भक्तपुर - दलीय ट्रेड यूनियन खारेज गर्ने सरकारको घोषणा लगत्तै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन विघटनको घोषणा गरिएको छ । यूनियनमा संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट कर्मचारी आवद्ध थिए । शासकीय सुधारका लागि सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा उल्लेख ट्रेड यूनियन खारेज गर्ने निर्णयलाई स्वागत गर्दै भङ्ग गरिएको यूनियनले जनाएको छ । यूनियनका अध्यक्ष राजु ओलियाले आईतबार एक सूचना जारी गर्दै आजै देखि यूनियन भङ्ग भएको जनाएका हुन् ।
'नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु मध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भए बमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ' युनियनले जारी गरेको सूचनामा भनिएको छ ।
जेन जी बिद्रोहको जगमा भएको निर्वाचनको म्याण्डेड अनुसार गठित सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी कार्यसूची स्वीकृत गरेको थियो । उक्त कार्यसूचीमा निजामती कर्मचारी सँगै शिक्षक, प्राध्यापकले कुनै पनि दलमा आवद्ध हुन नपाउने र दलीय ट्रेड यूनियन खारेज गरी अवाञ्छित र अनौपचारिक दबाबको अन्त्य गर्ने विषय समेटिएको छ ।
बोर्डमा यूनियन बाहेक नेपाल राष्ट्रिय कर्मचारी संगठन र निजामती कर्मचारी संगठन सकृय छन् । श्रम ऐन २०७४ र ट्रेड यूनियन ऐन २०४९ ले गरेको व्यवस्थाका आधारमा कर्मचारीको पेशागत र श्रमका मुद्दामा वकालत एवं पैरवी गर्न आफूहरु संगठित भएको ती संगठनका नेताहरुले तर्क गर्दै आएका छन् । तर, यस्ता संगठनका नेताहरुले अनावश्यक मोलाहिजा गर्ने र अवाञ्छित एवं अनौपचारिक दबाब दिदैं आएको ठहर सहित सरकारले खारेज गर्ने निर्णय गरेको हो ।
बोर्डमा स्थायी दरबन्दीका सहित मासिक ज्यालादारी, अस्थायी र करार गरी तीन सय २२ कर्मचारी कार्यरत छन् । यी कर्मचारीहरु कुनै न कुनै दल निकट संगठनमा आवद्ध छन् ।
प्रतिक्रिया