Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

साढे तीन बर्ष पछि स्थायी शिक्षकको परीक्षा

मंगलबार, १५ चैत्र २०७८

भक्तपुर - स्थायी शिक्षक भर्नाका लागि हरेक बर्ष हुनु पर्ने परीक्षा साढे तीन बर्ष पछि बल्ल शुरु भएको छ । कूल १७ हजार २ सय ४३ स्थायी शिक्षकका लागि खुलेको  विज्ञापन अन्र्तगत मंगलबार माध्यमिक तहका शिक्षकको परीक्षा शुरु भएको हो । चैत १७ गते निमावि, १९ गते प्रावि र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा गर्ने शिक्षक सेवा आयोगको कार्यतालिका छ । यस पटक निमाविमा २ हजार ५ सय ९८ र प्राविमा १३ हजार ९३ जनाका लागि आयोग खुलेको छ । 

यस अघि २०७५ असोज ११ गते शिक्षक सेवा आयोगले नयाँ शिक्षक नियुक्तिका लागि परीक्षा गरेको थियो । त्यतिखेर कुल १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन भएको थियो । त्यस यता लामो समय शिक्षक विज्ञापन प्रकृया अवरुद्ध भएको थियो । सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भए पनि आयोगले समयमा परीक्षा सञ्चालन गर्न नसक्दा योग्य शिक्षकबाट सिक्न पाउने बालबालिकाको अधिकार कुण्ठित गरिएको भन्दै आलोचना हुँदै आएको छ । तर, यसो हुनुमा आयोगको मात्रै कमजोरी भन्न नमिल्ने आयोगका पदाधिकारीले तर्क गर्दै आएका छन् । 

'आयोग प्रत्येक बर्ष खोल्ने हो, तर शिक्षक विज्ञापनको विषय आयोगले मात्रै गर्न सक्ने संरचनागत अवस्था नभएका कारण कहिले काँही अलमल हुन्छ' आयोग सदस्य डा.डिल्लिराम रिमालले भने 'आजबाट शुरु भएको यो परीक्षा भने नियमितता तर्फको पाईला हो, अब हामी हामीले तयार पारेको बार्षिक क्यालेण्डरकै आधारमा हरेक बर्ष परीक्षा गर्छौ ।'

शिक्षक सेवा आयोग लोक सेवा आयोग जस्तो स्वायत्त नभएका कारणले पनि आयोग खोल्ने विषय धकेलिने उनले बताए । 

'आयोगले सिधै विज्ञापन गर्न सक्दैन शिक्षा मन्त्रालयसँग संयोजनमा काम गर्नु पर्छ, समयमा रिक्त पदको तथ्याङ्क उपलब्ध हुनु पर्छ, तपाईलाई थाहै छ मन्त्रालयले विभिन्न समयमा विभिन्न पेशागत समूहहरुसँग गर्ने विभिन्न किसिमका सम्झौताका कारण पनि विज्ञापन खोल्ने कार्यमा अलमल भईरहेको यर्थाथता छ' उनले भने 'त्यस माथि यस पटक त आयोग नै लामो समय सम्म पदाधिकारी बिहीन भयो, त्यसले पनि केही समय ग्याप हुन गएको हो ।'

२०७७ असोजमा तत्कालिन अध्यक्ष ताना गौतमको अवधि सकिए पछि खाली भएको आयोगमा पुसमै पदाधिकारी सिफारिस भए पनि तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थका कारण सात महिना पछि गत साउनमा मात्रै नयाँ पदाधिकारीको नियुक्ति गरिएको थियो । यसले पनि आयोगको काममा ढिलाई भएको आयोगका पदाधिकारीले तर्क गर्दै आएका छन् । 

लामो समयको अन्तरालमा खुलेको शिक्षक आयोगको यो परीक्षा अन्र्तगत मंगलबार पहिलो दिन मावि तहका शिक्षकको परीक्षा सुरु भएको छ । माध्यमिक तह तृतीय श्रेणीको विभिन्न १५ विषयका लागि एक हजार पाँच सय ४७ पदमा नयाँ शिक्षक नियुक्ति गर्ने गरी शिक्षक सेवा आयोगले गत मंसिर २९ गते विज्ञापन खोलेको थियो । उक्त विज्ञापन अन्र्तगत परीक्षा हुने बेला सम्म १ हजार ५ सय ५२ पद निर्धारण भएको आयोगले जनाएको छ । उक्त पदका लागि ३५ हजार ५ सय ५७ जनाको आवेदन परेको छ । उनीहरुको परीक्षाका लागि देश भर १ सय ५४ केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । 

आयोगको परीक्षामा सय पूर्णाङ्कको सामान्य परीक्षा हुनेछ । विषयगत तर्फको सय पूर्णाङ्कको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गर्ने परीक्षार्थी पास हुन्छन् । 

परीक्षा सम्पन्न गरी नियुक्ति प्रक्रिया पुरा गर्न करिब एक वर्ष लाग्ने आयोगको अनुमान छ ।

परीक्षार्थीले प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने लगायतका परीक्षा मर्यादित बनाउन आवश्यक आचार संहिता जारी गरेको आयोग प्रवक्ता मरहठ्ठाले बताए । 

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले संरचना परिवर्तन गरेर कक्षा १२ सम्मलाई विद्यालय तह हुने व्यवस्था गरेको छ । आधारभूत र माध्यमिक गरी दुई तहमा विद्यालयको संरचना निर्धारण भएको यतिका बर्ष सम्म पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पुरानै शैलीमा शिक्षकको संख्या तोकेर पठाए पछि आयोगले सोही आधारमा विज्ञापन गर्दै आएको छ । 

प्रतिक्रिया