Edukhabar
विहीबार, १० जेठ २०८१
विचार / विमर्श

भाइलाई पत्र : कुन विषय लिएर पढ्नु ठिक होला !

विषय रोज्नु अघि आफ्नो शैक्षिक, बौद्धिक र आर्थिक क्षमतालाई ध्यान दिन आवश्यक

मंगलबार, १६ साउन २०८०

प्यारो भाइ,

म यहाँ आराम छु । घरतिर पनि सबै सञ्चै हुनुहुन्छ होला । आमा बुबालाई मेरो सेवाढोग छ । कक्षा १० को अन्तिम परीक्षामा राम्रो जीपिए ल्याएको थाहा पाउँदा खुसी लाग्यो, बधाई छ । तिम्रो सानै देखिको इच्छा डाक्टर बन्ने थियो तर अस्तिको पत्रमा कि कृषि विज्ञान पढेर नेपालको कृषि क्षेत्रमा योगदान दिने होला भनेर मेरो राय मागेका रहेछौ । कुन विषय लिएर पढ्नु ठिक होला भन्ने तिम्रो जिज्ञासालाई सम्बोधन गर्न यो चिठी लेखेको छु । 

भाइ, शिक्षा जीवनको अभिन्न अङ्ग हो । संसारमा जे जे प्रगति भइरहेका छन्, ती सबै शिक्षाका कारण सम्भव भएका हुन् । पढेर राम्रो गरी मानव समुदायको भलाइ गर्नका लागि भने विभिन्न क्षेत्रहरू छन् । उदाहरणका लागि विज्ञान विषय अन्तर्गत चिकित्सा विज्ञान, इञ्जिनियरिङ, खगोल विज्ञान, वन विज्ञान, कृषि विज्ञान, बाली विज्ञान जस्ता थुप्रै शाखाहरू रहेका छन् । यिनका पनि विविध प्रशाखा छन् । इञ्जिनियरिङका पनि सिभिल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रिकल आदि प्रशाखा छन् । कानुन, व्यवस्थापन, कला, साहित्य, शिक्षा, आमसञ्चार, फेसन डिजाइन लगायत शिक्षाका थुप्रै अन्य पाटाहरू पनि छन् । यी सबै क्षेत्र समाजका लागि उत्तिकै आवश्यक र महत्वपूर्ण  छन् । 

म थप उदाहरण दिएर प्रष्ट पार्न चाहन्छु, यदि कोही बिरामी भएमा अस्पताल लैजानु पर्छ । झट्ट हेर्दा त्यति बेला सबै भन्दा ठुलो डाक्टर नै लाग्छ तर यसो गुन त, अस्पताल जाँदै गर्दा बाटामा पुल पनि तर्नु पर्छ । अस्पतालमा आर्थिक कारोबार गर्नु पर्छ । हरेक जसो अस्पतालमा अभिलेख व्यवस्थापनका लागि प्रविधिको प्रयोग गरिएको पाइन्छ । अस्पताललाई सही तरिकाले सञ्चालन गर्न कुशल प्रशासक पनि चाहिन्छ । अस्पताललाई सेवा सुविधायुक्त र गुणस्तरीय बनाउन राज्यको नीति पनि सँगै जोडिएर आउँछ । अस्पताललाई सफा सुघ्घर राख्न सफाई मजदुर पनि चाहिन्छ, अस्पतालमा केही निर्माण गर्नु पर्यो भने निर्माण मजदुर चाहिन्छ । अस्पतालका उपकरणहरु बिग्रियो भने मर्मत गर्न प्राविधिक पनि चाहिन्छ, अस्पतालको सुरक्षाका लागि सुरक्षाकर्मी पनि चाहिन्छ । बिरामी जाँच्ने डाक्टरका साथै पुल बनाउने इञ्जिनियर, बैङ्कर, मजदुर, प्राविधिक जनशक्ति, प्रशासक र राजनीतिज्ञ सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । मात्रै खाँचो भनेको हरेक पेशा प्रतिको सम्मान र ईज्यत हो । 

जुन विषय पढे पनि समाजमा काम लाग्छ तर राम्रो गर्न सक्नुपर्छ । कृषि हाम्रो मुख्य पेशा हो । यो देशको मुहार फेर्न तराई, पहाड तथा हिमाली भेगमा मौसम सुहाउँदो खाद्यान्न, फलफूल तथा जडीबुटी खेती गर्न कृषिमा उच्च शिक्षा हासिल गरेको प्राविधिक जनशक्तिको  आवश्यकता छ । नेपाल जस्तो देशमा ग्रामीण विकास, कृषि तथा पर्यटन, होटल व्यवस्थापन, भूगोल, इतिहास र सांस्कृतिक अध्ययन जस्ता  विषयको पनि उत्तिकै महत्त्व रहेको छ । अहिलेको जमाना विज्ञान र प्रविधिको छ, यो युग बिस्तारै कृत्रिम बौद्धिकताको हुँदै छ । यहाँ केही गर्नका लागि सूचना तथा सञ्चार प्रविधिको क्षेत्र पनि उत्तिकै उर्वर छ । शिक्षा र मानविकी समूहको कुनै पनि विषय राम्ररी पढेर नमुना शिक्षक हुन तथा कुशल प्रशासक बनेर नीति निर्माणको तहमा पुगी शिक्षा तथा प्रशासनिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन पनि सकिन्छ । शिक्षालाई श्रमसँग जोड्नु र उद्यमशीलताको विकास गर्नु आजको चुनौती हो । हामै्रै आँखा अगाडि साधारण धारको शिक्षा पढेका उद्यमीहरूले उच्च प्राविधिक जनशक्तिलाई कैयौँ रोजगार दिएका छन् ।

चाल्र्स डार्बिनलाई परिवारले चिकित्सक बनाउन खोजे तर उनी जीव वैज्ञानिकका रूपमा संसार प्रसिद्ध भई छाडे, लाखौँ महिलाको प्रेरणा स्रोत फ्लोरेन्स नाइटिङ्गेललाई पनि उनका बाबाले नर्स बनाउन खोजेका थिएनन् तर आज फ्लोरेन्स र नर्स पेशा पर्याय जस्ता भएका छन्  । डाक्टर बन्न खोजेर असफल हुनेको भीडमा के हाम्रै देशका इतिहासकार बाबुराम आचार्य, भूगोलविद् हर्क गुरुङ महान् छैनन् ? उपेन्द्र देवकोटा र सन्दुक रुइतले चिकित्सा क्षेत्र रोजेर मानव समाजको सेवा गरे, लक्ष्मीप्रसाद देवकोटा साहित्यमा र विपी कोइराला साहित्य तथा राजनीतिमा आफू मात्र रमेनन् ती क्षेत्रलाई उजिल्याए । अरूको के कुरा, तिम्रै नेपाली विषय शिक्षक गीत, गजल, कविता लेख्नुहुन्छ, समाचार लेखन र पुस्तक सम्पादनमा समेत उत्तिकै दक्ष भएकाले समाजमा उहाँको कत्रो इज्जत छ, हेर त !

हावर्ड गार्डनरले भने जस्तै सिकाइका विविध क्षेत्र छन् । सबैले सबै क्षेत्रमा राम्रो गर्न सक्दैनन् । तीमध्ये तिम्रो रुचि के मा छ ? विचार गर, रुचि भएकै क्षेत्रमा व्यक्तिले बढी क्षमता प्रदर्शन गर्न सक्छ । जे पढ त्यसैमा समर्पित बन । इच्छाशक्ति मात्र भएर पनि हुँदैन, सफलताको शिखर पुग्न उत्तिकै क्रियाशक्ति पनि चाहिन्छ । हामी जहिले पनि सफल भएका मान्छे मात्र देख्छौँ । रहर गरेर पढ्ने र बिचैमा छाडेर अन्यत्र मोडिने वा निराश हुने मानिसहरू पनि हाम्रो वरपर प्रशस्तै छन् । 

भाइ, कुनै पनि विषय रोजेर अघि बढ्नु अगाडि आफ्नो शैक्षिक, बौद्धिक र आर्थिक क्षमतालाई समेत ध्यान दिनु उत्तिकै आवश्यक छ । अरूको लहलहैमा लागेर भड्कनु भन्दा पनि आफ्नो मनको धड्कन सुन । हामीले निर्णय लिनु अघि व्यावहारिक बन्नुपर्छ । घाँटी हेरी हाड निल्नुपर्छ भन्ने उखान त्यसै कहाँ बनेको हो र ? बाआमा लगायत शिक्षक र अग्रजसँग पनि एकपटक राम्ररी सल्लाह गरेर छिटो निष्कर्षमा पुग ।       

भाइ, बर्खाको बेला छ, खेतबारीको काममा सघाउनू । फुर्सदको बेला राम्रा पुस्तक पढ्नू, आजकल थुप्रै ज्ञानवर्धक कुरा टिभी, युट्युबमा हेरेर पनि थाहा पाउन सकिन्छ । उपयोगी कार्यक्रम हेरेर आवश्यक ज्ञान लिनू । जे विषय लिएर पढे पनि मैले सकेको सहयोग गर्ने छु, अहिलेलाई यति नै ।

उही तिम्रो दाजु ! 

प्रतिक्रिया