Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
गतिविधि

विद्यालय अनुगमन : देखावटी कि साँच्चिकै ?

अनुगमनका लागि कतिपय पालिकामा छैनन् कर्मचारी, भएकालाई छैन फुर्सद !

आइतबार, ०७ साउन २०८०

भक्तपुर  - माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकार मातहत भएसँगै विद्यालय शिक्षामा विगतमा हुँदै आइरहेको विद्यालय अनुगमनमा सुस्तता आइरहेको यथार्थ हो । शिक्षाको अधिकार पालिका केन्द्रीत हुँदा सो शाखाका अधिकारीहरुले आफूहरुसँग विद्यालय अनुगमनका लागि कर्मचारी नभएको र अनुगमनका लागि फुर्सद नभएको भनी पन्छिने गरेका छन् ।

विद्यालय र विद्यालयको कक्षाकोठामा आवश्यकता अनुसार अनुगमन पुग्न नसक्दा त्यसको सीधा असर शिक्षाको गुणस्तरमा परिरहेको शिक्षा सरोकारवालामात्र हैनन्, शिक्षाविद्हरुको पनि तर्क छ । विद्यालयको अनुगमनका लागि न पालिकाका प्रमुख, उपप्रमुख, न त शिक्षाका अधिकारीले नै प्राथमिकतामा राखेका छन् । यस्तो यथार्थबीच भक्तपुरको चाँगुनारायण नगरपालिकाले भने विद्यालय अनुगमनलाई तीव्रता दिएको छ ।

आर्थिक वर्षको सुरुको समयमा अन्य कामको खासै चटारो नुहने मौकालाई नगरपालिकाको शिक्षा शाखा र नगरको शिक्षा सुधारका लागि गठन गरेको कार्यदलले विद्यालय–विद्यालयमा पुगी अनुगमन गरेको छ ।
शाखाका अनुसार अनुमगनमा नगरपालिकाले विषय विज्ञ, नगरपालिकाका, जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारीलगायतको सहभागिता रहेको छ ।

उनीहरुले विद्यालय–विद्यालयमा पुगेर विद्यालयको भौतिक अवस्था, शैक्षिक अवस्था तथा जनशक्ति, विद्यार्थी संख्या, विद्यार्थीको नियमितता, विद्यालय खाजाका साथै विद्यालयले गरिरहेका शैक्षिक अभ्यासहरुबारे शिक्षक तथा प्रधानाध्यापकसँग प्रश्नोत्तर गर्ने गरेका छन् । 

विद्यालय अनुगमनलाई नगरपालिकाको नियमित काम भएको उल्लेख गर्दै अनुगमनले विद्यालयका राम्रा पक्षबारे जानकारी मिल्ने र आवश्यक पक्षमा विज्ञ टोलीले सुझाव समेत दिने गरेको शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काले बताए । उनले विद्यालय अनुगमनका क्रममा टोलीले कक्षाकोठाको समेत स्थलगत अध्ययन गरी विषय शिक्षकलाई आवश्यक पृष्ठपोषण समेत गरिएको जानकारी दिए ।

anugaman 1शिक्षा शाखा प्रमुख खड्काले हालसम्म नगरपालिकाले वडा नं. १ स्थित विनायक सरस्वती आधारभूत विद्यालय, मनोहरा आधारभत विद्यालय; वडा नं. २ स्थित गणेश आधारभूत विद्यालय, चेतना आवि, वडा नंं ३ स्थित यापी भैरव आवि, बालभुषण आवि र वडा नं. ९ स्थित फैढोका आवि र गणेश माविमा अनुगमन गरिएको बताए ।

अनुगमनका क्रममा शिक्षकले डायरीको प्रभावकारी तवरले कार्यान्वयन नगरेको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए । उनले शिक्षकलाई नगरपालिकाले शिक्षक डायरी दिएर, सो डायरीमा पाठ योजना बनाएर मात्र कक्षाकोठामा प्रवेश गर्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन सन्तोषजनक नभएको बताए ।

अनुगमनको क्रममा विद्यालय खाजा कार्यक्रम राम्रो, शिक्षक र विद्यार्थीको उपस्थिति सन्तोषजनक र विद्यालय व्यवस्थापन समितिको बैठक नियमति हुने गरेको पाइएको शिक्षा शाखा प्रमुख खड्काले जानकारी दिए ।

विद्यालयमा गरिएको अनुगमन टोलीको अनुगमन भने खासै प्रभावकारी नभएको विद्यालयका शिक्षकहरुको गुनासो छ । ‘आउँछन्, जान्छन्, स्कूल र शिक्षकको पेशागत समस्याबारे खासै चासो देखाउँदैनन्’, नाम नभन्ने भन्दै एक शिक्षकले भने, ‘नमस्कार खान, भत्ता पचाउन मात्र आएजस्तो गरी अनुगमन गरेर विद्यालय सुध्रिँदैन, अनुगमनमा आउनेहरुले शिक्षकहरुका समस्या, विद्यालयका समस्या समाधान गर्ने उपाय सहित आउनुपर्छ ।’

उनले अनुगमनका क्रममा आएका टोलीका सदस्यहरुले समस्याबारे एक कानले सुन्ने र अर्को कानले उडाउने गर्दा विद्यालयहरु आश्वासनकै भरमा चलाउनु परेको बताए । 

‘अनुगमन त गरे, अनुगमनमै आएकाहरुको समस्या पहिला हामी विद्यालयले सुन्नुपर्छ’, अर्का एक शिक्षकले पनि नाम उल्लेख नगर्ने सर्तमा भने, ‘के कुन जाति उखानजस्तो टाउको दुखेको ओखती नाइटोमा लाई खाले सुझाव दिएर जान्छन् ।’

नगरपालिकाले सामुदायिक र संस्थागत दुबै प्रकारका विद्यालयको अनुगमन योजनाबद्द रूपमा हुने जनाएको छ ।

अनुगमनमा देखिएका केही कैफियतलाई विद्यालयले एक महिना भित्र अनुभव गर्न सकिने गरी कार्य योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएको अनुगमन टोलीले जनाएको छ ।

शाखा प्रमुख खड्काले शिक्षा, विद्यालय, नगरपालिका, अधिकारी, जनप्रतिनीधिबारे शिक्षकको आफ्नै गुनासो हुनुलाई स्वभाविक मान्नुपर्ने बताउँदै शिक्षकका तिनै गुनासो सम्बोधनको प्रयासका लागि पनि अनुगमन गरिएको बताए ।

प्रतिक्रिया