Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

शिक्षकको संकट टार्न अघि सरे विद्यार्थी

सोमबार, १७ फागुन २०७७

हरेक बर्ष वसन्त ऋतुको आगमनसँगै सरस्वती पुजा आउँछ । यो दिनमा नयाँ कार्यको सुरुवात गर्नु, नाक कान छेड्नु, किसानहरुले नयाँ गोरु नार्नु, विऊ विजन रोप्नु नेपाली समाजको जीवन शैली हो हो । हिन्दुहरुले विद्याकी देवीका रुपमा पुज्ने सरस्वती पुजाको खास महत्व अक्षर आरम्भसँग धेरै जोडिएको छ । त्यसैले विद्यालयहरुमा यो दिनको विशेष महत्व हुनु स्वभाविक भयो । सामुदायिक विद्यालयहरुमा पुजाका लागि भनेर छुट्टै खर्चको शिर्षक हुन्न, श्रोत साधन र तत्परताको खडेरीमा जेनतेन सजिव सावित सरकारी विद्यालय त्यो पनि निजी तवरबाट सञ्चालित ! अर्कोतिर हुँदै नभएको विदामा रमाउने प्रवृति । चाहे जे भए पनि पुजा त गर्नै पर्यो । विद्यालयहरुले विद्यार्थी तथा अभिभावक, स्थानीय दाता वा अन्य विभिन्न उपायबाट श्रोत संकलन गरेर पुजा टार्छन् । 

यो बर्षको सरस्वती पुजा कसरी मनाउने होला ? मनमा धेरै प्रश्न थिए । कक्षा १० मा पढाउँदै गर्दा पुजाको प्रसंग उठ्यो । 

'पुजा गरौँ सर हामी तयार छौँ सकेको गर्न ।' विद्यार्थी भन्छन् । 

श्रोत साधनको अभावले रनभुल्लिएकै अवस्थामा अलमलिएको शिक्षकको संकट टार्न विद्यार्थी नै अघि सरे ।

'एक विद्यार्थी एक फलफुलको विरुवा रोपौँ, अनि हरेकले आआफ्नो बोट हुर्काऔँ सर ।'

कुरै कुरामा विद्यार्थीले निकालेको जुक्ति कुनै संघर्षले भरिएको बुढ्यौली भन्दा कच्चा रहेन । 

मन एक्कासी आफ्ना विद्यार्थीको अवधारणाले फुल्यो ।

वाह ! क्या बात ! 

आखिर मानिसले गणेश, लक्ष्मी, काली, महाकाली, देवी जे जती देवीदेवताका स्वरुपको पुजा आरधना गर्दा चढाइने पहिलो कुरा कि फुल कि फलै त हो । अनि मानिसले बाँच्ने प्राण वायु पनि त रुखैले दिन्छ । मानिस बाँचे पो पुजाआजा । रम्न रमाउन पनि त हरियाली र सौन्दर्य चाहिन्छ । मनमा उत्साह भए पो पुजा आरधना । यो भन्दा बेसी कुन पुजा हुन सक्छ र ? विश्वभरिका मानवमा कण कण भए पनि प्राणवायू दान गर्ने महान पुजा । विश्व वास्पिकरण र जलवायु परिवर्तनले थिलथिलो भएको वर्तमानमा अनुकुलनको योगदान दिने महाकुम्भ पुजा । परिस्थितिको रापमा सेकिएर ओइलाएका मनमा रमाइलो थप्ने कार्यको शिलन्यास कुनै पनि ठुला पुजा भन्दा कम छैन ।  कति मनासिव कुरा । तय भयो पुजाको फरक शैलीको कार्य योजना । गाउँपालिकामा स्याउ र ओखरका विरुवा माग गरी रोपियो सय बोट । उत्साहका साथ बन्यो संगै फुलवारी पनि । ठुलै तामझामका साथ पुजापाठ गरी सन्तुष्टी लिए भन्दा बढि आनन्दित भयो सरस्वती पुजा ।  

सिक्न सिकाउन गुरु नै चाहिन्छ भन्ने पुरानो प्रथा बिर्सनै पर्ने रहेछ । साना साना बालबालिका पनि त शुद्धि र वुद्धि भण्डार हुने रहेछन् । मात्र उनीहरुबाट लिन जान्नु पर्ने रहेछ प्रौढहरुले । 

बालबालिकाले निकालेको जुक्ति । मैले त पढाउनै नजानेको पो रहेछु । अब को गुरु को चेला अनुत्तरित प्रश्न । सिक्ने सिकाउने को ? लिने र दिने को ? निर्यात र आयात को बाट ? सिकाइ भनेको शिक्षक, विद्यार्थी र वातावरण बिचको अन्तरक्रिया । क्रिया, प्रतिक्रिया र फेरी नितान्त अन्तरक्रिया पो रहेछ ।  

यस बर्षको सरस्वती पुजाले यो ज्ञानलाइै थप विस्तार गर्यो । 

शाही मान्धारा मावि खार्पुनाथ ५, हुम्लाका शिक्षक हुन् । 

प्रतिक्रिया