Edukhabar
विहीबार, १० जेठ २०८१
विचार / विमर्श

असल शिक्षकको महाप्रस्थान !

'अल बिदा' पेशल सर

शुक्रबार, ०५ साउन २०८०

मुसलधारे पानी बर्सिरहेको थियो, मनमा हुण्डरी । भक्तपुरको कौशलटारबाट पशुपती सम्मै एकनासको जाम थियो । अनि मेरो मनमा उहि गतिमा हुण्डरी र पिडा मडारिईरहेको थियो । घरबाट निस्किने बित्तिकै जाममा परे । पहिलो साउने सोमबार भएर होला पशुपतीनाथ तर्फ जाने र फर्किने सवारी साधनको चाप बराबरी जस्तै थियो । मुसलधारे पानीको बीचमा करिब ५ किलोमिटर बाटो पार गर्न झण्डै दुई घण्टा लाग्यो । विगतमा यस्तो जाममा पर्दा मनमा सयौं प्रश्नहरु उठ्थे । आक्रोश बनाउँथ्यो । मनमनै रिसाउँथे, मुर्मुरिन्थे । खासमा मलाई सडकमा हुने घण्टौं लामा जाम संसारकै अचम्म मध्येको एक हो जस्तो लाग्थ्यो । तर गत साउन १ गते त्यसरी सोच्न सक्ने अवस्थामा थिईन । जसरी हुन्छ छिटो पशुपति पुग्नु थियो ।   

दिउसो साढे बाह्र बजेतिर शुभेच्छाले फोन गरेर पेशल सरको पछिल्लो अवस्थाको बारेमा बताएकी थिईन । उनको बोली सुन्दा नै यो अवस्थाको संकेत मिलिसकेको थियो । अस्पतालमा पुर्याएको विरामीलाई डाक्टरले “सरी” भनेपछि जाने ठाउँ कहाँ नै हुन्छ र ! अनुरोध अनि अनुनय विनय गर्ने ठाउँ कहाँ नै हुन्छ र ! बेसाहारा हुनेबाहेक आफन्तको गर्न सक्ने के नै पो हुन्छ र ! त्यहि अवस्था परिवार र हामी शुभेच्छुकले भोगिरहेका थियौं ।   

प्रायः मलाई झरीमा यात्रा गर्न रमाईलो लाग्छ । बच्चामा झम्के पानीमा खरपाखामा गएर घाँस सेउला काटेको कारणले पनि होला पानीमा रूज्दै हिँड्दा मलाई बच्चापनको रमाईलो याद आउँछ । तर आज त्यस्तो भएन । मनै निराश भएपछि, पिडा भएपछि र उराठ भएपछि बाहिरी संसार जस्तो भए पनि केहि फरक पर्दो रहेनछ । सडकको भिडभाडले खासमा केहि छोएकै थिएन । त्यत्रो भिडमा पनि निसाहारा अनुभव गरिरहेको थिएँ । मेरो दिमागमा केवल ५७ वर्षको अल्पायुमा मृत्युसँग अन्तिम लडाईमा असफल हुनुभएका पेशल सरको चिन्ताले सताएको थियो । सरसँगका बिताएका समय मात्रै दिमागमा आईरहेको थियो । उहाँले निरन्तर दिईरहनु भएको प्रेरणा, उत्साह, साहस र विश्वास एक पछि अर्को गर्दै दिमागमा आईरहेको थियो । आफ्ना हरेक विद्यार्थीलाई मात्र होईन जिज्ञासु र रूची भएका हरेक व्यक्तिलाई लेख्न र पढ्न प्रेरित गरिरहने पेशल सर आज आफै भने एक महिनाको मृत्युसँगको संघर्षमा असफल हुनुभएको कुरा पत्याउन गाह्रो भईरहेको थियो । 

करिब २ घण्टाको संघर्षपुर्ण जामलाई मैले छिचोलेँ । पशुपति पुगेँ । रामेछापका साथीहरु, अग्रजहरु, अन्य शिक्षकहरु तथा विभिन्न व्यक्तिहरु म भन्दा अगाडी नै पुगिसक्नु भएको थियो भने कतिपय आउँदै हुनुहुन्थ्यो ।
विद्युत शवदाह गृहमा अन्तिम संस्कार गर्ने भनिए पछि हामी पनि त्यहिँ पुगेका थियौँ । 

उपस्थित सबै पिडामा थियौँ । पेशल सरले दिनु भएको प्रेरणाले आफ्नो जीवनमा परेको प्रभावको बारेमा एक आपसमा कुरा गरिरहेका थियौँ । 

ब्रम्हनालबाट सरको पार्थिव शरीर विद्युतीय शवदाह गृहमा ल्याए पछि सरसँग जीवनकै अन्तिम भेट भयो । तर यो भेटमा सरले दिपेश भाई ! भनेर बोलाउने अवस्था थिएन । 

आँखाभरी आशु र मनभरी पिडा बोकेर अलि टाढैबाट सरलाई अन्तिम पटक नमस्कार गरेँ र म बाहिर निस्किएँ । 

करिब दुई घण्टाको प्रतिक्षा पछि पालो आयो । 

सरको पार्थिव शरिरलाई विद्युत शवदाह गृहमा राखियो । 

सर हेर्दा हेदै धुवाँ हुनुभयो !

... 

म सामाजिक सञ्जाल मध्ये फेसबुकमा मात्र सक्रीय छु । हरेक व्यक्तिको निधन भएसँगै मलामी गएर फर्के पछि वा मलाम जान नसक्ने अवस्थामा जानकारी पाए पछि म सबैभन्दा पहिला फेसबुकको साथीबाट उक्त व्यक्तिलाई अनफ्रेन्ड गर्ने गर्छु । ताकी उहाँसँगका सम्झनाहरु धुमिल हुदै जाउन् । 

आफ्नो दिन त विताउनै छ । आफ्नो काम त गर्नै छ । अनि वितेर जाने व्यक्तिको सम्झनालाई विस्तारै धुमिल बनाउँदै पनि लानु छ । नत्र बाँच्न, केहि गर्न र मेहनत गर्नै मन नलाग्ला भन्ने लाग्छ ।  

पेशल सरलाई अन्तिम विदाई गरेर घर पुगेर फेसबुक खोलेँ । फेसबुकको वाल सरलाई श्रद्धाञ्जली दिएर भरिएका थिए । उहाँका हजारौं विद्यार्थी, साथी, चिनजानका व्यक्तिहरु भावविव्हल भएर फेसबुकमा लेखिरहेका थिए ।  

मैले केहि समय मोबाईलको स्क्रिन स्क्रोल गर्दै हेरेँ । मैले कसै गरेपनि सरलाई हार्दिक श्रद्धाञ्जली लेख्न सकिन । न त अन्यले लेखेको स्टाटसमै सोहि अनुसार प्रतिक्रिया नै दिन सकेँ । सरको नामको अगाडी एक पटक पनि मैले श्रद्धाञ्जली लेखिन । त्यो आँट म सँग थिएन ।  

अन्य व्यक्तिलाई जस्तै म सरलाई पनि फेसबुकबाट अनफ्रेण्ड गर्न चाहन्थेँ । ताकी घरी घरी सँगै ट्याग भएका सम्झनाहरु नआउन् । तर त्यो भन्दा पहिला मैले म्यासेन्जर हेरेँ । पछिल्लो पटक सरले मेरो विद्यावारिधि सम्पन्न गरेकोमा बधाई दिनु भएको रहेछ । त्यस पछि उहाँले केहि हप्ता रेष्ट लिएर बालबालिकाको लागि प्रेरणा दिने गरी आफ्नो बाल्यकालको सम्झना लेख्नको लागि आग्रह गर्नु भएको रहेछ । उहाँले भन्नु भएको रहेछ “दिपेश भाई तपाईंको बाल्यकाल खासगरी ८ देखि १२ वर्ष सम्मको संस्मरण लेख्नुस् । अहिले माध्यामिक तहमा अध्ययन गरिरहेका बालबालिकाहरुले प्रेरणा लिन सक्छन् ।” 

“बच्चाको बारेमा बच्चाको लागि लेख्ने काम असाध्यै गाह्रो काम हो । खै मेरो बुताले भ्याउँछ कि भ्याउँदैन भन्ने लाग्छ सर ।” मैले जवाफ दिएको रहेछु । 

“तपाईको बाल्यकाल जे लेखे पनि म बनाएर छाप्छु । त्यो अवश्य राम्रो हुनेछ । आफ्नो भोगाई लेख्नुस्, सिद्धान्त होईन, बाल भोगाई ।” सरको उत्तर रहेछ । 

“हुन्छ म प्रयास गर्छु सर ।” मेरो जवाफ 

“सकिन्छ, सक्नुहुन्छ, मेरो विश्वासले भन्छ । विस्तारै लेख्नुस् । सम्पादन म गर्छु । बेमिसाल दामी हुनेछ त्यो बाल्यकाल ।” सरको प्रोत्साहन । 

“म लेखि हेर्छु सर ।” मेरो जवाफ 

“कत्रो कत्रो काम त गर्नु भयो लेख त सकिन्छ क्या ! तपाईले सफलता हासिल गर्दा म अति खुसी भएको छु ।  बच्चाको लेख लेख्दा नढाँटी लेख्नु कति उमेरको लागि हो । त्यो लेखन आफैमा सफल हुन्छ । यो मेरो विश्वास हो ।” सरले जवाफ दिनु भएको रहेछ । 

“हुन्छ सर ।” मैले छोटो जवाफ दिएको रहेछु । 

“म सक्ने कुरामा मात्र सल्लाह दिन्छु । तपाईले आफ्नो पुरै बाल्य जीवन लेख्न सक्नुहुन्छ । त्यो दामी पनि हुन्छ । तर यथार्थ लेख्नु । धेरै चर्चित हुन्छ त्यो किताब । तपाई पुरै जीवनको आरोह अवरोध सबैको साक्षी मध्ये एकजना म पनि हुँ ।

मेरो मनले त्यहि भन्छ तपाई आँट गर्नुस् बाँकी म सहयोग गरौँला ।” 

“म भर्खर सिक्दैछु सर । अलि पछि लेख्छु नि ।” मैले दिएको जवाफ 

“उर्जा अनन्त छ तपाईंमा । पछि भन्ने समय आउँदैन । मैले ३ महिनामा बेलगाम डायरी लेखेँ ।” 

पढ्दै जाँदा म यहाँ भन्दा अगाडी हेर्न सकिन । मेरा आखा आँशुले अलि अघिनै भरिईसकेका थिए । ति आँशु मोबाईलको स्क्रिनमा झर्न थाले । मैले मोबाईल बन्द गरेँ ।  

पछि भन्ने समय आउँदैन भन्ने सरको भनाईले मलाई असिम पिडा दियो । 

मेरा आँखाबाट आँशु बर्सिन थाले । 

निष्पट्ट अध्यारो थियो कोठा । 

म बेडबाट उठेँ । 

घरको छतमा गएँ । शहरलाई नियाले । आँखा भरिएका आँशु बाहिर निस्किरहेका थिए । 

शहरको उज्यालो धमिलो देखिएको थियो । 

धेरैबेर आँशु झार्दै टोेलाएर बसिरहेँ । 

न म सँग भन्नलाई केहि थियो । न गर्नलाई केहि काम थियो । 

धेरै समय किंकर्तव्यविमुढ भएर मनभरी निष्पट्ट अध्यारो बोकेर बाहिरी शहरको उज्यालोलाई नियाली रहेँ । 

... 

मेरो लेखनीको आधार भनेको पेशल सरको प्रेरणा नै हो । 

कक्षा ९ मा हाम्रो भेट भए देखिनै उहाँले मलाई सिर्जनशील लेखनमा जहिल्यै प्रेरणा दिईरहनु भयो । कक्षा कोठामा पनि र बाहिर पनि । हामी केहि समय रामेछापको मन्थलीमा एउटै घरमा भाडामा बस्थ्यौँ । सरसँग नियमित भेट भईरहन्थ्यो । साँझ विहान पनि । विदाको समयमा पनि । त्यो समयमा उहाँ उत्प्रेरणा दिईराख्नुहुन्थ्यो । 

पेशल सरमा अध्ययन र लेखनको अति नै प्यास थियो । अनि साहित्यमा आकर्षण । बजारमा आएका हरेक नयाँ किताब पेशल सरले पढिसक्नु भएको हुन्थ्यो । अनि हामीलाई यो पढ भनेर सल्लाह दिनुहुन्थ्यो । 
जीवनमा जे छ त्यसमा सन्तुष्ट हुनुहुन्थ्यो । पढाई लेखाईले गर्दा होला उहाँका अरु रुची र चाहनाको बारेमा हामी त्यत्ति जानकार पनि थिएनौँ । 

हरेक विद्यार्थीले पढ्ने र लेख्ने बारेमा केहि प्रस्ताव लिएर गयो भने उहाँ कसैलाई पनि निरुत्साहित गर्नुहुन्थेन । उक्त व्यक्तिले मनग्यै प्रेरणा लिएर फर्किन्थ्यो । 

हरेक व्यक्तिलाई समान रुपमा प्रेरित गर्ने, माया गर्ने र सहयोग गर्ने उहाँको विशिष्ट बानी थियो । 

म सोचिरहेँ । आँखा आँशुले भरिएकै थिए । 

म जे गर्दैछु । जे मा खुसी खोजी रहेको छु । जे गर्दा मलाई आनन्द आउँछ । त्यो सबैको जग पेशल सरले त निर्माण गरिदिनु भएको हो । मैले त्यो जगमा पछि तला थपेको मात्र न हो । मैले आफैँले के नै पो गर्न सकेको छु र ! 

यस किसिमको प्रेरणा सरले आफ्नो जीवनको अन्तिम सम्बाद सम्म दिईरहनु भएको थियो । अन्तिम दिनसम्म पनि हामी बीचमा भएको कुरा लेखनीसँगै जोडिएका थिए । अनि झण्डै २४ वर्ष पछि पनि उत्तिकै र उसैगरी प्रेरणा र प्रोत्साहन दिईरहनु भएको थियो । सरले मलाई तिमीमा अथाह सम्भावना छ प्रयास गर भनेर प्रेरित गरिरहनु भएको थियो । 

कुनैबेला यहि प्रोत्साहनले मलाई आँट भरिरहेको थियो । तर आज म यहि सम्झेरै विव्हल भईरहेको थिएँ । 

भविष्यमा सरले दिनुभएको प्रेरणा अनुरुप म लेख्न सक्छु सक्दिन त्यो थाहा छैन । दिन दिनै घच्घच्याउने एकजना अभिभावकलाई ५७ वर्षको अल्पायुमै विदा गर्नु परेको छ । जसले म जस्तो एउटा “व्याक बेञ्चर” लाई प्रेरित गर्दै गर्दै यहाँसम्म ल्याईदिनु भएको छ । अब त्यस किसिमको प्रेरणा र प्रोत्साहन दिने शिक्षकको जीवनमा जहिल्यै अभाव खड्किईरहने छ । 

... 

मैले जति गरेपनि पेशल सरलाई फेसबुकमा अनफ्रेण्ड गर्न सकिन । र म जीवनभर यो काम गर्न सक्ने छैन । 

जुन दिन मलाई प्रेरणा र उत्साहको आवश्यकता पर्दछ त्यो दिन पढ्नको लागि मसँग त्यहि म्यासेन्जरमा भएका संवाद रहिरहने छन् । 

यो लेखमा यस भन्दा बढी मैले अरु केहि लेख्न सकिन । अहिलेसम्म मेरो हात राम्रोसँग लागेका छैनन् । मस्तिष्कले राम्रो काम पनि गरिरहेको छैन ।  

यत्ति भन्छु म जीवनभर यहाँले देखाउनु भएको बाटोमा हिँडिरहन सकौँ । यहाँले जस्तै गरी आफ्नो विद्यार्थीलाई प्रेरित गरिरहन सकौँ । यहाँको आर्शिवाद सधै रहिरहोस् । 

अलविदा पेशल सर !

- सुशासन र समसामयिक विषयमा कलम चलाउँदै आएका त्रिभुवन विश्वविद्यालय समाज शास्त्रका उप प्राध्यापक समेत रहेका लेखक घिमिरेलाई विद्यालय तहमा पढाएका शिक्षक पेशल आचार्य रामेछापको मन्थली स्थित शहीद स्मृती माविका सहायक प्राचार्य थिए । लामो समय शिक्षणमा आवद्ध भए पनि स्थायी शिक्षकका रुपमा नियुक्ति भए पछिको गणना अनुसार उनी आगामी पुसमा निवृत्त हुँदै थिए । ब्रेन ट्युमरका कारण उनको अल्पायुमै निधन भएको हो – सं.। 

प्रतिक्रिया