Edukhabar
विहीबार, २७ बैशाख २०८१
बहस

वाह नेताज्यु ! बालबालिकाको खाजा काटेर आलिशान बङ्गला !

नचाँहिदा ठाँउमा खर्च गर्न पुग्छ, बालबालिकाको खाजा दिन पुग्दैन ?

सोमबार, १८ भदौ २०८०

हामी कार्यक्रम लहडमा बनाउछौँ । गफ आदर्शको गर्छौँ । व्यवहार अव्यवहारिक छ । संसारमा हालसम्म गरीबको पक्षमा जति शब्द छन् ती सबै हाम्रो संविधानमाछन् । ती कुरा पुरा गर्न प्रतिज्ञा चाहिन्छ । शाहस चाहिन्छ । इमान्दारी चाहिन्छ । तर दुर्भाग्य ती मध्ये एउटा कुरा पनि हाम्रो नेतृत्वमा छैन । हामी त्यस्तो देशका नागरिक भयौँ जुन देशमा छली, कपटी, भ्रष्ट्राचारी नेता छन् । यीनको कार्य हेर्दा यीनको डायरीमा ईमान्दारी भन्ने शब्द नै छैन जस्तो कि लाग्छ । अर्को तितो दुर्भाग्य यिनिहरुका निम्ति हामीले धेरै कुरा दियौँ 

यस्तो हुनुमा कर्मचारी प्रशासन जिम्मेदार छ । कार्यक्रम बनाँउदा पहिलो प्रथमिकता के हो भन्ने तिनीहरुलाई थाहा छैन र ?! थाहा छ । नेताको प्रवाहमा उनीहरुले जे भन्यो त्यहि सत्य हो भन्दै यति लामो कार्यक्रम बनाउँछन् जो सर्वसाधारणले पढ्दा पनि बुझ्दैनन् । बजेट सिलिङ सानो छ । थाहा छ । आवश्यकता धेरै छन् । यो पनि थाहा छ । किलो चामलको लागि ३ दिन हिडेँर लाममा बसेको झुत्रा कपडा लगाएको, दुब्लो मुगाली ३ दिन लाममा बसेर रित्तोहात फर्कन मिल्छ ? त्यसको जिम्मेदारी लिएर कुर्चीमा बसेकालाई लाज लाग्नु पर्दैन ? हजुरबुवा भन्नु हुन्थ्यो–मान्छेमा दुईवटा कुरा सक्किए पछि मानिस सकिन्छ । पहिलो– लाज । दोस्रो– डर । हाम्रो सिष्टममा यी दुबै कुरा सकिए !

डेनमार्कको प्रधानमन्त्री समय सकिएको दिन आफ्नै साईकलमा घर जान्छ । पदमा नभएको बेला पनि घरसम्म जान त सरकारी गाडी प्रयोग गरेको भए उसलाई कसैले केही भन्ने थिएन । तर उसमा जिम्मेवारी वोध थियो । आदर्श थियो । समाजको डर थियो । लाज थियो । त्यो भन्दा बढी समाजको ईज्जत थियो । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा जागिर खान्छन् । जो कोहीलाई पत्याउन पनि गाह्रो छ । तर सत्य हो । जिन्दगीभरी राज्यको सुविधा लिने कुरा उनीहरुको कल्पना भन्दा बाहिर छ । तर हाम्रोमा २ दिन मन्त्री भएपछि जिन्दगी भरी अगुवा पछुवा राखेर हिँड्ने वातावरण बनाउनुमा कर्मचारी प्रशासन सहायक छ । त्यता लागेपछी कसरी चाहिने ठाँउका लागि बजेट पुग्छ ? 

ए बाबा ठाकुरे ! बेघरका लागि घर हो की घर भएकाका लागि अर्को बङ्गला ? पहिला कुन हो ? पहिला सिटामोल हो कि बङ्गला ? पहिला शिशुको लागि पिठो हो कि बङ्गला ? त्यति पनि थाहा छैन भने किन कुर्चिमा बस्ने ? नेताले जे भन्यो त्यही गर्दा उज्जल भविष्य भएका निर्दोषहरु अनाहकमा सजाय भोग्न वाध्य भएको सम्झन पर्दैन ! यति बुझेर पनि कति दास भईरहने ?

कर्णालीका बालबालिका तुईनमा झुण्डिएर विद्यालय जान्छन् । झापाको बालबालिका बाढीको बेला वारीको वारी नै हुन्छ, विद्यालय नै जान सक्दैन । खोला तार्न शिक्षक वा गाँउले आउनु पर्छ । उर्लदाँे भेलमा त त्यो पनि सम्भव हुँदैन । दैलेखको विद्यार्थी तुईनमा झुण्डिएर विद्यालय जान्छ । बाटोको कल्पना पनि गर्न सक्दैन । जाजरकोटका बालबालिकाले जाबो झाडा पखालामा जीवन जल नपाएर अकालमा मृत्युको मुखमा पर्छ । सप्तरीको भरपेट खानका लागि बाबु आमासँगै मजदुरीमा जानु पर्ने वाध्यताले विद्यालय जानै पाँउदैन । महोत्तरीका विद्यालयले घाम पनि छेक्दैन, पानी पनि छेक्दैन । उल्लेखित ठाउँमा नाम काल्पनिक भए पनि अधिकाँश सामुदायिक विद्यालयका बालबालिकाको भोगाइ र अवस्था यस्तै यस्तै हुन् । यस्ता समस्या समाधान गर्ने कहिले ? सरकारका सम्बन्धित निकायसँग कुनै स्पष्ट जवाफ छैन । 

देशमा करिव ८० लाख बालबालिका छन् । प्रति बालबालिका ३० रुपैंयाको दरले खर्च गर्दा प्रति बर्ष खाजा खर्च २४ करोड लाग्छ । आलिशान बङ्गला बनाउन मात्र ८५ करोड खर्च भएको आँकडा छ । आन्तरिक र मर्मत संहार खर्च आउनै बाँकी छ । अन्य खर्चको फेहरिस्त लामै छ । यो खर्चले कक्षा १ देखि १२ सम्मको बालबालिकाको चार बर्षको खाजा खर्च पुग्छ । 

मुख्य मन्त्री र प्रदेश प्रमुखलाई काठमाडौमा बस्दा मासिक ७ लाख घरभाडा खर्च हुन्थ्यो । यस हिसाबमा यसमा हुने बार्षिक खर्च करिब एक करोड हो । आज खर्च गरेको ८५ करोडले ८५ बर्ष भाडा तिर्न पुग्छ । 

राज्यको पहुँच नागरिकसम्म पुर्याउन संघीयता सहितको व्यवस्था अँगिकार गरियो । तर नबुझेको कुरा, मुख्यमन्त्री र प्रदेश प्रमुख तत् तत् प्रदेशमा बस्न छाडेर काठमाडौमा बस्न चैं किन परेको हो ? २१ औ शदिमा समन्वयका लागि ओछ्यानै जोडेर सुत्नु पर्छ र ? डिजिटल प्रविधिले काम गर्नु सकिन्न ? संसारमा ठुुलाठुला बैंक डिजिटल प्रविधिबाट सञ्चालन हुन थालिसके । हामी कता फर्कदै छौं ?

नेपालीमा एउटा उखान छ “मिल्ने घरको साँझमा मोतो, नमिल्ने घरको मोतो न झोतो ।” 

अर्थ हो– मिल्ने घरका सबै परिवारका सदस्यहरुले दिनभरी भए गरेका कार्यको समीक्षा बेलुका गर्छन् । र अर्को दिन आजको गल्ति दोहोर्याउँदैनन् । त्यसैले प्रगति गर्छन्। नमिल्ले घरमा कहिल्यै समीक्षा हुँदैन । त्यसैले प्रगति पनि गर्दैनन् ।

नजान्ने भनुँ भने यिनिहरुले जति माक्स, लेनिन माओ, लि क्वान यु, माहाथिर मोहम्मद कसैले पनि जानेको छैन ! एउटा घरको उद्घाटन गर्न संसारमा २५ जना मन्त्री कुन देशमा जान्छन् ? 

नेपालको संविधान २०७२ ले देशमा संघियताको परिपल्पना गरेपछि देश सात प्रदेशमा बाँडियो । केन्द्रमा जस्तै सबै संरचना त्यहाँ निर्माण शुरु भयो । घरका तला पिच्छे मन्त्रालय बनेको चित्र टेलीभिजनमा देख्न पाईन्छ ! अचेल । दुःखको

कुरा सरकारको नेतृत्व आफुलाई क्रान्तिकारी भन्छ । शिक्षामन्त्री आफ्नो कार्यक्रम आफैलाई थाहा नभएको गुनासो पत्रकार सँग गर्छन् । आफुलाई क्रान्तिकारी भन्न भने छोड्दैनन् ! संघियताको मर्म यही हो ?

यो बर्षको  शिक्षा बजेटमा बालबालिकाको खाजा बजेट काटियो । कारण –आर्थिक मन्दिले बजेटको सिलिङ नै घटाउनु पर्ने भो ! 

नचाँहिदा ठाँउमा आलिशान भवन बनाउन पुग्छ ! मन्त्री र सांसदको भत्ता बढाउन पुग्छ ! नचाहिने ठाँउमा मन्त्रालय बनाउन पुग्छ ! बालबालिकाको खाजा दिन पुग्दैन !?

एउटा भनाई छ – कुनै देशलाई रसातलमा पुर्याउनु छ भने त्यसको शिक्षा भद्रगोल पार । साँच्चै देश रसातलमा जाँदो छ । समाज दनानुदिन नेताकै कारण भाँडिदै गएको छ । कतै जातका नाममा । कतै धर्मका नाममा । यो सबै सही शिक्षा नहुनु को परिणाम हो । दुःखको कुरा शिक्षा दिनानुदिन गरिब हुँदै गएको छ । शिक्षक हेपिँदो छ । विद्यालय कसैको प्राथमिकतामा छैन ।

वाह ! नेताज्यु बालबालिकाको खाजा काटेर आलिशान बङ्गला ! 

प्रतिक्रिया