लुईंटेल छन् । २ पदका लागि मात्रै विज्ञापन भएकाले उनीहरुको बढुवा लगभग पक्का जस्तै छ । माथि उल्लेखित आधारमा ठूलै तल माथी भएको रहेछ भने मात्रै उनीहरु पछिका उपसचिवको सम्भावना हुन्छ । उनीहरु पछि क्रमशः रुद्र अधिकारी, लक्ष्मी भट्टराई, शिव सापकोटा र चन्द्रकान्त भुषाल छन् । 

यस्तै, शिक्षा सेवामा ५ बर्ष उपसचिव भएको व्यक्ति आन्तरिक प्रतिष्पर्धाका लागि योग्य हुन्छ भने मधेसी कोटाको १ पदमा ५ बर्ष उपसचिव भएको वा ७ बर्ष अधिकृत भएको स्नातकोत्तर तह उत्तीर्ण मधेसीले प्रतिस्पर्धा गर्न पाउँछ । यो पदका लागि माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक पनि योग्य हुन्छ । 

जेष्ठता र कार्यक्षमताका आधारमा हुने बढुवा अन्य कुरा यथावत रहेमा आगामी माघ सम्म टुङ्गिन्छ भने अन्य २ पदका लागि आयोगले पुस २६ र २७ गते परीक्षा मिति तोकेको छ । २१ दिन भित्र अर्थात् आगामी कात्तिक १८ गते सम्म फारम भर्नु पर्ने छ । 

टेकनारायण पाण्डेको सचिवमा बढुवा भए पछि खाली रहेको एक पद सहित डा. लेखनाथ पौडेल र बाबुराम पौडेलको अवकास पछि खाली रहेको पदमा विज्ञापन गरिएको हो । सहसचिवहरु भक्त ढकाल र विष्णु अधिकारीको आउँदो असार भित्र अवकास हुने भएकोले ती पदको पनि गणना गरेर आयोगमा पठाईएको आधारमा विज्ञापन भएको मन्त्रालय श्रोतले जनाएको छ  । तर, चाँडै नै अन्य कारणले खाली हुने सहसचिव पदलाई समेत ध्यान दिएर शिक्षा मन्त्रालयले काम गर्न नसकेको देखिन्छ । जसका कारण शिक्षा मन्त्रालयमा सहसचिवको पर्याप्पता अझै पनि नहुने देखिन्छ । किन भने आगामी चैत सम्ममा बैकुण्ठ अर्याल र इमनारायण श्रेष्ठ प्रदेशमा जाने तथा डा. तुलसी थपलिया अवकास भए पछि मन्त्रालयमा फेरी सहसचिवको अहिले जस्तै खडेरी पर्ने देखिन्छ । 

यो पनि पढ्नुहोस् : रित्तिँदै शिक्षा मन्त्रालय, अबको भर कामू र निमित्त !

यस्तै आयोगले २० जना उपसचिवको लागि पनि विज्ञापन गरेको छ । जेष्ठता र कार्यक्षमताका आधारमा १० – १० जना, आन्तरिक प्रतिष्पर्धामा ७ जना, खुल्लामा २ जना र आदीवासी जनजातीमा एउटा कोटामा विज्ञापन गरिएको छ । 

 

प्रतिक्रिया