Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

संक्रमणसँगै बढ्दो जोखिम

आइतबार, २२ चैत्र २०७७

काठमाडौं - गत साताभरी प्रकाशित सामग्री मध्ये बढ्दो कोभिड संक्रमण र शैक्षिक संस्थामा  देखिएको जोखिम मुख्य रहेका थिए । वायु प्रदूषणका कारणले गत शुक्रबार सम्म चार दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गरिएको विषय सञ्चारमाध्यमको मुख्य समाचारका रुपमा प्रकाशित भएको थियो । शिक्षकहरूले दिने गरेको शारीरिक सजायले सिर्जना गरेको भयपूर्ण वातावरण सम्बन्धी विषयले यो साता पनि निरन्तरता पायो । अन्य समाचारमा १४ हजार सात सय शिक्षकको नियुक्ति र बढुवा अनिश्चित भएको, मध्यपश्चिम विश्वविद्यालयको नियमित आन्दोलन र एक सय ४१ नर्सिङ कलेजले मापदण्ड पूरा नगरेको लगायतका रहेका थिए । 

देशभरी विद्यार्थीमा बढ्दो कोभिड संक्रमण 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड संक्रमण बढ्दै गएकाले सबै विद्यालयमा भिडभाड नगर्न तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न प्रेस विज्ञप्ती मार्फत आग्रह गरेको छ । प्रेस विज्ञप्तीमा विद्यालय सञ्चालन ढाँचा २०७७ को पालना गर्न र विद्यालयमा भिडभाड हुने प्रार्थना, वार्षिकोत्सव तथा अन्य कुनै क्रियाकलाप नगर्न उल्लेख गरिएको छ । 

विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि पश्चिमाञ्चल क्याम्पसको (इञ्जिनियरिङ अध्ययन संस्थान) अण्डरग्राजुएट तहको प्रथम, दोस्रो तथा तेस्रो वर्षका सबै परीक्षाहरू स्थगित गरिएका छन् । यसैगरी पश्चिमाञ्चल क्याम्पसमै चौथो वर्षका कोरोना संक्रमित विद्यार्थी परीक्षामा सहभागी भएको अर्को एक समाचारमा उल्लेख गरिएको छ । कोरोना संक्रमित र अन्य विद्यार्थीका बिच भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिएको क्याम्पसले जनाएको छ । 

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीमा कोभिड संक्रमण भएको समाचारमा उल्लेख गरिएको छ । समाचारमा अगाडि उल्लेख गरे अनुसार देशभरी नै कोभिड संक्रमण बढ्दै गएकाले राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याबसन) ले वैकल्पिक शिक्षण सिकाइमा जोड दिएको छ । यसका लागि सदस्य विद्यालयले वचत कोष स्थापना गरी मासिक आम्दानीको ०.५ प्रतिशत जम्मा गर्ने उल्लेख छ । 

अर्को एक समाचार अनुसार दैलेखको नारायण नगरपालिका ५ स्थित नवदुर्गा आधारभूत विद्यालयका तीन सय विद्यार्थी विरामी भएको र ३० जनाको पिसिआर नतिजा नेगेटिभ आएको थियो । विद्यार्थी विरामी भए पछी विद्यालय बन्द गरिएको छ । यस्तै अर्को समाचार अनुसार बाजुराको बुढीगंगा नगरपालिकाको धुरालासैन माध्यमिक विद्यालयका २०० विद्यार्थी विरामी भएका छन । 

वायु प्रदूषणका कारण देशैभरीका विद्यालय बन्द

वायू प्रदूषण बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरीका विद्यालयलाई ४ दिन विदा गर्न भनेको विषय सबै सञ्चारमाध्यममा प्रकाशित भयो । मन्त्रालयले विद्यालय तथा क्याम्पसहरुमा नियमित सञ्चालन भैरहेको परीक्षा भने यथावत सञ्चालन हुने स्पष्ट पारेको छ । 

हामीले सामना गरिरहेको यस प्रकारको वातावरणीय समस्या निकै खतरापूर्ण छ । यस्तै प्रकारको प्रदूषण चीन तथा भारतमा पनि भएको र नेपालमा वायू प्रदूषणले आपतकालिन अवस्था सिर्जना गरी सार्वजनिक विदा गर्नुपरेको पहिलोपटक हो । 

भययुक्त विद्यालय वातावरण

काठमाडौंको गोर्कणेश्वर नगरपालिका नयाँबस्ती स्थित बुद्ध एकेडेमी बोर्डिङ स्कुलका प्रधानाध्यापक र होस्टेल प्रमुखले परीक्षामा फेल भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको समाचार प्रकाशन भएको छ । समाचारमा उल्लेख भए अनुसार कुटपिटबाट चोटपटक लागेका एक विद्यार्थीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । 

शिक्षामा राजनीति 

अर्को एक समाचार अनुसार सरकारले शिक्षक सेवा आयोगमा गत ६ महिनादेखि पदाधिकारी नियुक्ति नगर्दा १४ हजारभन्दा बढी शिक्षककको नियुक्ति तथा बढुवा अनिश्चित बनेको छ । सिफारिस समितिले अध्यक्षसहित २ जना सदस्य सिफारिस गरेको भएपनि सरकारले नियुक्ति गरेको छैन । शिक्षामन्त्रीको वेवास्ताले यस्तो समस्या सिर्जना भएको हो । देशभर सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक अभाव भएको भनिन्छ । समाचारमा उल्लेख गरिए अनुसार शिक्षा मन्त्रीको निर्देशनमा शिक्षा सचिवले सिफारिस परिवर्तन गर्न लोकसेवा आयोगलाई पत्राचार गरेका थिए । आयोगले मन्त्रालयमा पठाएको प्रत्युत्तरमा सिफारिस परिवर्तन नहुने जनाएको छ र शिक्षामन्त्रीले दबाब दिन खोजेको उल्लेख गरेको छ । 

अर्को एक समाचार अनुसार मध्यपश्चिम विश्वविद्यालयको  स्कुल अफ ल र  इन्जिनियरिङ केन्द्रीय क्याम्पसमा विगत ३ सातादेखि आन्दोलन भइरहेको छ । शैक्षिक सत्र २०७७।७८ को बिए÷एलएलबी को प्रवेश परीक्षामा प्रश्नपत्र पहिल्यै आउट गरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका हुन् । 

नीतिगत सवाल

समाचारमा उल्लेख भए अनुसार १४१ नर्सिङ क्याम्पसले चिकित्सा शिक्षा ऐनमा भएका मापदण्ड पूरा गरेका छैनन् । समाचार अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका ९०, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ४३ र ८ वटा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजले मापदण्ड पूरा नगरेमा ती कलेज बन्द हुनेछन् । ऐनमा नर्सिङ कलेज सञ्चालनका लागि १०० वेडको अस्पताल हुनुपर्ने व्यवस्था रहेको छ । 

सञ्चार माध्यममा प्रकाशित अन्य विषयहरूमा वन विज्ञान अध्ययन संस्थान हेटौडाका विद्यार्थीहरु जङ्गली जनावर संरक्षणको माग गर्दै राजमार्गमा आन्दोलन गरेका छन् । देशभरका ५२२५ विद्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट पहुँच पुगेको छ र तनहुँको शुक्लागण्डकी नगरपालिकाले ५९ सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने तयारी गरेको छ ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा चैत ११ देखि १७ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : COVID matters : Increase in spread of the virus across the country !

प्रतिक्रिया