Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

के संवादमा अहिले खर्च भएको समय घटाउन सकिन्छ ?

सोमबार, १० जेठ २०७८

एउटा व्यक्तिले के कति समय विचार सम्प्रेषण (एकले अर्कोसंग गर्ने संवाद) गर्नमा बिताउँछ होला ? विचार सम्प्रेषण के कसरी गरिरहेको छ होला ? प्रत्यक्ष कुराकानीमा कति समय लागेको होला ? सामाजिक सञ्जाल खासगरी फेसबुक र ट्वीटरमा कति समय बिताउने गर्छ होला ? हेर्दा सामान्य लागे पनि मानव जीवनका लागि यी अत्यन्त महत्वपूर्ण प्रश्न हुन् । के एक अर्कासंग हुने संवाद अर्थात विचारको सम्प्रेषण एवम् सामाजिक सञ्जालमा हुने संवाद एकै प्रकृति र स्वभाव हुन्छन् ?  

विचार सम्प्रेषण भनेको के हो ? विद्यालय वा उच्च शिक्षामा शायद पढाइयो होला । खासमा संवाद भनेको के हो त ? के बोल्नुमात्र संवाद हो ? व्यक्ति एकान्तमा रहदाँ संवाद हुन सक्छ कि सक्दैन ? यदि हुन्छ भने एक्लैले गर्ने संवाद के कति उपयोगी हुन्छ ? संवादको क्रममा कति समय आफू बोल्ने र कति समय अरुलाइ सुन्ने भन्नेमा केहि मानक छन् ? यी प्रश्न सामान्य छन् तर यस भित्र गहिरो दर्शन लुकेको हुन्छ । समय र प्रविधिको विकाससँगै विचार सम्प्रेषण र संवादका शैली बदलिएका छन् ।  

के संवाद भनेको सूचना सम्प्रेषण मात्र हो त ? के एकतर्फि रुपमा सूचना दिएर मात्र सम्प्रेषण पुरा भएको मानिन्छ त ? विचार सम्प्रेषणमा पनि विविध माध्यमको प्रयोग हुनसक्छ । संवादले अझ व्यापक अर्थ समेट्न सक्छ । विचार सम्प्रेषण र संवादमा भिन्नता हुनसक्छ । यहाँ उठान गर्न खोजिएको विषय विचार सम्प्रेषण मात्र नभएर संवाद हो । 

बृहत नेपाली शब्दकोषका अनुसार संवाद भन्नाले नियन्त्रित विषयवस्तुहरु वा परिस्थितिमा गरिने कुराकानी, बोलाइ, आदि शिक्षणको एक पद्धति, परस्परको कुराकानी, वार्तालाप, विवाद, बहस, तर्क, समाचार, सन्देश आदिलाइ बुझाउँछ । यसैगरी सम्प्रेषणलाइ व्यक्त गर्न खोजिएको विचार वा भाव बोधगम्य बनाउने प्रकृया हो भनेको छ । सवाल जवाफ, पैरवी, तर्कवितर्क एवम् छलफल आदिलाइ बहस भनिएकोले यो पनि संवादको दायरा भित्र पर्ने देखिन्छ । 

अक्सर्फोर्ड डिक्शेनरीका अनुसार शायद कम्यूनिकेशन शब्दको अर्थ विचार सम्प्रेषण हुनसक्छ । यसमा विचार सम्प्रेषणमात्र फिलिङ्सको आदान प्रदान हुन्छ । डायलग भनेको व्यक्ति वा समूहको बीचमा हुने संवादलाइ जनाउँछ । 

यस लेखमा संवाद के कसरी भइरहेछ र अब के गर्ने होला भन्ने बारेमा चर्चा गर्न खोजिएको छ । संवादलाइ जे जसरी व्याख्या र विवेचना गरे पनि यो मानिसको जीवनको अत्यन्त महत्वपूर्ण पक्ष हो । जुनसुकै उमेर समूहका लागि पनि यो उत्तिकै मात्रामा आवश्यक हुन्छ । यसमा सूचना दिनुमात्र नभएर फिडब्याक लिनु एवम् अन्यबाट सूचना प्राप्त गर्नु पनि पर्छ । संवाद प्रभावकारी भएन भने भन्न खोजेको कुरा स्पष्ट नहुने मात्र होइन कि कहिलेकाँही गलत वा भन्न खोजेको भन्दा अर्कै अर्थ पनि लाग्न सक्छ । व्यक्ति व्यक्तिका बीचमा असमझदारी बढ्न पनि सक्छ ।   

संवादमा के कस्ता विधि र उपाय प्रयोग हुन्छन त ? विगतमा एक व्यक्ति र अर्को व्यक्तिको बीचमा प्रत्यक्षरुपमा भेटघाट गरेर गरिने कुराकानी भन्ने बुझिन्थ्यो । बैठक, अन्तरकृया एवम् छलफल पनि संवादमा माध्यम थिए र छन पनि । सरकारी निकायमा अरु के हुन्छ भन्दा पनि बैठक र छलफल चाँहि धेरै हुन्छन् भन्ने पनि छ । जब टेलिफोनको आविष्कार भयो त्यस पछि संवादमा अर्को आयाम थपियो । यस पश्चात व्यक्तिहरु एक आपसमा नदेखिइ वा प्रत्यक्ष रुपमा भेटघाट नगरिकन संवाद गर्न सक्ने भए । दुनियाँमा ईण्टरनेटको आविष्कार भए पछि त संवादको शैली बदलियो, आमूल परिवर्तन भयो । प्रविधिले एकै पटकमा धेरै व्यक्तिको बीचमा संवाद हुनसक्ने बनाइदियो । साथै एक्लै बसेर पनि संवाद हुनसक्ने अवस्था सृजना गर्यो । 

के संवादमा विविधता आए पछि मानव जीवनमा गुणात्मक सुधार आयो त ? मानवीय सम्बन्धमा सुमधुरपन आयो त ? 

हरेक नयाँ आविष्कारसँग राम्रा पक्षका साथमा कमजोरी पनि सँगै आएका हुन्छन् । समय बित्दै जाँदा यस्ता आविष्कारले नसोचेको नयाँ अवस्था पनि सृजना गर्यो । ईण्टरनेटको आविष्कारले पनि मानवीय जीवन शैली नसोचेको अवस्थामा पुर्यायो । संवादमा सामाजिक सञ्जालले सहजता त ल्यायो । तर मानिसको बीचमा हुने संवाद सरेर मानिस र मेसिनको बीचमा पुग्यो । यो यात्रा अझ कहाँसम्म पुग्ने हो भन्नेमा कुनै टुङ्गो छैन् । 

बढ्दो सामाजिक सञ्जालको प्रयोगले ल्याएको परिवर्तनको असर देखिन केहि समय कुर्नुपर्छ नै । एकातिर व्यक्ति र मेसिनको बीचमा हुने संवाद बढ्यो भने अर्कोतिर यसको सहयोगमा सामाजिक र मानसिक रुपमा नकारात्मक प्रभाव पार्ने घटना एवम् सामग्रीले व्यक्तिलाई थप एकोहोरो बनाउने भयो । मानसिक तनाव बढ्दो क्रममा छ । समाजमा नकारात्मक सोचले प्रधान्यता पाउँदै गएको देखिन्छ । 

अहिले मानिसले आफ्नो समय मध्ये धेरै समय सामाजिक सञ्जालमा बिताउने भए । सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग बन्यो । माथि नै भनियो कि यसले मानिसको जीवनमा सूचना आदान प्रदान गर्न सजिलो त बनायो । साथै व्यक्तिको समय अनावश्यक रुपमा कम महत्वका काममा खर्च गराएको पनि छ । संसारका के कति मानिस सामाजिक सञ्जालमा जोडिएका छन् त ? अर्थात के कतिले यसको प्रयोग गर्छन त ?  

फाइनान्सेस अनलाइन डट कममा दिइए अनुसार सन् २०२१ को शुरुवातमा संसारमा सामाजिक सञ्जाल (मेडिया) प्रयोगकर्ताको संख्या ४ अर्ब २० करोड जति पुगेको छ । यो संख्या सन् २०२०मा ४ अर्ब १४ करोड हाराहारीमा थियो । सन् २०२४ सम्मा यो संख्या बढेर ४ अर्ब ७५ करोड भन्दा (विश्वका हरेक १० जनामा ६ जना) बढि हुन पुग्छ भन्ने अनुमान छ । स्टाटिष्टा डट कममा एच तान्कोभ्सका (२०२१) ले उल्लेख गरे अनुसार संसारमा लगभग २ अर्ब ८५ करोड फेसबुक प्रयोगकर्ता छन् जस मध्ये १ अर्ब ८८ करोड दैनिक सकृय हुन्छन् जुन संख्या मासिक सकृय प्रयोगकर्ताको ६६ प्रतिशत जति हो । यसैगरी फाइनान्सेस अनलाइन डट कममा उल्लेख भए अनुसार सन् २०२१ को शुरुवातमा संसारमा दैनिक ५० करोड ट्वीट पठाउने गरिन्छ जुन कुनै कुनै दिनमा प्रति सेकेण्ड नौ हजार ट्वीट सम्म हुने गरेको छ ।

सामाजिक सञ्जालमा मानिसले के कति समय बिताउँछन् अर्को चासोको विषय हो । अहिले कोभिड १९ ले ल्याएको लकडाउन र घरै बस्नु पर्ने अवस्थाले त सबैजनाको यसैमा कारण बितेको जस्तो देखिन्छ । ब्रोडब्याण्ड सर्च नेट (२०२०) ले सामाजिक सञ्जालमा खर्च हुने समय मात्र नभएर मानिसको आयु (समय) के कसरी बित्छ भनेर तथ्याङ्क दिएको छ । विश्व स्वास्थ संगठनका अनुसार मानिसको ग्लोबल औसत आयु ७२ वर्ष छ । एक व्यक्तिले जीवन भरमा ३४ लाख ६२ हजार तीन सय ९० मिनेट समय (अर्थात ६ वर्ष ८ महिना) सामाजिक सञ्जालमा बिताउँछ । २६ वर्ष ५ महिना त सुतेर बित्छ भने ८ वर्ष ४ महिना टेलिभिजन हेरेर बित्छ । 

यसैगरी फाइनान्सेस डट कमका अनुसार १८ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरुले दैनिक लगभग २ घण्टा ४१ मिनेट सामाजिक सञ्जालमा बिताउने गर्छन् । ब्रोडब्याण्ड सर्च नेटले एक व्यक्तिले फेसबुकमा दैनिक औसत रुपमा ५८ मिनेट समय बिताउँछ भनेर उल्लेख गरेको छ । ईण्टरनेटमा उपलब्ध तथ्याङ्क एक अर्कोसँग नमिल्ने पनि रहेछ किनकी यस्ता तथ्याङ्कहरु सर्वे वा अन्य कुनै विधिबाट भन्दा पनि प्रोजेक्शनमा आधारित भएर तयार गरिने रहेछन् । 

सामाजिक सञ्जालको पेनेट्रेशन दरमा वृद्वि भएको छ । कभरेज बढेको छ । संसारमा सबैभन्दा बढि हुनेमा युनाइटेड अरब इमिरेट्स (९९ प्रतिशत) पर्छ । त्यस पछि दक्षिण कोरिया (८९ ३ प्रतिशत) ताइवान (८८ १ प्रतिशत) नेदरल्याण्ड (८८ प्रतिशत) आदि छन् । कोभिड १९ पछि यसले थप व्यापकता पाएको छ ।

फाइनान्सेस डट कमले मानिसले सामाजिक सञ्जाल के कारण अर्थात प्रयोजनले प्रयोग गर्छन् भन्ने विषयमा पनि सूचना संकलन र विश्लेषण गरेको छ । यसका अनुसार सन् २०२० मा संसारका ३६=५ प्रतिशत मानिसले समाचार र तत्कालका घटना खोज्न सामाजिक सञ्जाल प्रयोग गरेको पाइयो भने ३५ प्रतिशतले रमाइलो र मनोरञ्जनयुक्त सामग्री खोज्न, ३४ दशमलब ४ प्रतिशतले फुर्सदको समय सदुपयोग गर्न, ३३ प्रतिशतले सँगीसाथीका काममा सम्पर्कमा रहन, २७ दशमलब ९ प्रतिशतले फोटो र भिडियो शेयर गर्न, २७ दशमलब ५ प्रतिशतले अनुसन्धान मूलक धेरै दस्तावेज खरिद गर्न, २६ दशमलब ८ प्रतिशतले सञ्जाल बनाउन र विस्तार गर्न, २५ दशमलब १ प्रतिशतले साथीका कारणले, २३ दशमलब ४ प्रतिशतले आफ्ना विचार व्यक्त गर्न र २१ दशमलब ३ प्रतिशतले नयाँ नयाँ मानिससँग भेटघाट गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने कारण बताएका छन् ।     

सामाजिक सञ्जालमा नेपालमा व्यक्तिले के कति समय प्रयोग गरेको छ त ? यस विषय नेपालमा अध्ययन भएकै छैन । के कति समय प्रयोग भएको छ भन्ने वेसलाइन सूचना नै नभए पछि कति हुनुपर्छ भन्ने नै रहेन । अहिलेको अभ्यास घटी वा बढि के हो ? वा कति पुर्याउने ? भन्न सक्ने अवस्था नै रहेन । अनुमानकै आधारमा भन्ने हो । बेरोजगार रहने वा सिमित रोजगारी हुनेहरुको धेरै समय सामाजिक सञ्जालमा बितेको भन्दा हुन्छ । अझ  कतिको लत नै बसेको छ । 

कतै विद्यालय उमेर समुहमा सामाजिक सञ्जालको प्रयोग अन्धाधुन्ध मात्रामा बढेको त छैन ? प्रयोग गर्नेको संख्या के कति होला ? अझ सहि प्रयोग गर्नेको संख्या कति होला ? समाज र बजारमा सामान्य अवलोकनबाट पनि केहि अनुमान गर्न सकिन्छ । प्रयोग नगरे पनि हुने स्थान र समयमा पनि यसको अनावश्यक प्रयोग भइरहेको छ भन्न सक्ने आधार हामी हरेकसँग छन् नै ।    

राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको १५ औं विकास योजना अनुसार नेपालको जनसंख्या मध्ये ७२ प्रतिशतको टेलिभिजनमा पहुँच पुगेको छ भने रेडियोमा पहुँच पुग्नेको संख्या ८६ प्रतिशत जति छ । यसैगरी ६५ दशमलब ९ प्रतिशतको ईण्टरनेटमा पहुँच पुगेको छ । ४० प्रतिशत जति डिजीटल साक्षरतामा जानकार छन् । ८८ प्रतिशतको उर्जामा पहुँच छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ३५ तहमा विद्युत ग्रीड पुगेको छ । यी सबै सामाजिक सन्जाल विकास र वस्तारका लागि उपयोगी हुने नै भए । तर अवस्था त्यति उत्साहजनक छैन किनकी ईण्टरनेट र उर्जाको पहुँच मुलुकका सबै स्थानमा पुग्न सकेको छैन ।  

डिजीटल २०२० नेपालले उल्लेख गरेको तथ्याङ्क अनुसार नेपालमा सन् २०२१ सम्ममा ईण्टरनेट प्रयोगकर्ताको संख्या १ करोड १० लाख जति छ । ईण्टरनेटको पेनेट्रेशनको दर ३६ प्रतिशत जति छ । विगत समय देखि यसको दरमा उल्लेख्य मात्रामा वृद्वि भएको त छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या १ करोड जति छ । 

नेपालमा प्रयोग हुने सामाजिक सञ्जालमा फेसबुक, ट्वीटर र युट्युब हुन भनेर जिएस डट स्टाटकाउन्टर डट कमले उल्लेख गरेको छ । सन् २०२१ मार्चको तथ्याङक अनुसार प्रयोगकर्ता मध्ये ६५ दशमलब ९२ प्रतिशतले फेसबुक, ३० दशमलब ८५ प्रतिशतले ट्विटर र १ दशमलब ८५ प्रतिशतले युट्युब चलाउँछन् । पछिल्ला दिनमा फेसबुकको प्रयोग घट्दो र ट्वीटरको प्रयोग बढ्दो क्रममा छ भनेर यस साइटले उल्लेख गरेको छ ।   

नेपाल टेलिकम डट कमले उल्लेख गरे अनुसार नेपालमा कोभिड १९मा कारण अर्थतन्त्रमा मन्दि आए पनि मोबायल फोनको आयातमा वृद्वि भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को पहिलो छ महिनामा ३६ लाख स्मार्टफोन आयात भएको देखिन्छ, जुन अघिल्लो वर्षको यहि अविधको तुलनामा ७ लाखले बढि हो । यसका लागि के कति रकम विदेशियो सो त आफ्नै स्थानमा छ । यस्ता फोनबाट के कति उपलब्धि हासिल भयो होला त ? नेपालीको के कति समय खर्च भयो होला त ? यस्ता विषयमा अध्ययन हुन नै बाँकी छ । यहाँ विक्रीबाट आएको रकममध्ये केहि नाफा मात्र रह्यो होला । बाँकी अरु त सवै विदेशिएकै छ । विक्री गर्दा राजस्व त उठ्यो होला तर यसले अर्थतन्त्रमा दिगो लाभ दिन सक्दैन् । 

सामाजिक सञ्जालको बढ्दो प्रयोगले समय त खर्च गराएकै छ । साथै नेपालीको बढ्दो उपभोगमुखी स्वभाव वा चरित्र पनि बढेको बढ्यै छ । यस्तो कार्यबाट मुलुक भित्रका उत्पादनमा सहयोग पुग्दैन । मुलुकले स्मार्ट फोन आयातमा खर्च गरेको रकम मात्र नभएर प्रयोगकर्ताको समय पनि अडिट हुनु आवश्यक छ । रकम त कमाएर तिरेको त हो नि ? भन्न सकिएला । तर डिभाइस किन्नमा खर्च गरेको रकमबाट परिवारमा परेको थप दवाव र अन्य उत्पादनमूलक क्षेत्रमा परेको नकारात्मक असरको मात्रा पनि सानो नहुन सक्छ । अझ यो भन्दा महत्वपूर्ण त यसमा खर्च भएको समय र यसबाट सिर्जित असरहरु नै हुन् । खर्च भएको समयले आजको अवस्था मात्र नभएर भोलिको अवस्थालाइ पनि प्रभाव पार्ने निश्चित छ ।

कोभिडका कारण विद्यार्थी विद्यालय जान नपाएको त धेरै भइसक्यो । जति बेला विद्यार्थी विद्यालय जान्थे । धेरैमा तीन ओटा विशेषता देखिन्छ । मोबायल हातमा लिने (खल्तीमा राख्ने पनि हुन्छ), मोवाइलमा इअरफोन लगाइ कानमा जोड्ने र हातमा किताव कापी बोक्ने (झोला भए पनि हातमा किताब लिने गर्छन्) । यसका साथमा हातमा अरु केहि पनि हुन सक्छ । केटाको तुलनामा केटीको झोला र हातमा भार बढि हुन्छ । यसको कारण के हो थाहा भएन, कतै खोजी भएको छ कि ? यहाँ अरु सामान के लिए भन्दा पनि मोबायल विद्यालय पढ्नेका लागि पनि नभइनहुने सामग्री वा उपकरण बन्यो भन्नेमात्र हो । 

मोबायलमा केन्द्रित भइ अरुसँग कुराकानी कम गर्ने संस्कारले यो पुस्तालाइ कस्तो बनाउने होला ? घरमा पनि हरेक व्यक्ति आ आफ्नो मोबायलमा सामाजिक सञ्जाल चलाएर व्यस्त देखिन्छन् । खाना खान बोलाउन पनि मोबायल फोनको प्रयोग हुन थाल्यो । अहिले हामीले सामाजिक सञ्जाल जे कामका लागि र जे जसरी चलाइरहेका छौँ । त्यसबाट एउटा प्रश्न उठछ, के हामीले यसै गर्नु पर्ने हो ?   

गाउँमा घाँस दाउरा गर्दा, भारी बोक्दा मोबायलमा कुराकानी (सञ्चार) गर्ने विषय सामान्य जस्तो भइसक्यो । खाना खाँदा होओस् वा कपडा लाउँदा होओस्, मोबायलमा कुरा भएकै देखिन्छ । यतिले मात्र पुग्दैन । कार्यालय समयमा काम गर्दा होओस् वा बैठक गर्दा मोबायलमा कुराकानी गर्नु सामान्य जस्तै देखिन्छ । कमले मात्र यसमा सचेतता अपनाएको देखिन्छ । 

के सबै समयमा मोबायलमा कुराकानी गर्नै पर्छ भन्ने छ र ? यी समयमा भएका वा हुने गरेका सबै संवाद उच्च प्राथमिकताका हुन् र ? सार्वजनिक स्थानमा हिँड्दा डुल्दा एक व्यक्तिले नजिकमा रहेका व्यक्ति भन्दा भौतिक रुपमा दुरीमा रहेकासँग मात्र संवाद गर्नुपर्छ भन्ने छ र ? 
मनोविज्ञानविद् एवम् मोटिभेशनल स्पीकर बी के शिवानीले भने मानिसले मोबायल चलाएको हो कि मोबायलले मानिसलाइ चलाइरहेको छ । मोबायल नचलाइकन के कति समय बिताउन सकिन्छ ? एकपल्ट हरेकले आफैलाइ परीक्षण गर्ने कि ? अवस्था यहि रुपमा अगाडि बढ्ने हो भने भोलिका दिनमा मानिसले मेसिन वा उपकरण चलाउने होइन कि मेसिन वा उपकरणले मानिसलाइ चलाउने निश्चित छ ।

सामाजिक सञ्जालमा बढ्दो संवादले मानव सामु एक प्रश्न ल्याएको छ । के संवाद भनेको मात्र प्राविधिक पक्ष हो त ? वा यसमा मानवीय पक्ष पनि जोडिएको हुन्छ ? यसको अधिक प्रयोगले मानव जीवनमा हानी ल्याएको छ कि भनेर हामीले हेरेका छौँ त ? एक, प्रयोगमा मात्रा बढ्यो । ठिकै छ ।

तर सँगै अर्कोतिर के कसरी प्रयोग गर्ने भन्नेमा पनि समस्या देखिन्छ । अनावश्यक काममा प्रयोग नगरेर घटाउने कामका साथमा संवादकै कारण आफ्नो र अन्यको काममा आउने अवरोध कम गर्न म्यासेज गर्ने संस्कारलाइ पनि सँगै लैजानु पर्ने देखिन्छ । यसमा कसले पढाउने हो ? यसमा सबैको ध्यान आकृष्ट कसरी गर्ने होला ? मानिसको वैयक्तिक र सार्वजनिक समय हुन्छ भनेर सम्झाउने र पालना गराउने कसले ? कुन समयलाई वैयक्तिक र कुन समयलाइ सार्वजनिक मान्ने ?

बढ्दो सामाजिक सञ्जालको प्रयोगले मानिसमा रहेको मानवियता हराउँदै जान थालेको महसुस गर्न सकिन्छ ।  टिकटक आए पछि त यसले मानिसलाइ अझ बढि चर्चा पाउने लोभले तानेको छ । सेल्फी पनि अचाक्ली हुन थाल्यो । आफन्त मरेर लासको सदगद गरिरहेको अवस्थामा अर्कोले सेल्फी लिने वा लाइभ गर्न के कसरी सकेको होला ?  ’यस्ता’ हरुको मानवीय संवेदना कहाँ गयो होला ?  

संवादका नाममा जे पनि गर्न पाइने हो र ? समाचार सम्प्रेषणका नाममा जसले जे जस्ता सामाग्री पनि पोष्ट गर्ने हो र ? 

अन्धाधुन्ध मात्रामा राखिएका सामाग्रीका आधारमा नै आम व्यक्तिले धारणा बनाउने हो । आमजनमा कुन ठिक र कुन बेठीक भनेर छुट्याउने, विश्लेषण गर्ने र तर्क गर्ने क्षमता नपुग्न सक्छ । अनि समग्र समाजमा नकारत्मक भाष्य स्थापित हुन्छ । यस दृष्टिकोण बाट हेर्दा बढ्दो सामाजिक सञ्जालको प्रयोगले धेरै नकारात्मकता बढाएको हुनसक्छ । मानिसमा नैराश्यता, मानसिक दवाव र कुण्ठा बढाउन सहयोग गरेको छ । 

फलानाले त कति मजाले भनेछ भनेर एकातिर रमाइलो मान्ने प्रवृत्ती एकातिर छ भने अर्कोतिर त्यसको उत्तर सो भन्दा पनि कडा कसरी दिने भनेर समय खर्च गरिरहेको हुन्छ मानिसले । यसले हामीलाइ कता लगिरहेको छ र भोलिका दिनमा कहाँसम्म पुर्याउला ? 

मानवमा हुनुपर्ने सबैभन्दा ठूलो गुण भनेकै सहनसिलता, धैर्यता र समभाव हो । यसका लागि बालबालिकालाइ आफ्ना मूल्य मान्यता प्रति सजग र सचेत तुल्याउँदै मानवीय संवेदना विकास गर्नुपर्छ । पृथ्वी साझा हो । समग्र वातावरण साझा हो । यसको संरक्षण गर्नुपर्छ । संवादमा यस्ता विषयवस्तु समावेश गर्ने कि ? 

मानिसले अर्कोसंग सहिष्णुता पूर्वक व्यवहार गर्नुपर्छ, कतिपय अवस्थामा सहनु पनि पर्छ, अर्कोसंग आफूलाइ तुलना गरेर आफूलाइ थप दुःखी तुल्याउनु हुदैन, एकले अर्कोलाइ सहयोग गर्नुपर्छ र आफूले सबैसंग मिलनसार व्यवहार गर्नुपर्छ भन्ने हाम्रा मान्यताहरु ओझेलमा परे । यी सबै सीप विकासका लागि घर परिवार, विद्यालय र समग्र वातावरण अनुकुल बनाउने दायित्व पनि हाम्रै त हो नि । 

अहिलेको सामाजिक सञ्जालले मानिसलाइ प्रतिकृयामुखी बनाएको छ । कुण्ठा, आक्रोश र अतृप्त इच्छा व्यक्त गर्ने, पोख्ने प्लेटफर्मको रुपमा समाजिक सञ्जाल प्रयोग भइरहेको छ । आफ्नो मत वा विचार मात्र ठिक भन्ने भावना प्रष्फूटित भइरहेको छ । असहमत जतिलाइ विरोधी ठान्ने प्रकृति बढ्दो छ । यसमा सुधार गर्ने र सामाजिक सञ्जालको सहि प्रयोग गर्ने गराउने पनि हामीले नै हो । 

जेजति मात्रामा सामाजिक सञ्जालको प्रयोग गरे पनि हामीले व्यक्ति व्यक्तिको बीचमा हुने संवादलाई प्राथमिकतामा राख्नुपर्छ । दैनिक रुपमा बालबालिकालाई घर, विद्यालय र सामाजिक जीवनमा यस्ता संवाद गर्न लगाउनु पर्छ । 

एकै पटकमा सामाजिक सञ्जालमा प्रयोग गरिरहेको समय आजै घटाउन त सकिदैँन होला । आज केहि मिनेट कम गर्ने, अर्को दिन केहि समय क्रमशः कम गर्दै जाने हो यसमा सुधार गर्न सकिन्छ । व्यवस्थापन गर्न सकिन्छ । 

व्यक्ति व्यक्तिको बिचमा हुने संवादले नै व्यक्तित्व विकासमा सहयोग गर्ने हुनाले अभिभावकहरुले बालबालिकाहरुलाई यस तर्फ लगाउन समयमै ध्यान दिनु आवश्यक छ ।

लम्साल, शिक्षा मन्त्रालयका सहसचिव हुन् । 

प्रतिक्रिया