Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विद्यालयमा राजनीति ! कल्पना सम्म गर्न सक्दैनौँ

शुक्रबार, १५ बैशाख २०८०

काठमाडौं - विद्यालय हाता भित्र राजनीतिक दल र उसका भातृ संगठनका कार्यक्रम गर्न रोक लगाएको विरोधमा संस्थागत विद्यालय शाखामा लगाईएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । पालिका भित्रका सबै विद्यालयहरुलाई बुधबार एक निर्देशन दिदैं महानगरले यस प्रकारका कार्यक्रम गरेको भेटिएमा प्रधानाध्यापकलाई विभागीय कारवाही हुने चेतावनी दिएको थियो । त्यसकै विरोधमा बिहीबार कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले लगाएको ताला फोडिएको हो । 

महानगरका मेयर बालेन्द्र शाहले विद्यालयमा राजनीति कल्पना सम्म गर्न नसक्ने भन्दै दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको प्रतिकृया दिएका छन् । 

'विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ । त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो' शुक्रबार विहान फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले भनेका छन् 'यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ ।'

शुक्रबारदेखि महानगरका सबै विद्यालयहरूमा ’बुक फ्री डे’ सुरूआत हुन लागेको र त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री सोही कोठामा भएको हुँदा ताला फोडिएको महानगरले बताएको छ । 

केही विद्यालयहरुमा राजनीतिक दल र उसका भातृसंस्थाहरुले कार्यक्रम गरेको उजुरी प्राप्त भएकोले यस्तो निर्देशन दिनु परेको महानगरले बताएको थियो । सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दल आवद्ध भएका कारण आफ्ना दल र भातृ संगठनका कार्यक्रम विद्यालयहरुमा निर्वाध हँदै आएका छन् । यसैगरी निजी विद्यालय सञ्चालकहरुले आफ्नो राजनीतिक पहुँच देखाउन त्यस्ता कार्यक्रम आयोजनामा सघाउँदै आएका छन् । यसले गर्दा बालबालिकाको पठन पाठनमा असर परेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया