Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

पूर्व प्राथमिक कक्षामा वृद्धि तर कक्षा १ प्रवेश गर्ने विद्यार्थी दर घट्दो

सोमबार, १५ जेठ २०८०

काठमाडौं - पूर्व प्राथमिक कक्षामा वृद्धि भए पनि कक्षा १ प्रवेश गर्ने विद्यार्थी दर घट्दो रहेको तथ्याँक सरकारले सार्वजनिक गरेको छ । २०७९ को आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार शैक्षिक सत्र २०७८ मा ३६ हजार ५ सय ३१ प्रारम्भिक बाल विकास तथा पूर्व कक्षाहरु सञ्चालनमा रहेकोमा २०७९ मा त्यसमा पनि वृद्धि भएको छ ।

तर, यही समयमा कक्षा १ मा प्रवेश गर्ने विद्यार्थी दर भने घटेको छ । आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार २०७८ मा कक्षा १ मा कूल प्रवेशदर १२७.० रहेकोमा २०७९ मा त्यसमा घटेर १२५.७ पुगेको छ भने कक्षा १ कै खुद प्रवेशदरमा पनि गिरावट आएको छ ।

स्थानीय तहबाट थप प्रारम्भिक बाल कक्षाको अनुमति प्रदान गरिएको र गत वर्षको तुलनामा यस वर्ष संस्थागत विद्यालयहरुको रिपोर्टिङमा वृद्धि भएको कारण प्रारम्भिक बाल विकास तथा पूर्व प्राथमिक कक्षाको संख्या बढेको सर्वेक्षणको निश्कर्ष छ । हाल देशभर ४० हजार ६५६ वटा प्रारम्भिक बालविकास केन्द्र पुगेको छ । सार्वजनिक तथ्यांकले ३३ हजार ७ सय सामुदायिक र ६ हजार ८९४ संस्थागत प्रारम्भिक बाल विकास केन्द्र पुगेको उल्लेख छ । 

बालविकासको अनुभव लिई कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या बढे पनि २०७८ मा कक्षा १ मा खुद प्रवेशदर ९६.३ रहेकोमा २०७९ मा ९५.९ मा झरेको छ । सो प्रवेशदर ६ वर्ष अघिको प्रवेशदरमा झरेको हो । ६ वर्ष अघि अर्थात् २०७४ मा पनि प्रवेशदर ९५.९ रहेको थियो ।

कक्षा १ को कूल र खुद प्रवेशदर ऋणात्मक भए पनि कक्षा १ देखि ५, कक्षा १ देखि ८ सम्मको भर्नादर भने धनात्मक देखिएको तथ्यांकले देखाएको छ ।

आर्थिक सर्वेक्षणमा गत शैक्षिक सत्र २०७८ भन्दा शैक्षिक सत्र २०७९ मा विद्यार्थीको संख्या वृद्धि भएको उल्लेख छ । सो अवधिमा २.५ प्रतिशतले विद्यार्थी वृद्धि भएको छ । सोही वृद्धि भएका कारण २०७९ मा ७२ लाख ६९ हजार ५५१ जना पुगेको छ ।

तथ्यांकका अनुसार कक्षा १–५ मा कुल भर्नादर र खुद भर्नादर क्रमशः १२९.५ र ९७.१ पुगेको छ । सो दर २०७८ मा क्रमश ः १२२.० र ९६.९ रहेको थियो ।

यस्तै कक्षा १–८ को कूल भर्नादर र खुद भर्नादर पनि बढेको देखिएको छ । सो तहमा खासै अन्तर आउने अंकले भने वृृद्धि भएको देखिँदैन । सो तहमा २०७८ मा कुल भर्नादर ११८.० र ९५.१ रहेकोमा २०७९ मा तिनीहरुमा क्रमशः बढेर ११९.३ र ९६.१ पुगेको छ ।

यसैगरी कक्षा ९ र १० को खुद भर्ना दरमा पनि वृद्धि भएको छ । तथ्यांक अनुसार सो तहमा २०७८ मा ७६.१ प्रतिशत खुद भर्नादर रहेकोमा २०७९ मा ७६.५ पुगेको, कक्षा ९–१२ मा खुद भर्ना दर ५७.४ पु्गेको शिक्षा मन्त्रालय स्रोतले जनाएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।


यो पनि पढ्नुहोस् : अझ पनि झण्डै ४ प्रतिशत विद्यार्थी विद्यालय बाहिर

एक हजार छ सय ६४ विद्यालय थपिए

प्रतिक्रिया