Edukhabar
शनिबार, १५ बैशाख २०८१
शिक्षामा यो साता

परीक्षा स्थगित : वैकल्पिक विधि अवलम्बन गर्न सुझाव

आइतबार, ०२ जेठ २०७८
काठमाडौं : गत साताभरी कोभिड संक्रमण र राजनीतिक विषयले प्राथमिकता पाउँदा शिक्षाका थोरै विषयहरू मात्र सञ्चार माध्यममा प्रकाशन भए । बढिरहेको कोरोना संक्रमण र देशभरी नागरिकको जीवन जोखिममा परेको विषय साता भरि नै प्राथमिकता साथ प्रकाशन भए । 
 
समाचार अनुसार कोरोना संक्रमण दर बढ्दै गएर देशभरका ६३ जिल्लामा निशेधाज्ञा लागू भएसँगै सरकारले कक्षा १० को परीक्षा (एसइइ–माध्यमिक शिक्षा परीक्षा) र कक्षा १२ को अन्तिम परीक्षा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरेको छ । यसै विषयमा लेखिएको पाठक पत्रमा परीक्षाका वैकल्पिक विधि अवलम्बन गर्न र सिकाइको संस्कृति विकासमा ध्यान दिन सुझाव दिइएको छ । यसका लागि नेपाल खुला विश्वविद्यालयसँग समन्वय गरी उसले अबलम्बन गरेको विधिबाट परीक्षा गर्न र अघि बढ्न समेत सुझाइएको छ । 
अर्को एक समाचार अनुसार एमबिबिएसको प्रवेश परीक्षा, कक्षा १२ र एसइइको परीक्षा तालिका अनिश्चित भएको उल्लेख गरिएको छ । 
 
एक विचार मूलक आलेखमा भूकम्पबट अति प्रभावित सयभन्दा बढी विद्यालयको पुनर्निर्माणले यी संस्थाहरूलाई सामुदायिक सिकाइ थलो बनाउने तर्फ सोच्ने अवसर दिएको उल्लेख छ । आलेखमा हालको पुरानो शैक्षिक प्रणालीलाई प्रश्न गर्दै विद्यालयलाई बालबालिकाहरुको सिकाइ र समुदायमा दिगो विकासको इञ्जिनका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । आधुनिक नयाँ भवनको निर्माण गर्ने क्रममा पुराना पूर्वाधार सबै विस्थापन गरेको सन्दर्भमा लेखकले प्रविधि भन्दा परबाट विद्यार्थीको संवेगात्मक सिकाइ र बालमैत्री शिक्षण विधिको प्रयोग गर्नुपर्नेमा सचेत गराएका छन् । आलेखमा  भौतिक वातावरणले शिक्षक विद्यार्थीको गतिशिल सम्बन्ध स्थापनामा सहयोग गर्ने र यसले समग्र विकासमा सहयोग गर्नेछ भन्ने उल्लेख छ । 
 
खोजमूलक शिक्षण सिकाइ विधिको प्रयोग गर्दै विभिन्न पद्धतिबाट बालबालिकाहरूलाई आफ्नै वारेमा बुझ्न सहयोग गर्दै प्रकृति र जैविक विविधताको विषयमा सिक्न सघाउँनु आवश्यक छ भनिएको छ । लेखकले बोइस विश्वविद्यालयका प्राध्यापक डेबोरा कार्टरको प्रकृतिमा आधारित सामाजिक संवेगात्मक र वातावरण शिक्षा विकासको ढाँचालाई स्थानीय पाठ्यक्रममा विस्तार गर्न सुझाव दिएका छन् । यस्तै लेखकले पाठ्यक्रम र शिक्षण विधिको विकासमा युनेस्कोको  दिगो विकासका लागि शिक्षाको सिकाइ अवधारणा प्रयोग गर्न सुझाएका छन् । जलवायु सम्बन्धि क्रियाकलापमा दिगो विकासका लागि शिक्षाको ढाँचा र जलवायु परिवर्तनमा युवाहरुको सहभागिता र युवा लक्षित क्रियाकलापको पहिचान गर्दै विद्यालयहरूले बहुविधागत पाठ्यक्रम र व्यावहारिक ज्ञानको शिक्षणमा जोड दिनुपर्नेमा लेखकले ध्यानाकर्षण गराएका छन् । 
 
यस्तै अर्को एक समाचारमा उल्लेख भए अनुसार सिन्धुलीका ५१ वटा सामुदायिक विद्यालयहरूका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ४ करोड ६० लाख बजेट प्राप्त भएको छ । शिक्षा विकास तथा समन्वय इकाइले यो रकम कक्षाकोठा निर्माण, शौचालय, पिउने पानी, कम्प्युटर र विज्ञान प्रयोगशाला, पुस्तकालय, शिक्षामा नवप्रवर्तन, सिकाइ सामग्री व्यवस्थापन जस्ता क्षेत्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छनौट गरेका विद्यालयलाई निकास दिने छ । जिल्ला भरीका सात सय ७५ विद्यालयमध्ये यो कार्यक्रम ५१ विद्यालयमा सञ्चालन हुनेछ । सरकारी अधिकारीहरूका अनुसार यो रकमको उच्चतम प्रयोगका लागि सघन अनुगमन गरिनेछ भन्ने समाचारमा उल्लेख छ । 
 
– अर्को एक समाचार अनुसार १४ वर्षे विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । 
 
– अन्तरर्राष्ट्रिय समाचार अनुसार काबुलको एक विद्यालयमा बम आक्रमणमा परी ५० जनाले ज्यान गुमाएका छन् । 
 
अन्य विषयहरूमा पाठकपत्रमा वर्तमान परिवेशमा इण्टरनेट, मोबाइल फोन र टेलिभिजनको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा पर्न सक्ने असरको बारेमा चासो दिइएको छ । शिक्षक तथा अभिभावकले प्राकृतिक वातावरण सिर्जना गरी बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव दिइएको  छ । 
 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत २२ देखि २८ बैशाख सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : SEE postponed !

प्रतिक्रिया