Edukhabar
आइतबार, १६ बैशाख २०८१
खबर/फिचर

बजेटमा उल्लेख बुँदा सम्बोधन विनै शिक्षक विज्ञापन खोल्ने तयारी

आइतबार, २६ मंसिर २०७८

भक्तपुर - चालु आर्थिक बर्षको बजेटमा उल्लेख शिक्षकसँग सम्बन्धित बुँदा सम्बोधन नभए पनि शिक्षक सेवा आयोगले विज्ञापन खोल्ने तयारी गरेको छ । नयाँ पदाधिकारी नियुक्ति भएको चार महिना पछि आयोगले शिक्षक विज्ञापन खोल्ने तयारी गरेको हो । तर उक्त विज्ञापन गर्दा बजेटमा उल्लेख भएको बुँदा भने सम्बोधन नहुने भएको छ । चालु आर्थिक बर्षको बजेटमा सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने र प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तरण गरी बढी भएको दरबन्दी खारेज गर्ने उल्लेख गरेको थियो । 

माथिल्लो तहमा आवश्यकता अनुसार दरबन्दी नहुँदा पठनपाठन प्रभावित भएकोले प्राथमिक तहमा धेरै भएको दरबन्दीलाई माथिल्लो तहमा रुपान्तरण गर्न सरकारले बजेट मार्फत योजना बनाएको थियो । तर बजेट वक्तव्यको बुँदा २१८ मा उल्लेख उक्त व्यवस्था कार्यान्यन गर्न आवश्यक काम नभए पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सामान्य अवस्थामा जस्तै खाली दरबन्दीको विवरण मात्रै आयोगलाई उपलब्ध गराएको छ । बजेटमा उल्लेख कार्यक्रम कार्यान्वयनका बारेमा आयोग केही गर्न नसक्ने, यसका लागि सरकारका सम्बन्धित निकायबाट कार्य हुनु पर्ने स्मरण गराउँदै आयोगका अध्यक्ष मधु प्रसाद रेग्मीले शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पठाएको मागका आधारमा विज्ञापन खोल्ने आन्तरिक तयारी गरेको बताए । 

'शिक्षक दरबन्दी मिलानको बारेमा बजेटमा उल्लेख त छ, तर त्यसलाई आयोगले मात्रै सम्बोधन गर्न सक्दैन, हामीले गर्ने भनेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पठाएको मागका आधारमा विज्ञापन खोल्ने हो' उनले भने 'सोही आधारमा विज्ञापन खोल्ने गरी आयोगले बनाएको बार्षिक तालिका अनुसार काम गरिरहेका छौं ।'

केन्द्रले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार नौ सय १३ र प्राथमिक तहमा नौ हजार छ सय १ रिक्त दरबन्दी रहेको विवरण आयोगलाई उपलब्ध गराएको छ । सोही पदमा विज्ञापन खुलाउने आयोगले तयारी गरेको हो । 

सिफारिस भएको सात महिना पछि गत साउनमा नियुक्त भएका आयोग पदाधिकारीले हालै सार्वजनिक गरेको पदपूर्ती सम्बन्धि बार्षिक तालिकामा मंसिर मसान्त भित्र विज्ञापन खोल्ने उल्लेख गरिएको छ । सोही कार्यतालिका अनुसार अनलाइन आवेदन दिन मिल्ने गरी आयोगले कार्य गरिरहेको जनाईएको छ । उक्त कार्यतालिकामा खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुने छ भने सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने उल्लेख छ । यसैगरी भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगको कार्यतालिका छ । प्राथमिक तहका शिक्षकको सिफारिस भने कात्तिकमा हुनेछ । आयोगले आगामी शैक्षिक वर्षको मध्यमा नयाँ शिक्षकहरु कक्षा कोठामा पुग्ने योजना बनाएको छ । 

बजेटका उल्लेख बुँदा कार्यान्वयनको बाटो नखुलाएको मात्रै हैन सरकारले शिक्षक सेवा आयोग नियमावली संशोधन नगर्दा बढुवाको विज्ञापन पनि अन्योलमा परेको छ । आयोगले आफ्नो कार्यतालिकामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा विज्ञापन मंसिर भित्रै खुलाउने योजना बनाएको छ । तर नियमावली संशोधन हुन नसक्दा यो विज्ञापन पनि अन्योलमा परेको छ । 

प्रतिक्रिया