Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

निवर्तमान शिक्षा मन्त्रीको सहजीकरणमा सहमती

बुधबार, ०३ फागुन २०७९

काठमाडौं - सार्वजनिक शिक्षा सुधारका लागि उठाईएका मागलाई अब बन्ने शिक्षा ऐन, नियमावली नीति तथा कार्यक्रममा समावेश गर्ने सहमतीसँगै चार दिन देखि जारी प्रकाश न्यौपानेको आमरण अनसन तोडिएको छ । विभिन्न १६ बुँदे माग सहित आमरण अनसनमा बसेका सार्वजनिक विद्यालय सुधार अभियानका संयोजक न्यौपानेका मागहरुलाई सम्बोधन गर्ने बारेमा निवर्तमान शिक्षा मन्त्री शिशिर खनालले सहजीकरण गरेका थिए । न्यौपानेका मागका बारेमा अध्ययन गरी समाधानको पहल गर्न शिक्षा मन्त्रालयले मंगलबार कार्यदल गठन गरेको थियो । उक्त कार्यदलका सदस्यहरु र अनसनरत न्यौपानेसँग खनालले छलफल गरे पछि अनसन तोड्ने सहमती बनेको थियो । दुई बुँदे सहमतीको पहिलो बुँदामा अनसनरत न्यौपानेको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शान्तिपूर्ण रुपमा अभियान चलाउने उल्लेख छ । दोश्रो बुँदामा पेश भएका मागहरु आउने संघीय शिक्षा ऐन, नियमावली, नीति तथा कार्यक्रममा समावेश गर्न सम्बन्धित पक्षबाट अधिकतम पहल गर्ने उल्लेख छ । 

अनसन तोड्ने सहमती पत्रमा न्यौपाने सहित खनाल र काठमाडौं महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले पनि हस्ताक्षर गरेका छन् । यस्तै कार्यदलका संयोजक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारी, सदस्यहरु काठमाडौंका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल र केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । 

सार्वजनिक शिक्षा सुधारका विभिन्न १६ बुँदे माग सहित माघ २९ गतेबाट दरबार हाईस्कुलमा आमरण अनसन बसेका न्यौपानेलाई मंगलबार धरपकड गरेर प्रहरी बृत्त दरबारमार्ग लगिएको थियो । त्यसपछि वीर अस्पताल भर्ना गरिएका न्यौपानेले अस्पतालको बेडबाटै आमरण अनसनलाई निरन्तरता दिएको बताउँदै आएका थिए ।

नीजि शैक्षिक संस्थामा आम नागरिकका बालबालिकाहरु पढ्न नसक्ने तर सार्वजनिक शैक्षिक संस्थाहरु दिन प्रतिदिन खस्कदै गईरहेका हुनाले आम नागरिकमा चरम निराशा बढ्दै गइरहेको निष्कर्श सहित उनले आमरण अनसन शुरु गरेको बताएका छन् । गुणस्तरीय शिक्षा राजनीतिक दलका नारामात्र भएको बताउँदै उनले शिक्षा नागरिकको जीवन बदल्ने र देशको मुहार फेर्ने आधार कहिल्यै नबनेकोमा चिन्ता ब्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले सार्वजनिक विद्यालय अभिभावक तथा बालबालिकाको पहिलो रोजाईको हुन नसकेको उनको निष्कर्श छ । सार्वजनिक विद्यालयमा अब्बल शिक्षकहरू हुँदा हुँदै पनि चाहार र झोले शिक्षकहरूको हालीमुहाली भएको उल्लेख गर्दै उनले शिक्षा मन्त्रीलाई जानकारी गराएको पत्रमा के हामीले  हाम्रो गाउँ ठाउँको विद्यालय सुधार गर्न सक्दैनौं र ? प्रश्न गरेका छन् । 

उनका मागहरु पढ्नुहोस् : सार्वजनिक शिक्षा सुधारका माग

फोटो : न्यौपानेको फेसबुक 

प्रतिक्रिया