खोल्ने र बन्द गर्ने बीचको शैक्षिक विकल्प


विवादबाट उठ्ने कि ?

तत्कालीन समयमा बुद्धले दुइटा अन्यौल देखे । आत्मा र परमात्मा बुझ्न बुझाउन समय खर्चिएकाहरुको अन्यौल । ईश्वर छ कि छैन भन्ने संवादमा समय खर्चिएकाहरुको अन्यौल । बुद्धले ठम्याए कि न बुझ्नेले आत्मा र परमात्मा बुझ्यो । न बुझाउनेले बुझाउन सके । न ईश्वर छ र छैन भन्नेहरुले नै निश्चित आधार दिन सके । यी अन्यौलहरु चिर्न  बुद्धले सहज उपाय दिए –विवादमै नपस ! 

विवादबाट बचाउन उनले अर्काे सूत्र दिए । आफैंले खोज । यो खोजले आफैं बुद्ध बन्न सक्छौ । शून्य (Void) को अनुभूति सक्छौ । अझ थप खोजेमा निर्वाण प्राप्त गर्न सक्छौ । बुद्धको यो सन्देशले गर्दा अनेकन बाटाहरु खुले । पदार्थवादीले पदार्थकै अन्त्यको अनुभूति गरे । “न अस्ति”को अनुभूति । अर्थात ईश्वरको अस्तित्व छैन भन्ने अनुभूति । 

ध्यानस्थहरुले शून्यको अनुभूति गरे । बुद्धले शून्य भन्दा परको अनुभूति गरे । निर्वाण । यो तरिका अपनाउँदा एकल बाटो रहेन । खोज्नेहरुको अनुभूतिले ठाउँ पायो । आधुनिक कला जस्तो । जस्ले जे बुझे पनि हुने । बुझ्ने प्रकृयामा सबै लाग्ने । 

बुद्धकै चिन्तन बोके हुन्छ कि त ? 

शिक्षालय खोल्ने तथा बन्द गर्ने दुवै चिन्तन अतिवादी हुन कि त ? 

खोल्ने वद्धताका चिन्तकले भने वैकल्पिक उपायको पढाइ प्रभावकारी भएन । बन्द गर्ने वद्धताका चिन्तकले भने कोरोनाको त्रास छदैं छ । शिक्षालय खोल्नु प्रत्युत्पादक हुनसक्छ । 

यी दुबैथरिका भनाइमा आंशिक सत्यता छ । यही सत्यता र असत्यताको कुरामा मात्र अल्झने कि बुद्धले भनेझैं आफ्नो सोच बनाउँने हो ? यो बारेमा हामीले घोत्लिनु पर्ने हो कि ? 

एकै साथ अनेकन तरिका अपनाउने कि ?

कोरोना पूर्व तथा कोरोना अवधिमा अनेकन शिक्षण सिकाइका विधिहरु सतहमा आए । सिफ्ट मिलाई आमने सामने पढाइ । दिन बिराएर स्कूलमा पढ्ने पढाइ । घण्टा घटाएर पढाइ । पाठ्यभार घटाएर पढाइ । घरघर गएर पढाइ । टोलटोलमा पढाइ । हुलाकी वा एल्मुनाईको सहयोगबाट सामग्री आदान प्रदान हुनेगरी पढाइ । टेलिफोनबाट पढाइ । रेडियोबाट पढाइ । टिभीबाट पढाइ । अनलाइनबाट पढाइ । गृहकार्यबाट पढाइ । अनुसन्धानात्मक प्रश्नबाट पढाइ । प्रश्न यहीं हो यो विधिहरु वैकल्पिक हुन कि ? एक अर्काका परिपूरक हुन् ? यहाँ पनि बुद्धकै चिन्तनबाट सोच्ने कि यो कि त्यो भनेर नै अघि बढ्ने हो ? बुद्धको चिन्तनबाट सोच्ने हो भने वहुलता जानु पर्छ । कोरोना पूर्व तथा कोरोना अवधिमा भए गरेका सारा शैक्षिक अभ्यासमा विद्यार्थीलाई स्वतन्त्रता दिनुपर्ने हुन्छ । परंपरागत उपायमा जाने हो भने औपचारिक तथा वैकल्पिक शिक्षा भनेर संवाद गरिरहनु पर्छ ।  गर्ने के हो ? यसबारे सोच्नुपर्ने हो कि ? 

निर्देशन दिने कि शिक्षक तयारी गर्ने ? 

राजनीतिज्ञ तथा कर्मचारीतन्त्र दुबैले निर्देशन दिन जानेका छन् । पल्केका पनि छन् । तर निर्देशनले के काम गर्यो भनी हेर्न जानेका छैनन् । जस्तो ः शिक्षकलाई पढाइबाट सिकाइमा लाने निर्देशन दियो सरकारले । कर्मचारीतन्त्रले । तर कति शिक्षकले पढाइलाई सिकाइमा लान जाने त ? उनीहरुसंग जानकारी छैन । कसरी पढाइलाई सिकाइमा बदल्ने त ? शिक्षकलाई तालिम छैन । अहिलेको वैकल्पिक विधिका कक्षाहरु उदाहरण हुन् । कुनै पनि शिक्षकले विद्यार्थीले जानेका कुरालाई पाठमा जोडेको देखिएन । विद्यार्थी मोवाइल चलाउन जान्दथ्यो ।

त्यसबाट खोजेर गृहकार्य गर्न गराउन लगाउने सोच बनेन । बनाइएन । विद्यार्थी टिभी हेथ्र्यो । टिभीमा पाठ मात्रै हुन्नथे । गीत हेरेर के सिक्यौ भनेर सोधिएन । भोलिको गीत कस्तो बनाउँछौ भनी संवाद गरिएन । राजनीतिक नेताहरुको आपसी गालीगलौजबाट के सिक्यौ भनिएन । भोेलिका नेताको बोली कस्तो हुनुपर्ला भनी चिन्तन गर्न गराउन लगाइएन । विकास र सम्वृद्धिको कुरा गर्न नछोड्नेहरुले भनेका कुरामा के दम छ भनी सोधिएन । 

आधुनिक प्रविधिको पहुँच नभएका करीव एक चौथाइ बालबालिका छन् । कोरोनाकालको तथ्यांकले त्यही भन्छ । यो तथ्यांकलाई विश्वास गर्दा यी बालबालिकाले खेतमा पढ्छन् । बारीमा पढ्छन् । घरको काममा पढ्छन् । ज्यामी भएर पढ्छन् । बाटोमा खेलेर पढ्छन् । यसरी पढ्नेहरुको पढाइ जीवन केन्द्रित हुन्छ । विषय केन्द्रित हुँदैन । यिनीहरुलाई कसरी पढाउने त ? यिनीहरुले पढेको कुरालाई कसरी पाठ्यक्रममा जोड्ने ? कसरी पाठ्यपुस्तकमा जोड्ने ? यो बारेमा कसैले पनि संवाद गरेको छैन । तिनीहरु पढ्न आएनन् भन्ने मात्रै गुनासो सुनाउनेहरु छौं । उनीहरु पढ्न नआएको त हो । तर सिक्न त सिकिरहेका छन् नि । त्यो सिकाइलाई पढाइमा किन जोड्ने उपक्रम किन गरिएन ? यो प्रश्न उठाउनेहरु पनि छैनौं । काम गर्ने कुरा त परै जाओस् । 

माथिको स्थितिमा शिक्षकले चाहने निर्देशन हो कि तयारी हो ? यो बारेमा कर्मचारी बोल्दैनौं । राजनीतिज्ञहरु पनि बोल्दैनौं । शिक्षक तथा प्राध्यापकहरु पनि बोल्दैनौं ।  विज्ञहरु बोल्दैनौं । यो स्थितिमा निर्देशन जारी गरिरहने हो कि शिक्षक तयारीमा लाग्नु पर्ने हो ? 

केही तर्किब सिक्ने सिकाउने कि ?  

कोरोना पूर्वको शैक्षिक संस्कार क्रमशः बदलिंदै छ । कोरोनाकालको शैक्षिक संस्कृतिले स्थायित्व लिन सकेको छैन । यी दुई अवधिका बीचमा केही सकारात्मक कामहरु भएका छन् । ती हुनः 

क) शिक्षकहरु प्रविधि मैत्री भएका छन् । यो मैत्रीपनालाई कक्षा कोठामा लान उनीहरुलाई नै शैक्षिक सामग्री उत्पादक समूह बनाउनु जरुरी छ । यसका लागि डाउनलोड गरिएका सामग्रीहरुको कम्पेडियम बनाउने चलानलाई व्यापकता दिने कि ? यो चलन गर्ने हो भने विद्यार्थीले पाठयपुस्तक मात्रै पढ्दैन । शिक्षकले पनि त्यही पुस्तक समातेर पढाउने संस्कार बदल्छ ।  कम्पेडियम भनेको डाउनलोड गरिएका सामग्रीहरुको संकलित स्वरुप हो । यसो गर्ना साथ शिक्षक पनि पढ्न थाल्छन् । विद्यार्थीले पनि नयाँ कुरा पढ्न पाउँछन् । यो काममा केही शिक्षकहरु क्रियाशील छन् । तिनलाई सम्मान गर्ने कि ? तिनै मार्फत अरुलाई पनि सिकाउने कि ? जानकारहरुसँग केदार शर्माको शब्दमा “जुमघट” गोष्ठी गर्ने कि ? 

ख) शिक्षकहरुले पावर प्वाइण्ट बनाउन जानेका छन् । प्रत्येक पावर प्वाइण्टमा शिक्षकले पढाउने गरेको विषयको जनज्ञान, सीप तथा शोध विधि हुनु पर्छ । पूर्वजले आर्जेका ज्ञानको संग्रह भएका धार्मिक ग्रन्थहरुमा भएका ज्ञान, सीप तथा शोध विधि मिलाउनु पर्छ । पश्चिमी दुनियाँको ज्ञान, सीप तथा शोध विधि मिसाउनु पर्छ । शिक्षक आफैं पनि ज्ञान, सीप र अनुभवको खानी हो । यी तीनै खाले ज्ञान, सीप, तथा शोध विधि उपर उसका टिप्पणी के हुन् भनी राखिनु पर्छ । अन्त्यमा विद्यार्थीलाई चुनौती गर्ने तथा गरिखाने बन्न बनाउन सघाउने प्रश्न, घटना वा त्यस्तै कुराहरु दिनु पर्छ । यसो गर्नाले ज्ञान, सीप, तथा शोध विधिहरुमा निखार आउँछ । विद्यार्थी स्थानीय बन्छ । देशीय बन्छ । अन्तरदेशीय बन्छ । पृथ्वी, द्युलोक तथा अन्तरिक्षीय बन्छ । यो काम सबै शिक्षकले अनिवार्य रुपमा गर्नै पर्छ भन्ने कि ? 

ग) जहाँ सुकैको व्यक्तिले पनि सिक्न सिकाउन सक्ने रहेछ भन्ने कुरा शिक्षकले अनुभूत गरेका छन् । यो अनुभूतिलाई व्यवहारमा ल्याउनका लागि प्रत्येक स्कूल तथा क्याम्पसले दिनको दुई पिरियड स्थानीय, देशीय, तथा अन्तरर्देशीय विज्ञबाट पढाउनै पर्ने ब्यवस्था गर्नुपर्छ । यसो गर्नाले विज्ञताहरुको उपयोग हुन्छ । विद्यार्थीको ज्ञान फराकिन्छ । थोरै शिक्षक भए पनि स्कूल कलेज चल्न सक्छन् । प्रविधिको अनिवार्य प्रयोग हुन्छ । प्रविधिबाट पढ्ने पढाउने संस्कारले निरन्तरता पाउँछ । सबै शिक्षालयहरुले यो तरीका अपनाउनै पर्ने प्रावधान कार्यान्वयन गर्ने कि ? 

घ) रेडियोबाट पढ्ने तथा पढाउन सकिने रहेछ भन्ने कुरामा सोच बनेको छ । यो सोचलाई रेडियोबाट प्रसारित हर कुरालाई पाठसँग जोड्ने कसरी ? रेडियो प्रसारणका लागि सर्जक तथा आकर्षक सामग्री बनाउने कसरी ? २–४ वटा स्कूल मिलेर रेडियो सञ्चालन गर्ने कसरी ? यी र यस्ता कुरामा शिक्षक तयारी गर्नु जरुरी छ । यसो गर्नाले रेडियो मनोरञ्जन तथा जानकारीको मात्र स्रोत नभई पढने तथा पढाउने सामग्री बन्न जान्छ ।  कृषि कार्यक्रमबाट गणित पढाउने । स्वास्थ्य कार्यक्रमबाट विज्ञान पढाउने । समाचारबाट सामाजिक पढाउने । यसरी रेडियोबाट प्रसारित हर कुरा पठनीय बनाउने । यसो गर्नाले रेडियो पत्रकारहरु बस्ती बस्तीमा जन्मन्छन् । क्रमशः रेडियोले विषयगत विशेषज्ञता हासिल गर्न थाल्छ । यो काममा सबै शिक्षालयले सोचेर काम थालौं भन्ने कि ? 

ङ) टेलिभिजनले पनि स्कूल कलेजको बोर्डको काम गर्ने रहेछ भन्ने मान्यता बनेको छ । यो मान्यतालाई स्विकार्दा विद्यार्थीले ५ –१० मिनेट टेलिभिजन हेरेर त्यसैमा छलफल गरेर जानकारी लिने तथा दिने तरिका सिक्छन् । यो सिकाइले शिक्षकले पूरा पिरियड कराउने संस्कार बदलिन्छ । विद्यार्थीले पढ्ने कुरामा पनि मनोरञ्जन जोड्न पाउँछन । अर्थात पढाइ र मनोरञ्जन एकाकार हुन्छन् । यो प्रयास गर्नाले शिक्षक तथा विद्यार्थीले पढाइको एकोहोरोपना अन्त्य गर्न सक्छन् । यसो गर्ने हो भने शिक्षकले टेलिभिजनको लागि चाहिने सामग्री उत्पादन गर्न थाल्छन् । विद्यार्थी क्रियाशील हुन्छन् । क्रमशः विद्यालय तहमा नै टेलिभिजन सामग्री  उत्पादन हुन थाल्छन् । अनलाइन टेलिभिजनको स्थापना गर्ने हो भने त झनै सजिलो हुन्छ । सस्तो हुन्छ । त्यसमा पनि सामग्री संकलन गर्न एनिमल किङ्गडम टेलिभिजनको तरिका अपनाउने हो भने त सामग्रीमा पनि लगानी नभए हुन्छ ।  एनिमल किङ्गडम टेलिभिजनको तरिका हो – सामग्री उत्पादन गर्न जनतालाई अपिल गर्ने । ती सामग्री वेभसाइट वा इमेलमा जम्मा गर्ने । छानिएका राम्रा सामग्रीलाई टेलिभिजनले पुरस्कृत गर्ने । यो वा यस्तै तरिका अपनाउने हो भने लगानी झनै कम हुन्छ । पालिका पालिकामा विशिष्टिकृत अनलाइन टेलिभिजन सञ्चालन गर्न सकिन्छ । यो काम स्कूल कलेजले सहजै गर्न सक्छन् । एकल रुपमा । संयुक्त रुपमा । तिनमा समाचार हुन्न । बिचार हुन्छ । पाठ हुन्छ । पाठसँग जोड्ने कुरा हुन्छ । सीप हुन्छ । सीपमा जोडिने तरिका हुन्छ । यो काममा अघि बढ्नुपर्छ । शिक्षक, विद्यार्थी एवं पालिकालाई बढाउनु पर्छ । यो काममा नेतृत्वले चासो लिने कि ? प्रवन्धकले भए गरेका कामहरुको संयोजन गर्ने कि ? 

च) अनलाइनबाट शिक्षकले पढाउन थालेका छन् । यो थालनीले सन्देश दिएको छ कि पढाइलाई प्रविधिमा पनि संवादी बनाउन सकिन्छ । शिक्षकले अनलाइनमै कापी जाँच्छन् । विद्यार्थी अनलाइनमै पाठ बुझाउँछन् । अनलाइनमैं विद्यार्थीले सर्जक हुन जानेका छन् । यो सर्जकपनाको उपयोग गर्न सक्ने अवस्था बनेको छ । रंग मिसाउने । एनिमेशन गर्ने । डाउनलोड गर्ने । अपलोड गर्ने । फोटोे खिचेर राख्ने आदि । यो अवस्थामा पुगेका शिक्षक तथा विद्यार्थीलाई पुनः परंपरागत कक्षामा फर्काउनु अपराध हो । यो अपराधबाट शिक्षक तथा विद्यार्थीलाई बचाउने हो भने दुबै थरिलाई अनिवार्य रुपमा अनलाइन कोर्स दिने व्यवस्था गर्नु जरुरी हुन्छ । अडिट वा क्रेडिट कोर्स सञ्चालन गर्नु यो तागतको निरन्तरता हो । यसका लागि प्रत्येक शिक्षालयले जनतासँग सिक्ने र जनतालाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने कि ? 

छ) विद्यालयले हुलाकीको रुपमा आफना पूर्व विद्यार्थी तथा स्वयंसेवी परिचालन गर्न जानेका छन् । यो तरिकाले हुलाकीद्वारा शिक्षा भन्ने कुरा सम्भव हुन्छ । अर्थात पत्राचार शिक्षाको नवीन विधिको रुपमा यसलाई लिन सकिन्छ । यो तरिकालई निरन्तरता दिई विद्यालय तथा क्याम्पसले अभिभावक शिक्षा दिन सक्छ । अनियमित विद्यार्थीलाई सघाउने संयन्त्र बन्न सक्छ । वेकाम बसेको हुलाकलाई पनि शैक्षिक कार्यमा लगाउन सकिन्छ । गरीब बालबालिकालाई घरैमा सेवा दिन यो उपक्रम थाल्ने कि ? 

ज) शिक्षकहरुले सिफ्टमा पढाउन जानेका छन् । सिफ्टको पढाइलाई दिनभर त्यही सिफ्टका विद्यार्थी पढाउने संस्कार ल्याउने हो भने त्यसले यति पिरियड यो विषय पढाउनु पर्छ भन्ने कुरा हराउँछ । यसको बदलामा एकदिनमा २–३ वटा विषय मात्र पढ्ने पढाउने चलन बन्न सक्छ । यसो गर्ने हो भने शिक्षक कम भए हुन्छ । पढाइलाई व्यबहारमा बदल्ने अवसर मिल्छ । आधा पढाइ आधा काम गरौं भने पनि समय पुग्छ । शिक्षकले पनि तयारी गर्ने पर्याप्त अवसर पाउँछन् । यो कुरा बुभ्mने बुझाउने हो भने रुटिन बनाउने हिजोको संस्कार बदल्ने कि ? 

झ) शिक्षकहरुले बुझे कि करीव एक चौथाइ विद्यार्थी प्रविधि पहुँचमा नै छैनन् । यूनेस्को नेपालको अध्ययनले त्यसै भन्छ । डा. सुरेश गौतम तथा डा. इन्द्र याम्फूको अध्ययनले त्यही भन्छ । यसको अर्थ हो तिनले किताब पढेनन् । शिक्षक पनि भेटेनन् । उच्च शिक्षामा पनि झण्डै त्यही हाल छ । डा. गंगा गौतम र साथीहरुको अध्ययनले त्यही भन्छ । यी अध्ययनहरुको सन्देश हो कि विद्याथी औषतन शैक्षिक मानकमा छैनन् । कोही अनलाइनमा पढेर देश विदेशका कुरा समेत जान्ने बने । कोही घर बसेर गाई, कुखुरा, बाख्रा र खेती मात्रै जान्ने भए । यो स्थितिमा पढाइ एक समान बनेन । यसको अर्थ हो अब पढाइलाई समकक्षी बनाउनु पर्ने भयो । समकक्षी विद्यार्थीले सोही कुरा जान्दैन । भिन्नै कुरा जान्दछ । यस्तो बेलामा शिक्षकको दुई खाले दायित्व हुुन्छ । 

पहिलो दायित्व हो – भिन्नै खाले पढाइलाई पनि सम स्तरको बनाउने । आचार्य , एम. ए, एम.एस्सी, तथा एम. एड. समान माने जस्तो गरी अगाडि जाने । 

दोस्रो दायित्व हो – सबैको सिकाइलाई सम्वन्धित स्तरको पाठसंग जोड्ने । 

पहिलो बाटोले सिकाइ परिवेशगतको मानक खोज्छ । विज्ञता खोज्छ । सामग्री खोज्छ । यो स्थितिमा शिक्षकले गर्न सक्ने भनेको दोस्रो दायित्व पूरा गर्ने हो । यसका लागि शिक्षक सर्जक हुनुपर्छ । कामबाट पढाइमा लाने सर्जकता । पढाइबाट काममा पुर्याउने सर्जकता । 

जस्तो बाटोमा हिंड्दा हात हल्लिन्छ । किन हो ? हात हल्लाइ र हिंडाइबीचको अनुपात के हो ? केटा र केटीको हात हल्लाउने गति के हो ? यसरी नै अनेक विषयलाई जोडेर पढाउने हो भने हिंडाइ पनि पढाइमा जोडिन्छ । पढाइ भनेको त हिंडाइमा पनि हुने रहेछ भन्ने मान्यता बन्छ । स्कूलको तहमा यो उपाय अपनाउने हो भने ती एक चौथाइ प्रविधि पहुँच विहीनहरुलाई न्याय हुन्छ । 

क्याम्पसमा हो भने सोही विषयमा अनुसन्धान गराए हुन्छ । मोटो र पातलो मान्छेको हात हल्लाइमा के फरक हुन्छ ? अग्लो र होचोको हात हल्लाइमा के फरक हुन्छ । औषत हात हल्लाइको गति के हुन्छ ? मधेश, पहाड तथा हिमालका मानिसको हात हल्लाइमा भूगोलले फरक पार्छ कि पार्दैन ? यसरी अनुसन्धान गराएर सबै विषय पढाउन सकिन्छ । यसका लागि शिक्षक पुनर्अभिमुखीकरण भने जरुरी हुन्छ । यसो गर्ने हो भने गरीबहरुले पनि धनीहरुकै समकक्षको शिक्षा पाउँछन् । उनकै परिवेशबाट सिक्न पाउँछन् । त्यसैमा विशिष्टता आर्जन गर्छन् । शिक्षा स्वतः ब्यबहारिक, वैज्ञानिक तथा जनमुखी हुन पुग्छ । धनीहरुको निम्ति पनि उनीहरुकै परिवेश जोडिन्छ । यो जोडाइले उनीहरुले पनि आफ्ना साथीहरुलाई सम्मान गर्न सिक्छन् । अर्थात कमजोर भनी हेप्ने संस्कृति (Culture of deprivation)  क्रमशः भिन्न पो रहेछ भन्ने संस्कृति (Culture of difference) मा बदलिन्छ । यी दुई भिन्नहरुको संवाद हुनासाथ शिक्षामा फेरबदल देखिन थाल्छ । जे जाने पनि समकक्षी बन्न सकिन्छ । समकक्षीवालाहरुको अन्तर सम्वादले गुरुकुलीय सिकाइ प्रणालीको तागतलाई संस्थागत गर्न सकिन्छ कि ? 

ञ) संवैधानिक अधिकारका बारेमा शिक्षकहरु जानकार भएका छन् । यो जानकारीले गर्दा संविधानको धारा ५० ज. १ मा उल्लेखित कुरा पनि पढेका छन् । नभए पनि प्रायोगिक रुपमा पढाउन सकिने अवस्था छ । सो धारामा लेखिएको छ – शिक्षालाई जनमुखी, व्यवहारिक, वैज्ञानिक, उत्पादनसँग जोडिएको, विश्वसंग प्रतियोगी हुनसक्ने नागरिक बनाउने साधनको रुपमा उपयोग गरिनुपर्छ । 

यहाँ दुई कुराको टुंगो गर्नुपर्छ । पहिलो, ५० ज.१ मा उल्लेखित कुरा कार्यान्वयन गर्ने जिम्मेवार व्यक्ति वा संस्था कुन हो ? 

दोस्रो, त्यो काम गर्न कस्ले कस्लाई सघाउनु पर्ने हो ? 

मेरो अनुभूतिले भन्छ– यो शैक्षणिक काम हो । त्यसैले यसको जिम्मा शिक्षकले लिनु पर्छ । स्कूले शिक्षकलाई पालिकाले सघाउनु पर्छ । क्याम्पसका शिक्षकलाई सम्वन्धित क्याम्पसले नैं सघाउनु पर्छ । यसका लागि शिक्षकलाई पुनर्अभिमुखीकरण जरुरी छ । त्यति गर्ने हो भने यो काम सहजै हुन्छ । प्रविधि पहुंचवालालाई प्रविधिमै जोडेर । प्रविधिमा नजोडिएकालाई उनैको काममा जोडेर । यसरी सिकाइलाई पढाइमा तथा पढाइलाई सिकाइमा बदल्ने कि ? 

ट) शिक्षकहरु विकल्पमा पढाउने सँगै जाँच पनि लिन थालेका छन् । घरमै जाँच लिन । अनलाइनमैं जाँच लिन । काममै जाँच लिन । यसको अर्थ हो – हिजोको ढंगको चोर्ने चोराउने र रोक्ने रोकाउने अभ्यासमा क्रमशः परिवर्तन हुन्छ । हुनु पनि पर्छ । यो कुराले शिक्षालयहरुलाई लचिलो बन्ने बनाउने अवसर सिर्जना गर्छ । लचिलो शिक्षालय भनेको जनतासँग जोडिने व्यवस्थाको संस्थागत थालनी हो । अर्थात शिक्षालयहरुले क्रेडिट तथा नन् क्रडिट कोर्स चलाउने संस्कारको थालनी हो । शिक्षार्थी मैत्री पठनपाठन तथा परीक्षा प्रणालीको असल शुभारम्भ पनि हो । यो शुभारम्भलाई संस्थागत रुपमा दिगो बनाउने कि ?  

ठ) केही शिक्षकहरुले स्वास्थ्य सावधानी अपनाई पठन पाठन गरे गराएका छन् । ती सावधानीमा ज्वरो नाप्ने साधन चाहिन्छ । ज्वरो आएकालाई आइसोलेशनमा राख्ने ठाउँ चाहिन्छ । तातोपानीको वाफ लिने प्रवन्ध हुनुपर्छ । हात धुने सावन पानी चाहिन्छ । मुखौरो चाहिन्छ । कम्तीमा २ मिटरको दूरीमा बस्ने प्रबन्ध चाहिन्छ । यी चाहिने कुरा कुन स्कूलको कुन कुन कक्षामा छन् भनी हेर्ने को हो ? त्यसो नगरी स्कूल खोल्नेलाई के गर्ने हो ? यस्ता कुरामा पनि सोच पुर्याउने कि ? 

अल्झो

कोरोना पूर्व र कोरोना कालको शिक्षण प्रकृया एक अर्काका विकल्प हुन् कि पूरक हुन् ? विकल्प हो भने पुरानै तरिकामा फर्कनु पर्छ । पूरक हो भने एक अर्कालाई मिलाउनु पर्छ । हाम्रो चिन्तन के हो ? हामीले खोजेको के हो ? यी प्रश्नात्मक अल्झो फुकाउनु पर्छ । 

कोरोनाबाट डराएको विद्यार्थीलाई कसरी पढाउने ? डराएको अभिभावकलाई कसरी आश्वस्त पार्ने ? डराएको शिक्षकले कसरी पढाउने ? अर्थात डराएकाहरुका लागि प्रवन्ध के हुने ? नडराएकाहरुलाई प्रवन्ध के हुने ? कथंकदाचित कोरोनाले विद्याथी, शिक्षक, तथा अभिभावकलाई दुख दियो भने त्यसको खर्च कसले गर्ने ? मृत्यु नै वरण गर्यो भने क्षतिपूर्ति के हुने ? मन विथोलियो भने सल्लाह र सेवा दिने को हुने ? यी प्रश्नहरुको पनि अल्झो फुकाउनु पर्छ ।  

कतिपय अभिभावक होम स्कूलिङ्ग गर्न गराउन सक्षम छन् । तिनका बालबालिकालाई के गर्ने हो ? यसको पनि अल्झो छ । यो अल्झो पनि फुकाउनु जरुरी छ । हुन्छ । 

यी र यस्ता अल्झोहरु फुके वा फुकाइए भने शैक्षिक समस्या अवश्यै सुल्झिन्छ ।