Edukhabar
विहीबार, १० जेठ २०८१
बहस

एकीकृत पाठ्यक्रम : काम भन्दा कुरा बढी

शुक्रबार, २७ माघ २०७९
सरकारले शैक्षिक वर्ष २०७६ मा कक्षा एक र शैक्षिक वर्ष २०७७ मा कक्षा दुई र तीनमा परीक्षण गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा एकमा र शैक्षिक वर्ष २०७८ मा कक्षा दुई र तीनमा एकीकृत पाठ्यक्रम लागू गरेको छ । विद्यालय शिक्षासम्बन्धी विगतदेखिकै दस्तावेजहरूमा तल्ला कक्षाहरूमा सिकाइ क्षेत्रको एकीकरणमा जोड दिइने कुरा उल्लेख गरिएको थियो ।
 
विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६४ मा आधारभूत तहको कक्षा १–३ मा भाषा, गणित, सामाजिक अध्ययन, सिर्जनात्मक कला, स्थानीय आवश्यकतामा आधारित शिक्षा जस्ता मुख्य सिकाइ क्षेत्रहरू रहने र एकीकृत पाठ्यक्रमका आधारित भई सिकाइका मुख्य मुख्य क्षेत्रहरू समेटिने गरी एउटा क्रियाकलाप पुस्तिका विकास गरी लागू गरिने भन्ने कुरा उल्लेख भएबाट नै एकीकृत पाठ्यक्रमका विषयमा चर्चा हुँदै आएको पाईन्छ । विद्यालय क्षेत्र विकास पाठ्यक्रम २०१६ – २०२३ मा पनि तल्ला कक्षाहरूका लागि एकीकृत पाठ्यक्रम र पाठ्यपुस्तक विकास गरिने लक्ष्य राखिएको थियो ।
 
यी विभिन्न नीतिगत दस्तावेजहरूकै आधारमा विषयगत पहिचान समेत देखिने गरी एकीकृत पाठ्यक्रम कार्यान्वयनमा आएको छ । 
 
के हो एकीकृत पाठ्यक्रम ?
 
पाठ्यक्रम सम्बन्धी सिद्धान्तहरूका अनुसार पाठ्यक्रम एकीकरणको आधारमा मूलतः दुई किसिमको हुन्छ । पहिलो किसिमको पाठ्यक्रम विषयगत हुन्छन् भने दोस्रो किसिमको पाठ्यक्रम विषयगत सीमामा सीमित हुँदैन । अर्थात, विषय अनुसार फरक फरक नभई एउटै पाठ्यक्रमका आधारमा विभिन्न विषयका विषयवस्तु समावेश गरी एकीकृत रूपमै शिक्षण गरिन्छ । पाठ्यक्रमको एकीकरणको मात्रा वा स्तर पनि फरक फरक हुन्छ ।
 
पूर्ण रूपमा विषयगत पहिचान रहेको पाठ्यक्रम एकीकृत पाठ्यक्रमको सबैभन्दा तल्लो तहको पाठ्यक्रम हो । दोस्रो तहको एकीकृत पाठ्यक्रमलाई बहुविषयक पाठ्यक्रम भनिन्छ जसमा अन्तरसम्बन्धित विषयवस्तु वा अवधारणालाई सम्बन्धित गराई समावेश गरिन्छ तर विषयगत सीमा र पहिचान भने कायम नै हुन्छ । अर्को तहको पाठ्यक्रमलाई अन्तरविषयक पाठ्यक्रमका नामले चिनिन्छ । जसमा बहुविषयक पाठ्यक्रममा भन्दा एकीकरणको मात्रा बढी हुन्छ । यस्तो पाठ्यक्रममा दुई वा दुईभन्दा बढी विषयसँग मिल्ने गरी थिम निर्धारण गरिन्छ र मिल्दो खालका विषयका विषयवस्तुलाई एकै ठाउँमा राखेर सिकाउने गरिन्छ । पूर्ण एकीकृत पाठ्यक्रममा चाहिँ विषयगत सीमा हुँदैन र कुनै समस्या, मुद्दा वा घटनामा आधारित भई सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ । यस्तो पाठ्यक्रममा अन्तरसम्बन्धित विषयवस्तुबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ । 
 
माथिका परिभाषाका आधारमा भन्नुपर्दा नेपालको कक्षा १–३ को पाठ्यक्रम चाहिँ बहुविषयक मात्र हो । अर्थात हाल कार्यान्वयनमा रहेको पाठ्यक्रम पूर्ण एकीकृत पाठ्यक्रम होइन । कक्षा १–३ मा अङ्ग्रेजी, नेपाली, गणित र सेरोफेरो नामका विषयहरू विषयकै रूपमा छन् र ती विषयहरू थिममा आधारित छन् । पाठ्यक्रम भित्र समावेश गरिएको सेरोफेरो भन्ने विषयचाहिँ अन्तरविषयक सिद्धान्तमा आधारित रहेको देखिन्छ । सेरोफेरो भन्ने शब्दले गणित भनेझैँ विषयको अर्थ दिँदैन । यसमा सामाजिक, सिर्जनात्मक कला, विज्ञान, स्वास्थ्य र शारीरिक जस्ता विषयका विषयवस्तुहरू समावेश गरिएका छन् ।
 
गराई र बुझाईमा रहेको अन्तर
 
एकीकृत नामको पाठ्यक्रम निर्माणको व्रmममा अन्य कुराहरूका अलावा थिम निर्धारणको काम पहिले गरिएको जस्तो देखिन्छ । थिमको सूची निर्माण गरिसकेपछि विषयगत रूपमा कार्यदल गठन गरी विषयगत कार्यदलले निर्धारित सूचीबाट थिम छनोट गरी विषयगत पाठ्यक्रमको विस्तृतीकरण गरेको देखिन्छ । पाठ्यक्रममा समावेश गरिएका थिमहरू हेर्दा चारओटै विषयका साझा थिम चारओटा मात्र छन् । कुन विषयमा कुन थिम रहने वा नरहने भन्ने कुराको निर्धारण पनि वस्तुगत आधारमा भएजस्तो देखिँदैन । उदाहरणका लागि, चरा र जनावर भन्ने थिम अङ्ग्रेजीमा मात्रै राखिनुपर्ने अन्य विषयमा नराख्नुपर्ने कुनै स्वीकार्य तर्क वा कारण देखिन्न । चरा र जनावर भन्ने थिम नेपाली, गणित वा सेरोफेरो भन्ने विषयमा पनि राख्न सकिन्छ ।
 
एकीकृत पाठ्यक्रम भन्ने बित्तिकै एकीकृत शिक्षण, त्यो पनि पूर्ण एकीकृत शिक्षणकै बुझाई हुनगयो । थिममात्र साझा राखिनु, विषयगत कार्यपुस्तक निर्माण गरिनु, साझा थिममा पनि विषयगत रूपमा कार्यघण्टा फरक फरक राखिनु र कार्यपुस्तक शिक्षणका लागि विकास गरिएका शिक्षक निर्देशिकाले पनि एकीकृत शिक्षणका लागि कक्षाकोठामा गर्नुपर्ने  क्रियाकलापका सम्बन्धमा कुनै स्पष्ट तरिका नसुझाउनु आदि कारणले आम रूपमा चर्चा गरिएजस्तै पूर्ण एकीकृत शिक्षण गर्न कठिनाइ हुने देखिन्छ वा सम्भव देखिन्न । तर पाठ्यक्रम निर्माण, कार्यपुस्तक तथा शिक्षक निर्देशिका लेखन आदि कार्यमा संलग्न व्यक्तिहरूले नै पूर्ण एकीकृत शिक्षण गर्नुपर्ने आशयको सन्देश प्रवाह गर्नुले कार्यान्वयनकर्तालाई समस्या परेको वा पर्नसक्ने देखिन्छ ।
 
हाल कार्यान्वयनमा रहेको पाठ्यक्रम निर्माणका सन्दर्भमा विषयको अस्तित्व हटाउने वा कायम नै राख्ने सम्बन्धमा निकै विवाद भएको विषय बाहिर आएको पनि थियो । सिकाइका विषयक्षेत्रहरू समेट्ने गरी क्रियाकलाप पुस्तिका विकास गरी एकीकृत पाठ्यक्रम कार्यान्वयन गर्ने राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६४ को प्रावधानलाई राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मा कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यक्रम पनि विषयगत पहिचान हुने गरी एकीकृत सिद्धान्तका आधारमा विकास गरी कार्यान्वयन गरिने छ भनी संशोधन गरिनुले पनि सोही कुरालाई बल पुर्याउँछ । कहिँकतै उल्लेख गरिएको नपाइएता पनि पूर्ण एकीकृत पाठ्यक्रमका आधारमा क्रियाकलाप पुस्तिकामा जाने कुरा जोखिमपूर्ण देखेर नै विषयगत पहिचान सहितको पाठ्यक्रम कार्यान्वयन गरिएको हुनुपर्छ ।
 
यसो गर्दा, भनिएजस्तै एकीकृत शिक्षण भए तल्ला कक्षाहरूमा खण्डीकृत सिकाइ उपयुक्त नहुने कुराको पालना हुने भयो, विषयगत नै शिक्षण भयो भने पनि यस अघिकै निरन्तरता हुने भयो । अहिलेसम्म भैरहेकै थियो, अब पनि हुने भयो, के बिग्रियो त भन्ने तर्कलाई पनि विषयगत पहिचानयुक्त पाठ्यक्रमले बल पु¥यायो । कार्यान्वयनमा समस्या आइहालेमा पहिले भन्दा नबिग्रिने भएकाले विषयगत पहिचान सहितको एकीकरण पाठ्यक्रम लागू गरिएको भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
 
के मिलेन ?
 
एकीकृत पाठ्यक्रम कार्यान्वयनमा अहिले देखिएको समस्या विषयगत पाठ्यक्रम पनि पूरै छोड्न नसक्ने तर एकीकृत पाठ्यक्रम पनि चाहिने कारणले भएको हो । पाठ्यक्रममा जति वा जुन स्तरको एकीकरण छ, त्यति नै र त्यही स्तरको एकीकरणका बारेमा सरोकारवालाहरूलाई जानकारी गराउनु पथ्र्यो । एकीकृत पाठ्यक्रम र कार्यपुस्तकहरूका बारेमा हामीले ढङ्ग नपु¥याएका कुराहरू तल बुँदागत रूपमा दिइएका छन् :
 
-  कार्यपुस्तकहरू तयार गर्दा सबै विषयका लागि तोकिएका विज्ञहरू भेला नभई आआफ्ना पाराले अन्य कक्षाका विषयगत पुस्तकहरू तयार गर्ने तरिकाले नै काम गर्यौँ । सबै विषयमा रहेका साझा थिममा समेत एकै खालका पाठहरू तयार पारेनौँ । जब कार्यपुस्तकहरू तयार भए तब एकै स्थानमा त बस्यौँ तर एकीकृत शिक्षण गर्न मिल्ने गरी पाठहरू मिलाउने गम्भीर प्रयास गरेनौँ । एक अर्को विषयसँग पाठ मिलाउन लाग्दा थप कार्य गर्नुपर्ने हुने हुँदा सबै विषयका विज्ञहरू पछि हट्यौँ । फलतः साझा थिममा पनि फरक फरक सङ्ख्यामा पाठहरू तयार भए । तालिममा चाहिँ सबै विषयका साझा थिमका पाठहरू एकैसाथ सिकाउने भनेर भन्न छोडेनौँ । 
 
- हामीले एकीकरण जुन स्तरको छ, त्यो भन्दा ठूलो स्तरको एकीकरण हो भनेर शिक्षकहरूलाई अभिमुखीकरण वा तालिम सञ्चालन गर्यौँ । पाठ्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण तालिम चलाउने बेलामा गुगल खोजी गर्यौँ र गुगलमा भेटिएका सबै कुरा प्रशिक्षार्थीलाई प्रवाह गर्यौँ । कार्यपुस्तककै एउटा चित्र स्लाइडमा राख्यौँ । अनि गफ दियौँ ः ती चित्रमा देखिएका कुराहरू नेपालीमा भन्ने, अङ्ग्रेजीमा भन्ने, चित्रमा देखिएका कुराहरू गन्न लगाउने, चित्रमा देखिएका मानिसहरूले लगाएका लुगाहरूको नाम भन्न लगाउने । यसो गर्दा सबै विषय शिक्षण गर्न सकियो । यस्तो खालको गफ सुन्नेले चाहिँ सबै पाठमा गणितको एकीकरण गर्नका लागि सबै पाठमा गन्ने मात्र काम गर्ने हो ? भनेर सोधेनौँ । 
 
- हामीले कम्तिमा पनि थिम प्रष्ट देखिने गरी कार्यपुस्तकहरू तयार पारेनौँ । उदाहरणका लागि, कक्षा १ को गणित विषयको कार्यपुस्तकमा कुन थिम कहाँबाट सुरु हुन्छ भन्ने कुरा सायद त्यही कार्यपुस्तक लेखनमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई बाहेक अन्यलाई थाहा पाउन निकै कठिन पर्छ । कतिपय विषयमा पाठ्यक्रममा भनिएको थिमको नाम जस्ताको तस्तै कार्यपुस्तकमा राखेनौँ । सुझाव दिनेहरूलाई पुरानै पाराको जवाफः सुझावका लागि धन्यवाद, अर्को संस्करणमा सच्याइनेछ भन्ने जवाफ दियौँ तर सच्याउने कुनै प्रयत्न गरेनौँ । 
 
- प्रत्येक कक्षाका सबै विषयका शिक्षक निर्देशिकामा रहने क्रियाकलाप खण्डमा, उक्त क्रियाकलापले कसरी अर्को विषयको सिकाइ उपलब्धि हासिल गर्नका लागि सहयोग पुर्याउँछ वा उक्त क्रियाकलाप कसरी सञ्चालन गर्दा अर्को विषयको विषयवस्तु पनि सिकाउन सकिन्छ भनेर सबै विषयका शिक्षक निर्देशिकामा हामीले प्रष्ट रूपमा उल्लेख गरेनौँ । हरेक विषयवस्तु शिक्षण गर्दा अन्य विषयको कसरी एकीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा ख्याल गर्नुहोस् भन्ने किसिमका सन्देश मात्र दिने खालका वाक्य राखेर हामीले काम सम्पन्न गर्यौँ । अर्थात, हामीले अपजस छल्ने काम मात्र गर्यौँ । 
 
- हामीले पाठ्यक्रम विकास केन्द्रलाई आफूलाई बजारमा सजिलै बिक्ने (निजी प्रकाशनका पुस्तक सम्पादन र लेख्न, स्थानीय पाठ्यक्रम निर्माणमा परामर्शदाता बन्न, सेवा आयोगका कक्षा लिन) पदको सुनिश्चितताको माध्यमका रूपमा प्रयोग गर्यौँ । लेखन कार्यका लागि कार्यदल गठन गर्दा आफ्नो भागको काम पनि गरिदिने खेतालो बन्न तयार विज्ञ छान्यौँ । आफूचाहिँ सकेसम्म छद्म नाममा भएपनि निजी प्रकाशनका पुस्तक लेखनमा लाग्यौँ । केन्द्रभित्रकै विज्ञ भनिनेहरूका बिचको बैठकमा एकअर्काको सुझाव ग्रहण गरेनौँ । फलानो सर÷मिसले ठिक छ भनेको छ, भनेर तर्क गर्यौँ । आफूले खोज्ने प्रयत्न नै गरेनौँ । अङ्ग्रेजी विषयमा 'Look and answer' निर्देशन लेख्ने तर बाहिर ठूला कुरा गर्ने आफूसरहकै विज्ञको हप्कीदप्की खपेर बस्यौँ । आलाकाँचालाई जानीनजानी थाम्नै नसक्ने लेखकको भारी बोकाइदियौँ । निर्देशिकाको विपरित हुने गरी विषय समितिको अध्यक्षलाई नै लेखक समेत मान्यौँ । समग्रमा, हामीलाई पाप लाग्छ कि भनेर एकैपटक पनि सोचेनौँ । हाम्रो कारणले विद्यार्थीमा गलत जानकारी नजाओस् भन्ने कुरामा हुनुपर्ने जति गम्भीर बनेनौँ । ह्या, चलिहाल्छ नि भन्यौँ र म पाठ्यक्रम विकास केन्द्रको विज्ञ हुँ भनेर डङ्का पिटिरह्यौँ ।    
 
के गर्ने त ?
 
यो लेखको उद्देश्य एकीकृत पाठ्यक्रमको विपक्षमा तर्क गर्नु होइन । हामी एकीकृत पाठ्यक्रमको सुरुवाती चरणमा छौँ । हाम्रो गन्तव्य भनेको विषय विहीन कार्यपुस्तिकाको प्रयोग गरी उच्चस्तरको एकीकृत पाठ्यक्रमको कार्यान्वयन नै हो । अहिले कै पाठ्यक्रम र कार्यपुस्तकका आधारमा पूर्ण रूपको एकीकृत शिक्षण सम्भव छैन । चारओटै विषयका कार्यपुस्तकहरू फिजाएर बस्दा पनि पूर्ण रूपमा (पूरै थिमभरी) एकीकृत शिक्षण गर्ने गरी पाठ भेट्न सकिँदैन । कुनै एउटा चित्र देखाएर मानिस गन्न लगाउने, उनीहरू सफासुग्घर छन् कि छैनन् भनेर प्रश्न सोध्ने, त्यो चित्रको बारेमा अङ्ग्रेजी र नेपालीमा व्याख्या गर्न लगाउने गरेपछि सबै विषय पढाउन सकियो, त्यही नै एकीकृत पाठ्यक्रमको उद्देश्य हो भनेर बताउने कार्य चाहिँ छलकपट मात्र हो । कक्षा शिक्षण मार्फत एकै जना शिक्षकले एउटा विषयको पाठ सकेपछि अर्को विषयको विषयवस्तुसँग जोडेर वा सम्बन्ध देखाएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिएमा हालको पाठ्यक्रमको उद्देश्य पूरा हुन्छ । आफ्नो पाठ्यक्रममा जुन तहसम्मको एकीकरण छ, त्यही तहसम्मको एकीकरणको सन्देश प्रवाह गरौँ । गुगलमा भेटिने सबै कुरा देखाएर शिक्षकहरूलाई अलमलमा नपारौँ । अन्टसन्ट गफ दिएर एकीकृत पाठ्यक्रमलाई असफलतातिर नडोहोर्याउँ ।
 
(स्पष्टीकरण : यो आलेख पाठ्यक्रम विकास केन्द्र, सानोठिमी र त्यहाँका विज्ञहरूको आलोचना गर्ने उद्देश्यले तयार पारिएको होइन । एकीकृत पाठ्यक्रममा आधारित भएर कक्षा २ र ३ का कार्यपुस्तक तयार पार्ने अवधिमा म त्यहाँ कार्यरत रहँदाको अनुभवका आधारमा तयार पारिएको हो । लेखमा उल्लेख गरिएका एकीकृत पाठ्यक्रम र अङ्ग्रेजी विषयका सम्बन्धमा रहेका कमी कमजोरीका लागि म पनि उत्तिकै जिम्मेवारी लिन तयार छु र यहाँ उल्लेख गरिएका विचारहरू म हाल कार्यरत संस्थाको संस्थागत विचारहरू होइनन्, मेरा निजी विचार हुन् – लेखक)
 
अधिकारी, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरका प्राविधिक अधिकृत हुन् । 

प्रतिक्रिया