Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

'पढ्दै कमाउँदै' कार्यक्रम घोषणा, शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गरिने

शुक्रबार, २५ भदौ २०७८

काठमाडौं - प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम घोषणा गरेको छ । यसका लागि चालु आर्थिक बर्षमा सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा कार्यक्रम सुरुवात गर्ने सरकारको घोषणा छ । संविधान विपरित पटक पटक संसद विघटन गरेका कारण सत्ताच्युत हुन पुगेको तत्कालिन सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ सरकारले शुक्रबार ल्याएको बजेटको प्रतिस्थापन विधेयकमा उक्त कार्यक्रम उल्लेख गरिएको हो । 

प्रतिस्थापन बजेटमा सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने पनि उल्लेख छ । केन्द्रले गुणस्तरीय शैक्षिक सामग्री र पाठ्यक्रम समेत उत्पादन गरी विद्युतीय माध्यमद्वारा प्रदेश भरिका सार्वजनिक विद्यालयहरुमा उपलब्ध गराउने बजेटमा उल्लेख छ । 

यस्तै गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षा देखि माध्यमिक शिक्षा सम्मको नक्सांकन तयार गरी कार्यान्वयन गर्ने बजेटमा उल्लेख छ । भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षााके गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यान्वयन गर्ने, शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गर्ने,  विश्वविद्यादयहरुलाई पूर्वाधार विकास सहित अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, मुलुककै पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्कने गरी पुरानै ढाँचामा पुर्ननिर्माण गर्ने प्रवन्ध गर्ने पनि बजेटमा उल्लेख छ । 

सरकारले प्रतिस्थापन विधेयक बाट चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब  ८३ करोड रूपैयाँको बजेट ल्याएको छ । यस अघि तीन महिना अघि संसद बैठक स्थगित गरेर तत्कालिन सरकारले गत जेठ १५ गते अध्यादेश मार्फत ल्याएको बजेटमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

तत्कालिन सरकारले ल्याएको बजेट पढ्नुहोस्  : सत्ताको प्रतिवद्धता हराएको दस्तावेज

पटक पटक संविधानको हुर्मत लिएको भन्दै सत्तारुढ दल भित्रै मतभेद बढेपछि उक्त दल विभाजन समेत भएको छ । नयाँ दल सहितको गठबन्धन सहित नयाँ सरकार गठन भएसँगै तत्कालिन सत्तारुढ दल विभाजन भएपछि प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुद्वारा संसदमा जारी नाराबाजी कै बिच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन् । संसदको तेस्रो बैठक सुरु हुनासाथ एमाले सांसदहरुले आफ्नो दलबाट फुटेर नयाँ दल बनाएका साँसदहरुलाई संसदमा बस्न नदिन माग गर्दै वेल घेराउ गरेका थिए । मर्यादापालकहरुले उनीहरुलाई रोकेर अर्थमन्त्री जनार्दन शर्मालाई रोष्टममा पुर्याएका थिए । 

अघि बसेको संसद बैठकमा एमालेका सांसदहरूको नाराबाजी कै बिच अर्थमन्त्री शर्माले बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो ।

बजेट प्रतिस्थापन विधेयकको पूर्ण पाठ :

प्रतिक्रिया