Edukhabar
शुक्रबार, २८ बैशाख २०८१
विचार / विमर्श

सरकार - शिक्षक वार्ता : एक स्वैर कल्पना !

एउटा असइ बढुवा भएर सइ, इन्सपेक्टर, हुँदै डिएसपी, एसपी .. हुन्छ तर प्राविको शिक्षक सेवाको अन्तिमसम्म प्राविकै शिक्षकमा रहिरहनु पर्ने ? वृत्ति विकास नहुने भए पछि कसरी राम्रो जनशक्ति शिक्षण पेसा प्रति आकर्षित हुन्छन् ?

विहीबार, ०४ असोज २०८०

(ठूलो आयाताकार कोठा, भित्ताको चारैतिर होसियारीसाथ पोतिए जस्तो लाग्ने रातो रङ । भुइँमा रातै कार्पेट बिछ्याइएको छ । प्रायः सामान राता रङका छन् त्यो संयोग वा योजना जे पनि हुन सक्छ । मूल ढोकाको सम्मुख अग्लो आसन खाली अवस्थामा छ  । आसनको ठिक्क माथि भित्तामा राष्ट्रपतिको फोटो छ । राउण्ड टेबल वार्ता भनिए पनि प्रत्येक दुई जना मानिस बस्न मिल्ने कुर्चीका अगाडि चारपाटे टेबल अटाएका छन् । छ वटा जति कुर्ची खाली छन् । भिआइपी लाग्ने १२ जना जति मानिस प्रतीक्षारत देखिन्छन् । 

वार्ता, लाखौँ व्यक्तिले प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । केही बेरमा शिक्षक र सरकारको रोचक वार्ता सुरु हुन्छ । )

नेता नम्बर ३ :  खै त आज पनि ? वार्तामा बस्ने कन्फर्म भाको हैन ? 

कर्मचारी नम्बर २ : हो माननीयज्यू, आज त पक्का बस्ने भनिएको हो । 

नेता नम्बर ३ : स्कुल बन्द भएको यतिका दिन भयो । कतिको सुर धमिलो पानीमा माछा मार्ने छ । 

नेता नम्बर २ : वार्ता सुरु नहुँदै छेडखानी, त्यसो भए हाम्रा लागि वार्ता अस्वीकार्य छ ।

नेता नम्बर ३ : ह्या  ! मैले कहाँ तपाईँहरुलाई भन्या हो र ? ह्वाँ दरबारिया शक्ति...

कर्मचारी नम्बर ३ : (भित्र पस्दै) ऊ आए, आए ।

(सबै चुप लाग्छन्, पाँच सात दिनदेखि दारी नकाटेका, नखाएजस्ता, नसुतेजस्ता लाग्ने ६ जना ख्याउटे ब्यक्ति नमस्कार गर्दै भित्र पस्छन् र खाली आसनमा बस्छन् )

कर्मचारी नम्बर ४ : सरहरु लिनोस् पानी । 

शिक्षक नम्बर १ : अगि नै पानीको फोहरा खाइसक्यौँ । पुग्यो । 

शिक्षक नम्बर २ : अनि ह्वाँ खै त ? हामी अब कुनै पनि हालतमा झुक्किनेवाला छैनौँ । अब बढ्ता हामीलाई भ्रमित नपार्नोस् । उहाँ बिना वार्ता बसिँदैन ।

नेता नम्बर २ : त्यसो हैन, उहाँ आउँदै हुनुहुन्छ ।

(नेता नम्बर १ को तत्कालै प्रवेश, उनलाई सबै उठेर नमस्कार गर्छन् ।) 

शिक्षक नम्बर १  : अब सोझै विषयवस्तुमा प्रवेश गरौँ । 

नेता नम्बर ३ : शिक्षा विधेयकको कुन कुन विषयमा चित्त बुझेन र विरोधमा उत्रिनु भयो ?

शिक्षक नम्बर १ : कुन विषय मन परेन भन्नु ? सवबाल थुप्रै छन् । समग्रमा शिक्षा र शिक्षक सरकारको प्राथमिकतामा कहिल्यै परेनन् । त्यस प्रति हाम्रो आपत्ति छ । 

शिक्षक नम्बर २ : एउटा दृष्टान्त हेरौँ, यो विधेयक कति अवस्तुवादी छ भने २०८०, ०८१ मा ऐन जारी गरेर तपाईँहरु यसका गैह्रकानुनी प्रावधान ०७४ सालदेखि शिक्षकमाथि थोपर्न खोज्दै हुनुहुन्छ । योगदानमा आधारित भनेर अहिलेसम्म कुनै शिक्षकबाट निश्चित रकम कटाइएको छैन, न त सरकारले भार बेहोरेको छ । अहिले आएर एक्कासि ०७४ सालदेखि योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्न खोज्दै हुनुहुन्छ, यसैबाट तपाईँहरुको अदूरदर्शिता र गैह्र जिम्मेवारीपन झल्कँदैन ?

शिक्षक नम्बर ३ : हिजो खाइसकेको चियाको एक चौथाइ भाग आज कटाऊ म त्यति नै थपिदिन्छु कसैले भन्यो भने उहाँले कसरी खाएको चिया दिनुहोला ? हामी प्रयोगात्मक रुपमा हेर्न चाहन्छौँ । यो विधेयक ड्राफ्ट गर्ने मुख्य व्यक्ति को हुनुहुन्छ ? चिन्न पाए हुन्थ्यो ।

(सबै उपस्थितले कर्मचारी नम्बर २ र नेता नम्बर ३ लाई हेरेर मुखामुख गर्न थाल्छन् )

शिक्षक नम्बर १ : छातीमा हात राखेर भन्नोस्, कति जनाका छोराछोरी शिक्षक हुनुहुन्छ ? कति जनाका नाति नातिना सार्वजनिक विद्यालयमा पढ्छन् ? अनि कति माननीय स्वार्थ बाझिने गरी निजी विद्यालयका मालिक हुनुहुन्छ ? 

शिक्षक नम्बर २ : शिक्षा त निःशुल्क हो क्यारे १८, २० हजार वार्षिक मसलन्दले चक, डष्टर, डष्टबिन, डेष्क बेञ्च, धारा, पानी, बल्ब, विजुली, (कपी परीक्षण त विना पारिश्रमिक हामी गरौँला ) प्रश्नपत्र छपाई, उत्तरपुस्तिका सबै व्यवस्था गर्न मिल्छ ? कुन विद्यालय कुन स्थानीय तहमा कति विद्यार्थी कति शिक्षक अनुपात कहिल्यै हिसाब किताब गर्ने फुर्सद छ ? राम भरोसामा चलेको छ हाम्रो देशको शिक्षा । यस्ता विषय कति छन् कति ?

नेता नम्बर २ :  (बिस्तारै) अँखँ, अँखँ यो कस्तो भाइरल पनि । 

शिक्षक नम्बर १ : माननीयज्यूहरु, शिक्षा क्षेत्रमा दक्ष जनशक्ति आकर्षित गराउन तपाईँहरु कत्ति पनि संवेदनशील हुनुहुन्न । कुरा नचपाई भन्नुस् त । एम एस्सीका विद्यार्थीलाई पढाउने धेरैजसो प्राध्यापक कुन तह उत्तीर्णका हुनुहुन्छ ? 

(कोही बोलेनन्)

(पुन: उही प्रश्न)

कर्मचारी नम्बर २ : एम एस्सी पास

शिक्षक नम्बर १ : ठिक भन्नु भो, अब भन्नुस् त, ती विश्व विद्यालयमा पढाउने एमएस्सी उत्तीर्ण गुरुले  कक्षा ९ का विद्यार्थीलाई तपाईँको विद्यमान तथा प्रस्तावित विधेयक अनुसार विज्ञान विषय पढाउन पाउनु हुन्छ त ? 

शिक्षक नम्बर ३ : कुनामा बसिरहेका सचिवलाई देखाउँदै । तपाईँले खुल्ला प्रतिस्पर्धाबाट देशको नीति नियम बनाउने थलोमा आउँदा के तपाईँसँग अनुमति पत्र लिने प्रावधान थियो ? 

शिक्षक नम्बर २ : सिकाउनका लागि राम्रो जनशक्ति भर्ना भएपछि सेवा प्रवेश तालिम दिए हुन्न ? यस्तो बारबन्देजले शिक्षामा राम्रो जनशक्ति कसरी भित्रन्छन् ?

(सचिव टोलाउँछन् । अहँ, केही बोल्दैनन् )

(नेता नम्बर २ बोल्न होकि खोक्न खाजेका हुन् थाहा हुँदैन ।)

शिक्षक नम्बर १ : (नेता नं. २ लाई हातको इसाराले रोक्न खोज्दै) अझ उदेक लाग्दो कुरा त के भने सबैभन्दा बढी प्रयोग र शैक्षिणिक विधि पद्धति प्रभावित हुने शिक्षणका लागि अहिलेसम्म तालिम, कार्यशाला र गोष्ठी भनेर कति शिक्षकलाई विदेशका नमुना स्कुल पठाउनु भयो ? के देश विदेशमा तालिम हुने निजामती कर्मचारीलाई मात्रै हो ? कि ती  शिक्षकको नाममा आएको तालिममा समेत नक्कली शिक्षक बनेर आफै जानु भो श्रीमान्हरु ?

(सबै नेता मुखामुख गर्न थाल्छन् । )

शिक्षक नम्बर १ : फरक प्रसङ्ग । हामी बाहेक तपाईँहरु  (सबैलाई देखाउँदै ) गाडी चढेर आउनु भएको छ त्यो पनि सरकारको, त्यसको लागि पाउने इन्धन सुविधा कति ? बैठक भत्ता कतिसम्म ? तर तपार्इंको राज्यमा एउटा विद्यालयको प्रअले पाउने मासिक भत्ता थाहा छ ? धिक्कार छ,  कि थाहा छैन ? प्राथमिक विद्यालयको प्रअ भत्ता ३० दिनको दुई सय । एउटा संस्थाको प्रमुखलाई मासिक दुईसय भत्ता दिँदा अलिकति पनि लज्जाबोध, आत्मग्लानी हुँदैन महोदय ?

(सबै नेता, कर्मचारीहरुले केहीबेर टाउको झुकाए, अनि बिस्तारै एकअर्काको खुट्टा, कट्टी, छाती र अनुहार हुँदै टाउको उठाए )

शिक्षक नम्बर १ : तपाईँहरुको निगाहमा हो हामी बाँच्ने ? तपाईँ दिने र हामी हात थाप्ने किन ? भ्रष्ट प्रशासनका कर्मचारी विए पास गरेर निजामतिमा छिरी विशिष्ट श्रेणीमा पुग्न हुने अनि स्नातकोत्तर तह पूरा गरेर जीवनभर पढ्ने र पढाउने पवित्र काम गर्ने शिक्षक विशिष्ट हुनै नहुने । तपाईँहरुले हो रोक्ने ?

कर्मचारी नम्बर २ : अँ ल भन्नुस्, बढुवा सम्बन्धी तपाईँहरुको ठोस धारणा के हो ?

नेता नम्बर १ : यसमा हामी प्रष्ट छौँ । निश्चित अवधि पूरा गरेपछि एक त आवधिक बढुवा होस् । अर्को हाम्रो सरुवा, बढुवालाई वैज्ञानिक नियमावली बनाएर सरकारले शिक्षाको गुणस्तरसँग जोडोस् ।

शिक्षक नम्बर २ : आज सरकार पैसा छैन भनिरहेको छ । हामीले माथिल्लो कक्षा पढाउन विषयगत योग्यता पुगेका र अनुभवले खारिएका साथीहरुलाई तहगत बढुवा भन्यौँ तर  माध्यमिक तहको पारिश्रमिक दिएर सरकार प्राथमिक तह द्वितीय र प्रथम श्रेणी भनेर रमाइरहेको छ । यसले राज्यलाई घाटा छ । एउटा असइ बढुवा भएर सइ, इन्सपेक्टर, हुँदै डिएसपी, एसपी .. हुन्छ तर प्राविको शिक्षक सेवाको अन्तिमसम्म प्राविकै शिक्षकमा रहिरहनु पर्ने वाध्यता छ । बढुवा भएर उपल्लो कक्षामा पढाउन नपाउने, वृत्ति विकास नहुने भए पछि कसरी राम्रो जनशक्ति शिक्षण पेसा प्रति आकर्षित हुन्छन् ? 

शिक्षक नम्बर ३ : त्यसमा पनि तपाईँ भविष्यवेत्ता हो, सर्वदर्शी हो ? एउटा प्रदेशमा दुई जना भन्दा बढी विशिष्ट श्रेणीका शिक्षक हुँदैनन् भनेर भन्न सक्ने तपाईँ को हो ? (स्वर उच्च बन्दै जान्छ)

नेता नम्बर १ : यो कुरा निकै महत्त्वपूर्ण छ । (कर्मचारी तिर हेर्दै) नोट गर्नोस् ।  
आखिर हामीलाई पढाउने गुरु हो तपाईँहरु ज्ञान र तर्कमा जित्न त कहाँ सक्छौँ र ? 

(नेता नम्बर १ फोन उठाउँछन्)

शिक्षक नम्बर १ : तपाईँहरु पmोन उठाउँदै हुनुहुन्छ । वार्ताप्रति गम्भीरता नै छैन ।

नेता नम्बर १ : विशेष कुरा । (फोन राख्दै) ल ल अगाडि बढ्नोस् ।

नेता नम्बर २ : अरु ?

शिक्षक नम्बर ३ : हेपाइको के कुरा गर्ने ? सबैभन्दा तल आफ्ना गुरुहरुलाई राखेर मर्यादाक्रम बनाइयो । हामी सबैका गुरु छन् । गुरुकै मर्यादाक्रम तल भएपछि शिष्यहरु कुन स्थानमा रहन्छन् ? अनुमान मात्र गर्न सक्छौँ ।

कर्मचारी नम्बर २ : स्थानीय तहको अधिकारका बारेमा ।

शिक्षक नम्बर १ : सर्वप्रथम हामी संघीयता वा शक्ति विकेन्द्रीकरणको विरोधी हैनौँ तर अहिलेसम्मको अभ्यासले के भन्छ भने कक्षा १२ सम्मको विद्यालय तह सम्पूर्ण रुपले हेर्ने गरी स्थानीय तह परिपक्व भइसकेको छैन । तसर्थ, हामीलाई जुन तह वा संरचनाले नियुक्त गर्यो वा तलब भत्ताको व्यवस्था गर्छ सोही तहले सरुवा, बढुवा वा आवश्यक परे नियमानुसार बर्खास्त गरोस्, अस्वस्थ तरिकाले विद्यालयमा राजनीतिकरण नहोस् भन्ने हो ।

नेता नम्बर १ : हुन्छ, हामी छलफल गर्छौ । फेरि अर्को दिन बसौँ । यतिका दिनसम्म विद्यालय बन्द छन् । चाँडो निकास निकालौँ । 

शिक्षक नम्बर २ : बल तपाईँको कोटमा छ । विषय गम्भीर छन् अब तपाईँहरु गम्भीर बनिदिनोस् । जहाँसम्म पढाइको क्षतिको कुरा छ  हामी जिम्मेवार शिक्षकले पूरा गर्नेछौँ, त्यो हाम्रो साझा प्रतिवद्धता हो ।

(सुरुमा पानी ल्याउने कर्मचारीले खाजा ल्याएर अगाडि राखिदिए । )

शिक्षक नम्बर १ : हामीलाई न भोक छ न प्यास । एक लाख शिक्षक साथीहरुलाई सडकमा राखेर हामी यहाँ केही खाँदैनौँ । खाजा पनि बहिष्कार छ । 

शिक्षक नम्बर १ : हामीले प्रारम्भमा नै भनेका छौँ, लाखौँ शिक्षक सडकमा छन् । दिने भए सम्मान दिनोस्, शिक्षक प्रणाली उकास्ने सहमति होस् । खाजा बहिष्कार छ । 

(स्वर थप उच्च हुन्छ ।) खाजा ल्याउने कर्मचारी हच्केर अलि पछि सर्छ ।

शिक्षक नम्बर २ : माफ गर्नुहोला । (खाजाको मूल प्याकेटमा राखेको बिल हेर्दै) हेर्नोस् त आज हामीले खान लागेको खाजाको प्रति प्याकेटको मूल्य छ सय ५० रुपैयाँ रहेछ । भन्नुस् त समाजवाद उन्मुख तपाईँको राज्यव्यवस्थामा प्रति विद्यार्थी खाजा रकम कति छुट्याउनु भएको छ ?

शिक्षक नम्बर ३ : मासिक पचासौँ हजार तिरेर पढाउने तपाईँको नातिलाई तपाईँ खाजाको लागि भनेर कति रुपैया दिनुहुन्छ ? एउटा अण्डाको बजार भाउ कति छ ? के गरिबका छोराछोरीले १५ रुपियाँमा खाजा खान सक्छन् ?

कर्मचारी नम्बर २ : त्यसका लागि राज्य पनि त सबल हुनुपर्यो ।

शिक्षक नम्बर १ : कतिपय कुरा तपाईँहरुको बाहना हो । आर्थिक संकटले तपाईँका नियमित गतिविधि केही प्रभावित छैनन् । व्यापक विरोधका बाबजुद सांसद विकास कोषलाई कुनै फरक परेन । 

शिक्षक नम्बर २ : एकताका जनवादी शिक्षा भनेको खुब सुनियो । नजन्मँदै जनवादी शिक्षाको भ्रुण हत्या भयो । उफ्, अहिले कुरीकुरी लाग्ने गरी समाजवाद उन्मुख पदावली सुन्नुपरेको छ । शिक्षा र स्वास्थ्यमा यस्तो चरम विभेद छ अर्कातिर कुरो समाजवादको । हाय, शब्दको दुरुपयोग ।  एउटा पियनले चाडबाड खर्च भनेर १७ हजार (१७ हजार सुन्दा नेता १ झस्कन्छन् र अरुले थाहा नपाउने गरी समालिन्छन्) पाउँछन् अनि विशिष्टले ७० हजार यही हो समाजवाद उन्मुख राज्यव्यवस्था ।

शिक्षक नम्बर १ : हेप्नुको पनि सीमा हुन्छ । एउटा वडाको जनप्रतिनिधि सरकारी मोटरसाइकल प्रयोग गर्छ । एउटा निजामती कर्मचारीलाई लिन र छाड्न घरमा गाडी पुग्छ तर त्यो विद्यालयलाई जतिसुकै उचाइमा पुर्याए पनि, कतिपय विद्यालयको आफ्नै स्रोत र साधन भए पनि विद्यालयकै कामको लागि गाडी खरिद तथा व्यवस्थित प्रयोग गर्न सक्ने प्रावधान कहीँ कतै छ ? 

नेता नम्बर ३ : यतिका दिन भो, निकै थाक्नु भो । अब केही न केही निकास निकालौँ ।

शिक्षक नम्बर १ : मण्डेला र लिंकन खार्ने कारखाना हो शिक्षालय, स्वदेशको कुरा गर्दा सन्दुक रुइत र महावीर पुनलाई यो अवस्थामा हामीले पुर्याएका हौँ, याद गर्नोस् थाकेका हुने छौँ तर भागेका हुने छैनौँ । 

शिक्षक नम्बर २ : ठिक छ हामी वार्ता विरोधी हैनौँ तर अबको वार्ता मुलायम कार्पेट माथि टेकेर हैन, माइतीघरको सडकमा हुन्छ । अनपढ नेताले हाँकेको आन्दोलनले व्यवस्था त परिवर्तन भयो, हामी शिक्षितले हाँकेको सुझबुझ पूर्ण आन्दोलनले विधेयक कसो परिवर्तन नहोला । याद गर्नुस्, सत्यको जित सुनिश्चित छ । 

नेता नम्बर १ : हुन्छ, हुन्छ हामीलाई सोच्ने र छलफल गर्ने समय दिनुहोस् । 

पोखरा स्थित एक विद्यालयमा अध्यापनरत अधिकारी शिक्षा सँगै समसामयिक विषयमा लेख्छन् । 

प्रतिक्रिया