Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक

विहीबार, १७ कार्तिक २०७९

भक्तपुर - चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा रहेको शिक्षक अभाव पूर्ति गर्न अनुदान शिक्षक दिने भएको हो । त्यसका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरी बजेट समेत बन्दोबस्त गरेको छ । 

सो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ८० लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो प्रकृतिका शिक्षकको बन्दोबस्तीका लागि नगरपालिकाले शिक्षक शिक्षण सहायता अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि समेत तयार गरेको छ । सो कार्यविधिलाई कार्यपालिकाको असोज १३ गतेको बैठकले स्वीकृत गरेको छ । 

‘कतिपय सामुदायिक विद्यालयहरु अहिले पनि शून्य दरबन्दीको भरमा चलिरहेका छन्, त्यसले बालबालिकाको पठनपाठनमा समेत समस्या भएको छ, गुणस्तर कायम गर्न पनि समस्या भएको छ, सो समस्या समाधान गर्नका लागि शिक्षक अनुदान दिने कार्यक्रमका साथ बजेट समेत विनियोजन गरेका छौं’, नगर प्रमुख जीवन खत्रीले भने । 

नगरपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयमा निः शुल्क शिक्षा व्यवस्थापनका लागि तथा विद्यालयमा शिक्षक विद्यार्थिको अनुपातको आधारमा शिक्षकको दरबन्दी कम भएको विद्यालयमा शिक्षक पूर्ति गर्न नगरपालिकाले सो अनुदान शिक्षकको बन्दोबस्त गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

सो कार्यविधि अनुसार नगरपालिकाले माध्यमिक तह, आधारभूत तह र बालविकास तहका लागि छुट्टाछुट्टै आधार समेत तयार गरेको छ । 

‘सधैं दरबन्दी छैन भनेर बसेर हुन्न, सरकारले दरबन्दी दिने कुनै ठेगान छैन, दरबन्दी नहुँँदा परेको समस्या समाधानका लागि पालिका आफैंले केही गर्न खोजेको हो’, नगर प्रमुख खत्रीले भने । 
अनुदान शिक्षकको बन्दोबस्त भएपछि सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुग्ने उनको दावी छ ।

कार्यक्रम अनुसार माध्यमिक तह सञ्चालित विद्यालयमध्ये शून्य दरबन्दी वा शिक्षक अनुदान नपाएका विद्यालयलाई एक जना, आधारभूत तहसम्म सञ्चालित विद्यालयहरु मध्ये निमावि तहमा शून्य दरबन्दी एवम् हालसम्म शिक्षक अनुदान नपाएका विद्यालयलाई एक जना अनुदान शिक्षक दिईने छ । यसैगरी आधारभूत तह (निमावि) सञ्चालित विद्यालयहरुमा कक्षा १–५ कक्षामा कम्तिमा ३ वा सो भन्दा बढी शिक्षक दरबन्दी भएको र निमावि दरबन्दी नभएको विद्यालयलाई थप निमावि तहको एक शिक्षक दिईने छ । प्रारम्भिक बाल विकास कक्षामा नियमानुसार विद्यार्थी संख्या भन्दा अधिक विद्यार्थी भएका विद्यालयलाई सम्बन्धित तह(बाल विकास सहजकर्ता) कम्तिमा एक सहजकर्ता र कुनै विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षकको व्यवस्थापन गर्न अत्यावश्यक भएमा नगर कार्यपालिकाले निर्णय गरी अनुदान दिन सक्ने गरी कार्यविधि तयार गरिएको छ । 

नगरपालिकाले सो अनुदान शिक्षकको बन्दोबस्त गर्नका लागि सुरुमा विद्यालय छनोट गर्ने र विद्यालयको आवश्यकता अनुसार विषयको शिक्षकको पद खुल्ला प्रतियोगिता मार्फत् प्रक्रिया पुर्याइ छनोट गर्ने नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले बताए । 

जम्मा ३४ वटा सामुदायिक विद्यालय रहेको पालिकामा १४ वटा माविमा ५१ जना दरबन्दीका शिक्षक र २० आवि, निमाविका ६८ शिक्षक, प्रावि तहका २१४ शिक्षक र ६५ बाल विकास सहजकर्ता रहेका छन् । 

प्रतिक्रिया