Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
विचार / विमर्श

बदलौँ शिक्षण शैली

सोमबार, ११ पुस २०७९

शिक्षण प्राविधिक कार्य भएकोले यसमा ज्ञानात्मक, भावनात्मक, कृयात्मक र व्यवहारिक पक्षहरु जोडिएका हुन्छन् । कुमालेले घैंटोको आकार दिए जस्तो, मूर्तिकारले मूर्ति बनाए जस्तो, चित्रकारले चित्रहरुलाई पूर्णता दिएर सुन्दर बनाए जस्तो शिक्षण कार्य पनि कलाकार (शिक्षक) को हातको एउटा औजार हो, जसको माध्यमबाट उसले आफ्नो स्टुडियो (शिक्षालय) भित्र पदार्थहरु (विद्यार्थीलाई) आफ्नो विचारमा (लक्ष्यमा) पुराउने शिक्षण प्राविधिक सीप हो । कला हो । 

शिक्षण पेशा एक प्रविधिक कार्य हो । प्रविधिमा सीप जोडिएको हुन्छ । कला गाँसिएको हुन्छ । जसरी कुनै पनि प्राविधिक कार्य सम्पन्न गर्नका लागि विशेष प्रकारको सीपको आवश्यकता पर्दछ, त्यसरी नै शिक्षणलाई प्रभावकारी बनाउनका लागि शिक्षाविद् पेस्तालोजीले भने जस्तो गुरुजनहरु कक्षा कोठाको मोडेल एक्टर बन्न सक्नु पर्दछ । शिक्षक प्राध्यापकहरु मोडेल हिरो हुनको लागि उनीहरुमा  अध्ययन,अनुसन्धान, अनुभव, योग्यता, क्षमता र शिक्षण कलाको आवश्यकता पर्दछ । त्यसैले शिक्षकलाई व्यक्ति एक व्यक्तित्व अनेक भन्ने गरिन्छ । शिक्षक प्राध्यापकहरुमा राम्रो चालचलन, असल व्यवहार, उदाहरणीय व्यक्तित्व, सभ्य, सुशील, योग्य, मिठो बोली वचन, स्नेहीपूर्ण व्यवहार, सहनशील, धैर्यवान, नेतृत्वसीप, निष्पक्ष व्यवहार एवं सहयोगी  भावनाको खाँचो हुन्छ । 

हाम्रो देशको सन्दर्भमा शिक्षण पेशालाई प्राविधिक कार्यभन्दा पनि विद्यार्थीका अगाडि उभिएर विषयबस्तुलाई व्याख्या, विश्लेषण गर्ने र पाठहरु कठस्थ गर्न लगाउने अभ्यासको रुपमा रहेको पाइन्छ । यस्तो शास्त्रीय शिक्षण पद्घतिबाट शिक्षण सिकाइ माथि उठ्न सकेको छैन । यस्तो शिक्षण शैलीले गलाको मात्र अभ्यास गर्दछ । कलाको संयोजनबाट टाढा रहन्छ । शिक्षकहरुमा बिषयगत ज्ञान हुनु एउटा पक्ष हो भने त्यो ज्ञानलाई विद्यार्थीमा सहज रुपमा स्थानान्तरण गर्नको लागि शिक्षण कला आवश्यक ठानिन्छ । 

शिक्षण सिकाइलाई कलात्मक र रुचीकर बनाउन गुरुजनहरुमा आधुनिक शिक्षण कलाको लागि बालमनोविज्ञानको जानकारी, शिक्षण सामाग्रीहरुको प्रयोग र प्राध्यापन विज्ञता अनिवार्य सर्त हुन् । सिकारुका अन्तरनिहित चेतनालाई बाहिर ल्याउने काममा शिक्षण कलाले प्रभाव पार्दछ । शिक्षण पेशा अन्य कार्य भन्दा फरक भएकोले यस पेशामा संलग्न शिक्षणकर्मीहरुमा पेशागत कार्य क्षमता आवश्यक हुन्छ । शिक्षण कार्यका लागि केवल पाठ्यपुस्तकीय बिषयबस्तुको ज्ञानले मात्र पुग्दैन । ज्ञान स्थानान्तरण गर्ने सीपको खाँचो हुन्छ ।

 त्यसो त शिक्षण सीपको मोडेलहरु फरक फरक हुन सक्दछन् । विद्यार्थीको सिक्ने रुची र क्षमतामा पनि भिन्नता हुन्छ । शिक्षण सिकाइका बारेमा विद्वानहरुका विभिन्न धारणाहरु रहेको पाइन्छ । शिक्षा मनोविद् थर्नडाइकले सिकारुले भुल र प्रयत्नको आधारमा सिक्न सक्दछ भने । यसको अर्थ सिक्ने क्रमका गल्ती र कमीकमजोरीहरुलाई वारम्बारको प्रयत्नले निखरता आउँछ भन्ने हो ।

यसैगरी अर्का शिक्षाविद् भिसिलम्यानले कुनै पनि कुराको सिकाइमा सिकारुको दृष्टिकोणले काम गरेको हुन्छ, भन्छन् । मर्सेलले सिकाइमा अर्थपूर्ण विषयको स्मरण बढि र अर्थहिन बिषयमा विस्मरण ज्यादा हुने गर्दछ भन्ने धारणा राखे । उल्लेखित न्यारेटिभ्स्हरुको भावलाई बुझेर विद्यार्थीको भविष्यलाई दिशा निर्देश गर्दै उनीहरुलाई सिक्नको लागि प्रेरित गर्न सक्नु नै शिक्षण कला हो । 

विश्व प्रख्यात बैज्ञानिक आइन्स्टाइनले मैले विद्यार्थीलाई पढाउँदिन,केवल उनीहरुले पढ्ने वातावरणको सिर्जना गरीदिन्छु भनेका छन् । उनको भनाईको तात्पर्य सिकाइको लागि वातावरणले ठूलो भूमिका खेल्दछ भन्ने हो । विद्यार्थीलाई पढ्ने, सिक्ने र पढाईमा रमाउने वातावरण भएमा उनीहरुमा सिक्ने रुची र उत्सुकता बढ्दछ । यसको लागि शिक्षकले बालमनोविज्ञानको अध्ययन गरी उनीहरुको घर, परिवार, उमेर, पूर्वज्ञान, मानसिकता, कठिनाई लगायतको जानकारी राखी उनीहरुसंग तदअनुरुपको व्यवहार गर्नु पर्दछ । बालमैत्री सिकाइको सहज वातावरण सिर्जना गर्नु पर्दछ ।  शिक्षाविद् जुडका अनुसार सिकाइ सिकारुको पूर्वज्ञानका आधारमा अगाडि बढ्दै जाने प्रकृया हो भन्ने छ । उनका अनुसार शिक्षार्थीको पूर्वज्ञान, रुची, क्षमता, चाहाना, तहगत स्तर, स्वभाव, उमेर र मनोविज्ञानको अध्ययन विना गरिने शिक्षण गलाको अभ्यास मात्र हो । कला होइन । यस्तो शिक्षक केन्द्रीत शिक्षणमा कला मिसिएको हुँदैन भन्ने अर्थ लाग्छ ।  त्यसैले शिक्षण सिकाइ गला मात्र होइन, गला र व्यवहारमा कला मिसाउन पर्दछ ।  

गुरुजनहरु विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्याड्ढनकर्ता, समन्वयकर्ता, व्यवसायिक मित्र एवं स्रोत व्यक्ति हुन् । त्यसैले विद्यार्थीको चौतर्फी विकासका लागि सहयोग गर्नसक्ने क्षमता राख्नु पर्दछ । शिक्षाशास्त्री वीलियम् अथरले शिक्षणको स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीलाई बिषयबस्तु भन्दछन्, राम्रा शिक्षकले व्याख्या गर्दछन्, उत्कृष्ट शिक्षकले डेमोस्ट्रेट गर्दछन् भने महान शिक्षकले प्रेरित गर्दछन् भनेका छन् । प्रेरणाले शिक्षार्थीलाई जागरुक बनाउँछ । सिक्ने उत्साह जगाउँछ ।  यसरी हेर्दा उत्कृष्ट शिक्षण कलामा डेमोस्ट्रेसन् को अभ्यास आवश्यक ठानिन्छ । 

अन्त्यमा गुरुजनहरुले गला सुकुञ्जेल पण्डित्याई गर्ने, व्याख्या गर्ने, कण्ठस्थ गर्ने, गराउने, किताबबाट उत्तरहरु हुबहु लिपीबद्घ गर्न लगाउने जस्ता विधिहरु परम्परागत तरिका हुन् । यस प्रकारको परम्परावादी वर्णनात्मक शैलीको घोकन्ते शिक्षण सिकाइ आउट्डेटेड् भईसकेको छ । यस सन्दर्भमा शिक्षण सिकाइलाई कलात्मक बनाउन शिक्षाको सैद्घान्तिक पक्षलाई कला र प्रविधीमा जोडेर जीवन्त बनाऔं । न्यारेटिभ् सिक्नेस्को अभ्यासमा रहेको शिक्षण शैलीलाई बदलौँ । शिक्षण सिकाइमा गला र कलाको फ्युजन गरौं ।  

प्रतिक्रिया