Edukhabar
आइतबार, ०९ बैशाख २०८१
विचार / विमर्श

किन पढ्ने ? छ शिक्षा मन्त्रालयसँग उत्तर !

हामीले पनि निरन्तर मुल्याङकन, अभिलेख व्यवस्थापन शुरु गर्यौँ । शिक्षकलाई त्यो बोझ भयो रे ! त्यसैले छोड्यौँ

आइतबार, ०३ भदौ २०८०

असार १४,२०८०। रातोपाटीमा डा. बलराम तिमल्सिनाको पठन संस्कृतिको बिकास सम्बन्धि लेख पढेँ । पठन क्षमता र पठन संस्कृति फरक कुरा हुन् । संस्कृतिको बिकास भएपछि बल्ल पठन क्षमताको विकास हुन्छ । त्यो लेख पढिसके पछि आफैँलाई प्रश्न गरेँ – मलाई किन पढ्न मन लाग्दैन ? 

अरुलाई किन सोध्ने ? जस्तो लाग्यो ।

मेरो एक जना भाइ काठमडौको एउटा विद्यालयमा प्रधानाध्यापक छ । उ काठमाडौमा जानेमाने प्रअ भित्र पर्छ । मिहनेती छ । आफ्नो भएर हैन । साँच्चै केही गरौँ भन्ने खालको छ । मैले एकदिन हामी दुईको भलाकुसारीमा भनँे– बाबु मैले जागिरबाट राजीनामा गरेँ । अव स्वतन्त्र छु । तिम्रो स्कुलमा गुणस्तर बृद्धिका काम कसरी गर्न सकिन्छ ? सोच । म स्वयंसेवा गर्न तयार छु । पुस्तकालय, कम्प्युटरको व्यवस्था गरौँ । केहि नयाँ गरौँ । कसरी परिवर्तन गर्न सकिन्छ ? सोचौँ । मैले एक सासमा भनेँ । 

उ एकछिन गम खायो । भन्यो–“दाइ स्कुलमा पुस्तकालय छ । कम्प्युटर पनि छ । यो ठुलो कुरा रहेनछ । त्यो त सबै व्यवस्था गरेको छु । त्यो भएर मात्र हुने रहेनछ । समस्या जटिल छ । 

विद्यार्थीले पढ भन्दा के भन्छन् थाहा छ ? 

“किन पढ्ने ? एसएलसी पास भएपछी ड्राईभर हुने हो । त्यसको लागि यति पढेपछि भैहाल्छ ।”  अब भन्नुस तपाईसँग के जवाफ छ ?

म अवाक भएँ । उसले फेरी थप्यो । “म त अब प्रअ छोड्छु दाइ । केहि नहुने भो ।” 

उसको “किन पढ्ने” प्रश्नले मलाई हल्लायो । खासमा त्यो उसका स्कुलका विद्यार्थीको मात्र प्रश्न हैन । आम बालबालिकाको प्रश्न हो । 

उत्तर के हो त ?

प्युठानको स्वर्गद्वारी नगरपालिकाको एउटा विद्यालयमा कक्षा १० मा कक्षा लिन छिरेको विद्यार्थीले हल्ला गरीरहे । सम्हाल्न समय लाग्यो । धेरै भए पछि रिसाएँ । बल्ल शान्त भए । दश कक्षा पढ्ने विद्यार्थी पनि एकछिन शिक्षक आउन ढिला हुँदा हल्ला गरी बस्ने ! कि नजानेको कुरा एकआपसमा छलफल गर्ने ? यसरी कसरी एसईई मा राम्रो नम्बर आउछ ? 

“एसईई पछि भारत जाने हो, धेरै पढेर के हुन्छ ? पास भैहालिन्छ, किन दुख गर्ने ?” उनिहरुको जवाफ सुने पछि म यस्तै गरी अवाक भएको थिएँ ।

यी त प्रतिनिधि घटना मात्र हुन् ।

म गाँउमा पढेको । अँग्रेजी पनि नेपालीमा उल्था गरेर ।  एसएलसी पछि शहर छिरेँ । आईएस्सिमा भर्ना भएँ । सबै विषय अँग्रेजीमा । नेपाली बाहेक । पढ्नको लागि कर गर्ने कोही थिएन । कर गर्नु पर्दैनथ्यो पनि । काठमाडौको चिसो छिँडी । तै पनि चिसोको प्रभाव कम, मनमा हुटहुटी बढी थियो । भोक, प्यास, चिसो, तातो त सबै मनका कुरा रहेछन् । जानेर हैन । सबैले भनेको सुनेकाले ईञ्जिनियर हुने भुत सवार थियो । कपडा धुने, खाना पकाउने, भाँडा माझ्ने कुरा काम जस्तो लाग्दैनथ्यो । मोवाईल, कम्प्युटर थिएन । कि किताव थियो । कि साथीभाइका गसिप !

मधुपर्क, गरिमा मनपर्थ्यो । पाठ भन्दा बाहिर जान पाएको बेला । ती पत्रिका खोजिन्थ्यो । हामीले चाहिएको समयमा सहि सुझाव दिने कोहि थिएन । म अहिले सोँच्छु बच्चाको पछाडि धाप मार्ने कोहि छ भने खोजमुलक हुन्छ कि कोहि नभएको बेला ? टेको लगाउने कोही भएको बच्चा आत्मनिर्भर कि कोही नभएको ? आज यो प्रश्न म भित्र खेली रहेको छ ।

आजको बच्चाको समय त्यस्तो छैन ।

आज समय फेरिएको छ । न किताव ! न साथीभाइ ! हिजो जस्तो पत्रिका खोजिदैन । सबै अनलाईनमा पढिन्छ । न्युज पनि छोटकरीमा । एकैछिनमा यु ट्युवमा सिनेमा । एकछिन मै साहित्यपाटि ! एउटा बिषयमा अडिईरहने धैर्यता छैन । सधैँ रित्तो जस्तो ! सधैँ केही खोजिरहेको जस्तो ! किन त्यस्तो भो ? थाहा छैन । के खोजिरहेको हो ? त्यो पनि थाहा छैन । एउटा विषयमा धैर्य गरेर अडिन नै गाह्रो । सानो कुरामा पनि चिडचडाहट हुन्छ ! 
किन त्यसो हुन्छ ?

सिद्दान्ततः थाहा छ । मन चञ्चल गर्नु हुँदैन । एउटा विषयमा एकाग्र हुनुपर्छ । डिजिटल डिभाइसले चिडचिडाहट बढाउँछ । अध्ययनले त भनिसेकेको छ कि धेरै डिभाइसमा मात्र बस्ने १४–१६ वर्षका बच्चाहरुमा पनि मुटुको समस्या देखिन थालिसकेको छ । तर जान्ने कुरा एउटा हो । गर्ने कुरा एउटा । शिक्षक, प्रशिक्षकले भन्ने हैन । गरेर देखाउनु पर्छ । बघिनीले डमरुलाई भाषण गर्दिन । शिकारमा सँगै लैजान्छे । आमाले गरेको बच्चाले देख्छ । नक्कल गर्न थाल्छ । जवान हुँदा नहुँदै शिकारमा सिपालु हुन्छ ।

हामीले पुस्तक र पुस्तकालयमा जोड दिएनौँ । आफुले पढेर देखाउदैनौँ । डिजिटल डिभाईस बोली पनि नफुट्दै दिन्छौँ । बच्चा रमाउँछ । हामी खुशी हुन्छौँ । हामी किन खुशी भा–को ? आफैँलाई थाहा छैन । बच्चा विस्तारै त्यसमा हराँउदै जान्छ । हामीले ख्याल गर्दैनौँ । जतिबेला हाम्रो होस खुल्छ, ढिलो भैसकेको हुन्छ । अब बच्चालाई खाना खुवाउन मोवाईल नभै हुँदैन । मोवाइल, कम्प्युटर नभए उ विरामी हुने अवस्था हुन्छ ।

असार १४, कै इकान्तिपुरमा डा. अरुणा उप्रेती लेख्छिन्–“६ महिना देखि शिशुले खानाखान आनाकानी गरे, मोबाइलमा कार्टुन वा फिल्म लगाईदियो, त्यो हेर्दै बच्चाले खाए पछि ल,यसले त सबै खायो भनेर आमा बा दँग पर्ने गर्छन् । तर यसले शिशुलाई कुलतमा फसाइ सकेको हुन्छ । अनि मोबाईल नहेरी खानै नखाने भएपछि शिशुको मस्तिष्कको विकास नै राम्ररी हुन पाँउदैन ।”

अझै हामी त्यो भन्दा अगाडी पुगीसकेका छौँ । अनलाईन पढाई ! कति बर्षको बच्चाले अनलाईन पढ्ने ? अनलाईनमा के के पढ्ने ? नपढ्ने र पढ्ने कुरा कसले छुट्याउने ? छुट्याएको छ ? बच्चाले खोल्ने अनलाईनमा के के कुरा आँउछ ? ती सबैकुरा उसले पचाउँछ ? त्यसका नकारात्मक पाटाहरुको नियन्त्रण जरुरी छैन ? छ भने कसले गर्छ ? गर्नेले गरिरहेको छ त ? गरिरहेको छैन भने अनलाईन मात्र भन्ने हो भने त त्यो  भास हो । हाम्रो बच्चा भासमा परिसकेको छ । दलदलमा परिसकेको छ । के ठिक ? के बेठिक छुट्याउन नसक्ने गरी हराउन थालेको छ । बाल मष्तिस्क आफैँ भित्र हराउन थाल्यो भने हामी कहाँ पुग्छौँ ?

पठन संस्कृतिको विकासका लागि हामीले प्रोजेक्ट नै बनाएर लागु गर्यौँ । तर हामीले बिर्स्यौँ, त्यो संस्कृतिको बिकासका लागि हामीले वातावरण बनाईदिनु पर्छ । हामीले  बच्चालाई पढ् भनिरहेको बेला हामी मोबाईलको फेसबुकमा हुन्छौँ । बच्चा स्वभावैले जिज्ञासु हुन्छ । उसको ध्यान हामीले के भनिरहेका छौँ भन्नेमा हैन हामीले के गरिरहेका छौँ भन्नेमा हुन्छ ।  के हेरिरहेका छौँ भन्नेमा हुन्छ । त्यस्तो परिस्थितिमा कसरी पढाई हुन्छ ? चुरोट खानु हुँदैन, भन्छौँ । तर उनिहरुको अगाडिनै चुरोटको धुवाँ फाल्छौँ !

पहिला टुकीमा पढ्दा रमाउने हामी अभिभावक पनि आज एकैछिन बत्ति गए छटपटिन्छौँ । मोबाईल मात्र हैन, दुई मिनेट ईण्टरनेट नभए हाम्रो छटपटि शुरु हुन्छ । कुनै खोजबिनमा व्यस्त भएत राम्रै हो । विना लक्ष्य ! बिना विषय पनि ईण्टरनेट चाहिने भैसक्यौँ । हामी ! बच्चालाई मात्रै किन भन्ने ?

फिलिपिन्समा प्राविधिक शिक्षाको भर्ना वर्ष भरीनै चल्दो रहेछ । बच्चाले शैक्षिक सत्रको बीचतिर भर्ना हुन आयो भने पनि भर्ना पाँउदो रहेछ । उसले भर्नाहुन खोजेको तहमा । यसका लागि उसले प्रवेश परीक्षा दिनुपर्छ । त्यहाँ भर्नाको समस्या छैन । पद्दति खुकुलो छ । अर्को कुरा सरकारले बैदेशिक रोजगारीमा जाने जनशक्ति कुन तहको हुने निर्क्यौल गरेको छ । मध्यम स्तर वा सो भन्दा माथी सीप भएकालाई मात्र वैदेशिक रोजगारीमा पठाईन्छ । यसले गर्दा बच्चाहरुमा न्युनतम मध्यमस्तरको सीपका लागि पढ्नु, तालिम लिनु पर्ने वाध्यता हुँदो रहेछ । यसले गर्दा विदेशमा पनि तल्लोस्तरको काम गर्न नपर्ने । सोहीनुरुपको ईज्जत, आम्दानी, सुविधा पनि हुने हुँदोरहेछ । हामी यो मामलामा कहाँ छौँ ?

अमेरिकाको शैक्षिक राजधानी बोष्टनको स्कुलमा मेरो भतिजि पढ्छे । एक दिन उसको गृहकार्य कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा जाग्यो । पठन सीपको बिकासका लागि स्कुलबाट मन लागेको किताव घरमा ल्याउन पाईन्छ । विद्यालयको पढाई लगमा मिति, कितावको शिर्षक, सो को लेखक, शुरु गरेको पेज, अन्तमा पढेको पेज, जम्मा पेज, कति समय पढेको ? सो समय, त्यो पढाई घरमा कि स्कुलमा ? सबै खुलाउनु पर्दो रहेछ । गृहकार्यको लागि सिस्टम छ । एकले अर्कार्को गृहकार्य खोलेर हेर्न सक्दैन । प्रत्येकको लागि छुट्टा छुट्टै पासवर्ड छ ।

बच्चा स्कुल ढिला पुग्यो भने ढिलो हुनुको कारण खुलाएर कम्प्युटरमा फर्म भर्नुपर्छ । सो को व्यक्तिगत अभिलेख राखिन्छ । परीक्षाको नतिजाको समयमा सबैकुरा खुलाएर दिईन्छ । हामीले पनि निरन्तर मुल्याङकन, अभिलेख व्यवस्थापन शुरु गर्यौँ । शिक्षकलाई त्यो बोझ भयो रे ! त्यसैले छोड्यौँ !

त्यहाँ शिक्षक, अभिभावक बैठक ३–४ महिनामा बस्छ । बच्चाका राम्रा नराम्रा कुराहरुको छलफल हुन्छ । शिक्षकहरुले अभिभावकका कुरा सुन्छन् । तर बच्चालाई गाली गर्दैनन् । सानो कक्षामा ग्रेड टिचिङ परिपाठी छ । बच्चाहरु शिक्षकसँग धेरै नजिक छन् । त्यसैले बच्चाहरु पुरानो ग्रेडको शिक्षकलाई भेट्न स्कुल पछि पनि जान्छन् । परिवारको सदस्य जस्तोगरी । समुदायमा सार्वजनिक पुस्तकालय छ । सुविधा सहितको । अभिभावकहरु बच्चा लिएर पुस्तकालयमा समय बिताउँछन् । अभिभाबक पढ्न थाल्छन् । बच्चाहरु पनि आफ्नो सेक्शनमा किताब खोज्न थाल्छन् । बजारमा महँगो पर्ने किताब पुस्कालयमा सेकेण्डह्याण्डमा सस्तोमा पाईन्छ । न्युयोर्कमा त चौविसै घण्टा खुला पुस्तकालय पनि बनिसकेछ । हामी  राती करिब ११ बजे त्यहाँ पुग्दा पुस्तकालयमा बच्चा, अधवैँसे, बुढा सबै किसिमका मानिसको भिडनै देखिन्थ्यो । तर होहल्ला थिएन । पढाई संस्कृतिका लागि त संस्कार जरुरी हो नी ! त्यही हो संस्कार । त्यसैले त्यहाँका बच्चाहरु यात्रामा निस्कँदा किताब लिएर हिड्छन्।

हामीकहाँ सार्वजनिक पुस्तकालय कति चालु अवस्थामा छन् ? केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय बोरामा गएको धेरै भैसक्यो । राष्ट्रिय पुस्तकालय जमलमा बनाउन शिक्षा मन्त्रालयले कोशिस गर्यो । आफ्नै जग्गा हुँदा पनि तर दलालको चङ्गुलमा पर्दा यो काम टुङ्गोमा पुग्न सकेको छैन । त्यहाँ त सबै आधुनिक सुविधा सहितको चौबिसै घण्टा खुल्ने पुस्तकालय बन्नु पर्छ । संस्कार बसाउने कुरामा जिम्मेदारहरु गम्भिर छैनन् । भिडबाट निर्देशित छन् । अचम्म मान्नु पर्छ । आफ्नो बार्षिक कार्यक्रम आफैँलाई थाहा नभएको भनेर बहालवाला मन्त्री नै भन्दै हिँडेका छन् । उनलाई त्यति थाहा हुनुपर्ने हो कि आफ्नो कार्ययोजना जाँच्न उनलाई कसैले रोक्न सक्दैन । दुःखको कुरा हो । जिम्मेदारहरु कुरौटे मात्र भए !

पङ्तिकारलाई आईएस्सि पछी पत्रकारीता पढ्ने सुर चढ्यो । भर्ना हुन गएको “सर्टिफिकेटमा पत्रकारिता नभएपछि यो लाईनमा जान पाँउदैन” भनियो। मन पर्दा– पर्दै त्यो बाटो छोडियो । एकजना साथी अङ्ग्रेजी साहित्यमा मास्टर्स गर्यो । माथिल्लो पढाईका लागि चीन गयो । त्यहाँ पुगे पछि उसलाई एमबिबिएस पढ्ने मनसुवा जाग्यो । निवेदन गर्यो । प्रवेश परीक्षामा बस्यो । पास भयो । उ अहिले मेडिकल डाक्टर भएको छ । 

प्रकृयामा जान देउ । फेल भए बच्चा आफै अर्को बाटो खोज्छ । आफैलाई सम्झाँउछ । पढ्न पर्छ भनेर भर्खर थाहा पाएको छ । आफ्नो ईच्छाको बिषय भर्खर थाहा पाएको छ । के गरोस त ! हिजो समयमा परामर्श दिने कोहि थिएन । जब थाहा पायो, तँ त अर्कै बाटो आईस फर्कन पाँउदैनस् भनिन्छ । यो विषय नभए यहाँ जान नपाउने ! यति नम्बर आए पढ्नै नपाउने ! रोजेको पढ्न पाउने व्यवस्था सरल भए बच्चाले राम्रो पढ्थ्यो कि ! हामी कतै जडसुत्रवादी त छैनौँ ? 
त्यसैले साँच्चै आजका बच्चा अलमलमा छन् । एउटालाई सोधे एउटा राम्रो भन्छ । अली पर गए पछि अर्कोले अर्कै राम्रो भन्छ । दिवास्वप्न देख्ने उमेरका बच्चाहरुले सबैमा आफुलाई देख्छन् । कहिले सिनेमाको हिरो ! कहिले सेतो गाउन लगाएको स्टेथेस्कोप घाँटिमा झुण्ड्याएको डाक्टर ! कहिले ह्याट लगाएको पाईलट ! म किन हुन सक्दिन ? उ भित्र एक किसिमको इगो हुन्छ । यो बेला सहि दिशा दिन सकिएन भने उ हराँउछ । आज बच्चा हराएको छ । 

“के पनि गर्यो.......दैलो पनि देख्यो” जस्तो भएको छ आज। बच्चा भासमा हराईसक्यो । आधिकारिक क्यारियर काउन्सिलिङ कसले दिईरहेको छ ? पुतली सडकका कोठे काउन्सिलिङले बच्चा र अभिभावक फसिरहेका छन् ।
हामी एउटा विद्यालय स्मार्ट भन्दै छौँ ! एक्काईसौ शदिमा एउटा विद्यालय स्मार्ट हैन, हरेक विद्यालयमा पर्याप्त शिक्षक, पर्याप्त कक्षा कोठा, पर्याप्त पुस्तकहरु, खानेपानी, कर्मचारी, शौचालय जस्ता न्युनतम कुरा पुर्याउ । तब बल्ल स्मार्ट विद्यालय शुरु हुन्छ । हावा गफले कति खाई रहने हो ?

काठमाडौ र प्युठानको स्कुलको बच्चाको यक्ष प्रश्नको उत्तर के हो ? राज्यसँग उत्तर हुनुपर्छ । अनि मात्र पठन संस्कृतिको विकास शुरु हुने कुरा आशा गर्न सकिएला । 

शिक्षा मन्त्रालयसँग उत्तर छ ? किन पढ्ने ?

बस्याल शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् । 

[email protected]

प्रतिक्रिया