विद्यालय दिवा खाजाका सन्दर्भमा


सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, गराउने दायित्व निर्वाह गर्ने प्रणालीको विकास गर्न आवश्यक देखिएको छ । स्थानीय तहका शिक्षा प्रमुख र जनप्रतिनिधिहरुलाई चाहिने आवश्यक न्यूनतम व्यस्थापकीय प्रशासनिक ज्ञान तथा प्राविधिक स्वास्थ्य मापन र पोषकतत्वको ज्ञान र सूक्ष्म र बृहद पोषक तत्वको स्रोत प्रयोग गरी सन्तुलित दिवा खाजाको व्यवस्थापन गर्ने सीप सहितको क्षमता अभिवृद्धि गर्नृु जरुरी देखिएको छ । यसलाई सम्बोधन गर्न नेपाल सरकारले कार्यक्रमलाई अगाडि बढाएको अवस्था छ । 

दिवा खाजा कार्यक्रम कार्यान्वयन, व्यवस्थापन, अनुगमन जस्ता कार्यहरूमा आवश्यक सहयोगको लागि सहजीकरण गर्ने योजना अनुसार नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नेतृत्वमा विश्व खाद्य कार्यक्रमको सहकार्य र आइडिएस नेपालको व्यवस्थापकीय पहलमा २०७७ सालमा २३ जिल्ला र २०७८ सालमा ४८ जिल्ला गरी ७१ जिल्लामा विद्यालय दिवा खाजा सम्बन्धी जिल्लाका सदरमुकामहरुमा त्यस जिल्लाका जिल्ला समन्वय प्रमुखको आतिथ्यतामा सबै स्थानीय तहका सामाजिक तथा शिक्षा समितिका अध्यक्ष र शिक्षा शाखा प्रमुखहरुको सहभागितामा दुई दिने सहजीकरण कार्यक्रम सञ्चालन गरिएको छ । यी दुई तह र किसिमका प्रशिक्षित जनशक्तिहरुको माध्यमवाट सामुदायिक ३० हजार विद्यालयहरुमा दिवा खाजा कार्यान्वयन गर्न गराउन सकिने आशा गरिएको छ । सबै स्थानीय तहहरुले विद्यालय नेतृत्वलाई दिवा खाजाको गुणात्मक व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक तथा अभिभावकहरुको खाद्य परिकार तथा तयारी सीप क्षमता अभिवृद्धि गर्ने विश्वास पनि गरिएको छ ।

आधारभूत तहका सबै विद्यार्थीलाई दिवा खाजा  

मानव पूँजी विकासको दृष्टिकोणले आधारभूत तहको विद्यालय तहमा बालबालिकाहरुलाई खुवाइने दिवा खाजाको महत्व अति धेरै छ । तर विद्यालय तहमा खुवाउन तोकिएको दिवा खाजाको मात्रा, गुणस्तर मापदण्ड एवं सुरक्षित र व्यवस्थापकीय प्रावधानको सजगता अति जरुरी हुन्छ । यसर्थ दिवा खाजाको प्रबन्ध गर्ने, स्रोत जुटाउने र पकाएर खुवाउने तथा लाभान्वित हुने विद्यार्थी र अभिभावक सहितका सरोकारवालाहरुलाई दिवा खाजाको वैज्ञानिक मापदण्ड सित राम्ररी सुसूचित गर्न, गराउन उच्च सचेतताको आवश्यकता हुन्छ । यसर्थ दिवा खाजासँग सम्बन्धित पोषण लगायत अन्य प्राविधिक विषयमा आवश्यक ज्ञान र क्षमता सरोकारवालाहरुमा अभिवृद्धि गर्न र गुणस्तरीय खाजाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध देखिन्छ । कुनै पनि बच्चालाई विद्यालयमा भोको पेटमा टिकाउन, सिकाउन र सिकाइलाई दिगो बनाउन असम्भव हुन्छ । यसर्थ सकेसम्म विद्यालय तहका सबै कक्षाहरुमा दिवा खाजाको प्रबन्ध हुनु लोककल्याणकारी राज्यका दृष्टिले न्यायपूर्ण नै हुन्छ तर हाम्रो आर्थिक अवस्था, राज्यको सामथ्र्यले शिशुदेखि कक्षा ५ सम्मको झण्डै ३१ लाख विद्यार्थीको दिवा खाजा प्रबन्ध गर्न वार्षिक आठ अरबभन्दा बढी खर्च गरिदैँ आएको  छ । यो कार्यक्रमबाट सबै जिल्लाका स्थानीय तह मार्पmत कम्तिमा ५÷७ करोडदेखि ५० औँ करोडसम्म एउटै जिल्लामा बजेट प्रवाह हुन थालेको छ । 

दिवा खाजा खुवाउने तरिका  

मानिसलाई मुख्यतया चार किसिमका खाद्य सामग्रीको आवश्यक पर्दछ । कार्वोहाइडेड, प्रोटिन, फ्याट र खनिज पदार्थले शारीरिक वृद्धि, मानसिक वृद्धि, संवेगात्मक पक्षको सन्तुलित विकासमा न्याय गर्दछ । नेपाल सरकारको मान्यता बालबालिकालाई चाहिने समग्र पोषण तत्वको एक तिहाइ भाग विद्यालय दिवा खाजाले पूर्ति गर्नु पर्दछ । यस आधारमा ३० प्रतिशत कभर हुने गरी दिवा खाजामा कम्तिमा कच्चा सामग्री १५० ग्राम र अधिकतम २०० ग्रामको प्रति विद्यार्थी भाग पर्ने गरी दिवा खाजाको मेनु तालिका १० वटा क्षेत्रमा प्रयोग हुन सक्ने ६० वटा नमूना पुस्तिका निर्माण गरिएको छ । अध्ययनहरुले कतै रु १५ मा तोकिएको खाजा तयार गर्न सकिने, कतै ३ देखि ८ रुपैयासम्म लागत बढी पर्ने पनि देखाएको छ । खाजा तयारी तथा व्यवस्थापनमा आर्थिक लागतका दृष्टिकोणले ठूला आकारका विद्यालयमा तोकिएको मात्राको खाजा खुवाउन निर्धारित रकमले सजगता पूर्वक काम गर्दा पुगेको देखिन्छ । तर साना आकारका १०, २० देखि ५० भन्दा कम विद्यार्थी हुने विद्यालयहरुमा यो रकमले पुराउन कठिन हुन्छ वा असम्भव देखिन्छ । यसर्थ समुदायका अभिभावक, विद्यालय आफैँ, स्थानीय सरकार, प्रदेश सरकार वा सामाजिक संघसंस्थाहरुको दोहोरो नहुने गरी आर्थिक साथ, सहयोग अति आवश्यक छ । संघीय सरकारको तर्फबाट उपलब्ध रकमले मात्र हिमाली, दुर्गम पहाडी र अति थोरै विद्यार्थी भएका विद्यालयहरुमा गुणात्मक खाजा व्यवस्थापन धेरै चुनौतीपूर्ण हुने निश्चित देखिन्छ । यसमा सबैको ध्यान जानु पर्दछ । खाजामा के खुवाउने ? कसरी खुवाउने ? कति मात्रामा खुवाउने ? खाजाको मापदण्ड र परिकारहरु के के हुन सक्छन् ? स्थानीय ताजा, शुद्ध र विषादि रहित खाजाको प्रबन्धका आधार के के हुन सक्छन् भन्ने विषयमा विद्यालय दिवा खाजा मापदण्ड पुस्तिका देशै भरीका सामुदायिक विद्यालयहरुमा तालीम प्रशिक्षण र सहजीकरणका क्रममा वितरण गरी पुराइरहेको अवस्था छ भने शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेवसाइटमा राखिएको छ । 

व्यवस्थापकीय भूमिका  

जीवनको मुख्य आधार कृषि विकास र उत्पादन रहेछ, कृषि उत्पादन बढाउन, गाउँ समुदायमा आफ्ना बालबालिकालाई ताजा र स्वच्छ खाजा खुवाउन, पौष्टिक सन्तुलित आहारको व्यवस्था मिलाउन अति आवश्यक छ । विद्यार्थीलाई खाजा खुवाउने र खाजाको मात्रा, परिमाण सिकाउँदा शिक्षकले सामाजिक विषय, गणित विषय, भाषा विषय, विज्ञान विषय, स्वास्थ्य विषय, प्रकृति वातावरण, जीवजन्तु र सबै व्यवहारिक ज्ञान सिकाउने आधार दिवा खाजा मेनु तालिका हुन सक्छ । आज आफूले शिशु कक्षादेखि सिकेको र खाएको मात्रा क्रमशः घर परिवारमा लागू गर्न गराउन सहयोगी हुन सक्छ । आफूलाई बानी परेको खाद्य परिकार र शारीरिक, मानसिक तथा संवेगात्मक प्रभावको सिकाइलाई आफू आमा, बाबु र अभिभावक हुँदा पूर्ण रुपमा कार्यान्वयन गर्न सक्छन् । यसरी सम्पूर्ण स्वस्थ, स्वच्छ र सामाजिक अन्तरघुलन हुने जातपातको अमानवीय विभेदको अन्त्य गर्न अप्रत्यक्ष  भूमिका खेल्ने विद्यालय दिवा खाजा व्यवस्थापनमा सबै सरोकारवालाको सक्रीय सहभागिता आवश्यक छ । संघीय सरकारले प्रति विद्यार्थी रु १५ र कर्णालीका ५ जिल्लामा रु २० प्रति विद्यार्थी एक वर्षमा १८० दिनका लागि रकम दिएको छ । तोकिएको मापदण्ड अनुसारको खाजा तयार गर्न अपुग र नपुग्ने रकमको व्यवस्थापन गर्ने दायित्व अभिभावक, समुदाय, विद्यालय, स्थानीय तह, प्रदेश सरकार र सामाजिक संघसंस्थाको हुन सक्छ । संघीय सरकारबाट रकम पूर्ण पारदर्शीसाथ निकाशा गर्ने, खाजाको व्यवस्थापनमा अतिरिक्त सहयोग गर्ने र खाजा तयारी सीप, दक्षता अभिवृद्धि गर्ने, गराउने जिम्मेवारी स्थानीय तहको हुनु पर्दछ । विद्यालय तहमा ताजा, स्वस्थकर तथा गुणात्मक खाजा प्रबन्ध र सुरक्षित तयार गरी दिवा खाजा खानपानको व्यवस्थापनमा प्रधानाध्यापक तथा तोकिएका शिक्षकले अभिभावकहरुको सहकार्यमा विद्यालय व्यवस्थापन समितिको निर्णयमा कार्यान्वयन हुने व्यवस्था मिलाउनु पर्दछ ।  

सरोकारवाला क्षेत्र र निकायको भूमिका  

नेपालमा ३१ लाख विद्यार्थीलाई १८० दिन खाजा खुवाउन प्रत्येक दिनका लागि १८० टन खाद्य सामग्री, १५० टन गेडागुडी, ९० टन पशुजन्य माछा, मासु, अण्डा र तरकारी जन्य र फलफूल खपत हुने आंकलन छ । विद्यालय दिवा खाजा कार्यक्रमले वार्षिक ९ अरब हाराहारीको बजार कारोवार हुने देखाएको छ । यसर्थ अघाउन मात्र खाने होइन, पोषणका लागि हो भन्ने शिक्षालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न संघीय तहदेखि, प्रदेश, जिल्ला र स्थानीय तहका शिक्षा, कृषि तथा स्वास्थ्य संस्थाको समान भूमिका तथा जवाफदेहिताले मात्र विद्यालय दिवा खाजाको गुणस्तर तथा जनताको आयार्जन र स्वास्थ्य प्रर्बधनमा एकसाथ नतिजा दिने छ । यी त्रिखुट्टी निकायको एक आपसमा समन्वय, सहकार्य र सहयोग विना जीवनको गति चल्न सक्दैन् र मु्लुकको समृद्धि सम्भव हुँदैन भन्ने ज्ञान विद्यालय दिवा खाजाले नेपाली व्यापी समुदायस्तरमा बहसमा ल्याउन सफलता पाएको छ । एकसाथ देशव्यापी दिवा खाजाको अभियान सञ्चालन गरेकोमा नेपाल सरकारलाई कृतज्ञता जाहेर गर्नै पर्दछ । 

अन्त्यमा, दिवा खाजाको लागि चाहिने स्थानीय उत्पादनमा आधारित खाद्य टोकरी र सो को आधारमा पोषणयुक्त सामान्य खाजा मेनु (सूची) को निर्माण गर्न सक्ने सीपको विकास गर्न, गराउन नेपाल सरकारलाई आर्थिक, प्रशासनिक तथा व्यवस्थापकीय सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था विश्वखाद्य कार्यक्रम पनि धन्यवादको भागीदार  छ । विद्यालय दिवा खाजा कार्यक्रम व्यवस्थित रुपमा कार्यान्वयन गर्न आ आफ्नो स्थानीय परिवेश अनुकूलको व्यवस्थापन प्रणाली छनोट गर्न र गुणात्मक खाजा प्रबन्ध गर्न स्थानीय तहहरुको सहयोग अपरिहार्य नै हुनेछ । दिवा खाजा सुरक्षित, गुणस्तरीय र पोषणयुक्त बनाउन आवश्यक पहल गर्ने, गराउने र सबै विद्यार्थीमार्फत समुदायस्तरमा सन्तुलित खानपिनको जग हाल्न विद्यालयहरु दिवा खाजा कार्यक्रमको माध्यमबाट सफल हुने नै छन् । 

दिवा खाजा तालिकाको सामग्री उत्पादन, गुणस्तरी मात्राको प्रयोग र पोषणतत्वलाई व्यवस्थापन गर्न कृषि र स्वास्थ्य सेवाको प्रभावकारीता बढ्ने नै छ । दिवा खाजामा मूल्यमान्यता बुझाउने स्रोत सामग्री एवं विधिहरुको उपयोग गरिएको मेनु तालिका सहित ७५३ स्थानीय तहमा जनशक्ति विकास र सिकाइ प्रक्रियालाई एकीकृत रुपमा अवलम्वन गर्न प्रशिक्षण सहजीकरण गर्न शिक्षाले प्रशंसनीय काम गरेको छ । सबै स्थानीय तह सम्म दिवा खाजा कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न आवश्यक पर्ने योजना, प्रणाली, नियम, टुल्स आदिको निर्माण गर्न अभिमुखीकरण गरेर यो अभियानलाई देशको अहम् मुद्दा स्थापित गरिएको छ । इमानदार व्यवस्थापन कुशलता सीप र असल नागरिकको जग विकासमा विद्यालय दिवा खाजाको इतिहास रचियोस् र सामाजिक न्यायको लोककल्याणकारी राज्यको अभिभावकत्वमा हाम्रा बालबालिकाहरु फस्टाउन सकून्, विद्यालय दिवा खाजाका सन्दर्भमा आजलाई यत्ति ।

पोखरेल, शिक्षा मन्त्रालयका उपसचिव हुन्  ।